खिममायाको हत्या भएको हो, हत्यारा नसमाएसम्म हामी शव बुझ्दैनौं ः मृतकका आफन्त
रूद्र श्रीसमगर
पोखरा,
गत माघ २६ गते लेखनाथको बेगनासतालमा मृत अवस्थामा भेटिएकी लेखनाथ–१२ निवासी २९ वर्षीया खिममाया पुनको पोष्टमार्टम रिपोर्ट सार्वजनिक भएको छ ।
पोष्टमार्टम रिपोर्ट अनुसार मृतक खिममायाको हत्या नभइ तालमा खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक गजुसिद्धि बज्राचार्यले जानकारी दिनुभयो ।
यता, मृतक खिममाया पुनका आफन्तले भने खिममायाको मृत्यु स्वभाविक नभइ हत्या भएको आरोप लगाएका छन् । खिममायाको हत्या भएको भन्दै आइतबार नेपाल मगर संघ कास्कीको अगुवाइमा विरोध ¥यालीसहित जिल्ला प्रशासन कार्यालय, कास्कीमा मृत्युबारे सत्य तथ्य छानविनको माग गर्दै ज्ञापनपत्र समेत बुझाइएको छ । नेपाल मगर संघ कास्कीको भवनबाट सुरु भएको विरोध ¥यालीले लखनचोक, सभागृहचोक, सिर्जनाचोक, रत्नचोक हुँदै सहिदचोक जिल्ला प्रशासन कार्यालय, कास्की अगाडि पुगेर धर्ना दिएको थियो । 
¥यालीका सहभागीले हत्यारालाई कारबाही गर, महिला हिंसा बन्द गर, घटनाको न्यायिक छानविन गर, अपराधीलाई उन्मुक्ति दिन पाइँदैनलगायतका नारा लगाएका थिए । सहिदचोकमा आयोजित कोणसभालाई सम्बोधन गर्दै मगर राष्ट्रिय मुक्ति मोर्चा नेपालका महासचिव बालकृष्ण काउछामगर, नेपाल मगर संघ कास्कीका सचिव यामबहादुर थापामगर, सह–सचिव संगीता पुनमगर, अखिल नेपाल महिला संघ (क्रान्तिकारी)का केन्द्रीय सदस्य निर्मला सुवेदी ‘क्रान्ति’, छ गाउँले पुन मगर समाजका खेमबहादुर पुनमगर, नेपाल महिला संघ लेखनाथ नगर सभापति लक्ष्मी सुवेदी, प्रगतिशील आमा समूह, लेखनाथकी अध्यक्ष इन्दिरा तिवारी, अनेरास्ववियु कास्कीका सचिव रमेशराज भण्डारीलगायतले बढ्दो महिला हिंसाप्रति संवेदनशील हुन आग्रह गर्दै हत्यारालाई कारबाही नगरे कडा आन्दोलनमा उत्रने चेतावनी दिएका थिए ।
ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले खिममायाको मृत्यु सम्बन्धमा प्रशासन गम्भीर रहेको भन्दै प्रहरीले घटनाबारे गम्भीरतापूर्वक अनुसन्धान गरिरहेको दाबी गर्नुभयो । ज्ञापनपत्र वाचन गर्दै नेपाल मगर संघ कास्कीका अध्यक्ष पूर्णबहादुर रानामगरले खिममायाको मृत्यु रहस्यमय रहेको भन्दै छानविनको माग गर्नुभयो ।
पोष्टमार्टम रिपोर्ट झूटो रहेको र खिममाया कार्यरत रहेको फेवा विकास बैंकबाट घटनाको वास्तविकता ढाकछोप गर्न आर्थिक प्रलोभन देखाइएको भन्दै मृतक खिममायाका बाबु प्रेमबहादुर पुनमगरले आफ्नी छोरीको हत्या भएको र हत्यारा पत्ता नलगाएसम्म शव नबुझ्ने बताउनुभयो ।
वाणिज्यशास्त्रमा स्नातकोत्तर मृतक खिममाया फेवा विकास बैंकमा जुनियर असिस्टेण्ट पदमा कार्यरत थिइन् र बैंककै पोशाकमा बेगनासतालमा मृत अवस्थामा फेला परेकी थिइन् । यसैबीच, मृतक खिममायाको हत्या नै भएको भन्दै नेपाल मगर संघ कास्कीले पत्रकार सम्मेलन गरी सत्य तथ्य छानविन गर्न प्रशासनसमक्ष माग गरेको छ । सत्य तथ्य पत्ता नलगाए कडा आन्दोलनमा उत्रने चेतावनी दिँदै मगर संघ कास्कीले केही साता यता पोखरामा बढेको हत्याका घटनाप्रति संवेदनशील हुन समेत आग्रह गरेको छ ।
