गोविन्द घर्ती मगर
रुपन्देही,अषाढ १८- सदस्यहरुको जीवन उकास्न सहकारीहरु लाग्नु पर्ने रुपन्देहीको देवदहमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । उनीहरुले सहकारीको माध्यमबाट मात्र आर्थिक क्रान्ति गर्न सकिनेमा जोड दिएका थिए ।
कोलिय बचत तथा ऋण सहकारी संस्था देवदहद्धारा ९४ औं अन्र्तराष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजित सहकारी विशेष रचना वाचन कार्यक्रममा बोल्ने वक्ताहरुले उक्त कुरा बताएका हुन । कार्यक्रममा बोल्ने वक्ताहरुले सहकारीको विकासले मात्र आम नागरिकको आर्थिक सुधार हुन सक्नेमा जोड दिएका थिए ।
उनीहरुले सहकारीहरु वीच एक आपसमा एकतावद्ध हुनु पर्ने बताएका थिए । सहकारीहरु नेता मुखी नभई नीति मुखी हुनु पर्ने र सहकारीका सिद्धान्त अनुसार सहकारी अगाडि बढ्नु पर्नेमा जोड दिएका थिए । संस्थाका अध्यक्ष सुवकान्त न्यौपानको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सहकारी संघ रुपन्देहीका अध्यक्ष भिम तुलाचन, जिल्ला बचत तथा सहकारी संघका अध्यक्ष कृष्ण नेपाल, जिल्ला सहकारी डिभिजन कार्यालय रुपन्देहीका प्रमुख नेत्रप्रसाद घिमिरे, संस्थाका सल्लाहकार प्रमुख प्रकाश अर्याल, सल्लाहकार जीवलाल पराजुली, सामुदायिक चिकित्सालयका डा. कृष्ण न्यौपाने, साना किसान कृषि सहकारीका टिका गौतम, महामाया भवानी उच्च माविका दिनानाथ अर्याल लगायतले आ–आफना भनाई राख्नु भएको थियो ।
सो अवसरमा विभिन्न व्यक्तित्वहरुले सहकारी सम्वन्धी रचनना वाचन गरेका थिए । संस्थाका उपाध्यक्ष भिमप्रसाद गुरुङ्गको स्वागत, खेमानन्द ज्ञवाली र युवराज लामिछानेको संचालनमा भएको कार्यक्रममा सरस्वती पोखरेलले धन्यवाद ज्ञानपन गर्नु भएको थियो ।
