महिलालाइ दोस्रो दर्जाको विल्ला कहिलेसम्म ?

Read Time:10 Minute, 17 Second

दिपा आले मगर

“म महान कहिल्यै छैन, जबसम्म तिमी सोच्दैनौ सबै महान व्यक्ति भनेको सानै हुन्छ र सिकारु हुन्छ ।” यति बेला दक्षिण अफ्रिकाका प्रथम राष्ट्रपति नेल्सन मण्डेलाले भनेका महत्वपूर्ण बाणीलाई सम्झीन बाध्य छु । किन भने आज पनि हाम्रो समाजमा महिलालाई हेर्ने र बुझ्ने दृष्टि दोस्रो दर्जामा रहेको छ । जसले गर्दा महिलाले जति नै राम्रो काम गरेपनि समाजले हेर्ने नजरीयाहरु दोस्रो दर्जामा पर्नु एक मुख्य कारण हो । त्यति मात्र नभई महिलाले यो समाजको लागि महान भएर भूमिका खेलेपनि समाजले प्रायः सानै र सिकारुको रुपमा लिने गरेको छ ।
 
जब एउटा बालक जन्मीन्छ । हुर्कीदै जवान हुन्छ र एक दिन ऊ वृद्ध अवस्थामा पुग्छ । यसरी नै यो संसारमा मानवको जीवन चक्र चल्ने गर्छ । मानिसले जन्मदै मृत्युको लाइसेन्स बोकेर आएको हुन्छ । यो त एउटा प्रकृतिको नियम हो । नियतीको खेल हो । जसलाई जति बुझ्न खोजेपनि बुझ्न सकिदैन । जसरी समुन्द्रको वर्णन गर्न  सकिदैन । त्यसैले मानव जातीले आफूले आफूलाई  चिनेर समाज विकासकोलागि अगाडि बढ्न सक्नु सबै भन्दा ठूलो मानवीय धर्म हो ।

आज समाजमा जताततै महिला माथि दमन शोषण गरेको घटनाहरु देख्दैछु, सुन्दैछु । त्यस्ता दरिद्र घटनाले आङ्ग नै जिरिंग हुन्छ । कतै आफ्नै बुवाले छोरीको बलत्कारको घटना । कतै आफ्नै इष्टमित्र कतै परिवारले महिला माथि गरेको दमन र शोषण । यावत घटना र परिघटनाले महिलाको सुन्दर भविष्यमाथि आजको वैज्ञानिक युगमा आइसक्दा पनि संक्रमणकालिन अवस्थामा देखिएको छ । हुन त वर्षौ देखि देश संक्रमणकालिन अवस्थामा गुज्रीएको छ । देश हाक्ने नेताहरुले आजसम्म मुलुकलाई संक्रमणकालिन अवस्थाबाट माथि उठाउन सकेका छैनन । सबैको आ आफ्नै स्वार्थलिप्त विचार हावि छ । जसको प्रत्यक्ष असर महिला तथा बालबालिकाले भोक्नु परिरहेको तितो यर्थात हो ।

आधा आकाश ढाकेका महिलाहरुले राज्यको हरेक निकायमा पूर्ण समावेशी हुन सकेका छैनन् । चाहे राजनीतिक क्षेत्र होस् या त आर्थिक, शैक्षिक, सामाजिक क्षेत्र होस् । जनआन्दोलन भाग २ पछि महिलालाई राज्यको हरेक क्षेत्रमा ३३ प्रतिशत सहभागीता गराउने भनेर नीति बनाएपनि ति बनाएका नीति, घोषणा पत्र, सम्झौता पत्र ब्यवहवारमा लागू भने हुन नसकिरहेको अवस्था हो । महिला हक अधिकारलागि बनाएका नीति नियमहरु कागजी दस्तावेजमा मात्र सिमित छन् । महिलाकालागि बनाएका नीतिलाई लागू गर्न समेत यो पितृसांत्मक समाजलाई धौ धौ परेको अवस्था छ ।

आज यो समाजमा पुरुष स्वतन्त्रताको कुरा उठाइन्छ तर एउटा महिलालाई चाहिने आधारभुत स्वतन्त्रताको अधिकारको बारेमा बहस गर्दा महिलावादीहरु हवि भए भन्ने तर्क नआएका होइन । महिलामा काम गर्ने क्षमता, दक्षता र कार्यशैली नभएका होइनन् तर केवल पितृसांत्मक समाजकोलागि उनीहरु पुरुषको अन्डरमा बस्नु पर्ने दोस्रो दर्जाको नागरिकको रुपमा एउटा सहयोगीको भूमिकामा बांधिनु परेको अवस्था छ । अर्को तिर महिलाको सोंच पनि सांघुरो छ । जसले गर्दा आफूलाई भन्दा विश्वास पितृसांत्मक समाजलाई गर्दछ जसले गर्दा महिलाहरु दोस्रो दर्जाको नागरिकको रुपमा रहनु परेको छ । त्यसले गर्दा महिला झन् झन् पछाडि पढ्दै गइरहेको छ ।

