अमृत योञ्जन तामाङ
राणा शासनको बिरुद्दमा बिद्रोह गर्दा १९३३ फागुन २ गते सहादत प्राप्त लखन थापामगरलाई यही असोज ३ गते मन्त्रीपरिषद्को बैठकले “नेपालको प्रथम सहिद” घोषणा गर्यो।
आदिवासी जनजाति समुदायको लागि यो निकै महत्वपूर्ण कुरो हो। उनीबारे मगरहरुले निकै अगाडिदेखि लेख्दै आइरहेका थिए र सहिद घोषणाको माग गर्दै पनि आइरहेका थिए ।
लखन थापा-मगर कस्ता थिए ? आजभन्दा १४० वर्ष अगाडि आजको जस्तो हाटबजारमा फोटो खिच्ने चलन वा सर्वसाधारणको हातमा क्यामेरा त आइसकेको थिएन । त्यसो भए उनको फोटो वा चित्र कसरी निस्क्यो त ? कसरी चित्र बन्यो ? यस कार्यमा ‘कइरन’ पत्रिकाको भूमिका देखिन्छ ।
२०४६ सालको परिवर्तन सङ्गै साथीहरुसँग मिलेर मेलै “कइरन” मासिक पत्रिकाको सम्पादन प्रारम्भ गरेको थिएँ। यो आदिवासी मुद्दामा केन्द्रित पत्रिका थियो र निकै लोकप्रिय पनि बन्यो। यसै क्रममा एम.एस. थापा-मगरको एउटा लेख प्राप्त भयो – “प्रथम शहीद लखन थापा मगर” शीर्षकमा । यो लेख कइरनको अङ्क ६ (माघ-फागुन २०४८) मा छाप्ने योजना बन्यो। यो लेख महत्वपूर्ण लागेर फोटो पनि छाप्ने विचार गरे। कलाकार साथी देवलाल मोक्तानलाई एउटा काल्पनिक चित्र कोर्न लगाए। उनले कोरेको चित्रसहित लेख छापियो ।
यस फोटोले आदिवासी जनजाति युवाहरुमा निकै हलचल ल्यायो। यसपछि क्याम्पस प्रवेस गरिसकेका प्रदीप थापा मगर मेरो सम्पर्कमा आए । उनले यो कभर फोटोलाई रङ्गिन (कलर) बनाउनु भयो। पछि पुन थप डिजाइन गरेर पोस्टकार्ड छाप्नु भयो। यसैबाट अभिप्ररित भएर किराती साथीहरुले यलम्बरको फोटो डिजाइन गरेर प्रकासित गरे। यस्तै अन्य समुदबामा पनि सर्यो।
कइरनको कार्यालय बागबजार स्थित, पि.के. क्याम्पस अगाडिको गल्लीमा थियो। यस कार्यालयमा युबा लेखक तथा आन्दोलनकर्मीहरुको जमघाट हुन्थ्यो र विचारका साथै ऐतिहासिक प्रतिभाहरुको काल्पनिक चित्र तयार भएको थियो। यो आन्दोलन निकै जोसिला र गर्बिला सावित हुदैछ।
तामाङको फेशबुक बाट साभार गरिएको