हाम्रो लडाई जात संग होइन राज्यसत्ता संग हो

Read Time:19 Minute, 45 Second

दीपा आले

नेता नेल्सन मण्डेलाले भनेका छन् ‘मेरो जिवनभर अफ्रिकी जनताको संघर्षका लागि आफूलाई खर्चे । मैले गोरा जातीहरुले काला जातीहरुमाथिको दमनका लागि लडें । मैले आफ्नो मनमा एउटा विचार राखेको छु, जसमा प्रजातान्त्रिक र स्वतन्त्र समाज छ, जहां प्रत्येक ब्यक्तिहरु एकताबद्ध भएर, मेलमिलाप गरेर बराबर अवसरहरुका साथ बांच्नेछन् । यो नै एउटा कारण हो, जसकालागि म मर्न तयार छु ।’ जसरी मण्डेलाले राज्यदेखि हेपिएका, दमन र शोषणमा परेका काला जातीका पक्षमा मर्न समेत तयार भए त्यसै गरी मपनि जुन दिनदेखि पछाडि परेको वर्ग, क्षेत्र र समुदायलाई राज्यले दमन, शोषण र हेपाहा दृष्टिले हेरेको पाएँ त्यो दिनदेखि निरन्तर त्यसको विरुद्धमा लागि रहेको छु । राज्यदेखि हेपिएका, दबाइएका र थिचिएका जनताको अधिकारलागि लड्दै यहांसम्म आइपुग्दा रगतको प्रभाव समेत नगरी देश भित्र बस्ने सबै जाती, वर्ग र क्षेत्रका मानिसलाई समान अवसर प्राप्त होस भन्ने उद्देश्यले मेरो पाईला निरन्तर अघि बढिरहेको छ ।

    

वर्षौदेखि राज्यबाट शोषणमा परेका बर्ग, क्षेत्र र समुदायका आवाजलाई उठान गर्न खोज्दा मेरा पाईलाहरु रोक्ने प्रयास नगरेका होइनन तर पनि शरीरमा एकमुठी सास रहदासम्म संघर्ष गरिरहे जसले गर्दा ममाथि दुस्प्रयास गरी आक्रमण  गर्ने आत्माघातीहरु सडेका सिनो झै पाखा लागे । जसले मेरो कठोर संघर्षको अगाडि घुडा टेक्नु परेको छ । जसको परिभाषा म गर्न चाहान्न । किन कि ईतिहास सांची छ । बुझ्ने लाई श्रीखण्ड भने झै हो । तर पनि मेरो पाईला सधैं राज्यदेखि पछाडि पारीएका, आवाज विहिनहरुको आवाजलाई राज्यको निर्णायक तहमा पुराउन कदापि पछि हट्ने छैन ।

 लोकतान्त्रिक गणतन्त्रमा स्वतन्त्र विचारलाई जहांबाट सुरुवात गरेपनि मिसन, भिजन र पावर भने राज्यदेखि हेपिएका, पछाडि पारिएका र अधिकारदेखि बञ्चित  भएका जनताको आवाजलाई राज्यको शक्तिरुपी सत्तामा पुराउनु हो । जसकोलागि नेपाल मगर विद्यार्थी संघ  आफ्नो समुदायको हक अधिकारकोलागि आजसम्म सडकमा आन्दोलन गर्नु पर्ने अवस्था छ । त्यति मात्र नभई  यो समुदायले अरु सरह सम्मान अधिकार पाउनकालागि आन्दोलन गर्नु पर्ने बाध्यता छ ।

 सदियौंदेखि राज्यसत्ताको शक्तिमा कब्जा जमाएका एकतन्त्रीय शक्तिको हावीले गर्दा मगर समुदाय लगायत आदिबासी जनजाती समान अधिकार र पहुंचबाट बञ्चित हुंदै आएका छन् । राज्यदेखि पछाडि परिएका, उत्पीडनमा परेका ती समुदायले आफ्नो पहुंच अरु सरह समान बनाउनकोलागि लड्दै, आन्दोलन गर्दै आएपनि राज्यले अहिलेपनि नसुनेको अवस्था हाम्रो सामु जगजाहेर छ । त्यसले गर्दा नेपाल मगर विद्यार्थी संघ एकताबद्ध हुनु  परयो । आफ्नै देश भित्र समान, अधिकार समान पहुंच र समान सहकार्यको बतावरण सिर्जना भइदिएको भए आज यसरी नेपाल मगर विद्यार्थी संघले आफ्नो समुदायको एकता गर्नु पर्नेथिएन ।

आफ्नै देशमा बसोबास गर्दै आएतापनि राज्यले आदिबासी जनजाति समुदायलाई सधैं सौतेला सन्तानको रुपमा हेर्ने गरियो । एक थरि सन्तानलाई राज्यबाट पाउने सबै अधिकार दिएर सम्पन्न पारेको छ भने अर्को थरि सन्तानलाई अधिकार त के उसले बोल्ने मातृभाषामा समेत बञ्चित गरियो । यसरी एकात्मक शासन र सत्तामा लुप्त हुन पुगेका राज्यसत्ताका मालिकले आदिबासी जनजातिभित्र पर्ने मगर समुदायलाई  स्वतन्त्र अधिकार दिन बाट बञ्चित गरियो । राज्यसत्तामा बसेका मालिकलाई हेर्दा जति राम्रो लाग्छ तर अधिकारका पक्षमा सबै जनतालाई समान अधिकारको बारेमा निर्णय गर्दा अकाश र पातालको फरक पाईन्छ । यसरी गुज्रीएको छ हाम्रो देशमा बसेका राज्यसत्ताका मालिकको कार्यदिशा जसको बयान जति गरयो उत्ति घिनलाग्दो छ ।

 राज्यसत्तामा बस्ने जुनसुकै ब्यक्ति किन नहोस ति भनेका नेपाली जनताका संरक्षक, आमाबाबु सरह हुन तर एउटा जिम्मेवारी आमाबाबुले खेल्नुपर्ने भूमिका नखेल्दा जसको मार आम पछाडि परेका जाती, वर्ग र क्षेत्रले बोक्नु परेको छ । यस तर्फ राज्यसत्ताको ध्यान किन जान नसकेको होला भन्ने कुरा हजारौ जनताले प्रश्न गरिरहेका छन् तर राज्य भने ति जनताको आवाजलाई सुनुवाई त परै जावस त्यसलाई हेर्न समेत मन पराउर्दैन । यो कुरा त जब शक्तिकेन्द्रित सिंहदरवारमा काम लिएर जाने जनताले भोक्नु परेको तितो यथार्थ हो । त्यति मात्र होइन त्यहां भित्र छिर्न एउटा नेपाली नागरिकको हैसियतले होइन सिंहदरवार भित्र बस्ने शक्तिसत्ताका मालिकहरुको आसिरबात लिएर मात्र जान पाउने अवस्था छ । भन्नुको कारण एउटा गरिब जनताले त्यहां भित्र जांदा उसले सहजतरिकाले सिंहदरबार भित्र छिर्न सक्ने बातावरण छैन । यदि ऊ त्यहां भित्र र्छिरी नै हाल्यो भने उसले जुन काम लिएर गएको छ त्यो काम पुरा हुंदैन किन कि ति राज्यदेखि पछाडि पारिएका आदिबासी जनजाति, दलित, मुस्लिम, मधेशी, महिलाहरुको राज्यसत्तामा पहुंच विरलै पाइन्छ । एकलजातीय पहुंच र अधिकारका कारण पछाडि परेका वर्ग, क्षेत्र र समुदायको अधिकार अहिलेको वर्तमान परिस्थितिमा आइसक्दा समेत हातमुख जोर्नु पर्ने अवस्था छ ।

यसरी राज्यको बागडोर सम्माल्ने सत्ताधारीहरु आफ्नै ‘मनोपली’मा अगाडि बढ्छन् भने देशको विकास त परै जावस निमुखा जनताको भावना र आवाज कहिल्यै राज्यको मूलधारमा पुग्नेछैनन् तर पछिल्लोसमय यता जब २०६२,६३को जनआन्दोलन पश्चात राज्यदेखि पछाडि पारिएका जनता एकजुट भएर केन्द्रिकृत सरकारमाथि  जाइ लागे त्यसपछि मात्र पछाडि परेका जाती, बर्ग र क्षेत्रका जनताहरुको केही हदसम्म भएपनि सम्बोधन भएको छ । जसले राज्यको निर्णायक तहमा पुराउन समानुपातिक, समावेशी जस्ता संरचनाको विकास गरियो । जसले गर्दा केही पछाडि परेका समुदाय राज्यको मूलधारमा आउन सकेपनि भने जस्तो पूर्णता पाएको छैन जसलाई हामी हात्तिले देखाउने दांतको उपनाम दिन चाहान्छौं । जसलाई हामी ललिपपको संज्ञा दिन चाहान्छौ । पछाडि परेका समुदाय, वर्ग र क्षेत्रलाई ललिपप देखाएर शासन सत्तामा भएका शक्तिलाई एकलजातीय र एकतन्त्रीय शासन गर्ने मालिकले नै प्रयोग गर्दै आएका छन् । यसरी भन्दा फरक नपर्ला ।

ईतिहासको कालखण्डलाई हेर्दा मगर समुदाय यो देशको ‘एलिट’ भएर शासन गरेका थिए । मगर समुदायको शासन र सत्तालाई आफ्नो हातमा कब्जा जमाएर बसेका सत्ताधारी आज मगर समुदायलाई राज्यको शक्तिमा लग्न समेत कन्जुसाई गरेका छन् । राज्यसत्ता होस या शक्तिमा पुराउन खेल खेल्ने राजनीतिक दल किन नहोस् मगर समुदायलाई अधिकार दिन परयो भने लामो सास मात्र होइन कतै उनीहरुले देखेका सपना समेत पुरा हुंदैनन् कि भनेर शंका उपशंका गर्दछन् । सबै समान रुपमा स्वतन्त्र भएर बस्नु पर्छ भन्ने स्वच्छ भावना र विचारलाई लात हानेका छन् । यसरी नै मुलुकमा बसेका जनताहरुको अधिकारलाई बञ्चित गरिने हो र आफू मात्र यो देशको सबै सर्वसर्वा हो भनेर मोज गर्ने हो भने जनताको विकास त परै जावस यो सुन्दर देश नेपालको विकासले गति लिने छैन । केन्द्रिकृत शासन र शक्तिलाई विकेन्द्रिकृत गर्दै आम नेपाली जनता सामु पुराउने पहिलो दायित्व राज्यसत्तामा बसेका सत्ताधारीको हो ।

समग्र देश र जनताको विकास गर्न छ भने लोकतान्त्रिक परिवेशलाई आत्मा साथ गर्दै आम नेपाली जनताले स्वतन्त्र रुपमा बांच्न पाउनु पर्छ । उसले राज्यदेखि पाउनुपर्ने अधिकार सबैलाई सम्मान रुपमा दिन सक्नु पर्छ । एउटा सन्तान सर्वसत्तामा  पुराउने र अर्को सन्तानलाई कुंवाको भ्यागुतो बनाउनु भनेको आफै विनाशको बाटो रोज्नु हो ।

त्यसैगरी नेपाल मगर विद्यार्थी संघले आफ्नो अधिकार पाउन राज्यसत्ता संग वार्ता गर्दै आइरहेको छ । त्यति मात्र नभई मगर विद्यार्थी संघको मातृ संस्था मगर संघ संग सहकार्य गर्दै मगर संघको  मिसन र भिजनलाई आत्मा साथ गर्दै आजको वर्तमान अवस्थामा यहांसम्म आईपुगेको अवस्था हो । राज्य सत्तामा समान अधिकार पाउन मगर विद्यार्थीले देशको विभिन्नजिल्ला जिल्लाका कार्यक्रम गर्दै आइरहेको छ ।

 २०५१ सालमा संघको स्थापना भएको हो । त्यो स्थापना अरुलाई हेप्न, डराउन र अधिकार देखि बञ्चित गर्न होइन । राज्यको अधिकारदेखि बञ्चित भएकाहरुको हकहितकोलागि धावा मार्ग बन्नकोलागि गठन भएको हो । जसले आज आफ्ना आवाजहरुलाई राज्यसम्म पुराउन आठौं राष्ट्रिय महाधिवेशन गर्न गइरहेको छ । जसले महाधिवेशनबाट पछाडि परेका आवाजविहिनहरुको आवाजलाई राज्यको निर्णायक तहमा पुराउन नयां नेतृत्व चयन गर्नेछ । नयां नेतृत्वले पछाडि परेका वर्ग, क्षेत्र र समुदायको आवाजलाई राज्य सक्षम पुराउने काम गर्नेछ । यदि सरकारले यी समुदायका आवाजलाई ध्यान दिएर सुनिएन भने मौन आन्दोलन मात्र होइन सडकदेखि सदन र शक्तिकेन्द्रित सत्ताधारीको छातीमा आन्दोलन गर्नेछ र गर्न बाध्य बनाउनेछ ।  हाम्रो आन्दोलन जारी छ अहिले पनि शासन सत्तामा बसेकाहरुले मगर समुदायका आवाजलाई बञ्चित गर्दै आएका छन् ।

 नेपालका प्रथम शहिद लखन थापामगर भनेर विश्वमा चिनिएपनि सत्ताधारीहरुले त्यसलाई आधिकारीक रुपमा खुलेर सबैको सामु भन्न नसकेको अवस्था हाम्रो सामु जिवित छ । कम्तीमा सत्य कुरालाई त आत्मा साथ गर्नु  पर्छ राज्यसत्ताले यसरी पछाडि परेका समुदायलाई विभेद गरिएको छ । मगर समुदायको भाषा, लिपि, संस्कृति, शिक्षामा समेत अंकुश लगाइएको छ । जनआन्दोलन पछि सबै जातीले आफ्नो मौलिक अधिकार प्रयोग गर्न पाउने आफ्नै मौलिक भाषा, संस्कृति र लिपिलाई बचाउनु पर्ने खोक्रा भाषण, र प्रतिबद्धता सरकार पक्षबाट सुनिएपनि व्यहारमा कार्यान्वयन हुन सकेको छैन । एउटा गरिब निमुखा बालकलाई  जेनतेन खाना त दिएको छ तर खाने कसरी भन्ने कुरा सिकाइएको छैन । यसरी नै राज्यपक्षले मगरसमुदायलगायत अन्य पछाडि परेका समुदायलाई ललिपप देखाउने काम भइरहेको छ । जसरी ति पछाडि परेका वर्ग, समुदाय र क्षेत्रको पहिचान सञ्चारमा आउन समेत रोक लगाइएको तितो घटना हामी सबैलाई थाहा भएकै कुरो हो । मात्र छातीमा हात राखेर ढुकढुकीलाई महसुस गर्न सक्नुपर्छ ।    यसरी नै नेपालको एकतन्त्रीय शासन र सत्ता अघि बढी रहेको छ । लामो समय राजनीतिक अन्यौलता र अस्थिरताले गर्दा त्यसको मार सत्ताधारी होइन स्यम गरिब,निमुखा जनताले भोक्नु परेको छ । कर्णाली क्षेत्रदेखि बांकेको राप्ती पारी बस्ने जनताले भोग्दै आइरहेका छन् यति मात्र होइन तराईका फांटमा बसोबास गर्ने जनता र हिमाल र पहाडका कुना कन्दरामा बसोबास गर्दै आएका जनताहरुलाई सोध्नुस् आजसम्म राज्यले दिने समान अधिकार कति उपभोग गर्न पाए । तर गरिब जनताको सेवामा सधै सम्रपित भनेर शासन र सत्तामा बसेर दिवासपना देख्ने आडमबरी खोक्रो भाषण र प्रतिबद्धता गरिब र अधिकारदेखि बञ्चित जनताकालागि मान्य हुनेछैन ।

जसले गर्दा आज नेपाल मगर विद्यार्थी संघ आफ्नो मिसन, भिजन र शक्तिकेन्द्रित सत्तामा पुराउन राज्यदेखि पछाडि पारेका वर्ग, क्षेत्र र समुदायलाई साथमा लिएर आज सरकार समक्ष धावा बोल्दैछ जसकोलागि संघले आफ्नो रगतको बलिदानी दिन किन नपरोस् । आम नेपाली जनताले समान हैसियतले समान अधिकारका साथ लोकतान्त्रिक पद्धतिलाई आत्मासाथ गर्दै सबैले समान रुपमा राज्यको अधिकारलाई स्वस्फूर्त स्वतन्त्र रुपमा उपभोग गर्न नपाउंदासम्म हाम्रो यात्रा सधैं बुलन्द भएर अगाडि बढ्नेछ । हाम्रो मिसन, भिजन र पाईलालाई रोक्न खोज्ने सरकार समेत एक दिन घुडा टेक्नु पर्नेछ । चाहे सिंहदरवारभित्र रहेको सत्ताकेन्द्रित शक्तिको प्रयोग किन नगरोस् या त बालुवाटारको शक्तिले हामीमाथि जाई किन नलागोस त्यसको प्रतिकार गर्दै राज्यदेखि पछाडि परेका बर्ग, क्षेत्र र समुदायको अधिकारलाई समान पहुंचमा पुराउन सधैं अगाडि बढीरहनेछ । यसतर्फ राज्यसत्ताको ध्यान जावस् एउटालाई काखा र अर्कोलाई पाखा होइन कसरी सबै आफ्ना देशका जनतालाई समान अधिकार र पहुंच दिने भन्ने विषयमा हृदयरुपी आत्मालाई सकारात्मक बनाउदै सत्ताशक्तिमा सबै जनतालाई पुराउनुपर्छ अनि मात्र समग्र देशको विकास हुन्छ भन्ने विषयमा गम्भीर हुनु जरुरी छ । त्यति कै नेता मण्डलाले भनेका होइन जब उनी काला जातीको पक्षमा आन्दोलन गरे । त्यसमा उनले कति जेलनेल खानु परयो ।

कति कठोर संघर्ष गर्नु परयो त्यसको बाबजुत पनि उनी जीवनमा कहिल्यै मर्न डराएनन् उनी राज्यदेखि पछाडि परेका समुदायकालागि लडि नै रहे जसको प्रतिफल उनले काला जातीको अधिकारलाई पुरा गरेर छाडे उनले आफ्नो सफलता भन्दा पनि  त्यहां सम्म पुग्न उसले कति संघर्ष गर्नू परयो त्यसको मुल्यांकन गर्नु पर्छ भनेर आम सत्ताधारीहरुलाई चूनौतिका साथ सन्देश समेत छाडेर गएका छन् त्यसलाई सत्ताधारीहरुले मनन गर्न जरुरी छ । जीत सधै सत्यको हुन्छ चाहे हजारौं वर्ष किन कुर्न नपरोस् । महान नेता मण्डला मात्र होइन राज्यदेखि पछाडि परेका, विभेद र शोषणमा परेका जनताको पक्षमा लड्दालड्दै सांघातिक हमलामा परि मुर्छित भएका आदिबासी जनजातिका महान नेता गोरेबहादुर खपाङगीमगर समेत लागि परेका छन् । तर अहिलेपनि राज्यपक्ष मौनतामा बसिरहेको अवस्था छ । त्यसैले मैले बारम्बार भन्दै आइरहेको छु । एक दुई मात्र गोरेबा धर्तिमा जन्मीएर हुंदैन हेपिएका, चेपिएका र अधिकारदेखि बञ्चित जनताको अधिकारलाई सुनिश्चत गर्न हजारौं गोरेबा जस्ता मिसन, भिजन बोकेका साहसीक नेताको खांचो छ । अनि मात्र सबै जनताले समान अधिकार, समान हैसियत र समान पहुंचका साथ स्वतन्त्र भएर बांच्न पाउनेछन् । यसकालागि हामी सबै एकताबद्ध भएर अगाडि बढ्न झनै महत्वपूर्ण छ । एकताबद्ध भएर अगाडि  बढ्न  सक्यो भने एक दिन हाम्रो मिसन पुरा हुनेछ ।

(लेखक: नेपाल मगर विद्यार्थी संघका केन्द्रिय उपाध्यक्ष हुन)

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %