निश्चल काउचा
म कोरिया प्रवेश गरेको अघिल्लो हप्ता ३ वर्ष पुगेछ | अब त मेरो देश फर्कन २२ महिना बाकी रहेछ ।
मसंगै काम गर्ने कोरियन काका ( किम) धेरै चोटी सोध्नु भएको छ । ”त तेरो देश फर्के पछि के गर्छस”? म नाजवाफ छु | प्राय हासेर तारी दिन्छु । उनले धेरै चोटी भनेको पनि सुनेको छु । हामी कोरियनहरु पनि पहिले लिविया देखि गल्फ देशहरुमा श्रमको लागि जाने गर्थ्यौं । त्यहाँ गएर हामीले पैसा भन्दा पनि सिप सिकेर आयौ अनि आफ्नै देश फर्केर काम सुरु गरेयौ । अहिले हाम्रो देशले लाखौ बिदेशीहरुलाई रोजगार दिएको सुनाउदै तिमीहरु पनि अब आफ्नै देशमा फर्केर सानो तिनो कारखाना खोलेर काम सुरु गर्नु पर्छ भनिरहदा ५ दशक पहिले कोरिया भोकमरीको चपेटामा पर्दा हाम्रो देशले चामल दिएर सहयोग गरेको सम्झे । ५ दशक अगाडी भोकमरीमा परेको देश अहिले बिकासको छलाङ्ग मारेर कहाँबाट कहाँ पुगी सक्यो ।
डिग्री पास गरेका गोरखाका नगेन्द्र थापा (२९) एक महिना अघि कोरिया आए । अहिले उनले एक टनेल हाउसमा काम गर्छन । उनि कोरिया आउन रहर थिएन । बाध्यता थियो । डिग्रीको सर्टिफिकेट हातमा हुदा हुदै पनि आफ्नो देशमा रोजगारीको अवसर छैन । कतै रोजगारी खुले पनि नातावाद , कृपावाद र पैसावादले आक्रन्त छ नेपाली प्रशासन तन्त्र ।हातमा डिग्रीको सर्टिफिकेट हुदा हुदै कोरिया आउने नगेन्द्र एक्ला होईनन यहाँ यस्ता नगेन्द्र थुप्रै छन् ।
कोरियामा पछिल्लो चरणमा औधोगिक दुर्घटना पनि बददो छ । हुन त कोरियामा नेपालीको संख्या दिनानुदिन बढिरहेको छ । प्राय दुर्घटना नेपालबाट आएको २/३ महिनामा हुन्छ । नेपालबाट कोरिया आउन भन्दा पहिले भैसेपाटीमा एक हप्ते तालिम दिइन्छ र कोरियन भाषा परिक्षा अनिवार्य रुपमा पास पनि गर्नु पर्छ तर नेपाल सिकाईने भाषा निकै उपल्लो लेवलको सिकाईन्छ । जुन भाषा कोरियाका कम्पनीमा काम गर्दा बोलीदैन । त्यसमाथि यहाँको लोकल टङ्ग मिल्दै मिल्देंन । नेपालमा भाषा सिकाउदा र तालिम दिदा ब्यवहारिक रुपमा दिन सके पक्कै पनि दुर्घटना कम गर्न सकिन्छ । नेपालमा कहिले पनि नदेखेको मेसिन चलाउनु पर्ने त्यस माथि कोरियनहरु अलि कडा मिजास हुने र छिटो – छिटो काम गरोस भन्ने चाह राख्छन । यसकारण पनि शुरुको महिनामा बदि दुर्घटनाको चपेटामा पर्ने सम्भावन हुन्छ ।
जता ततै सफा र चौडा सडक सार्वजनिक यातायात देखि सपिङ्ग मल देखि रेस्टुरासम्म कतै पनि स्वदेशी होस् बिदेशी विना भेदभाव सेवा पाईन्छ । पुरुष होस् या महिला मध्यरात पनि निस्फिक्री सडक या गल्लीहरुमा हिडन सकिन्छ । ट्रेन या बसमा कहिलेकाही वालेट या पर्स झरेमा त्यस भित्र ठेगाना खुल्ने कुनै कागजात भए आफुले काम गर्ने कम्पनीमै हुलाक देखी आईपुग्छ । कुनै कम्पनीले समयमा तलव दिएन भने जव सेन्टर गएर निवेदन दिएमा तलव नपाइने चिन्ता हुदैन । नेपालबाट आएको कम्पनी मन नपरेमा साहुको सहमतिमा अर्को कम्पनी पनि सर्न पाइन्छ । सबै चिज सिस्टममा चलेका छन् । नीति नियम लागु गर्ने निकाय सक्षम भए सबै चिज सिस्टममा चल्दो रहेछ ।
नेपालमा अर्काको काम गर्दा कहिले राजाको काम जाला घाम भन्ने पारामा गर्ने चलन छ तर कोरियामा अर्काको काम पनि आफ्नै सम्झेर गरिदो रहेछ । कम्पनीमा साहु २/४ हप्ता नै नआए पनि काम उही रफ्तारमा चलिरहेकै हुन्छ । सबै काम टाईम टेवल अनुसार गर्ने कुनै पनि कुराको बाचा गरे पछि पुरा गरेर नै छोडने बानि कोरियनहरुको हुदो रहेछ ।
कोरिया आए पछि आफ्नो आर्थिक स्थिति त सुधार हुने नै छ त्यो भन्दा पनि कुनै पनि काम ईमान्दार , दृढ विश्वास साथ् काम गर्ने हो भने सफल भईन्छ भन्ने कुरा पनि सिकिन्छ ।