एक दिन म काठमाडौंको पुतलीसडक हुंदै सिंहदवार जांदै थिए । बाटोमा एक्कासी ३ जना अग्रज पुरुष साथीहरुसंग भेट भयो । १ जना संग मेरो पहिल्यै चिनजान थियो २ जना पुरुष मित्रहरु संग मेरो नयां परिचय भयो । परिचयकै क्रममा मैले आफ्नो नाम, ठेगाना, वर्तमान कार्यगत पदहरु भन्दै गए । मेरो परिचय नसकिदै नयां पुरुष मित्रले भन्नुभयो –ओ हो तपाई त कस्तो पुरुषले गर्ने  काम पो गर्नु हुदो रहेछ । महिलाले त कहां यसरी काम गर्न सक्छन् ? प्रायः महिलाहरु त यसरी काममा खटिनै सक्दैन भन्ने जवाफ आयो । मैले त्यो पुरुष मित्रलाई एकछिन टक्क उभिएर हेरिरहे । मनमनै भने कस्तो परिवारमा जन्मीएको रहेछ । हुन त उसको के दोष समाजको संरचना नै त्यस्तै बनेपछि । समाज नै पितृसांत्मक सोंचले ग्रसीत भएपछि ऊ जस्तो समाजमा जन्मीयो उसले त्यही सिक्ने हो । परिचय लगत्तै म आफ्नो यात्रा जारी राखे । मनमनै सोंचे म त समाज परिवर्तन गर्न हिडेको एउटा बटुवा । आफू जलेर भएपनि अरुलाई प्रकाश छर्न हिडेको यात्री । मलाई थाहा छ । समाज पितृसात्मक सोंचले ग्रसित छ । मलाई काम गर्न गाह्रो छ । हरेक  प्रकारका चूनौति र समस्याहरु सामना गर्नुछ । भन्नेले भन्दै गर्छ तर मैले आफ्नो यात्रा जारी राख्नुपर्छ ।  किन कि समय सधैं एकनास हुंदैन भोलि त पक्कै परिवर्तन हुनेछ । त्यो परिवर्तन मेरो संघर्ष, मेरो यात्रा मेरो त्यागले केही भएपनि सफलता हासिल गर्नेछ भन्दै अगाडि बढे ।

हाम्रो समाज यस्तो संरचनामा छ जहां महिला सधैं ओझेलमा परेका छन् । कतै धर्मका नाममा महिला ओझेलमा परेका छन् । कतै संस्कारका नाममा महिलालाई दमन गरिएको छ कतै महिला भएरै जन्मीएपछि हेपिएका छन् । घर देखि समाज र राष्ट्र निर्माणमा महिलालाई पूरुषबादी चिन्तनले दबाइएको छ । महिलाहरु अगाडि बढ्न नखोजेका होइनन् तर चाहेर पनि यी धर्म, संस्कृति,संस्कार र पूरुषवादी संरचनाका कारण आज महिलाहरु हरेक क्षेत्रमा हेपिनु मात्र होइन ठगिनु परेको छ ।

पितृसांत्मक समाजमा महिला अगाडि बढेको देख्नै सक्दैन । कसरी हुन्छ महिलालाई ‘डाउन’ गराएर छाडेका धेरै घटनाहरु छन् । केही सिप नलागे महिलाको चरित्रलाई बद्नाम गरेर भएपनि उसलाई समाजमा दवाउने गरिन्छ । जति सक्दो यो समाजले महिलालाई सोपिसको रुपमा प्रयोग गर्न खोज्दछन् । महिला अगाडि बढोस् र समाजकोलागि राम्रो काम गरोस् भन्ने जमातको कमि छ यहां । मात्र देखावटी रुपमा महिलालाई समावेशी गराउने र अन्तिममा यसको काम गर्ने क्षमता छैन भनेर हावा फैलाउने काम नभएको होइन । एका तिर समाज अर्को तिर स्यम महिलालाई प्रकृतिले टगेको हुनाले महिला कमजोर हुनु अर्को कारण हो ।

तर यसरी महिलाकै बारेमा वकालत गर्दा पितृसात्मक समाजमा परिवर्तन नै भएको छैन भन्न खोजिएको होइन । परिवर्तन भएका छन् तर जति हुनु पर्ने हो त्यति हुन भने सकिरहेको छैन । पुरुषवादी समाजनै चाहदैन भन्नु पर्छ । कम्तीमा महिला पनि यो देशको पहिलो दर्जाको नागरीक हो भनेर अधिकार दिनुसक्नु पर्छ । त्यसकोलागि राज्यको पहिलो काम भनेको महिलालाई हरेक क्षेत्रमा समान सहभागीता बनाउनकोलागि महिला मैत्री संरचना बनाउनु आवश्यक छ । महिला मैत्री संरचना बनाई सकेपछि त्यसलाई व्यवहारमा लागू गर्न राज्य स्यम अघि बढ्नु पर्छ ।

त्यसको साथै महिलाहरु पनि आफ्नो हकअधिकार प्राप्तीकोलागि आफूलाई यो समाजमा महान ब्यक्ति बनाउनकोलागि सक्रिय भएर एकिकृत भएर अघि बढ्नुपर्छ । अरुले देला र खाउला भनेर बस्यो भने त्यो दिन कहिल्यै पनि आउने छैन । आफ्नो जग आफै बनाउन तिर लाग्नु पर्छ । त्यसकोलागि पूरुषको सयोग किन नपरोस् । जबसम्म महिला पुरुष एक रथका दुई पांग्राको रुपमा समान हैसियत दिदैन तबसम्म महिला सधैं पछि पर्नेछ । अधिकार मागेर होइन खोसेर लिनु सक्नुपर्छ । त्यसकोलागि आम नेपाली महिलाहरु एकजुट भई अघि बढ्नुपर्छ ।

(लेखक : नेपाल मगर बिध्यार्थी संघका केन्द्रिय अध्यक्ष तथा बरिष्ट पत्रकार हुन)

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %