विस्तारित बैठकका सहभागी एक हजार माओवादी कार्यकर्ता विरामी

Read Time:4 Minute, 42 Second

पालुङटार, मंसीर ७ 
विस्तारित बैठकमा सहभागी एकीकृत माओवादीका एक हजार कार्यकर्ताहरु विरामी परेका छन् । बैठक सुरु हुनुभन्दा एक दिन अघिदेखि पालुङटारमा आएका कार्यकर्तामध्ये हालसम्म एक हजार  भन्दा बढीले बिभिन्न स्वास्थ्य समस्या देखिएपछि उपचार गराएका छन् ।

आइतबार बिहानसम्म सात सय ५० र सामबार सम्म चारसय भन्दा बढीले स्वास्थ्य उपचार गराएको स्वास्थ्य प्रशिक्षण केन्द्रको तथ्याङ्कले देखाएको छ । तीमध्ये ६ जना सिकस्त भएकाले नजिकैको जिल्ला आयुर्वेदिक औषधालयमा भर्ना गरिएको जिल्ला स्वास्थ्य प्रमुख डाक्टर गुणराज लोहनीले बताए ।

विरामी भएकामध्ये अधिकांश भाडापखालाका रहेका छन् । स्वास्थ्य परीक्षणका क्रममा हालसम्म १ सय बढी विरामी झाडापखालाकै फेला परेका उनले बताए । एकै दिनमा २० भन्दा बढीमा यसको समस्या देखिएको छ । दुषित पानी र खानाका कारण विरामी बढेका हुन सक्ने स्वास्थ्यकर्मीहरुको अनुमान छ । ‘खानेपानीमा समस्या देखिएको छ, राख्नेठाउँ फोहोर छ, खानामा पनि पिरो र चिल्लो बढी भएको गुनासो आएको छ, यसले पनि विरामी बढेका हुनसक्छन्’ स्वास्थ्य प्रमुख डा. लोहनीले भने । यसलाई नियन्त्रणको प्रयास भइरहेको उनले स्पष्ट पारे । खानेपानी भण्डारणको ठाउँ फोहोर रहेको र खानामा पिरो र चिल्लो बढी भएको सहभागीहरुले पनि गुनासो गरेका छन् । कतिपयले भने फरक हावापानीका कारण पनि समस्या भएको बताएका छन् । ‘हामी तराइबाट आएकालाई यहाँको हावापनी नयाँ लागेको छ, पानीले पनि समस्या पारेको छ’ सप्तरीबाट आएका सत्यनारायण यादवले भने ।
बैठकस्थलमा देखिएको स्वास्थ्य समस्या पत्ता लगाउन अखिल नेपाल प्रगतिशील जनस्वास्थ्यकर्मी संघले सोमबार विहानदेखि अनुगमन सुरु गर्न लागेको छ । झाडापखाला र अन्य स्वास्थ्य समस्या देखिनुका कारण पत्ता लगाउने र समस्या निराकरणका लागि सुझाव दिने संघका जिल्ला अध्यक्ष रोहित लामिछानेले बताए । ‘अधिकांशले खाना र पानीमा समस्या भएको बताएका छन् के रहेछ हामी अनुगमन गरेर के मा सुधार गर्नुपर्ने हो हामी सुझाव दिन्छौ’ लामिछानेले भने ।
झाडापखाला बाहेक स्वासप्रश्वास र चिसोका विरामीहरु छन् । आकस्मिक रुपमा अन्य विरामीहरु पनि देखिएका छन् । बैठकस्थलमा अत्याधिक धुलो बढी भएकाले पनि विरामीहरु बढेका स्वास्थ्यकर्मीको भनाइ छ । विरामीहरुका लागि बैठकस्थलभित्र डाक्टरसहितका स्वास्थ्यकर्मीहरु उपचारमा छन् भने बैठकस्थल बाहिर सञ्चारकेन्द्र संगै रहेको स्वास्थ्य पोष्टमा पनि उपचारको ब्यवस्था गरिएको छ । आकस्मिक उपचारका लागि जिल्ला स्वास्थ्य कार्यालयको एम्बुलेन्स पालुङटारमा नै राखिएको छ । वैठकस्थलका विरामीलाई आकस्मिक उपचारपछि थप उपचारको आवश्यकता परेमा ठाँटीपोखरीस्थित आयुवेर्दिक भवनमा शैया राखिएको छ । उनीहरुलाई विशेषज्ञ डाक्टरहरुले नै उपचार दिने ब्यवस्था गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । हाल गोरखाबाट जिल्ला स्वास्थ्यप्रमुख डाक्टर गुणराज लोहनी सहित तीनजना डाक्टर पालुङटारमा नै रहेका छन् । गोरखाबाट १८ र तमुवानका अन्य जिल्लाका गरी कुल ६० जना स्वाथ्यकर्मी बैठकस्थलमा खटिएका छन् । उनीहरुले पालो मिलाएर दिनमा तीन सिफ्टमा उपचार दिइरहेका छन् । 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %