नेपालको थेरवादी विहारहरूको स्वरुपमा एकरुपता आजको आवश्यकता।

Read Time:52 Minute, 8 Second

मंसिर २२, २०८०

पूर्ण बहादुर राना

प्रस्तुत लेख२०८० मंसिर २ गते नेपाल मगर बौद्ध सेवा समाज संघीय परिषदद्धार आयोजना गरिएको थेरवाद विहारको संरचना विषयक एक दिवसिय गोष्ठिमा थेरवाद बुद्धिष्ट एकेडेमीका प्राचार्य प्रोफेशर डाक्टर महेन्द्र रत्न शाक्यद्धारा प्रस्तुत गरिएको कार्यपत्र हो । यो कार्यपत्रमा थेरवाद विहारको संरचना धेरै प्रकारको रहेकोले विहारको संरचनामा कसरी एक रुपता ल्याउन सकिन्छ सो बारेमा उल्लेख गरिएको छ । यो कार्यपत्र विश्व शान्ति विहार काठमाडौंमा प्रस्तुत गरिएको थियो।
१. परिचय

नेपालमा १९ औं शताब्दीमा थेरवाद बुद्धधर्मको पुनर्जागरण पछि आजसम्म सयौं विहारहरू बने जहाँ थेरवादी भिक्षुहरू तथा अनागारिका गुरुमाँहरू बस्दै आउनु भएको छ । ती विहारहरूको स्वरुप दुई थरिका देखिन्छन् । एक थरी विहार बाहा र बहीको रुपमा भएको तर जीर्ण भई वा अन्य कुनै कारणले भिक्षुसंघलाई दान दिएका विहारहरू र अर्को थरि भनेको जग्गा किनेर वा जग्गा दान प्राप्त गरेर नयाँ निर्माण गरेका विहारहरू । बाहा बहीको रुपमा रहेको विहारहरू आफ्नै पुरानो स्वरुप देखिन्छन् भने नयाँ बनाएका विहारको स्वरुपमा एकरुपता देखिंदैन । कुनै विहार गृहस्थीको घर जस्तै देखिन्छन् त कुनै विहारमा खुल्लाचोक आदि ठाउँ पनि छैन । विहारले ओगटेको जग्गाका आकार प्रकार र भिक्षुहरूको आआफ्नो आवश्यकता अनुसार विहारको निर्माण भएको देखिन्छ । (चित्र १, २, ३, ४, ५, ६ ) ।

चित्र १— यंगः बाहा (सुमंगल विहार), ललितपुर, पुरानो स्वरुप । पुननिर्माण पछि यसको स्वरुप बदलेको छ ।

चित्र २ चरुमती बुद्धविहार, चित्र ३— धर्मचक्र विहार,

चाबही, काठमाडौं । बागवजार, काठमाडौं ।

चित्र ४—सुदर्शन विहार, बनेपा । यो घरहरूको बीचको घर दान दिएको देखिन्छ ।

चित्र ५— बुद्ध विहार, पनौती । चित्र ६— बोधिचर्या विहार, बनेपा ।

यहाँ प्रस्तुत गरिएका कुनै पनि विहारमा एकरुपता देखिंदैन । तर महायानी विहारहरू प्रायः धैरै कुरामा एकरुपता देखिन्छन् । त्रिपिटकको ठाउँठाउँमा बुद्धले विहारको बारे प्रकाश पार्नुभएको छ । थेरवादी विहारमा पनि एकरुपता ल्याउनु आजको आवश्यता हो भन्ने विषयमा प्रकाश पार्नु र बुद्धकालमा बनेका विहारहरू, मौर्यकालमा बनेका र कुषाणकालका विहारहरूको प्राप्त भग्नावशेषको आधारमा थेरवादी विहारको स्वरुप कसरी बनाउन उपयुक्त हुन्छ भन्ने बारेमा यो कार्यपत्र तयारपारिएको छ ।

१.२. समस्या कथन

महायानी विहारहरू अर्थात् बाहा बहीहरूमा प्रायः धैरै कुरामा एकरुपता देखिन्छन् । बाहिरबाट हेर्दाखेरि नै यो बाहा बही हो, यो गुम्बा हो भनेर छुट्याउन सकिन्छ । तर थेरवादी विहारहरूमा त्यस्तो एकरुपता देखिंदैन । थेरवादी विहारको स्वरुपमा एकरुपता नभएकोले यसको आफ्नै पहिचान नभएको जस्तो भान हुन्छ । विहारमा भिक्षुहरू देखेपछि मात्र चिन्न सक्ने भएको छ । थेरवाद विहारको बाह्य स्वरुप कस्तो हुनुपर्दछ ? यसको भित्रको स्वरुप कस्तो हुनुपर्दछ ? बुद्धकाल र पछिका मौर्य, कुषाण कालका विहारहरूको स्वरुप के कस्ता छन् ? भन्ने प्रश्नहरूलाई नै यसमा समस्याकथनको रुपमा लिइएको छ ।

१.३. उद्देश्य

थेरवादी विहारहरूको निर्माणमा एकरुपता हुनु आवश्यक छ भन्ने विषय लगायत बुद्धले अनुमति दिनुभएका पाँच प्रकारका लेन (विहार)हरू, बुद्धकालपछि मौर्य र कुषाण कालमा बनेका विहारको उत्खननको आधारमा वर्तमानमा नेपालमा थेरवादी विहारको भित्री बाहिरी स्वरुप कस्तो बनाउनु पर्ला भन्ने बारेमा प्रकाश पार्नु यो कार्यपत्रको उद्देश्य हो ।

१.४. सीमा

यसमा लुम्बिनी कपिलवस्तु क्षेत्र, जेतवन, साँची, तक्षसीलाको उत्खननबाट पाइएका विहारका भग्नावशेष र पालि त्रिपिटक अठ्ठकथामा वर्णन गरिएका विहारको स्वरुपलाई मुख्य आधार मानी यही सीमाभित्र रही नेपाली विहारको स्वरुप निर्धारणमा सहयोग गर्न खोजिएको छ ।

१.५. पूर्वसाहित्य समीक्षा

नेपालको थेरवाद विहार सम्बन्धी अध्ययन गरिएका साहित्यहरू थोरै मात्र उपलब्ध छन् । थेरवाद बुष्दिट एकेडेमीबाट सुमंगल विहार, विश्वशान्ति विहार आदि केही थेरवादी विहारको बारे शोधकार्य गरिएका छन् । यसमा सुमंगल विहार र जेतवन विहारको शोधपत्र अध्ययन गरिएको छ । विहार निर्माण सम्बन्धी विनयपिटक चूल्लवग्ग सेनासनखन्धको विषय पनि एउटा शोधकार्य गरिएको छ यसलाई पनि अध्ययन गरिएको छ । यी बाहेक भिक्षु सुदर्शन महास्थविरको “नेपाली विहारका विशेषताहरू”, भिक्षु अमृतानन्द महास्थविरको “बुद्धकालीन गृहस्थीहरू भाग १ र महिलाहरू भाग १”, गितु गरीको “प्राचीन कपिलवस्तुको इतिहास र संस्कृति”, महेन्द्ररत्न शाक्यको “पालि साहित्यमा विहार”, सुकुमार दत्तको “बुदिष्ट मोंक एण्ड मोनाष्ट्रिज् अफ इण्डिया”, युनेस्कोबाट प्रकाशित “दि सेक्रेड गाडेन अफ लुम्बिनी” आदि पुस्तक तथा लेख रचनाहरू अध्ययन गरिएका छन् ।

१.६. अध्ययन विधि

यसमा पालितिपिटक र अर्थकथा साहत्यिलाई नै मूल आधार मानिएको छ । बुद्धकालका विहारहरूको संरचना ग्रन्थमा वर्णन गरिए अनुसार र पुरातात्विक उत्खननबाट मौर्य कुषाण कालमा प्राप्त भारत र नेपालमा विहारहरूको भग्नावशेष सम्बन्धि प्रतिवेदन तथा विविध लेख रचना र पुस्तकरू लगायत थेरवाद बुद्धिष्ट एकेडेमीबाट विहार सम्बन्धि अध्ययन गरिएका एम. ए. शोधपत्रलाई पनि आधार मानी आवश्यक तथ्यांक संकलन गरी यो कार्यपत्र तयार गरिएको छ । यसमा MLA 9th Edition लाई अपनाइएको छ । पादटिप्पणीहरू कोष्ठक -parentheses_मा राखिएको छ ।

१.७. केही मूल शब्दहरू

यो कार्यपत्रले व्याख्या गर्न खोजेका केही मूल शब्दहरू यस प्रकार छन्— थेरवाद, सेनासन प्रत्यय, आराम, विहार, लेन, अड्ढयोग, पासाद, हम्मिय आदि ।

२. थेरवाद

थेरवाद पालि शब्द हुन् । थेरलाई संस्कृतमा स्थविर र थेरवादलाई स्थविरवाद भनिन्छ । थेरको अर्थ जेष्ठ भिक्षु हो । वाद भनेको मत विचार वा सिद्धान्त हुन् । बुद्धसासनमा भिक्षु भिक्षुणी भएको दश वर्ष पुगेका भिक्षु भिक्षुणीहरूलाई थेर थेरी भन्ने गरिन्छ । संस्कृतमा स्थविर, स्थविरा भनिन्छ। त्यस्तै भिक्षु भएको २० वर्ष पुगेकालाई महाथेर (सं. महास्थविर) भनिन्छ । आफ्नो श्रमणधर्ममा (बुद्धसासनमा) स्थिर भावमा पुगेका भिक्षु्हरूलाई थेर भनिन्छ (सुत्तनिपात अठ्ठकथा ११४) । थेरवादको सन्दर्भमा स्पष्ट हुनुपर्ने कुरा के छ भने, दोस्रो संगायनामा थेरवाद र महासांघिक निकाय छुट्टिएकोले दोस्रो संगायनापछि मात्र थेरवाद भनिएको हो कि भन्ने शंका उत्पन्न हुनसक्छ । तर दीपवंसमा पहिलो संगायनालाई नै “थेरवाद” भनिएको छ । थेरहरूले गरिएको धर्मसंग्रहलाई नै थेरवाद भनिएको पाइयो । थेरेहि कत संगहो थेरवादोति वुच्चति, उपालिं विनयं पुच्छित्वा धम्मं आनन्दसंखयं भनिएको छ । (दीपवंस ५६) ।

३. सेनासन पच्चय

हरेक मानिसलाईझै भिक्षु जीवनको निम्ति पनि आहार, वस्त्र, बस्ने ठाउँ र औषधी चाहिन्छ । यी चार प्रत्ययलाई नै चतुप्रत्यय भनिन्छ । पालिमा यसलाई चीवर, पिण्डपात, सेनासन, र गिलानपच्चय भनिन्छ । बुद्धले भिक्षुहरूलाई संघाटी, उत्तरासङ्ग र अन्तरवासक गरी तीन प्रकारका चीवरलगाउने अनुमति दिनुभएको छ । भिक्षुहरू पिण्डपात्र बोकी भिक्षाटन जानु हुन्छ । पिण्डपात्रमै राखेरभोजन खानु हुन्छ । त्यसैले पिण्डपात्र भोजन प्रत्ययको चिन्ह हो । सेनासन प्रत्यय भनेको बस्ने सुत्ने आराम गर्ने ठाउँ  हो । यस अन्तर्गत चक्टी, खात, मेच, आसन, विछ्यौना, तकिया आदि लगायत कोठा, बस्ने ठाउँ पर्न आउँछ । विहार पनि सेनासनपच्चय अन्तर्गत पर्दछ ।

४. बुद्धलाई दान दिएको पहिलो विहार वेलुवनाराम

बुद्धत्व प्राप्त गर्नु भएपछि बिम्बिसारको राज्यमा पाल्नु हुन राजाले गरेको प्रार्थना अनुसार भगवान् राजगृहमा पाल्नु भयो । राजाले बुद्धसहित भिक्षुसंघलाई महान सत्कार गरी दरवारमा भोजन निमन्त्रणा गरे । भोजनोपरान्त राजाको वेलुवन उद्यान (वेणुवनाराम) दान दिनुभयो । भगवानले राजालाई सन्तुष्ट हुने गरी धर्मउपदेश गर्नुभयो र भिक्षुहरूलाई भन्नुभयो— “अनुजानामि, भिक्खवे, आरामन्ति” (महावग्गपालि ४४) अर्थात् भिक्षुहरू, आराम ग्रहण गर्ने अनुमति दिन्छु । निदानकथामा आएको वर्णन अनुसार बिम्बिसार राजाले सुवर्ण कलशले भगवानको हातमा जलधारा सिंचित गरी वेलुवनाराम दान दिएको बखत “अब बुद्धशासनको जग बस्ने भयो” भनी पृथ्वी नै कम्प भएको थियो — तस्मिं

आरामपटिग्गहणे बुद्धसासनस्स मूलानि ओतिण्णानी‘ति महापथवी कम्पि (जातक अ कथा ९३) । यस्तो भूकम्प अरु कुनै पनि विहार दान दिंदा भएको थिएन । यसरी वेलुवनाराम विहार नै बुद्ध प्रमुख भिक्षुसंघलाई दान दिएको पहिलो विहार थियो । यसलाई आराम पनि भनिन्छ ।

५. आराम र विहारमा अन्तर

बुद्धकालमा शान्त, स्वच्छ, सघन वृक्षछायायुक्त श्रमणहरूको विश्रामस्थललाई नै आराम भनिन्थ्यो । शुरुमा विहार आरामको एक अंग हुन्थ्यो । आराम भित्रै गन्धकुटी, थुप्रै आवासहरू, बगैचा, उद्यान, उपवन, खुल्ला चौर आदि हुन्छन् (सुदर्शन ७२) । यस्ता आरामहरू तीर्थिक श्रमणहरूको पनि हुन्थ्यो त्यसलाई परिब्राजकाराम भनिन्थो । आरामहरू ठूल्ठूला हुन्छन् । आराम भित्रै धेरै विहारहरू हुन्छन् । भिक्षुसंघ बस्ने विहारलाई संघाराम भनिन्छ । आराम र विहार पर्यायवाचीको रुपमा पनि प्रयोग भएको देखिन्छ । जस्तै वेलुवनाराम, वेलुवनविहार, जेतवनाराम, जेतवनविहार, आदि । तर विहार एउटामात्र आवासलाई पनि भनिने गरिन्छ तर आराममा धेरै आवास हुन्छन् । यस अर्थमा विहार र आराममा फरक देखिन्छ (शाक्य क ५७—५८) ।

६. पाँच प्रकारका लेनहरू

शुरु शुरुमा भगवान् बुद्धले भिक्षुहरुको बस्ने ठाउँ  प्रज्ञप्त गर्नु भएको थिएन । त्यसैले भिक्षुहरू यता उता जंगलमा वृक्षमुनि, पर्वत्मा, कन्दरामा, गिरिगुफामा, श्मशानमा, वनपथमा, खुल्ला आकासमुनि तथा परालपुञ्जमा सुत्ने गर्थे । यो देखेर राजगृहको एकजना श्रेष्ठीले भिक्षुहरूलाई विहार बनाइ दिन अनुमति मागे । त्यसबखत भगवान् बुद्ध राजगृहको वेणुवन कलन्दकनिवापमा बस्नु भएको थियो । भिक्षुहरूले यो कुरा सुनाएपछि बुद्धले भन्नुभयो अनुजानामि भिक्खवे, पञ्च लेणानि विहारं, अड्ढयोगं, पासादं, हम्मियं, गुह’न्ति (चूल्लवग्गपालि २७२) । अर्थात्

भिक्षुहरु, पॉच प्रकारका लेणहरुको अनुमति दिन्छु — विहार, अड्ढयोग, प्रासाद, हर्मिय, र गुफा । लेणको अर्थ लुक्ने ठाउँ, बस्ने ठाउँ, आवास हो । त्यस्तै विश्रामस्थल, ओडार, गुफा, सुरुङ्, झाडीले घेरिएको एकान्त स्थान, वन, लतागृह, कुञ्ज आदिलाई पनि लेण भनिन्छ । लेण शब्द पालिको ’ली’ धातुबाट बनेको हो । संस्कृतमा लेनलाई लयन भनिन्छ (धर्मगुप्त ८२६) । यहॉ विहार आदि पॉच प्रकारका आवासलाई नै लेण भनिएको हो ।

७. विहार

विहारको अर्थ बस्ने ठाउँ, घर, सयनासन, भिक्षुहरूको आवासगृह हो । भगवान् जुन ठाउँमा बसेर धर्मदेशना गर्नुहुन्छ त्यो ठाउँको नाम सूत्रको सुरुमै उल्लेख भएको हुन्छ । जस्तै — “एवं मे सुत्तं एकं समयं भगवा सावत्थियं विहरति…, “एवं मे सुत्तं एकं समयं भगवा कुरुसु विहरति…, राजगहे विहरति…, आदि । यसको अर्थ यस्तो मैले सुनें एक समय भगवान् श्रावस्तीमा विहार गर्नुभएको थियो, कुरुमा, राजगृहमा विहार गर्नुभएको थियो । यहा“ विहरतिको अर्थ विहार गर्नु हो, बस्नु हो । यही विहरति शब्दबाटै विहार शब्द बन्न गएको मानिन्छ । विहरन्ति एत्थाति विहारो, (विनयालंकार ३८) । भिक्षुहरू बस्ने, विहार गर्ने ठाउ‘ भएकोले विहार भनिएको हो ।

८. अड्ढयोग

अड्ढयोग गरुड आकारको प्रासाद हो । अड्ढयोग एकापट्टि छाना छाएको सयनासन हो, जसमा एकातर्फ अग्लो भित्ता हुन्छ । यसलाई कहीँ एकसालो (एकनाली?) दीघपपासाद ठूलो दरवार पनि भनिएको छ । आचार्य बुद्धघोषले अड्ढयोगलाई सुपण्णवङ्कगेह अर्थात् गरुडको प्वॉंख जस्तै छाना मोडिएको गृह भनेको छ । (चूलवग्ग अठ्ठकथा ५८) । अड्ढको अर्थ आधा भन्ने हुन्छ । तर अड्ढयोगको अर्थ एक निश्चित प्रकारको महल वा दरवार हो । एकातर्फ भिरालो छाना भएको घरलाई पनि अड्ढयोग भनिन्छ (धर्मगुप्त २१) ।

९. पासाद

प्रासाद भनेको दरवार हो । पासादोति चतुरस्सो उच्चो अनेक भूमक पासादा अर्थात् प्रासाद भनेको धेरै तल्ला भएको चारकुने उच्च ठूलो दरवार हो (विमतीविनोदनी १००) । राजा बिम्बिसारले वेलुवनाराम दान गरिएके पछि भिक्षु्संघलाई नरम माटोले लिपेको प्रासाद बनाई दिेने मनसाय गरी त्यसमा कस्तो छाना हाल्नुपर्ला भनी भगवानसँग अनुमति मागेको थियो । बुद्धले पाँच प्रकारको छाना लगाउने अनुमति दिनुभयो । अनुजानामि भिक्खवे, पञ्च छदनानि— इठ्ठकाछदनं, सिलाछदनं, सुधाछदनं, तिणच्छदनं, पण्णच्छदनन्ति । (चूलवग्गपालि २८२) । भिक्षुहरू, पाँच प्रकारको छाना छाउने अनुमति दिन्छु — ईटाको छाना, ढुङ्गाको छाना, चूनको छाना, घाँसको छाना र पातको छाना । यसरी बुद्धप्रमुख भिक्षुसंघलाई सर्वप्रथम प्रासाद बनाई दिने राजा पनि बिम्बिसार नै देखिन आएको छ (वज्राचार्य ८५)। अनाथपिण्डिक महाजनले जेत राजकुमारको जग्गामा १८ करोड असर्फी विछ्याइ जेतवन विहार बनाउन जग्गा किने । तर जेत राजकुमार यसबाट धेरै नै प्रभावित भएर एक टुक्रा जमीन उसैको तर्फबाट दान दिए । त्यो ठाउँमा जेत राजकुमारले बुद्धलाई सात तले प्रासाद बनाइ विएको उल्लेख छ । विशाखाले श्रावस्तीमा बनाएको पूर्वारामविहार दुई तले थियो । प्रत्येक तलामा ५०० कोठा गरी पनि १००० वटा कोठा भएको प्रासाद थियो । यसको छानामाथि ६० घडा प्रमाणको सुनौलो चैत्याकारको गजुर राखिएको थियो (अमृतानन्द बु.का.म. ६७) । धम्मपद अर्थकथामा त्यो गजुर (पासादकूट) बाक्लो सुनको पाताले बनाएको वर्णन छ । (धम्मपद—अ कथा पठम २३२) । यदि त्यो चैत्याकार गजुर हो भने नेपाली विहारहरूमा चैत्याकार गजुर राख्ने चलन थेरवादकै अनुकरण हो भन्न सकिन्छ (चित्र ७) ।

चित्र ७ नेपाली विहारको छाना माथि चैत्याकार गजूर । रूद्रवर्ण महाविहार पाटन ।

१०. हम्मिय

हम्मिय वा हर्मिय वा हम्र्य भनेको छाना सम्म रहेको प्रासाद हो । आजकलको कौसी जस्तो । हम्म्यिन्ति मुण्डच्छदन पासादो (विनयविनिच्छय २१६) । हम्मियन्ति उपरिआकासतले पतिठ्ठितकूटागारो पासादोयेवं (चूलवग्ग अठ्ठकथा ५८) । हर्मिय भनेको प्रासादको माथिल्लो तल्लामा रहेको कुटागार (शिखर भएको कोठा? गजुर छाना भएको कोठा ?) लाई भनिएको हो । नेपालको बही विहारमा पनि माथिल्लो तल्लामा एउटा मन्दिर आकारको छुट्टै कोठा बनाउने चलन छ (चित्र ८) । यो हम्मियसँग तुलना गर्न सकिन्छ ।

चित्र ८— नकबहीको माथिल्लो मन्दिर जस्तो कोठा जुन हर्मियसित तुलना गर्न सकिन्छ ।

एक ठाउँमा चैत्यको हर्मिकालाई पनि हम्मिय भनेको छ । जस्तै मुद्दवेदिका नाम चेतियस्स हम्मिय वेदिका (वविरबुद्धि ४८०) । मुद्दवेदिका भनेको चैत्यको हर्मिका हो । ( चित्र ९) । यहाँ साँची र स्वयम्भू महाचैत्यको हर्मिका नमुना देखाएको छ ।

चित्र ९ साँची स्तूपको हर्मिका र स्वयम्भू महाचैत्यको हर्मिका

चुल्लवग्गमा तीन प्रकारको कोठाको अनुमति दिएको वर्णन छ । जस्तै अनुजानामि, भिक्खवे, तयो गब्भे — सिविकागब्भं, नालिकागब्भं, हम्मियगब्भं । राहुल सांकृत्यायनले सिविकागब्भको अर्थ लम्बाइ चौडाइ बराबर भएको कोठा, नालिकागब्भको अर्थ लामो कोठा र हम्र्य—गर्भ भनेको कोठा भित्रको कोठा भनेको छ (सांकृत्यायन ४५६) । तर चुल्लवग्ग अर्थकथामा हम्मियगब्भ भनेको आकास तलामा बनाइने कोठा हो चाहे त्यो कूटागार किसिमको कोठा होस् वा छाना सम्मपरेको कोठा होस्भ निएको छ । हम्मियगब्भोति आकासतले कूटागारगब्भो वा मुण्डकच्छदनगब्भो वा । (चुल्लवग्ग अठ्ठकथा ६१) । सुकुमार दत्तकानुसार जनवरी १९४२ मा एकजना पुरातत्वविद् डा. दिक्षितले पश्चिम भारतको कोण्डने गुफामा एउटा अभिलेख देखेको थियो जसमा “यो हम्म परकले दान दिएको” भनी उल्लेख थियो । दिक्षितले यो अभिलेख ५० ई.पू.को मानेको छ । वैशाली महावन कूटागारशाला यस्तै हम्मिय प्रकारको विहार हुनुपर्छ । यसको माथिल्लो तल्लामा एउटा गन्धकुटी भएको उल्लेख छ जहॉ भगवान्ब स्नु हुन्थ्यो ।

११. गुहा (गुफा)

गुहा वा गुफा भनेको ईटाको गुफा, पत्थरको गुफा, काठको गुफा र झारपातको गुफा हुन् । भारतको भज, कार्ला, कन्हेरी, अजन्ता, एलोरा, नागार्जुनकोण्डा आदि विभिन्न ठाउँमा हजारौ गुफाहरू छन् जहॉ कुनै समयमा बौद्ध भिक्षुहरू बस्नु हुन्थ्यो (चित्र १०, ११) ।

चित्र—१० अजन्ताको १२ नं गुफाको

थेरवादी विहार ईसापूर्व प्रथम द्वितीय शताब्दी । यसमा एउटा कोठामा दुईदुई वटा खाटहरू राखिएका छन् । बाया“ यसको नक्शा हो । — साभार -Wikipedia 1_ २०८०।७।१० ।

चित्र ११— महाराष्ट्र पूना नजिक भजको गुफाविहार र चैत्य हल । दोश्रो शताब्दी ईशापूर्व—साभार – Wikipedia 2_ २०८०।७।१० । यो पनि थेरवादी विहार नै मानिएको छ । विहरतिको अर्थबाट आर्यहरू निवास गर्ने, बस्ने अर्थमा विहार भनिएकोले यी सबै ठाउँलाई अर्थात् यी पाँचै प्रकारलाई विहार नै भन्न सकिन्छ । विहार शब्द अरु अड्ढयोग हम्मिय आदि भन्दा धेरै चलन चल्टीमा छ ।

१२. विनयपिटकमा विहार निर्माण सम्बन्धी नियम

शुरुशुरुमा भिक्षुहरूको बस्ने ठाउँ प्रज्ञप्त भएको थिएन । बर्पावासको समयमा अस्थायी कुटी बनाएर वर्षावास बस्दथ्यो । कुटी बनाउन एक निश्चित नाप थियो । बुद्धको हातबाट १२ वित्ता लम्बाई र ७ बित्ता चौदाई हुन्पर्छ । यो भनेको ३ मिटर ह १.७५ मिटर हुन्छ (शाक्य ख ७ ।

विहार बनाउने ठाउँ छान्दा

१.कमिला, मुसा, सर्प, विच्छी बाघ भालु आदि जनावरको ठाउँ हुनुहुँदैन ।

२.खेत, शमसान, आमोद प्रमोदको ठाउँ, राजकीय सम्पत्ति भएको ठाउँ हुनुहुँदैन ।

३.खतरनाक पहाडी चट्टानसँगै पनि बनाउनु हुँदैन । (शँक्य ख ७) ।

बिम्बिसार राजाले वेणुवन दान दिन कस्तो ठाउँ बुद्धलाई उपयुक्त होला भनी सोचेको थियो । त्यसलाई पनि विहारवास्तुको मापदण्ड मान्न सकिन्छ ।

१.गाउँबाट धेरै टाढा पनि नजिक पनि नभएको,

२.गमनागमनको सुविधा भएको,

३.इच्छुक जनलाई आउन जान सुविधा भएको,

४.दिनमा अल्प भीड र रातमा अल्प शब्द भएको,

५.मनुष्यको बागुमण्डलबाट अलग निर्जन स्थान होस् जुन ठाउँमा ध्यान गर्न उपयुक्त होस् । ( महावग्गपालि ४४) । अनाथपिण्डिकले पनि यही सोचेर जेत राजकुमारको बगैचामा विहार बनाउन उपयुक्त ठानी जेतवनविहार बनाएको थियो । पाराजिकपालिमा उल्लेख भए अनुसार विहार बनाउन चाहने भिक्षुले संघमा अनुरोध गर्नुपर्छ । विहारवास्तुको बारे सोध्नु पर्छ र विहारवास्तुको अवलोकण गर्न संघले नै विहारवास्तुविज्ञ कुनै भिक्षुलाई पठाइदिन्छ । विहार बनाउन उपयुक्त भएमा संघको अनुमति लिएर विहार बनाउन दिइन्छ (पाराजिकपालि २४२—२४९) । यी कुराहरूबाट संघमा विहारवास्तुविज्ञ भिक्षुहरू पनि हुन्छन् भन्ने कुरा बुझिन्छ । १३. विलासिता भन्दा आवश्यतालाई महत्व दिएर बुद्धले विहार सामग्रीको अनुमति चूलवग्गमा आएको वर्णन अनुसार त्यसबखतका विहारहरू खुल्ला हुन्थे, ढोका थिएन । यसले गर्दा सर्प विच्छी आदि जनावरहरू विहार भित्र पस्ने डर हुन्थ्यो । यो कुरा बुद्धलाई बिन्ति गरेपछि बुद्धले ढोका खापा राख्ने अनुपति दिनु भयो । भिक्षुहरूले भित्तामा प्वाल बनाई ढोकालाई डोरीले बाँधी राख्न थाले । तर मुसा कमिला आदिले डोरी खाई ढोका खसे । यो कुरा सुनेपछि बुद्धले चौकोस खम्बा, चुकुल, ताला राख्ने क्रमशः अनुमति दिंदै जानुभयो । त्यसरी नै भ्याल, रेलिङ्ग, पर्दा आदि राख्ने अनुमति दिदै जानुभयो । एक पटक कोठामा सुतीरहेको भिक्षुको काँधमा माथि सिलिङ्गबाट एउटा सर्प खसेको थियो । ऊ डरले चिच्याए । भगवानले यो कुरा थहापाए पछि वितान (चँदुवा) लगाउने अनुमति दिनु भयो । यसरी आवश्यकतानुसार भ्याल ढोका खापा पर्दा आदि राख्ने अनुमति मात्र होहन ठुल्ठूला विहारको पनि अनुमति दिनुभयो । विहारको भित्तामा फूल, लटालहरा, माला, गोहीको दाँत जस्तो बुत्ता, पञ्चपटिका चित्रण गर्ने अनुमति दिनुभएको छ भने, सिलिङ्ग र भित्तामा सेतो र भुईमा कालो रंग लागाउन, बाहिरी भित्तामा गेरु रंग लगाउन अनुमति दिनुभएको छ । आवासप्रति भिक्षुहरूको मन आकर्षित नहोस् भन्ने हेतुले उहा“ले विलासिता भन्दा आवश्यतालाई महत्व दिनुभएको कुरा स्पष्ट हुन्छ (शाक्य ख ११) ।

१४. बुद्धकाल र त्यसपछि बनेका विहाररू

भगवान बुद्ध पहिलो वर्षावास सारनाथको मृगदावनमै बस्नु भएको थियो । राजा बिम्बिसारले वेनुवन विहार दान दिएपछि दोस्रो वर्षावास त्यहीँ विताउनु भएको थियो -Narada 207_। वेलुवनारामबाटै बुद्धले पाँच प्रकारको लेण वनाउने अनुमति दिनु भयो । त्यसपछि राजगृहको महाजन श्रेष्ठीले एकै पटक ६० वटा विहारहरू बनाइ दिएको थियो । यसरी नै अनाथपिण्डिकले जेतवन विहार, विशाखा महाउपासिकाले पूर्वाराम विहार, कपिलवस्तुका शाक्यहरूले निग्रोधाराम विहार, कोसाम्बीका घोषक सेठले घोसिताराम विहार, जीवक बैद्यले जीवकाराम विहार आदि थुप्रै विहारहरू बुद्धको जीवनकालमा बने । बुद्धको महापरिनिर्वाण पछि पनि थुप्रै विहारहरू बने । सम्राट अशाकले ८४ हजार स्तूप र विहार निर्माण गरेको उल्लेख छ । दक्षिण भारतका सातवाहन राजाहरूको पालामा मुम्बईको कन्हेरी गुफा, नासिक गुफा, पूनाको कार्ला भज गुफाहरू, औरंगावादको अजन्ता एलोरा गुफा र विहारहरू बने । अमरावती, घण्टशाला, नागार्जुनकोण्डा आदि ठाउँमा थुप्रै स्तूप र विहारका भग्नावशेष भेटिएका छन् । त्यस्तै कुषाणकाल, गुप्तकाल र पालकालमा पनि थुप्रै विहारहरू बनेका थिए । मौर्यकालका विहारमाथि कुषाणकालमा र कुषाणकालका विहारहरूको खण्डहर माथि गुप्तकालमा नव निर्माण गरेको पनि पाइएको छ। गुप्तकालमा नादन्दा महाविहार बने । पालकालमा विक्रमशिला, ओदन्तपुरी, जगदल्ला महाविहारहरू बने (शाक्य ख १७) । १२ औं शताब्दी पछि मुश्लिम शासन कालमा बुद्धधर्म भारतमा फस्ताएन ।

१५. बुद्धकालीन विहारको स्वरूप

जेतवन विहार बुद्धकालीन प्रसिद्ध विहार हुन् । यहाँ विहारहरू, परिवेणहरू, भण्डारहरू, उपस्थानशालाहरू (सभाहल), अग्नि शालाहरू (पानी तताउने घरहरू), कपियाकारहरू बस्ने कुटीहरू, चर्वीहरू, चंक्रमण (टहल्ने स्थानहरू, चंक्रमण शालाहरू, पानीखाने ठाउँहरू, पानीघरहरू, स्नानघरहरू, स्नान गृहशालाहरू, पुष्करीणीहरू, मण्डपहरू बनाउन लगाएका थिए (अमृतानन्द, बु.का.गृ. ४१) । ई. ३९९ मा भारत आउने चिनिया यात्री फाहियानले श्रावस्तीमा जेतवन विहार देखेको थियो । उनकानुसार विहारको पूर्व र पश्चिमतिर दुईवटा प्रवेशद्वार थियो । पूर्वाभिमुख प्रवेशद्वारमा दुईवटा स्तम्भ थियो । स्तम्भको माथिलो भागमा धर्मचक्र र साँढेको प्रतिमा थियो । उनकानुसार मूलगन्धकुटीको दोस्रो तल्ला पुनः बनाईएको थियो । यस्तै सातौं शताब्दीका अर्का चिनिया यात्री व्हेन्सांग (ईं ६०२—६६४) ले पनि जेतवनको स्तम्भमाथि साँढेको मूर्ति देखेको थियो तर धर्मचक्र देखेन । भिक्षु निवासहरू पूर्णरुपमा क्षतिग्रस्त थियो । संघारामको पूर्वतिर ६० फीट अग्लो एउटा विहार देखेको वर्णन छ (यादव ४७) । यो विहार विभिन्न समयमा जिर्णोद्धार तथा खण्डहरमाथि पुननिर्माण आदि हुँदै १२औं शताब्दीदेखि १८औं सताब्दीसम्म इतिहासको गर्भमा विलीन भए । १९ औं शताब्दीमा यसलाई पुन खोजेर पत्तालगाउने श्रेय सर अलेक्जेण्डर कनिंघामलाई जान्छ । प्रवेशद्वारको स्तम्भमाथि धर्मचक्र चिन्ह र साँढे सिंह आदि राख्ने चलन सम्राट अशोकले चलाएको देखिन्छ । उनको सारनाथ स्तम्भमा सिंह, घोडा, साँढे, र हात्ति अंकित छन् । त्यस्तै धर्मचक्र पनि अंकित छ । बुद्धले सारनाथ मृदावनमा धर्मचक्र प्रवर्तन गर्नुभएको प्रतीक स्वरुप धर्मचक्रको दायाँबायाँ मृग राख्ने चलन गन्धारको कलादेखि शुरु भएको देखिन्छ नेपालमा पनि लिच्छविकालदेखि नै यो चलन थियो (चित्र१२) ।

चित्र १२—गन्धारको बुद्धमूर्तिमा धर्मचक्र

चित्र १२, चावही स्तूपमा धर्मचक्र

जेतवन विहारको उत्खननमा फेला परेका संरचनालाई कनिंघामले १ देखि १८ सम्म संख्याले नामाकरण गरी वर्णन गरेको छ । यसमा १२ नं.को संरचनामा ३ वटा कोठाहरू एउटै लाइनमा भेटिएका छन् । बीचको कोठाको चारैतिर परिक्रमा पथ छ । यो कोठामा बुद्धको प्रतिमा भएको र अरू दुईवटा कोठा भिक्षु आवास हुनु्पर्ने अनुमान गरिएको छ (यादव ५४) । बुद्ध प्रतिमा भएको कोठा गन्धकुटी हुनसक्छ । यसलाई घुम्न मिल्ने गरी प्रदक्षिणापथ राख्नु थेरवादकै चलन रहेको देखियो । नेपाली बही विहारमा यसरी प्रदक्षिणापथ राखिएको छ (चित्र १३) ।

चित्र १३ गन्धकुटी गन्धुरी देवताको कोठा धुम्न मिल्ने गरी प्रदक्षिणापथ राखिएको । नकबही ललितपुर ।

जेतवन विहारमा भेटिएको एक संरचना आर्कियोलोजिकल सर्भे अफ इण्डिया, लखनउ सर्कलबाट प्रकाशिन गरिएको छ जसमा विहारको बीचमा चोक र मण्डप हाली चारैतिर भिक्षु आवासहरू बनाएको देखिन्छ (चित्र १४) ।

चित्र १४— जेतवन महाविहारको भग्नावशेष । साभार Saxena, Manoj Kumar, Ancient Cite Sravasti यहाँ बीचमा चोक, मण्डप र तीनतिर आवास कोठा बनाएको देखिन्छ ।

यो संरचना कुषाणकालीन संरचनासित मिल्दोजुल्दो छ । सर जोन मार्शलद्वारा सन् १९१३ मा तक्षसीलामा गरेको उत्खननबाट कुषाणकालका विहारहरूको भग्नावशेष पत्तालगाएका छन् । सुकुमार दत्तले तक्षसीलाको पिपला विहारको कुषाणकालीन विहारको भग्नावशेषबाट विहारको स्वरुप नक्शा प्रकाश गरेको छ (चित्र १५) ।

चित्र १५— तक्षसीलाको पीपला विहार । साभार — Buddhist Monks and Monasteries of India

यसमा बीचमा ठूलो चोक र चारैतर्फ भिक्षुआवास कोठाहरू बनाएका छन् । पछाडितिर भान्छाघर, सभाहल, भण्डार र अतिथि सत्कार कोठाहरू छन् । चोकको वीचमा मण्डप र त्यसको कुनामा स्तूप छ । यसलाई कुषाणकालीन विहारको शैली भनिएको छ । यस्तै मिल्दोजुल्दो संरचना साँचीमा ई. १९३६ मा उत्खननबाट भेटिएकोले (चित्र १६) गन्धारदेखि मध्यप्रदेश साँचीसम्मै एकै शैलीको विहार बनेको हुनुपर्ने अनुमान गरेको छ । -Dutt 213_।

चित्र १६— साँची विहार नं ५१ । साभार — Buddhist Monks and Monasteries of India

१६. कपिलवस्तु र लुम्बिनी क्षेत्रमा बनेका विहारहरू

नेपालमा बुद्धकालदेखिको विहारको इतिहास छ । कपिलवस्तुमा राजा शुद्धोदनले बनाएको निग्रोधाराम विहार बुद्धकालकै विहार थियो । यो तिलौराकोटको ६ कि.मि. दक्षिणमा कुदान गाउँमा पर्दछ । यहाँ दुई वटा स्तूपको भग्नावशेषहरू फेला परेका छन् । -Wikipedia 2_। कपिलवस्तु क्षेत्रमा तिलौराकोट दरवारको दक्षिणतिर विहारको भग्नावशेष फेलापरेको थियो । फुहररले १२ वटा कोठा भएको विहारको संरचना फेलापारेको थियो । त्यस्तै मुखरजीले पनि त्यहाँ विहारको अवशेष फेला पारेको थियो । तर ती संरचनाहरूको उचित संरक्षण हुन नसक्दा यिनको स्पष्ट स्वरुप उपलब्घ नभएको बताइएको छ (गिरी १९९) । लुम्बिनीमा १९८० को दसकमा टि. एन. मिश्रले उत्खनन गर्दा मायादेवी मन्दिरको दक्षिणतिर विहारको भग्नावशेष फेलापारेको थियो जसमा भिक्षुको निम्ति चारैतर्फ कोठाहरू थिए र बीचमा बैठक कोठा थियो । यो वर्गाकारको छ । यसलाई मौर्यकालको मानेको छ । मिश्रले मौर्य कालको विहारको पश्चिम तर्फ सुङ्गकालको विहारको संरचना पनि भेट्टाएको थियो । उनले कुषाण कालमा ती विहारहरूमाथि चतुष्कोणाकारलाई आयत्ताकार बनाइ थप निर्माण गरिएको र पूर्व तर्फ आयत्ताकारकै नयाँ विहार बनाएको पनि उल्लेख गरेको छ । त्यस्तै गुप्तकालमा पनि थप निर्माण गरिएको कुरा उनले प्रकाशमा ल्याएका थिए । तर उनले उत्खनन्को फोटोहरू प्रकाशमा ल्याएको छैन -The SacredGarden of Lumbini 82 – 91_ । मौर्यकालको विहार चतुष्कोणार थियो भने कुषाणकालीन विहार आयत्ताकार थियो ।

१७. वर्तमान थेरवाद विहारमा हुने क्रियाकलापहरू नेपालमा थेरवाद विहारको प्रयोजन र त्यहाँ हुने केही महत्वपूर्ण क्रियाकलापहरू

१. आवासीय भिक्षुहरू र चतुर्दिशाबाट आउने आगन्तुक भिक्षुहरूको आवासको निम्ति ।

२. भिक्षुहरूको दैनिक कार्यक्रमको निम्ति — स्नान गर्ने, बुद्धपूजा परित्राण पाठ गर्ने, जलपान र भोजन गर्ने, ध्यान गर्ने, धर्मदेशना गर्ने, धर्मश्रवण गर्ने, बुद्धवचन तिपिटक पाठ गर्ने, बुद्धधर्म अध्ययन गर्ने, आदि काम ।

३. पाक्षिक, मासिक देखि वार्षिक कार्यक्रमको निम्ति— अष्टमी, आमावश्या, पूर्णिमामा सामुहिक बुद्धपूजा, धर्मदेशना, संघभोजन, महापरित्राण पाठ, भिक्षु उपोसथकार्य, प्रव्रज्या कार्यक्रम, वर्षवास, कथिनोत्सव आदि ।

४. ध्यान शिविर, तालीम कार्यक्रम, गोष्ठी र सभा सम्मेलनको निम्ति ।

५. नेपाल बौद्ध परियत्ति शिक्षा अध्ययन अध्यापनको निम्ति ।

६. टाढाटाढाबाट तीर्थयात्रु तथा स्वदेशी विदेशी पाहुनाको अल्पकालीन बासको निम्ति ।

७. भिक्षुहरू विरामी पर्दा स्याहार सुसारको निम्ति र औषधी उपचार र विश्रामको निमित्त ।

८. विहारमा सेवा गर्ने गृहस्थ कपियाकारहरू बस्नको निमित्त ।

सुझावहरू

१. पाँच प्रकारमा आवास लेनहरू बनाउन सकिन्छ । त्यसमध्ये अड्ढयोगलाई एकनाली दीघपपासाद पनि भनिएकोले यो पनि एक प्रकारले प्रासादकै स्वरुप भयो । हर्मिय पनि प्रासादको माथिल्लो तल्लाको कुटागार भनेकोले यो पनि प्रासादके अंग भयो । गुफा भनेको जंगलमा पहाडमा बनाइने भयो । यसरी हामीले विहार र प्रासाद गरी दुई किसिमको बनाउन सक्ने देखिएको छ । यसमा विहार एउटा मात्र कोठा भएको सानो आवास पनि बनाउन सकिन्छ धेरै आवास र धेरै तल्ला भएको प्रसाद जस्तो बनाउन पनि सकिन्छ ।

२. विहारको चारैतर्फ पर्खालले घेरेको हुनु पर्छ । मूल प्रवेशद्वार र अन्य द्वार पनि राख्न सकिन्छ । प्रवेशद्वार माथि धर्मचक्र चिन्ह राख्न सकिन्छ । तोरण राख्न सकिन्छ । जसरी यो विश्वशान्ति विहारमा पारिलेय्यक बनमा बुद्धलाई हात्ति र बाँदरले सेवा गरेको तोरण राखिएको छ । (चित्र १७ ) । दसौं वर्षावासमा बुद्ध एक्लै पारिलेय्यक बनमा बस्नु भएको थियो । तर मूल प्रवेशद्वार माथि मृगहरू सहितको धर्मचक्र चिन्ह अनिवार्य रुपमा राखेमा यसले एकरुपता पनि ल्याउ“छ ।

चित्र १७ — विश्व शान्ति विहारको प्रवेशद्वार माथि राखिएको तोरण ।

३. प्रवेशद्वारको दायँबायाँ सिंहको मूर्ति राख्न सकिन्छ । बुद्धको घोष सिहनाद जस्तो हो । अंगुत्तर निकायको सिंहसुत्तमा बुद्धले “सीहोति खो, भिक्खवे तथागतस्सेतं अधिवचनं अरहतो सम्मासम्बुद्धस्स” अर्थात सिंह तथागतकै अधिवचन नाम हो भन्नु भएको छ । (अंगुत्तरनिकाय ११४) । बुद्धलाई पनि सिंह भनिन्छ । बुद्धलाई शाक्यसिंह नरसिंह भनिन्छ ।

४. विहारको बीचमा वर्गाकार वा आयत्ताकार चोक हुनुपर्छ । यहाँ चैत्य, मण्डप पनि राख्न सकिन्छ । चोकको तीनतिर वा चारैतिर भिक्षु आवासकोठाहरू बनाउनु पर्ने देखिन्छ । ती कोठाहरू चोक भन्दा केही माथि उठाएर बनाउनृ पर्छ र कोठा प्रवेश गर्ने बाटोको निम्ति पेटी पनि बनाउनु पर्ने देखिन्छ । यो पेटीले चक्रमण स्थलको पनि काम गर्छ । चंक्रमणको निम्ति छुट्टै चंक्रमण शाला पनि बनाउन सकिन्छ ।

५. विहारको मूल प्रवेशद्वार सामु गन्धकुटीको निर्माण हुनु उपयुक्त देखिन्छ । जुन नेपाली विहारमा प्रचलित छ । गन्धकुटीको निम्ति हाल हल बनाएर बुद्ध प्रतिमा राख्ने चलन छ । तर बुद्धमूर्ति धुम्न मिल्ने गरी बनाउनु पर्ने देखिन्छ । बुद्धलाई वन्दना गरेर प्रदक्षिणा गरेर जाने चलन थेरवादको हो । बुद्धमूर्ति नेपाली शैलीको राख्नु पर्दछ । नेपाली विहारको नेपालीपना ल्याउने बुद्धमूर्ति पनि हो । थाईलैण्ड बर्माबाट बुद्धमूर्ति मगाएर राख्नुले नेपालीपन भल्किंदैन ।

६. विहारको हलको भित्तामा बुद्धजीवनी र जातक कथाहरू चित्रित गर्न सकिन्छ । त्यस्तै फूल, लटालहरा, माला, गोहीको दाँत जस्तो बुत्ता, पञ्चपटिक चित्रण गर्न सकिन्छ । सिलिङ्ग र भित्तामा सेतो र भुईमा कालो रंग लागाउन, बाहिरी भित्तामा गेरु रंग लगाउन सकिन्छ । यो बुद्धले अनुमति दिनुभएको रंग हो । यसले थेरवादी विहारमा एकरुपता पनि ल्याउँछ । हालका थेवादी विहारहरूमा कमसेकम रंगले भए पनि एकरुपता दिन सकिन्छ । सबै थेवादी विहारको बाहिरी मुखमा गेरु रंग लगाएमा एकरुपता झल्किन्छ । विहारको छानामा चैत्याकार गजुर राख्नाले पनि एकरुपता आउन सक्छ ।

७. भिक्षुहरूको विनयकर्म गर्न, भिक्षु बनाउने कार्य गर्न, उयोसथ कार्य गर्न सीमागृह बनाउनु पर्छ । बुद्धकालीन अग्निशाला, पानीघर, स्नानघरहरूको सट्टा आजकल राम्रो बाथरुम भए पुग्छ । कोठामा हिटर वा ब्ऋ जडान गर्न सकिन्छ । तर पानीको निम्ति ईनार, धारा र ट्याँकी चाहिन्छ ।

८. भिक्षु आवास गृह बाहेक टाढाटाढाबाट आउने अतिथीहरूलाई केही समयको निम्ति राख्न अतिथी गृह पनि बनाउनु आवश्यक देखिन्छ । . विहारको तल्ला २ देखि ७ तलासम्म बनाउन सकिन्छ । तर नेपालमा बरोबर भूकम्प जाने भएकोले भूकम्प खप्न सकिने दुष्टिकोणले बनाउनु पर्छ ।

९. भिक्षुहरूलाई अध्ययन गर्न पुस्तकालय र अध्ययन कक्ष वा कक्षा कोठाहरू, कम्प्युटर कोठाहरू लगायत ध्यानगर्न सामुहिक ध्यान हल, पानी खाने स्थान, नुहाउने स्थान, चीवर धुने र सुकाउने स्थान, राम्रो शौचालय पनि हुनुपर्छ । सभा गर्न अडिटोरियम हल पनि हुनु पर्छ । त्यस्तै भान्छाधर, भण्डार कोठाहरू र भोजनशाला पनि बनाउनु पर्दछ । विहारमा सेवा गर्ने कपियाकारको लागि पनि कोठा चाहिन्छ । कथिनोत्सव आदिमा धेरै उपासक उपासिकाहरू आउने भएकोले ठल्ठूला हलहरू पनि बनाउनु आवश्यक हुन्छ । ठूलो चौर पनि आवश्यक हुन्छ ।

१०. विहारमा बुद्धमूर्तिबाहेक सिद्धार्थ जन्मिंदा थापेर लिने ईन्द, बम्हा र चतुर्महारजको मूर्ति राख्न सकिन्छ । तर महायानी विहारमा जस्तो गणेश महाकालको मूर्ति राखिंदैन । बोधिवृक्ष पनि रोप्न सकिनछ । अन्य कलाकृतिको निम्ति छुट्टै अध्ययन अनुसन्धानको आवश्यकता हुन्छ । धन्यवाद

सन्दर्भसूची

पालि मूल ग्रन्थ

अंगुत्तरनिकायपालि पञ्चकनिपात, विपश्यना विशोधन विन्यास, ई. १९९८ ।

चूल्लवग्गपालि, विपश्यना विशोधन विन्यास, ई. १९९८ ।

महावग्गपालि, विपश्यना विशोधन विन्यास, ई. १९९८ ।

पालि अर्थकथा टीका

चूलवग्गअठ्ठकथा, विपश्यना विशोधन विन्यास, ई. १९९८ ।

जातक अठ्ठकथा, भाग १, विपश्यना विशोधन विन्यास, ई. १९९८ ।

धम्मवदअ कथा, पथमो भागो, विपश्यना विशोधन विन्यास, ई. १९९८ ।

विमतीविनोदनी टीका, विपश्यना विशोधन विन्यास, ई. १९९८ ।

विनयविनिच्छय टीका, विपश्यना विशोधन विन्यास, ई. १९९८ ।

विनयालंकार टीका, दुतिय भाग, विपश्यना विशोधन विन्यास, ई. १९९८ ।.

सुत्तनिपात अठ्ठकथा, विपश्यना विशोधन विन्यास, ई. १९९८ ।

अनुवाद ग्रन्थहरू

सांकृत्यायन, राहुल (अनु.), विनयपिटक, काशी विद्यापीठ, ई. १९९४ ।

शास्त्री, स्वामी द्वारिकादास (अनु.), दीपवंस, बौद्ध अकार ग्रन्थमाला, काशी विद्यापीठ, ई.१९९६ ।.

थेरवाद बुद्धिष्ट एकेडेमीबाट गरिएका लुम्बिनी बौद्ध विश्वविद्यालयका शोधपत्रहरू

यादव, शैलेन्द्र, भगवान बुद्ध र जेतवन विहार, एम. ए. शोधपत्र, लुम्बिनी बौद्ध विश्वविद्याालय, २०७८।

वज्राचार्य (शाक्य), रेविका, विहार सम्बन्धी सेनासनस्कन्घ र संघादिसेस नियमको विश्लेषण, एम. ए. शोधपत्र, लुम्बिनी बौद्ध विश्वविद्याालय, २०८० ।

शाक्य ख, अनुला, ललितपुरको पुरानो विहार श्री सुमंगल विहार, एम. ए. शोधपत्र, लुम्बिनी बौद्ध विश्वविद्याालय, २०७२ ।

विभिन्न पुस्तक तथा लेख रचनाहरू

गिरी, गितु, प्राचीन कपिलवस्तुको इतिहास र संस्कृति, लुम्बिनी विकास कोष, २०७५ ।

भिक्षु अमृतानन्द, बुद्धकालीन गृहस्थीहरू, भाग १, आनन्दकुटी विहार गुठी, बु.सं.२५१६ ।

भिक्षु अमृतानन्द, बुद्धकालीन महिलाहरू, भाग १, आनन्दकुटी विहार गुठी, बु.सं.२५१७ ।

भिक्षु धर्मगुप्त र लक्ष्मण मगर (सं.), पालि नेपाली शब्दकोश, धर्मराज र लालमाया लामा सपरिवार, २०८० ।

भिक्षु सुदर्शन, “नेपाली विहारका विशेषताहरू”, सम्पादक भिक्षु बोधिज्ञान, परियत्ति शिक्षा

परियत्ति सद्धम्मपालक उपाधि, नेपाल बौद्ध परियत्ति शिक्षा, २०७९ ।

शाक्य क, महेन्द्र रत्न, “पालि साहित्यमा विहार”, बुद्धजयन्ति स्वर्ण उत्सव, पद्मावती

महाविहार, नःबाहा ललितपुर, २०७१ ।

अंग्रेजी पुस्तक तथा विकिपेडिया लेखहरू

Dutt, Sukurmar, Buddhist Monks and Monasteries of India, Motilal Banarasidas, Reprint 1988.

Narada, The Buddha And His Teachings, Fourth Edition, Buddhist Missionary Society, 1988.

Saxena, Manoj Kumar, Ancient Cite Sravasti, Archaeological Survey of India. ND

The Sacred Garden of Lumbini, UNESCO, 2013

Wikipedia 1 https://en.wikipedia.org/wiki/Ajanta_Caves 2080-7-10

Wikipedia 2 https://en.wikipedia.org/wiki/Jagaddala_Mahavihara 2080-7-12

Wikipedia 3 https://en.wikipedia.org/wiki/Nigrodharama 2080-7-12

2 0
Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %