होमस्टे पाठशाला

Read Time:7 Minute, 58 Second

मनोज घर्तीमगर

नेपालमा होमस्टे पर्यटन सुरु भएको धेरै भएको छैन । स्याङ्जाको सिरुबारी नेपालको पहिलो होमस्टे गाउ हो । भारतीय सेनाका भूपू क्याप्टेन रुद्रमान गुरुङको नेत्तृत्वमा २०५४ असोजमा सिरुबारीलाई पहिलो होमस्टे पर्यटन गाउ घोषणा गरिएको थियो । अहिले त्यही सिरुबारी होमस्टे पाठशाला बनेको छ ।

पर्यटकलाई होटल वा रिसोर्टमा होइन गाउलेकै भान्छामा खुवाएर उनीहरुकै घरमा बसाउनुलाई होमस्टे (घरबास) भनिन्छ । जहाँ होटल र रेस्टुरेन्टभन्दा कम रकममा खानेबस्ने सुविधा हुन्छ । होटेल रेष्टुरेन्टबाट सीमित व्यक्तिले कमाउँछन् । पाहुनालाई बाडेर गाउलेका घर–घरमा राख्दा सबैलाई आम्दानी हुने भएकाले रुद्रामानले होमस्टे भित्रयाए । आजभोली सिरुबारीको सिको गर्दै गाउँगाउँमा होमस्टे खोल्ने लहर छ । बेलाबेला होमस्टे सुरु गरिएका समाचार आइरहन्छन् ।

स्याङ्जाको पञ्चमुल गाविस– वडा नं. ४ नै सिरुबारी (१,६१० मिटर ) हो । ३९ मध्ये २२ घरमा होमस्टे छ । सबै घर गुरुङका । बेलायती र भारतीय सेना नभएको घर छैन । सिरुबारीलाई लाहुरे गाउँ भने हुन्छ । होमस्टे जाने हो भने, पर्यटन विकास समितिलाई पहिल्यै खबर गर्नुपर्छ । २० जनाभन्दा बढीलाई पञ्चै बाजाले स्वागत गरिन्छ । बाआमा उमेरकादेखी, छोरानाति पुस्ताले पाहुनाको सत्कार गर्छन् । गुरुङ पहिरनका महिला-पुरुषले फूलमाला र टिका लगाइदिन्छन् ।
त्यसपछि पाहुनालाई गाउँको बिचमा रहेको गुम्बामा पु¥याइन्छ । भगवान् बुद्धको दर्शनपछि गुम्बाको पिढीमा लहरै बसाइन्छ । चियाखाजा खुवाइन्छ । चल्नेलाई सगुनको रुपमा नारे पा (कोदोको रक्सी) हाजिर । ‘सिरुबारीमा पाइने सत्कारले नै धेरैलाई लोभ्याउँछ जस्तो लाग्यो’ पोखरा बसाइ सरेको लामो समयपछि आफ्नै गाउँ पर्यटकको रुपमा पुगेकी समाजसेवी सरस्वती गुरुङले अनुमान गरिन्,‘सायद पारिवारिक माया भएर धेरै पाहुना दोहोरिएर आउँछन् । साथीभाइलाई पनि हाम्रो गाउँ जान सिफारिस गर्छन् ।’

मिठो खाना र सफा ओछ्यान त होटलमा पनि पाइन्छ । होमस्टेमा अरु पाइन्छ, त्यो हो आत्मीयता । जुन पैसाले किन्छु भने पनि पाइँदैन । शिष्ट बोलीवचन, पारिवारिक माहोल र न्यानो आत्मीयता सिरुबारीका विशेषता हुन् । ‘पाहुनाले रोजेको घरमा बस्न पाउदैनन् । समितिले आलोपालो गरेर पाहुना बाड्छ’ बुद्ध आमा समूहकी उपाध्यक्ष ६२ वर्षिया चन्द्र कुमारी गुरुङले गाउँको चलनबारे ब्याख्या गरिन्,‘यसो गर्दा कसैको घरमा पाहुना परिरहने, कसैकोमा नआउने भन्ने हुँदैन । खाना पनि हरेक घरको उस्तै हो ।’

गाउका बाटोघाटो, घरआगन सबै सफा । गुरुङ जीवनशैली । सफा ओढ्ने, ओछ्याउने सहितका कोठा र बाथरुम । चिटिक्क भान्छा । खानामा हरियोे तरकारी, दालभात र लोकल कुखुरा । ब्रेकफास्टमा प्यानकेक, सेलरोटी, अन्डा, तरकारी र चिया । खानापछि साँझ साँस्कृतिक कार्यक्रममा । गुम्बाको आगनमा नाचगान । ‘दिनभरको यात्रापछि थकित पाहुनालाई रोधीको झल्को दिने गरि हामी नाचगान देखाउँछौं’ नव युवा क्लबकी सदस्य नितु गुरुङ मुस्कुराउँदै बोलिन्,‘यसले सिरुबारी आउनेको मन चंगा बनाइदिन्छ । कला हुने पाहुनाले दोहोरी को मजा पनि लिन पाउँछन् ।’

रुद्रमानले भारतीय सेनामा हुँदै सिरुबारीलाई पर्यटन गाउ बनाउने सपना देखे । विसं २०३५ मा रिटायर्ड भएपछि गाउ फर्के । गाउलेलाई सम्झाएर पर्यटन सुरु गर्न निकै पापड बेल्नुप¥यो । काठमाडौंका सरकारी निकायमा गाउ पर्यटनको कुरा गर्न जादा हाकिमहरुले हासेर उडाउँथे । अहिले सिरुवारीले नसोचेको सफलता पाइरहेको छ । ‘सिरुबारी अहिले साँच्चिकै होमस्टे पाठशाला बनेको छ’ ८४ वर्षिय रुद्रमानको अनुहारमा चमक आएपछि गर्विलो स्वर निकाले, ‘नेपालका गाउगाउबाट मात्र होइन, भारत र तेस्रो मुलकबाट समेत होमस्टे सिक्न आउँछन् ।’

जुम गुरुङसहित पर्यटन विकास समिति, बुद्ध आमा समूह, नव युवा क्लब र धर्मोदय सभाका सदस्य सिरुबारीको साख जोगाइरहन कम्मर कसेर लागेका छन् । क्याप्टेन रुद्रमानको बुढ्यौलीपछि बिडो २०५६ देखि भूपू भारतीय सेना जुम गुरुङले थामेका छन् । आधा दर्जन घरबाट सुरु यहाको होमस्टे अहिले २२ घरमा फैलिएको छ । १ सय ५० जना पाहुनालाई बस्ने÷खाने व्यवस्था गर्न सकिन्छ यहाँ । खाने, सुत्ने र साँस्कृतिक कार्यक्रम गर्ने समय तोकिएको छ ।

सिरुबारीबाट हिमाल देखिदैन । ताल तलैया पनि छैनन् । पोखराबाट उति नजिक पनि होइन । तैपनि मान्छे किन ओइरिन्छन् ? ‘हाम्रो जत्तिको सफा गाउँ र खुलेर पाहुनाको सत्कार गर्ने गाउँ अरु छैनन्, पाहुना बसाउने तरिका त झन् उत्कष्ट छ’ पर्यटन विकास समितिका सदस्य संयोजक जुम गुरुङले चुनौती दिए,‘त्यही भएर हिमाल, ताल केही नभए पनि देशीविदेशी सिरुबारी आउँछन् ।’

लाहुरे बस्ती भएकाले सिरुबारीवासी सम्पन्न छन् । अर्थोपार्जन गर्न मरिहत्ते गर्नु पर्दैन । तैपनि होमस्टेले दुईचार पैसो गाउँमा भित्रिएको छ । हिमाल हेर्न मन गर्नेलाई गाउमाथि देउराली लगिन्छ । आखासामुन्ने धौलागिरि, अन्नपूर्ण, माछापुछ्रे देखि लमजुङ हिमाल देखिन्छ । अनकन्टार गाउमा पर्यटनको दियो बालेर क्याप्टेन रुद्रमानले ठूलो गुन लगाएका छन् । संसारभर सिरुबारी चर्चित छ । ‘सिरुबारीमा आउने आन्तरिक तथा बाह्य पर्यटकहरु घुम्न वा रंगरमाइलोका लागि मात्रै आउदैनन्’ आमा समूहकी कोषाध्यक्ष प्रेमकुमारी गुरुङको दाबी छ,‘सिरुबारी होमस्टे ज्ञानको भण्डार हो । धेरै त होमस्टे पर्यटन व्यावसायबारे सिक्न आउछन् ।’

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %