करबाकेली सम्बन्धी प्राप्त मौखिक आख्यान

Read Time:15 Minute, 38 Second

पुन मगरका पूर्खा करबाकेली पश्चिम हुकाम–मैकोटबाट आएका हुन् भन्ने कुरा झाँक्री र बुढापाकाहरू भन्ने गर्दछन् । र, मंगोलहरू पामिर पठारबाट नेपालको पश्चिम क्षेत्र हुँदै पूर्वतर्फ आएका हुन् भन्ने कुरा विभिन्न पुस्तकहरूमा उल्लेखित छ । यसरी पुन मगरका पूर्खा करबाकेली उनका श्रीमति र ९ भाई छोराका साथ निसिभुजी हुँदै काफलडाँडामा आएका हुन् भन्ने गरिन्छ ।
करबाकेली धनुषकाँड र शिकार खेल्नमा पोख्त थिए । त्यसैले म्याग्दीको बसोबासको क्रममा पनि उनी शिकार खेल्दै दिनचर्या व्यतित गरेका थिए भनिन्छ । भीरमौरीको शिकार गर्ने परम्परागत कला उनले आफ्नो पूर्खाबाट सिकेर पोख्त भई यता आएका थिए भन्ने जनाउँदछ ।
करबाकेलीको जेठी श्रीमति हिमलाको निधन पश्चात उनकै बहिनी फिमलासँग उनको दोश्रो विवाह भएको कुरा गरिन्छ । जेठी श्रीमतिको निधन भएपछि बसोबास गरिआइरहेको स्थलमा बस्ने मन करबाकेलीलाई नलाग्दा उनीहरू सपरिवार पश्चिमबाट पूर्व तर्फ राम्रो जीवनको खोजमा आएका हुन् भनिन्छ । काफलडाँडा अन्तर्गत राम्चे भन्ने ठाउँमा आएर शिकार गर्दै जीवन व्यतित गर्नेक्रममा घुमन्ते शिकारी जीवनलाई क्रमशः कृषि युगमा प्रवेश गराउँदै विभिन्न अन्न बाली लगाउन थालेको कुरा बताइन्छ । यसै क्रममा उनको ९ भाई छोराहरू पनि क्रमशः ठूलो भएछन् । जेठा रामचन अलि लठेब्रो र कान्छा कुले अलि सानै रहँदा पनि परम्परागत रूपमा गरिआईरहेको शिकार (अ‍ैरा) खेल्ने कला उनीहरूलाई समेत सिकाएका थिए– करबाकेलीले ।
यसै क्रममा आख्यान अनुसार, करबाकेलीको छोराहरूमा– विहे गर्न लायक आफुहरू हुँदाहुँदै पनि बाबाले आफुले विहे गरेको भन्ने कुराले बाबाप्रति रिस गर्दै उनलाई षडयन्त्रपूर्वक मार्ने भन्ने कुरामा जेठा रामचन र कान्छा कुले बाहेक सबै एकमत भएछन् । र, करबाकेलीलाई मार्ने षडयन्त्र अनुरुप महभीरमा मह काँढ्न जाने निर्णय गरेर सबैजना मह काँढ्न गएछन् ।
पराङ झार्ने, हाङो, ताङो तयार पार्ने कार्य गरि मह काँढ्न भीरबाट झर्नको लागि जेठादेखि कान्छासम्मलाई करबाकेलीले अह¥राउँदा विविध कारण देखाएर जान नमाने पछि आफै बुढो मान्छे झर्न तयार भई मह काँढ्न पराङदेखि तल ओर्ले । यसरी पराङदेखि झर्दै गर्दा एउटा सानो महचराले आफुलाई मह खान दिए एउटा कुरा भन्ने थिए भनि पटक पटक अनुरोध गरेपश्चात सानो मह खान दिए पछि तपाईलाई छोराहरूले मार्ने षडयन्त्र गरेका छन् भन्ने कुरा गरि त्यो चरा त्यहाँदेखि उडेर गयो ।
त्यसपश्चात करबाकेलीले महको रस भीरमा बस्न मिल्ने खोपिल्टोमा राख्दै महको छोक्रा मात्र माथि पठाउने कार्य गरि अन्तमा आफु त्यही खोपिल्टोमा झरेर मह सक्कियो भन्दै कुर्ले पछि माथि छोराहरूले पराङ काटिदिए । अनि मात्र करबाकेलीलाई छोराहरूले मार्ने षडयन्त्र गरेको कुरा साँचो भएको थाहा भयो । आप्mनो श्रीमति फिमला अनि आप्mना ती छोराहरू सम्झदै ओडारमा उनी निकै रूए छन् ।
करबाकेली झरेको पराङ काटेपछि जेठा रामचन र कान्छा कुलेले विरोध त निकै गरें तर अरूको अगाडि उनीहरूको केही चलेन छ – अनि बाबा मरेको कुरा घरमा फिमलालाई भनेपछि श्रीमान मरेको कुरामा उनले पनि धेरै बिलाप गरेछिन् ।
यता करबाकेली महको रस खाएर बसिरहेको अवस्थामा आफु अट्केर बसेको नजिकै रहेको अर्को ओडारमा गरूडको बच्चा कराएको सुनेर हेर्दा सर्पले त्यो गरूडको बच्चालाई खान आउँदै गरेको देखेपछि करबाकेलीले लठ्ठीले त्यस सर्पलाई भगाई दिएछन् । अनि साँझमा गरूड आएर उसको बच्चालाई चारा (खाना) खुलाउन खोज्दा खान नमानेपछि किन नखाएको भनेर सोद्धा दिउँसो घटेको घटना सविस्तार भनेर त्यस मान्छेलाई उद्दार गरेमात्र आफुले चारा खाने कुरा गरेपछि गरूड आई आफुहरूको बच्चा बचाएकोमा धन्यवाद दिंदै एक्लै किन यहाँ यसरी बसेको भनेर प्रश्न गर्दा करबाकेलीले सबै कुरा बताएपछि उनलाई उद्दार गर्ने बचन ती गरूडले दिएछन् !
र, गरूडले आफ्नो पँखेटामा बस्ने भन्ने अनुरोध गर्दा आफुलाई धान्न नसक्ने कुरा गर्दा गरूडले काली खोलाबाट शिला लिएर आएर देखाए पछि मात्र बोक्न सक्ने कुरामा विश्वस्त भएर गरूडको पँखेटामा बसेर करबाकेली काफलडाँडा हुँदै राम्चेको पँधेरा (जहाँ फिमलाले पानी भर्ने गर्दथिइन) मा राख्ने अनुरोध गरेपछि करबाकेलीले गरूडलाई सुनैको कान, खुट्टामा चाँदीको बाला र सात कोष टाढासम्म देख्न सक्ने क्षमता दिनुको साथै तिमीले झुठो हालिदिए पछि मात्र अन्य जातका गिद्धहरूले सिनो खानेछन् भन्ने आशिर्वाद दिएर विदा गरेछन् ।
पानीको धारा माथि एउटा ठूलो ढुङा पछाडि लुकेर फिमलाले पानी लिन आउने आशमा बसेका करबाकेली, निन्याउरो मुहार लिएर फिमला पानी लिन आएको देखेर खुशी त भएछन् तर प्रत्यक्ष रूपमा फिमलालाई भेट्दा छोराहरूले फेरि मार्ने आशंकामा पँधेराको ढुङा पछाडिनै लुकेर बस्नु भयो रे । फिमलाले पानी थापिरहेको अवस्थामा करबाकेलीले माथि कुलोमा पानी धमिलो बनाई दिएछन् । फिमला, पानी धमिलो आएको देखेर त्यो थापिरहेको पानी फालेर फेरि थाप्न थालेछन् । करबाकेलीले फेरि पानी धमिलो पारिदिए पछि खसम नहुँदा सबैले हेप्न थाले भन्दै, को रहेछ माथि भनेर ढुङा पछाडि आएर हेर्दा आफ्नै श्रीमान देखेर खुशी हुँदै किन यसरी लुकेर यहाँ बसेको, किन घरमा नआएको भन्ने नानाथरीका कुरा गरेपछि करबाकेलीले आफु माथि भएका सबै षडयन्त्र सबिस्तार बयान गरेछन् । र, गरूडको पखेटामा बसेर यहाँसम्म ल्याइदिएको कुरा बताएछन् ।
संयोगवंश उक्त दिन पूर्णिमाको रात रहेछ । सुनशान रातमा रातको बाह्र बजे बेतको डोको, बेतकै सुपो, बेतकै लौरो र बेतकै नाम्लो लिएर आएर मात्र आफु घर जाने भन्ने कुरा जनाउँछन् । सबै कुरा थाहा पाएपछि कसैले थाहा नपाउने गरि घरमा फर्केर रातमा करबाकेलीले भनिएनुरुपको समान लिएर करबाकेलीलाई पानीको पँधेरीमा लिनआउँछिन् । यसरी बेतको डोकोमा राखेर बेतको सुपोले ढाकेर, बेतको नाम्लो र बेतको लठ्ठी टेक्दै करबाकेलीलाई फिमलाले घर लगेपश्चात घरको धुरीमा राखेछन् ।
अर्को विहान घरको नजिकैको बारीमा करबाकेलीका छोराहरू भेंजो (तारो) को बाजी खेलिरहेको बेला करबाकेलीले घर माथि धुरीको दुईवटा प्वालबाट छोराहरूको क्रियाकलाप हेर्दै बस्छन् । सबै छोराहरू आ–आफ्नो सर (तिर) ले खोल पार्न हानिरहँदा कसैले खोल पार्न नसकेको अवस्थामा करबाकेलीले आफ्नो धनुषबाँड मगाएर घरकै धुरीबाट सर (तिर) हान्दा खोलमा लागेछ । जेठा र कान्छा बाहेक सबैले त्यो सर आफ्नो भएको कुरा गरेछन् । र, कान्छा कुलेलाई उक्त तिर कसको हो हेर्न पठाउँदा उक्त तिर बाबाको हो भन्ने कुरा गरेपछि उनीहरू जिल्ल पर्दछन् । र, करबाकेली छोराहरू भएको ठाउँमा आएछन् ।
सबै मिलेर उनलाई मार्ने षडयन्त्र गरेको तर उनको मृत्यु नभई जिउँदो आफुहरूको अगाडि देख्दा ७ भाईको शिर लाजले निहुँरिएछ । जेठा रामचन र कान्छा कुले चाहिं करबाकेलीलाई जिउँदो अवस्थामा देखेर उनको नजिक आई खुशी प्रकट गरेछन् । सबै जनाले षडयन्त्र गरेको होइन रहेछ भन्ने कुरा करबाकेलीलाई पनि थाहा भएछ ।
आफुलाई जन्म दिएको बाबा आमा संसारको सबैभन्दा ठूलो व्यक्ति र उनीहरू नै पालनहार हुन् । तर तिमीहरूले यो कुरा बुझेनौं । लाजले शिर निहुराएका आफ्ना ती कुपुत्रहरूलाई हेर्दै – यो संसारमा राम्रो मात्र होइन अब नराम्रा चिजहरू पनि हुनेछन् । अबदेखि यो संसारमा देखिने नराम्रा चिजहरू लुतो, पिलो, घाउ, खटिरा तिमीहरू हुनेछौं भन्दै सराप दिएछन् । अनि उनीहरू पनि लाजले शिर निहुँराउँदै त्यहाँबाट हिंडेछन् ।
जेठा रामचन र कान्छा कुलेको संलग्नता षडयन्त्रमा नरहेको थाहा पाएपछि उनीहरूलाई आशिष दिएछन् । चुल्हामा बसेर जेठा रामचनले रक्षा गर्ने छ भने कान्छा कुले चाहिं घरको धुरीमा बसेर सह ल्याउने छ । अब उप्रान्त तिमीहरूलाई तिम्रो सन्तानले युगौंसम्म पुज्ने छन् भनेर आशिष दिएछन् । र, भोक चढाउनको लागि दुई सिङे खाने कि नौं सिङे खाने भनेर रोजाउँदा कान्छा अलि बाठो भएको हुँदा दुई सिङे भेंडा देखाउँदै दुई सिङे यत्रो छ भने नौं सिङे कत्रो होला दाई भन्दै रोलक्रम अनुसार दाईलाई रोज्ने मौका दिएछन् । रामचनलाई पनि कुरा ठिकै जस्तो लागेछ र नौं सिङे रोज्दा करबाकेलीले भाले देखाएपछि जेठा अलि ठुस्केछन् । त्यो देखेर दाईलाई फकाउँदै रातको मध्यरातमा पूजा गरि पुजिएको भाले रात काट्ने पुजारेहरूले (पाँरे) मात्र खाने, खान नसकेमा खाल्टो खनेर गाँड्ने र विहान पुजा गरेको भेंडाको साँडले प्रसाद स्वरुप सबै आमन्त्रित पाहुनाहरूलाई उम्काने काम मेरो भो दाई भनेपछि मात्र जेठा रामचन खुशी भए छन् ।
र, फिमलाले पनि आफ्नो खसमको सम्झनामा दुखी हुँदै दिन बिताई रहेको हुँदा अब आउने सन्तानले तिमीलाई विशेष आदरका साथ सम्झना गर्नेछन् भन्दै आशिष दिएछन् ।

समाजमा करबाकेलीको प्रभाव

करबाकेली, धौलागिरीमा बसोबास गर्ने पुन मगर समाजको आस्थाका केन्द्रविन्दु हुन् । धौलागिरी अन्तर्गत म्याग्दी, बाग्लुङ र पर्वतका पुन मगरहरू करबाकेलीलाई विशेष रूपमा सम्झने गर्दछन् । अहिले त्यतातिरबाट बसाईसराई गरि कास्की, रूपन्देही, नवलपरासी, चितवन, तनहुँ, काठमाडौंतिर पनि करबाकेलीलाई सम्झदै कूल पूज्ने चलन रहेको छ । समाजमा करबाकेलीलाई बिजोड वर्ष पारेर १, ३, ५ वा ७ वर्षमा एकपटक कूल पूज्ने गरिन्छ । यसरी सम्झनुको अर्थ करबाकेलीले हाम्रो रक्षा गर्छन् र मनले चिताएका कतिपय कार्यहरू सफलतापूर्वक सम्पन्न गरिदिनु हुन्छ भन्ने मनसायले नै हो ।
यसरी पुन मगर समाजमा विगतदेखि करबाकेली, हिमाली, फिमला, जेठा रामचन र कान्छा कुलेलाई पूजा गरि सम्झना गर्दै आइरहेका छन् । हरेक जातिको आफ्नो पूर्खा हुन्छ, आफ्नो कूल हुन्छ । पुन मगरहरूको पनि करबाकेलीको नाममा कूल रहेको छ । जसरी भगवान भनी बाटोमा आस्था भएकै कारण ढुङालाई पूज्दछन् तर पुन मगरहरूको आस्थाको केन्द्र करबाकेली बारेमा जनमानसमा निकै आस्थाको रुपमा बसेका छन् । यसर्थ उनलाई वर्ष वर्षमा पुज्ने चलन अभैm पनि छ ।
यसरी करबाकेली बाबाको राष्ट्रिय स्तरको थान काफलडाँडामा निर्माण भईरहेको छ । अर्को वर्ष जेष्ठ महिनाको उजेली मंगलबारको दिन करबाकेली बाबाको पुजा गर्दै यस थानको उद्घाटन गर्ने तयारीको साथ थान निर्माण भईरहेको छ भने अहिले असार-साउन महिना पानी पर्ने कारणले गर्दा अन्य कामहरु रोकेर थानमा चाहिने ढुङा काट्ने काम भईरहेको छ । करबाकेलीको थानमा लाग्ने ढोका, झ्याल, काठको मुर्तीहरु सबै काफलडाँडा पु¥याई सकिएको छ भने करबाकेली बाबाको ९ भाईहरु रहेको हुँदा ९ सिडी माथि थान निर्माण गर्ने भन्ने निर्णय भएको हुँदा ९ सिडी निर्माण गरि सकिएको छ भने अब भदौं देखि थानको बाँकी काम थालनी गर्ने भन्ने कुरा करबाकेली बाबाको थान निर्माण समितिका सहसंयोजक हिमलाल गर्बुजा जानकारी गराउनु हुन्छ ।

मेजन पुन मगर, काफलडाँडाबाट फर्के पछि

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %