A+ A A-

बुढाथोकी मगर (देउराली गोत्र) को वंशावली पुख्र्यौली

पृष्ठभूमि

हाल धौलागिरी बाग्लुङ्ग जिल्ला गल्कोट नगरपालिका कडबास विर्काेटमा बसोबास गरेका बुढाथोकी मगर, सैनिक पेसाबाट अवकाश पछि पाल्पा जिल्ला बाट अवस्थामा भुवन सीं बुढाथोकी बाग्लुङ्ग बिर्कोटमा बसोबास गर्नु भयो । पाल्पा जिल्लामा बुढाथोकी मगर कहाँबाट आए र बसोबास गरे भन्ने अनुसन्धान गर्नुपर्दछ । सायद, रोल्पा, प्युठान र रुकुम तिर बुढा मगरहरुको बसोबास भएको हुँदा कतै पश्चिमबाट आएर पाल्पामा बसोबास गरेको हुनसक्छन् । यस पुस्तकमा विशेष गरेर स्व. भुवनसीं बुढाथोकी मगरको हाल बिर्कोटमा गाउँमा बसोबास गरेका उनका सन्तानको वंशावली, बुढाथोकी मगरले गरेका राष्ट्रको लागि योगदान र पारिवारिक विवरण प्रकाशन गर्नु रहेको छ ।


राष्ट्रको लागि योगदान
सन् १८१४ तिर नेपाल सरकारले, नेपालको पश्चिम सिमाना विस्तार गर्नको लागि, काङदा, नालापानि, देरादुनहरुमा नेपाली सेना पठायो । यी नेपाली सेनामा अधिकांश पश्चिमका मगरहरु थिए । त्यस सेनामा बुढाथोकी मगरहरुको सहभागिता थियो, भन्न हिच्काउन पर्दैन, किनभने त्यस समयमा युद्वमा प्रयोग हुने हात हतियार, भाला, खुडाँ र भरुवा बन्दुकहरु भुवनसीं बुढाथोकी मगर सित थियो र यद्यपि अहिले सम्म पनि छ ।

 १८७२ साल ब्रिटिश ईष्ट ईन्डियन कम्पनी सरकारले रुपन्देही हुदै पाल्पा जिल्लातिर फौज पठाउने सुराकी पाए पछि बटौलीको तिनाउ खोलाको छेउमा किल्ला जमाएर कर्णेल उजिर सी. थापाको नेतृत्वमा म्भागकभ गढी जमाएर बसेको थियो । ईष्ट ईन्डियन कम्पनि सरकार (बेलायती) लाई अगाडी बढ्न नदिई उनिहरुलाई हराएको थियो । र यस गढीको नाम जितगढी रहन गएको छ । यस युद्धमा अधिकांश पाल्पाली मगर समुदायबाट युद्धमा सहभागी भएका थिए र दुस्मनलाई हराउन सकियो । बुढाथोकी मगर पनि यस युद्धमा अवस्य सामेल भएको हुनु पर्दछ ।
 नेपाल र चिन बिच असमझदारीका कारणले दुई देशबिच लडाई हुनेभयो । नेपाल सरकारले पाल्पा गौदामा रहेका नेपाली सेनालाई ४००० पर्वतमा पठायो । यो ४००० पर्वतमा हालको जिल्ला बाग्लुङ्ग पर्वत म्याग्दी र मुस्ताङ्ग पर्थे । भुवन सीं बुढाथोकी नेपाली सेनामा जागिरे भएको हुँदा उक्त लडाईमा भाग लिनको लागि जहान परिवार समेतलाई साथमा लिएर जानु भयो र चिन सितको मुस्ताङ्ग जिल्ला केरुङ्गको युद्धमा सहभागी हुनु भयो ।


बसोबास
भुवन सीं बुढाथोकी मगर पाल्पा जिल्लाको खानी गाउँमा जन्मनु भयो, हुर्किनु भयो र नेपाली सेनामा भर्ती हुनु भयो । धनुवाण चलाउन अनि सिपालु र निसाना बाज पनि हुनुहुन्थ्यो । वहाँ सित अन्य युद्धकला र बहादुरी पनि थियो । नेपाल र चिनको लडाई हुने समयमा पाल्पा जिल्लाबाट नेपाली सेना ४००० पर्वत जाने आदेश आयो, भुवन सीं बुढाथोकी पनि श्रीमति र दुई भाई छोरा सहित पाल्पा बाट जानु भयो । ४००० पर्वत पुगेको केही समय पछि वहाँको श्रीमतिको निधन भयो । स्थानिय महिलालाई आफ्नो दुई भाई छोराको जिम्मा लगाई लडाइँमा जानु भयो । चिन संगको लडाई समाप्त भएपछि फर्केर आउदा ती स्थानिय महिलाले दुई भाई छोरालाई राम्रो हेरचाह गरी पालन पोषण गरेको पाउनु भएछ । केही समय पछि सोही स्थानिय महिला संग विवाह गर्नु भएछ ।

नेपाली सेनाको सैनिक जीवन पछि, घर पाल्पा जिल्लामा फर्किनु पर्ने हो, तर सायद गैर मगर विवाह गर्नु भएकोले त्यस समयमा नवविवाहित श्रीमति लिएर पाल्पा जान सक्नु भएन । तसर्थ सैनिक अवकाश पछि गल्कोट गल्याङ्ग देखि उत्तर पट्टी घुम्टे लेखको नजिकमा बसोबास गर्नु भयो जसको नाम हाल सम्म मगर बसे भनी चिनिन्छ ।

मगर बसेको भौगोलिक अवस्था राम्रो थिएन । मगर बसेको वरीपरि सामाजिक अवस्था पनि, सबै ब्राह्मण (उपाध्य) मात्रको बसोबास गरेका थिए । मगर बसेदेखि लगभग २ घण्टा पैदल यात्रा गरेर पुग्न सकिने र मगरहरुको मात्र बसोबास भएको बिर्कोट गाउँ रहेछ । सायद नाता कुटम्बको साइनो जोडिएको हुनसक्छ । कति समय सम्म मगर बसेमा बुढाथोकी मगरहरु बसोबास गरे यकिन साथ भन्न सकिन्न । मगर बसेबाट भूवन सिंह बाजे, श्रीमति, दुई भाई छोरा पहल सीं र धन सीं सहित स-परिवार लिएर बिर्कोट गाउँमा आएर बसोबास गरेको आठौं पुस्ता भइसकेको छ । भुवन सिं पाल्पामा जन्मनु भयो, ४००० पर्वतमा अस्थाई रुपमा बसोबास, गल्याङ्ग माथी मगर बसेमा अस्थायी रुपमा बसी बिर्कोट गाउँमा बसाई सराई गरी स्थायी रुपमा बसोबास गर्नुभयो ।


बिर्कोट गाउँको अवस्था
बिर्कोट गाउँमा बुढाथोकी मगरहरु आउनु भन्दा पहिले, त्यस गाउँमा कुन कुन थरका मगरहरुको बसोबास गर्ने र अन्य समाज बारे जान्नु, थाहा पाउनु राम्रो होला । बिर्कोट गाउमा दर्लामी मगर र सलामी मगरहरु नै सबभन्दा पहिला बसोबास गरेको प्रष्ट देखिन्छ । उनिहरुले नै बिर्कोट गाउको बारीलाई खेति योग्य र अमलावेदी फाँटलाई धान खेती योग्य बनाएको हुन् । उनिहरु व्यवस्थित तरिकाले बसोबास गर्न थाले त्यस पछि अन्य थरका मगर र अन्य समाज आउने क्रमश बढ्दै गयो । दुर्लामी र सलामी मगरहरु पछी बुढाथोकी (  ) घैरेनी पाखामा, बुढाथोकी (देउराली) सलामी मगर र दर्लामी मगरहरुको बिचमा आएर बसोबास गरेको रहेछन् । त्यस पछि थापा (सिंजाली, तङ्गरामी मगर, गाहा मगर, पुन मगर र छन्त्याल मगरहरु आएर बसोबास गरेछन् । बिर्कोट गाऊँ देखि माथि थाले पोखरामा गलामी मगरहरु पनि बसोबास गरेका छन् । अन्य समाज बाट, कडेँल जैंसी पचुवाबाट, सापकोटा जैंसी रिख्भीबाट चालिसे चाल्से टोल र बिर्कोट अन्तर्गत काडेवासमा थकाली, चुरेटा साथै दलित थर समेत पछि आएर बसोबास गरे । 

 बिर्कोट गाउँमा बसोबास गरेपछि गाउँको माथिल्लो भेगको जंगल फडानी गरेर खेती योग्य जमिन बनाएका रहेछन् । धन सिं का छोरा नातीहरु साधारण किसान काम गर्ने र रेउत बहादुर बुढाथोकी विदेशमा (वर्मा) जानु भएको थियो । पहल सिं का छोरा नातीहरु किसान काममा रहनु भयो । तर भैरव सीं का छोरा भक्तिराम ईष्ट इण्डियन आर्मीमा भर्ति भएर प्रथम विश्व युद्धमा लडाई लड्नु भयो र पेन्सन पकाउनु भयो । सैनिक जीवनमा लेखपढ गर्न पनि सिक्नु भएको रहेछ ।
 

बिर्कोट गाउँको लागि योगदान
भक्तिराम बुढाथोकी पेन्सन आउनु भन्दा पहिला गाउँको पुख्र्यौली र जिम्मावाल दुर्लामी मगरले चलाउनु भएको रहेछ । स्वयम् समयमा गल्कोट राज्य थियो र यसको राजा भरत वम मल्ल हुनुहुन्थ्यो । के कारणले हो ? कहिले ? दर्लामी मगरहरुबाट पुख्र्यौली र जिम्मवाल (विरौटे) भक्तिराम बुढाथोकीले पाउनु भयो । भक्तिराम बुढाथोकीले बिर्कोट गाउँको पुख्र्यौली प्राप्त गरेपछि गाउँको सिमाना मजबुद गराउने कार्य सुरु भयो । छिमेकी गाउँका मुखियाहरुले बिर्कोट गाउँको सिमाना मिच्ने कार्य गरेका रहेछन् । त्यसको लागि कानूनि प्रक्रिया द्वारा बिर्कोटको सिमाना यहाँबाट पर्छ भनि दावी गर्नु भयो जस्तै –बिर्कोट गाउँ देखि माथि उचुका देखि गजिङ्गको धुरीसम्म चालिसे टोल र बिर्कोट गाउँको सिमाना पानी ढलान साँध हुनुपर्दछ भन्ने मुखिया भक्तिराम र चालिसेटोला मुखियाले पानी ढलानभन्दा दक्षिणको खोल्सा हो भनि दावी गरेकोले बिर्कोटको जग्गा जमिन, जंगल चालिसे टोलाले हडप्न लागेको हुँदा बाग्लुङ्ग गौदा देखि मुद्वा काठमाण्डौ सम्म पुग्यो र काठमाडौंबाट पानी ढलान मुताविक भोग चलन गरि खानु भन्ने ईन्साफ भएछ । बिर्कोट मुखिया अन्तर्गत थाले पोखरामा बसोवास गर्ने व्यक्तिहरुलाई चरणको सुविधा भयो । बिर्कोटको जीत भयो  भक्तिराम (चामे मुखिया) काठमाडौं सम्म यात्रा गर्नु भएको थियो ।

दर्लामी मगर भएको समयमा रिख्मीको मुखियाले बिर्कोटको उत्तर पट्टीको वन कब्जा गरेकोमा मुखिया भक्तिरामले उजुर गरेर पछि सम्झौता गरी समाधान गरियो ।

 बाग्लुङ्ग (गल्कोट) र गुल्मी जिल्लाको सिमानामा पनि विवाद भई रहने हुँदा मुखिया भक्तिराम बुढाथोकीको पहलमा राणा सरकारको प्रतिनिधि समक्ष सिन्धुरे पहराको बिच भाग नै दुई जिल्लाको सिमाना निर्धारण गरिएको थियो । र हाल सम्म यथावत छ । गाउँको चार किल्ला निर्धारित गर्न चामे मुखियाले अहं भुमिका खेल्नुभएको इतिहासले बताउँछ ।
 बिर्कोट गाउको मुख्य धान हुने अमलावेदी फाँट (खेत) हो । यस फाँटको तिरो उठाउने जिम्मावाल खस गाउको खस क्षेत्री जिम्मावाल रहेछन् । वर्षमा आउने तिरो बुझ्ने गर्दथे, खेत बेचविखन गर्न पस्यो भने पनि खस गाउका जिम्मावाल समक्ष जानु पर्ने भएकाले जनतालाई असुविधा भएको व्यहोरा गल्कोट राजा भरतबम मल्ललाई, भक्तिराम बुढाथोकी मगर ज्यूले जाहेर गरे अनुसार पहिलाको जिम्मेवाललाई हटाई भक्तिरामका छोरा माईला तिल्क बहादुर बुढाथोकीलाई जिम्मावालको जिम्मेवारी दिनुभयो । भक्तिरामको चर्चित उपनाम थियो चामे मुखिया । माइला छोरा तिल्क बहादुरलाई जिम्मावाल दिलाउन चामे मुखियाको कुटनितिक खेलले मात्र सम्भव भएको थियो ।

बाईस खानी मुखियाहरु को सम्मेलन थियो र राणा सरकारको तर्फबाट प्रतिनिधी पनि आएका थिए । बाइस खानी मुखियाको तर्फबाट भार्सेका मुखिया गंगा प्रसाद पुनले राणा सरकारको प्रतिनिधि समक्ष पहिला देखि बाइस खानी मुखियाहरुले राणा सरकारलाई तिरो वापत तामा धार्र्नी तिर्नु पथ्र्यो । तामाको धाउ सकिएको र खानी पनि संचालन नभएको हुँदा मन्दमली रुपियाँमा तिरो बुझाई पाउँ भनि निवेदन गरेछन् । तर चामे मुखिाले खानी संचालन नभएको हुँदा सरकारबाट तिरो मिनाहा गरिदिनको लागि थप निवेदन गर्नु भएछ । र पछि तिरो मिनाहा भएछ । पछि चामे मुखियाले गर्दा तिरो मिनाहमा परियो भनि, चामे मुखियाको प्रशंसा भएको थियो रे ।

मुखिया भक्तिराम (चामे मुखिया) फौजमा लेखपढ गर्न सिकेका हुँदा गाउँका युवाहरुलाई पढाउन पर्छ भन्ने मनसाय थियो । सायद त्यस ईलाकामा बिक्रम सम्बत २००८ साल तिर होला इन्डियन आर्मीबाट अवकाश प्राप्त हवल्दार पतिराम खत्रीलाई शिक्षक बनाई बिर्कोट गाउको साहु कविराम सलामी मगरको गोठमा प्रारम्भिक स्कुलको व्यवस्था गरी पठन पाठन सुरु गराउनु भयो । प्रत्येक विद्यार्थीले महिनाको रु १ माना चामल, दाल, घ्यू, नुन दिन पर्दथ्यो । गाउका भद्र भलाद्मीहरुलाई भेला गरी विसाउनामा ३/४ गाउको माझ पर्ने स्थानमा स्कुल भवन बनाई पठनपाठन गर्ने व्यवस्था गाउमा भयो । निरन्तर अगाडी बढ्दै जाँदा अहिले कडिवासमा १०+२ हाई स्कुल संचालनमा छ । यसको श्रेय स्व. भक्तिराम ज्यू र त्यस समयको भद्र भलाद्मीलाई जान्छ । त्यो गोठमा पढ्ने विद्यार्थी मध्ये म यम बहादुर बुढाथोकी पनि एक हुँ ।

भक्तिराम/चामे मुखियाको देहान्त पछि मुखियाको जिम्मा कान्छा छोरा लाल बहादुर बुढाथोकीले सम्हाल्नु भयो र जिम्मावाल तिल्क बहादुर बुढाथोकी हुनुहुन्थ्यो । यो दुई भाईले स्कुल, स्वास्थ्य, चर्पि बनाउने, बाटो बनाउने र गाउँको चलन चल्ती अनुसार पञ्चायती व्यवस्था सुरु नहुन जेल सम्म गाउँको जिम्मेवारी सम्हाल्नु भयो । पञ्चायती व्यवस्थामा पनि जि. तिल्क बहादुर उप-प्रधान पञ्चको हैसियतमा काम गर्नुभयो । मु. लाल बहादुर जिल्ला सभासद् र बाग्लुङ्ग जिल्लाको जिल्ला पञ्चायत सदस्य निर्वाचित १५ वर्ष रहनु भयो ।


हालको बसोवास अवस्था
 भुवन सिं बुढाथोकी मगरका सन्तान बिर्कोट गाउँमा बसोबास गरेको ८ पुस्ता भएको छ । पाल्पा छाडेको १६० वर्ष भन्दा बढी हुन सक्छ यकिन साथ भन्न सकिदैन । मुखिया भक्तिराम बुढाथोकी मगर जिवित हुँदा समेत पाल्पाली बुढाथोकी मगर संग आवत जावत थियो । वहाँको देहान्त पछि सम्पर्क विहिन भएको छ । बुढाथोकी परिवारको मूख्य बसोबास बिर्कोट हो, तापनि बसाई सराईको क्रममा बर्मा/बेलायतमा स्थायी बसोबास गरेका छन् । स्वदेशमा नेपालगञ्ज, काठमाडौं उपत्यकामा पनि स्थायी बसोबास गरेका छन् । जहाँ बसे तापनि मंसिर महिनाको पूर्णिमाको दिन कुलायनको पुजा गर्न सहभागी हुन्छन्, सहभागी हुन नसक्नेहरुले पुजाका सामानहरु पठाउने गर्दछन् ।

अन्तमा भुवन सीं बुढाथोकी मगरका सन्तानहरु समय अनुकुलता अनुसार राज्यलाई सहयोग गरेका छन् । राष्ट्रियता प्रति बफादार छन्, मिलनसार छन्, सहयोगी जनतालाई सहयोग सामाजिक मूल्य र मान्यतालाई मूख्य आधार मानेर काम कर्तव्य निर्वाह गर्दछन् । सबै समुदाय संग एकताको भावना राख्द छन् । र भातृत्वको मूल आधारलाई स्वीकार्द छन् । शिक्षा प्रेमि र शिक्षाको विकासको लागि सधैं सहयोग गरिरहने भावना भएका सन्तानहरु हुन । बुढाथोकीका छोरी चेलीबेटीहरु पनि जहाँ गएर घरजम गरेर बसे तापनि माईतीहरुले जस्तै सबै पक्षमा सहयोगी भावना सहित काम गरि रहेका छन् ।

बुढाथोकी मगर (देउराली) भुवन सीं देखि ८ पुस्ता सम्मको वंसावली र पुस्ता सम्मको पारिवारिक परिचय र समय अनुसार राष्ट्रलाई सहयोग र आफु बसेको गाउँलाई व्यवस्थित गर्न सहयोगी भुमिका बारे संक्षिप्तमा यस पुस्तकमा प्रकाश पारिएको छ । कहीं कतै छुट हुन गएको भए जानकारी दिन आग्रह गर्दछौं ।
                     

बिर्कोट गाउँको बुढाथोकी मगरले पुख्र्यौली र जिम्मेवारी समाल्ने अवधि भर गाउँमा झै–झगडा भएमा गाउँकै भलादमीहरुले समाधान गर्नुहुन्थ्यो । बिर्कोट गाउँको जनता बिचको झै–झगडा गाउँ देखि माथिल्लो इकाईमा कहिल्यै पनि पुगेन । बरु अन्य गाउँका मुखियाहरुले उनका गाउँमा परेको झै–झगडा मिलाउन चामे मुखिायालाई आमन्त्रित गर्दथे । गल्कोट राजाले समेत चामे मुखियको कदर गर्नुहुन्थ्यो । बिर्कोट गाउँ शान्त समयानुकुल समृद्धि पनि थियो ।

 मु. लाल बहादुर बुढाथोकी ज्यूले कडिबासको स्कुल जन जागृति मा.वि. को सिफारिस ल्याउनलाई धेरै हन्डर खाएर भएपनि स्विकृति दिलाउनु भएको थियो । जि. तिलक बहादुर ज्यूले स्थानिय स्तरमा स्कुलको लागि सहयोगी भूमिका निभाउनु भएको थियो । वहाँका छोराहरुले पनि बाबाहरुको कामलाई अनुसरण गर्दै स्कुलको लागि सहयोग गर्नु भएको थियो ।        
 

लेखक आदिबासी जनजाति जनआन्दोलनका अभियान्त तथा राष्ट्रिय जनमुक्ति पार्टीका बरिष्ट उपाध्यक्ष हुन् ।

 

 

                                                                

 

Last Updated on Tuesday, 17 October 2017 15:30

Hits: 1

पहिचान पक्षधरहरुको चासो र चिन्ता-उपमहासचिब अस्लामी

-टोप अस्लामी


असोज २८ - खासखास समयमा खास खास मुद्दा र विषयहरुमा आम जनताको चासो र चिन्ता बढ्ने र समयक्रममा सेलाउदै जाने हुन्छ । आसन्न निर्वाचनको कारणले गर्दा नेपालको वर्तमान राजनीतिमा पनि विभिन्न सवालमा चासो र चिन्ता निकै नै व्यग्र रुपमा बढीरहेको दिनको घाम जत्तिकै छर्लङ्ग छ । चिन्ता र चासोका बीच जनताले सही ठाउँमा मतदान गर्ने नगर्ने निर्णयले नै मूलुकको भविष्य स्पष्ट बनाउनेछ ।

यतिबेला नेपालका कतिपय राजनीतिक दलहरु केवल सत्ता स्वार्थलाई केन्द्रमा राखेर कथित एकताको ढोल बजाई हिंडेका छन् र यस्तो भान पारिदैंछ अब उनीहरु केही गर्दैछन् । आफ्नो देशभित्र के हुँदैछ त भनेर चासो राख्ने जनमानसहरु यही ठूलो आवाज वरीपरी झुम्मिएको जस्तो पनि देखिन्छ । तर यो रमितामा भुलीरहन ठीक छैन, ठूलो कोलाहलको वरीपरीको झुम्याई निरर्थक छ भन्ने बारेमा जब चेतनाले मानिसलाई निर्देशन गर्दछ, यति बुझ्यो भने क्षणिक हाइफाई केही समयमा सन्नाटामा परिवर्तन भइहाल्छ । अर्थात जति नै झाइझुइमा रमिते भए पनि मानिस वास्तविकतामा नफर्की हुँदैन ।

जसरी परम्परावादी शक्तिहरुले आफ्नो सिरीखुरी समाप्त हुने भयका कारण यो या त्यो नाममा एकताको भ्रम फिंजाइरहेका छन् त्यही सिकोमा उत्पीडनको जालोबाट मुक्ति खोज्नेहरुले पनि हामी एक हुनु पर्छ भन्ने भावना तीव्र भएर आएको छ । केही हद सम्म यो कुरा सही पनि छ । तर नयाँपन र पहिचान स्थापित गर्न चाहनेहरुले घोषित परिस्थितिबाट तरङ्गित हुनु कति सही छ त ? परम्परावादी चिन्तन र व्यहोराबाट मुक्त हुन नचाही निहित स्वार्थलाई केन्द्रमा राखेर जोडबल गरिने त्यस्ता अपेक्षा कति सार्थक होला त ? यो ज्यादै नै सोंचनीय मात्र होईन पेचिलो विषय पनि हो ।

यसै सन्दर्भमा हाम्रा कतिपय पार्टी नेता तथा कार्यकर्ताहरुले विचार मिल्नेहरुसंग पार्टी एकीकरण गर्दै जान ढिला गर्न नहुने बताईरहनु भएको छ । यस भावनालाई पार्टीले कहिल्यै पनि गौण विषय बनाएको छैन । तर उहाँहरु सबैले बुझ्न के जरुरी छ भने विचार कहिल्यै कसैको मिलीरहेको हुँदैन । बरु विचारमा सहमत हुने नहुने भन्ने कुरामा ख्याल राख्नु पर्दछ । विचारमा सहमत भएर पनि निहित स्वार्थ हावी भईदियो भने साँगठनिक जीवनमा त्यो कति पाच्य हुन्छ त भन्ने कुरा पनि त्यत्तिकै महत्वपूर्ण छ ।

प्रसंगवस राष्ट्रिय जनमुक्ति पार्टीको नेतृत्वमा पहिचानमा आधारित पाँच दलीय संघीय गठबन्धन बनेको थियो र छ । आसन्न निर्वाचन र त्यसपछिको परिणामलाई मध्यनजर गर्दै गठबन्धन बीचमा पार्टी एकीकरणको धार्नी न बिसौलीको छलफल बैठक चल्दै आईरहेको पनि हो । यसै बीचमा यही असोज २५ गते चुनावी समीकरण र पार्टी एकता सम्बन्धमा हाम्रो बैठक राष्ट्रिय जनमुक्ति पार्टीको केन्द्रीय कार्यालयमा बस्यो । सो बैठकमा हाम्रा अध्यक्ष केपी पालुङ्वा ज्यूले गठबन्धनको सदस्यको नाताले १० बुँदे प्रस्ताव पेश गर्नु भएको थियो । सो १० बुँदे प्रस्ताव अत्यन्त लचिलो थियो । एकीकरण र सहकार्यको सवालमा प्रस्ताव के गरिएको थियो भने गठबन्धनमा आवद्ध दलहरुको प्रत्येक्ष तर्फको उम्मेद्वारहरुलाई निजहरुको चुनाव चिन्हमा मत हाल्न सबै पार्टी सहमत हुने र राष्ट्रिय समानुपातिकका लागि राष्ट्रिय जनमुक्ति पार्टीको चुनाव चिन्ह घरमा मत राख्न सबै दलहरु प्रतिबद्ध हुने । प्रदेश र केन्द्रमा समानुपातिक मतका लागि एक भइसकेपछि उहाँहरुले तोकेको उम्मेद्वारहरुलाई पनि समानुपातिक सदस्यमा पार्टीले मनोनित गर्ने भन्ने सम्मको प्रष्ट आशय थियो । यस सन्दर्भमा सबै दलले नेपाः राष्ट्रिय पार्टीको चुनाव चिन्ह खड्ग लिएर निर्वाचनमा जाने र निर्वाचन पछि सबै दलले आफ्नो पहिचान त्यागी नयाँ दल घोषणा गर्ने जिकिर रहयो । खासगरी संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङदेनजीको यो जिकिरमा गठबन्धनमा आवद्ध दलहरु लर्खराएको जस्तो लाग्यो ।

एकातिर राष्ट्रिय जनमुक्ति पार्टीलाई लामो विरासत बोकेको अभिभावक संगठन भनीरहन पनि नछोड्ने अर्कोतिर राष्ट्रिय जनमुक्ति पार्टीको लामो समयको लगानी र विरासतलाई नै धुलीसात पार्ने पड्यन्त्रको रखवारी गर्न उहाँहरुलाई कसले उक्साईरहेको छ, एकताको सन्दर्भमा चिन्ताको विषय यो हो । गठबन्धनमा रहेका दलहरुले तत्काल आफुलाई ‘करेक्शन’ गर्न नसक्ने अवस्थालाई मध्येनजर गरी राष्ट्रिय जनमुक्ति पार्टीले १० बुँदे प्रस्ताव पेश गरेको हो । यसले गर्दा सबैको सम्मान पनि हुने र भविष्यमा एक भएर अगाडि जान हामीलाई झनै सजिलो हुने विश्वास गरिएको हो ।

कुमारजीको जस्तो वर्तमानको हुटहुटीलाई मात्र सम्बोधन गरेर जाँदा राष्ट्रिय जनमुक्ति पार्टीलाई मात्र होईन तमाम मुक्तिकामी जनता र सिंगो मूलुकबासीलाई जुन धोका हुनेछ त्यसको क्षतिपूर्ति हामीले निहित स्वार्थमा विलय गराउन सकिदैन । अब प्रदेश र संघीय संसदको जुन निर्वाचन हुँदैछ कतिपय साना दलका एकाध व्यक्तिले सुविधा प्राप्त गर्दैमा त्यसको तात्विक भिन्नता समाजले पाउने छैन किनभने अबको संसद संविधान सभा होईन । त्यस हुनाले पनि मुक्तिकामीहरुका सन्दर्भमा हामीले ज्यादै लचिलो प्रस्ताव पेश गरीरहेका छौं । होइन भने त हामीले सिधै चुनाव चिन्ह घर लिएर जाऔं भन्ने जिकिर गरीराखेको हुन्थ्यौं । तर बुझीराख्न के जरुरी छ भने अनेकन राजनीतिक आधीबेहरी सृजना गरी राष्ट्रिय जनमुक्ति पार्टी र यसमा आवद्ध इमान्दार नेता, कार्यकर्ता, शुभचिन्तकको दोहोलो काढ्न केही कसर बाँकी राखिएको छैन । कथित नयाँ शक्तिको दूत भई आएकाहरुको चुरीफुरी एक वर्ष अघि पार्टीले थामेको पछिल्लो कडी थियो ।

राष्ट्रिय जनमुक्ति पार्टी विगत अढाई दशक भन्दा लामो समयदेखि निरन्तर र अविचलित रुपमा लड्दै आएको सबै नेपालीहरुको राजनीतिक, सामाजिक साथै आर्थिक अधिकारका र विकासका लागि हो । जनतालाई अधिकार सम्पन्न गरेर नै समृद्धिको मार्ग कोर्न सकिन्छ र यसरी मात्र मूलुकको स्थायी शान्ति र दिगो विकास सम्भव छ भन्ने अडान राष्ट्रिय जनमुक्ति पार्टीको हो । स्थापनाकालदेखि आफ्ना मुद्दाहरुमा पार्टी अविचल छ । हजारौं मुक्तिकामीहरुलाई सजग र सवल बनाउने क्रममा छ । कहिंयौ उतारचढावका वाबजुद पार्टी विस्तारै देशव्यापी हुँदैछ । अधिकाँश नेपालीहरुले भोलीको नेपालको भरपर्दो नेतृत्वको रुपमा यस पार्टीको विचार र संगठनलाई आत्मसाथ गर्दै जाने क्रम घट्दो छैन ।हो, यतिका वर्षमा पनि प्राविधिक रुपमा पार्टीले प्रतिनिधि उभ्याउन नसकेको तीतो सत्य जगजाहेर छ । तर पनि मूलुक निर्माण अभियानमा यस पार्टीमा आवद्ध भएर जति नेपालीले योगदान गरेका छन् त्यसको सामूहिक प्रतिफल विस्तारै सतहमा आउने क्रममा छ । दीर्घकालिन राजनीतिक जीवनमा लडाईको यो परिणामलाई जोकोहीले कम आँक्नु हुँदैन ।

कल्पना गरौं, राष्ट्रिय जनमुक्ति पार्टीले जनमुक्ति विचारधारा सम्प्रेषण गर्ने हिम्मत कायम नगरेको भए नेपाली समाजमा फरक तर यथार्थ विचारको बीजारोपण हुन कति सम्भव हुन्थ्यो होला ? पार्टीका आम नेता कार्यकताहरुले पार्टीको प्रभावशाली भविष्यको लागि चिन्तन मनन गरीरहेकै बखतमा तत्काल परिणाम नदेखिदा निराशाको एउटा माहोल नबन्ने पनि होईन । फेरि पनि मूलुक र मूलुकवासीका खातिर पार्टीले जुन योगदान गरीरहेको छ यसको साथै समय अनुसारको थप मेहनत र प्राविधिक ज्ञानको फैलावट गराउँदै लैजान सकेको खण्डमा पार्टीको भविष्य तत्कालै झलमल हुन रत्तिभर पर्खनु पर्ने छैन । सयौं वर्षदेखि उत्पीडन खेप्दै केवल माग्ने अवस्थामा रहेका सबै नेपालीहरु (जाति÷समुदाय, वर्ग, लिङ्ग) लाई हामी दिने ठाउँमा पुरयाउन चाहन्छौं । यसका लागि ‘आमूल परिवर्तन चाहनेहरुको भर, चुनाव चिन्ह घर’ नै हो भन्नेमा सबै जनता एक हुन रत्तिभर ढिला नगरौं ।


(लेखक: राष्ट्रिय जनमुक्ती पार्टी, केन्द्रिय उप-महासचिब हुनुहुन्छ।)

Last Updated on Sunday, 15 October 2017 15:33

Hits: 184

राजा मानसिङ खड्कामगर र दशैको टिकाको रहस्य ।

 शिवलाल थापा ,
गोर्खाका राजा मानसिङ खड्कामगरको बारेमा धेरैलाई थाहा नभएको हुन सक्छ। बि.स.१६०० तिर गोर्खामा मानसिङ खड्कामगरले राज्य गर्थे। लमजुङका राजा यशोब्रम्ह शाहका कान्छो छोरा द्रब्य शाहले मानसिङ खडकामगरको राज्यमा दुई पटक सम्म आक्रमण गर्‍यो। तर दुवै पटक हारेर भाग्नु परेको ईतिहास साक्षी छ्।मानसिङ खड्कामगर अत्यन्त वीर साहसी थिए। उनको वीरता र पराक्रमको अगाडी कसैको केही लाग्दैनथ्यो।आमने-सामने लड्दा जित्न नसकिने देखि द्रब्य शाहले कुटनीतिको सहरा लिने बिचार गरे।

मानसिङ खड्कामगर राजा भएकोमा त्यहाका खस आर्यहरुलाई मन परेको थिएन। त्यसबेला गोरखामा गंगाराम रानामगर् अत्यन्त प्रभावशाली ब्यक्ति थिए।उसको पक्षमा धेरै गोरखाली मगरहरु थिए। त्यहाका खस आर्यहरु नारायण अर्याल,सर्बेस्वर खनाल,भुसाल अर्याल,भगीरथ पन्त मिलेर गंगारामलाई पनि बिभिन्न प्रलोभन देखाइ आफ्नो पक्षमा पारे। यी षड्यन्त्रकारीहरुको सङ्गठन मजबुत भयो। अन्तमा द्रब्य शाह सङ्ग मोटो रकम लिएर राजा मानसिङ खड्का विरुद्धको अभियानमा यिनिहरु सकृय भए।

नारायण अर्याल र गङगाराम मिलेर गोर्खाली जनतालाई राजा मानसिङ् मगरको बिरुद्धमा उचाल्न थाले। आफु बिरुद्ध आफ्नै मगर भाईबन्धुहरुले धोका देला भनेर राजा मानसिङले कहिल्यै सोचेनन। चैत्र अष्टमीको दिन आफ्नै दरबारमा चेलीबेटी,इष्टमित्र,भाइभारदारहरुलाई बोलाई नाचगान,खानपिन गरी मनोरन्जन गरिरहेको अवस्थामा पूर्व योजना अनुसार द्रब्य शाहको फौजले चारैतिर घेरा हाली आक्रमण गर्‍यो।

गोरखाली सेनाले रातभरि बहादुरी साथ लडे। युद्धमा लड्दा लड्दै राजा मानसिङले वीरगति प्राप्त गरे। त्यसपछि द्रब्य शाह गोरखाको गद्दिमा बसे। यसरी षड्यन्त्र एवम कायरतापूर्ण तरिकाले गोर्खाली मगर राजाको राज्य लुटियो। बि.स.१६१६ चैत्र १७ गते नवमीको बिहान राजा मानसिङ मगरको हत्या भएपछि नारायण अर्याल र उनका मतियारहरु मिलेर मानसिङको गर्धन छिनालेर एउटा ठुलो कुडियामा रगत थाप्न लगाए। त्यसपछि चारपाच् पाथी चामल त्यही रगतमा भिजाएर राखे। त्यही चामल दशमीको दिन गोरखा दरबारमा राजा द्रब्य शाहको हातबाट सबै भारदार,सेनापति लगायत सर्बसाधारण सबैलाई टिका थाप्न बोलाइयो। गोरखाली मगरहरुले बिरोध गरेका थिए। तर जसले टिको लगाउन इन्कार गर्छ,उसलाई समातेर तुरुन्तै मारिहाल्थ्यो। त्यसबेला धेरै मगरहरुलाई मारियो।

भनिन्छ त्यसबेला मर्स्याङ्दी नदीमा पानी होइन गोर्खाली मगरहरुको रगत बगेको थियो। त्यसपछि आज सम्म मगरहरुलाई रातो टिका लगाउन वाध्य बनाइेको छ्।

पछिल्ला वर्षहरुमा हरेकले घरघरमा सुङ्गुर,बोका,खसी,रागो काटेर दसैं मनाउनु पर्ने वाध्य बनायो। पशुको बली दिएपछी रगतमा हात डुबाएर पाच् औलाको छाप भित्तामा लगाउनु पर्ने र राजाको सिपाहीहरु दशै मनायो कि मनाएन भनेर चेक् गर्न आउँदा जसको घरमा रगतको पाच् औलाको छाप देखिदैनथ्यो उसलाई तुरुन्तै कार्यबाही गरिन्थ्यो। राजा मानसिङ खड्कामगरको हत्यापछि चामलको टिका लगाउने चलन चलाएको र दसैं चैतमा मनाउने गरेकोमा गर्मी महिनामा उपयुक्त नहुने भन्दै असोज्,कार्तिकमा सारेको बुझिन्छ।

थापा पुर्व मन्त्री तथा ईतिहासकार हुन ।

Last Updated on Thursday, 28 September 2017 16:11

Hits: 2173

के पि ओली बाहुन ,पुष्पकमल दाहाल बाहुन र बाबुराम भट्टराइ बाहुनको बाम एकता कि बृहद ब्राह्मण एकता सम्मेलन ?

तिन पार्टी बीच को एकीकरण लाई बृहद बाम एकता को संज्ञा दिएता पनि उल्लेखित कार्यक्रम विशुद्ध ब्राह्मण राजनैतिक एकता सम्मेलन भएको आभाष दिई रहे को थियो भन्दा अन्यथा हुनेछैन । 

अमरदीप मोक्तान,

 काठमाडौँ १७ गते मंगलबार २०७४ को साँझ ५ बजे काठमाडौ स्थित खचाखच भरिए राष्ट्रिय सभागृह हल मा एमाले ,माओवादी केन्द्र र नया शक्ति पार्टी बीच बृहद बाम एकता को अवधारणा लाई मुर्त रुप दिन तिन पार्टी बीच एकीकरण भएको छ । नेपाल मा स्थिरता विकाश शान्ति सुव्यवस्था स्थापित गर्न का लागि नया र फराकिलो विचार बोकेको राजनैतिक शक्ति को अत्यन्त आवस्यकता महसूस गरिए को बेला तिन पार्टी बीच एकीकरण पश्चात नेपाली राजनीति का विशालकाय शक्ति को एकजुटता ले सर्व हितचिन्तक राजनीतिक पार्टी को जन्म हुनु उदय हुनु एकजुट हुनु सकारात्मक कुरा हो तर दुर्भाग्य के छ भने आफ्नो पार्टी भित्र चर्चा परिचर्चा छलफल मन्थन चिन्तन नै न गरि तिन पार्टी का शिर्सस्थ ब्राह्मण बाहुल्य नेता को चौकड़ी द्वारा लोकमान सिंह कार्की विरुद्ध अविश्वाश को प्रस्ताव दर्ता गर्दा गरेको सर्जिकल स्ट्राईक जस्तै अचानक तीन पार्टी को एकीकरण को घोषणा हुनु पार्टी भित्र रहेको निरंकुशता लाई उजागर गरेको छ साथै यो एकीकरण ले राष्ट्र लाई भविस्य मा राम्रो परिणाम प्राप्ति हुनेछ भन्ने विषय मा सन्देह बनि रहने छ ।

तीन पार्टी एकीकरण कार्यक्रममा सबैभन्दा पहिला बोल्ने पालो पाएका नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले पार्टीहरु बिचको एकतालाई इतिहासको आवश्यकताको संज्ञा दिए । उनले इतिहासका कालखण्डमा एउटा पुस्ताले भूगोल एकीकरण गरेको अर्को पुस्ताले लोकतन्त्र स्थापना गरेको भन्दै अबको पुस्ताले प्रगतिशील समुन्नत समाजवादतर्फ देशलाई लैजानपर्ने आवश्यकता रहेको बताए । त्यस्तै गरि पुष्पकमल दाहाल प्रचण्ड ले एकता ऐतिहासिक आवश्यतकताबाट निर्देशित भएको बताए । तीन दलबिचको सहमती घोषणा सभामा बोल्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एउटै कम्युनिष्ट पार्टी निर्माणका लागि निरन्तरतामा क्रमभंग गरेको ‘राजनीति धेरैहदसम्म संभावनाको खेल हो, राजनीतिमा सम्भव नदेखिएका कुराहरु पनि हुन्छन्, कतिपय संभव देखिने कुरा पनि हुनसक्दैन्, आज त्यही असम्भावना देखिएको कुरा संभव हुँदैछ भन्नु भयो ।एमाले अध्यक्ष केपी ओली ले कम्युनिष्ट दलहरुको एकता राष्ट्रियता, अखण्डतालाई माथि उठाउने उद्देश्य लिएर गरिएको र यसले राष्ट्रलाई एकजुट बनाँउने उद्घोष गरे । केपी ओली ले अबको राजनैतिक यात्रा सत्ता नभएर राष्ट्रको आर्थिक समृद्धि देशमा सुशासन, सदाचार, भौगोलिक एकता कायम गर्दै इन्द्रधनुषी राष्ट्रिय एकता गर्नुपर्ने औल्याए ।

एमाले माओवादी नया शक्ति पार्टी बीच राष्ट्रिय हित का लागि एकता एवं सहमति मा हस्ताक्षर गरिएको भनिएता पनि उल्लेखित कार्यक्रम ले सम्पूर्ण नेपाल को प्रतिनिधित्व गरेको थिएन संबिधान को मूल मर्म समावेशी समानुपातिक शब्द माथि क्रुर रुप मा प्रहार गरेको स्पस्ट रुप मा देखिन्थ्यो ।तिन पार्टी बीच को एकीकरण लाई बृहद बाम एकता को संज्ञा दिएता पनि उल्लेखित कार्यक्रम विशुद्ध ब्राह्मण राजनैतिक एकता सम्मेलन भएको आभाष दिई रहे को थियो भन्दा अन्यथा हुनेछैन । तिनै जना वरिष्ट नेता ले सम्बोधन को क्रम मा आदिवाशी जनजाती मधेसी दलित सबै को साझा हित गर्ने उद्घोष गरेता पनि मंच को अग्रपंक्ति मा दायाँबाट क्रमशः कृष्णबहादुर महरा, रामबहादुर थापा, नारायणकाजी श्रेष्ठ, बाबुराम भट्टराई, केपी शर्मा ओली प्रचण्ड, माधव कुमार नेपाल, वामदेव गौतम, झलनाथ खनाल र भीम गौतम बसेका दृश्य ले आगामी दिन को राजनीतक परिद्रिस्य को सहजै पूर्वानुमान गर्न सकिन्छ । तीन पार्टी एकीकरण को कार्यक्रम का संचालक एमाले का नेता विष्णु पौडेल ले गरेका थिए भने एकीकरण को दस्तावेज वाचन गर्ने कार्य माओवादी नेता जनार्दन शर्मा प्रभाकर ले गरेका थिए । एकीकरण कार्यक्रम मा आदिवासी, जनजाती, मधेशी दलित लाई हस्ताक्षर ,दस्तावेज वाचन ,कार्क्रम संचालन एवं सम्बोधन बाट वन्चित गरेर उक्त कार्यक्रम ले भविष्य को संकेत एवं घोर निरंकुशतन्त्र को स्मरण गराएको छ ।

एमाले माओवादी नया शक्ति को एकीकरण पहाडी ब्राह्मण को मात्र एकता न भई यसको विस्तार तराई मधेश मा पनि भएको छ भन्ने कुरा को पुष्टि एमाले माओवादी पार्टी लाई पहाडी ब्राह्मण बर्चस्व स्थापित गर्यो मधेशी लाई दास बनायो ,मधेश लाए उपनिवेश बनायो भनि पग पग मा गाली गर्ने राजपा का वरिष्ठ नेता हृदयेश त्रिपाठीसहित विके गुप्ता, पशुपतिदयाल मिश्र, ईश्वरदयाल मिश्र र जगदीश शुक्ला सहित बहुसंख्यक मधेशी ब्राह्मण ले सुर्य चिन्ह मा चुनाव लड्ने घोषणा मा हस्ताक्षर गरेर एमाले ,माओवादी ,नया शक्ति को एकीकरण बृहद बाम एवं राष्ट्रभक्त शक्ति को एकता न भई आगामी दिन मा हिमाल पहाड तराई मा हुने चुनाव पश्चात आफ्नो निहित स्वार्थ सिद्धि एवं राजनीतक भागबन्डा का निमित्त ब्राह्मण एकता गरिएको छर्लंग हुन्छ ।

निसन्देह नेपाल को विकाश समृद्धि का लागि राष्ट्रभक्त शक्ति को एकता अति आवस्यकता को रुप मा महसूस गरिएको छ र तिन पार्टी को एकीकरण को संदेश लाई पनि सकारात्मक रुप मा लिन सकिन्छ र लिन पनि जरुर छ तर नेपाली जनता ले बारम्बार छ्द्म्वेशी नेता बाट धोका पाएका हुनाले यो एकीकरण पनि सन्देह को दायरा मा रहेको छ । बिपी कोइराला को आव्हान मा शसस्त्र क्रान्ति मा होमिन्ने र सहादत दिने नेपाली ले के प्राप्त गरे ,४६ /४७ को जन आन्दोलन मा ज्यान गुमाएका अंगभंग भएका हरु ले के प्राप्त गरे ,माओवादी को आव्हान मा गरिएको जनयुद्ध मा ज्यान गुमाएका १७ हजार होनहार नेपाली को सहादत ले राष्ट्र ले के नै प्राप्त गर्यो ? नेपाली जनता को बलिदान ले राष्ट्र मा सुख समृद्धि त् आएन तर राणा शाह जस्तै परिवर्तन को प्रत्येक कालखण्ड मा जंग बहादुर जस्तै नया नया वंश को उदय भएको छ जस्तै काँग्रेस मा कोइराला , देउवा ,केसी ,महत वंश , एमाले मा खनाल ,ओली ,पोख्रेल, नेपाल वंश त्यस्तै गरि माओवादीमा दाहाल र भट्टराई वंश ।

एमाले माओवादी नया शक्ति पार्टी को एकीकरण को सफलता र असफलता चाल र चरित्र मा निर्भर हुने छ । नेता हरु का बहुरुपिया चरित्र ,भाषण र नीति नियम का कुरा नेपाली जनता ले धेरै भोगी सकेका छन् देखि सकेका छन् । अब उप्रान्त नेता हरु ले राष्ट्र लाई सहि पथ मा डोर्याउन र सफल हुन् का लागि मस्तिस्क ठुलो महल बनाएर बसेको पुरातनवादी निरङ्कुश चिन्तन रुपी विष बृक्ष लाई हमेशा का लागि जरा देखि उखालेर फ्याक्नु पर्छ । तीन पार्टी को एकीकरण को प्रारम्भिक चरण मा देखिएको जस्तो ब्राह्मण एकता सम्मेलन दृश्य पुनः न दोहोरियोस , समुन्नत नेपाल निर्माण को निमित्त सम्पूर्ण नेपाल प्रतिबिम्बित हुने संरचना वर्तमान समय को आवस्यकता हो ,एकीकृत पार्टी ले भविस्य मा नेपाल राष्ट्र आवस्यक ज्वलन्त विषय बारे चिन्तन मनन एवं कार्यवनयन गर्ने छन् कि छैनन् नेपाली जनता उत्सुकता पुर्वक प्रतिक्षा गरि रहेका छन् ?

अमरदीप मोक्तान, डाडा खर्क ,दोलखा

Last Updated on Monday, 09 October 2017 14:23

Hits: 217

दसैं यस् कारण हिन्दू चाड

टि. बि पुन

दसै चाड नजिकिदै छ । दसैलाइ कसरी मनाउने वा नमनाउने ! यो चाडलाइ बुझ्ने र हेर्ने बारेमा हाम्रो समाजका कतिपय नव बौद्धहरुमा आशङका अन्योलता छाएको देखिन्छ । यस विसयमा समसामयिक सान्दर्भिकता ठानेर मेरो आफ्नो दृष्‍टिकोण पस्केको छु ।

दसैं हिन्दु चाड हो ।

नेपालमा प्रचलित चाडपर्वहरु कुनै न कुनै धर्म दर्शन संस्कृती र इतिहाससङ्ग जोडिएको पाइन्छ । दसै हिन्दु पौराणिक धर्मशास्त्रीय मान्यतामा आधारित विकसित हिन्दु सास्कृतिक पर्व हो । यो चाड भारत र नेपाल देशमा प्रचलित रहेको छ । दसै पर्वमा जोडिएको संस्कार संस्कृति मान्यता र विस्वासहरु नवदुर्गा पुजा, पशुपन्छि वलिपुजा, जमरा राख्ने दिन सुभारम्भ , कालरात्रि जगाउने, हातहतियार पुजा , फुलपाती उत्सव, टिका ग्रहण, दहिमा मुछिएको निधारमा लगाउने चामलको टीका, सिरमा सिउरिने जौको जमरा दुबो फुलपाती आदिका बारेमा हिन्दु धर्मसास्त्रिय मान्यता अनुसार व्याख्या बिबेचन गरिएको पाइन्छ । दसैको टीका कति बजे कुन घडी पलामा कुन दिशामा फर्केर लगाउने साइतको समय आदि इत्यादि कुराहरुको समेत सास्त्रीय बिधिबिधानमा उल्लेख गरिएको पाइन्छ ।

यी सबै धार्मिक बिधिहरु शास्त्र अनुसार धर्मगुरुहरु बाहुन पण्डित पुरोहितहरुले तय गर्ने गर्दछन दसै टीका पछि पुणिमाको दिन जमरा बिसर्जन गर्ने गरिन्छ । कुनै घरपरिवारमा मृत्यु भएको वा सुत्को परेको रहेछ भने पनि त्यो वर्ष जुठो हुन्छ । असुध्द हुन्छ भन्ने हिन्दु धार्मिक मान्यता अनुसार टीका लगाउन मिल्दैन । दसैको धार्मिक बिश्वास विधिबिधान हिन्दु धर्मसास्त्र हिन्दु क्यालेन्डर अनुसार चलेकोले यो हिन्दु चाड नै हो भन्ने कुरामा कुनै शंका छैन । दसै चाड मान्नेहरुले हामी हिन्दु चाड मानिरहेका छौँ भन्ने कुरा छर्लङ्ग हुनुपर्छ । चाहे ती जुनसुकै जातजाती सम्प्रदाय र भुगोलमा बस्ने मानिस किन नहुन । अर्कोतिर हामी हिन्दु होइनौं ।

तर, दसै चाड हाम्रो मौलिक हो भन्ने बिबादास्पद कुरा गर्ने छ्दम हिन्दुवादी हाम्रा केहि जनजातिहरुको कुरा भने अर्कै छ । उनीहरु काम उहीँ गर्दछन तर कुरो अर्कै ! दसैंमा जोडिएको अर्को जनजाति संस्कृति भनेको मदमान्स खाना, मोजमस्ती मनोरञ्जन र पिङ,चमच्चा खेल्ने नाचगान र रमाइलो गर्ने पक्ष भने आदिवासी जनजातिका संस्कार संस्कृती हुन ।

स्वाभाबैले जनजातिहरु धार्मिकआध्यात्मिक मनोवृत्तिका भन्दा रसरङ्ग गर्ने ढुंगा रातो पेटतातो गर्ने कुरामा अगाडि देखिन्छन् । दसैमा निधारमा लगाउने चामलको टीका र जमरा त आदिवासी जनजातिका लागि केवल देखाउने वाह्य रुप मात्रै हो । खाने पिउने अबसर बाहाना, पेट तताउने निहुँ मात्र हो भन्ने कुरा जनजाति मतुवालीका अव्यवस्थित पछौटे संस्कार संस्कृति खानपिनले पनि स्पष्ट पार्दछ । आदिवासी जनजातिका दसै सम्बन्धि जानकारी दिने कुनै लिखित दर्शन धर्म सास्त्रहरु पनि छैनन। त्यसैले पनि यो चाड हिन्दु हो ।

इतिहासको कुनै कालखण्डमा हिन्दु पण्डित बाहुनले आफ्नो हिन्दु सनातन धर्मको बिकास बिस्तार र यसको संरक्षण सम्बर्द्धनका लागि पौराणिक दसै कथाको परिकल्पना गरे । धर्म सास्त्रको सामाजिक कथा बिधिबिधान र क्यालेन्डर बनाइ दसै मान्ने प्रचलन चलाए । शासक वर्गले अनिवार्य रूपमा दसैं चाड मान्नु पर्ने बाद्य्यता सृजना गरेपछी यो चाड पछि सम्पुर्ण नेपालीहरुको रास्तृय चाड हुन गयो । सबै नेपालीहरुको महान र महत्वपूर्ण चाडको रूपमा विकसित हुनपुग्यो । जुन कुरो जहानिय राणासासन कालमा बिकसित हुन पुगेको हो । पन्चायती कालमा बाहुन पण्डित पुरोहित वर्ग र गाउँ घरका ठुलाठालु मुखिया जिम्मुवालहरुले हिन्दु धर्म संस्कृती र दसै तिहार तिज जस्ता हिन्दुचाड पर्वहरुलाइ नेपाली सामाजिक जीवन पद्धति बनाउने काम गरेको देखिन्छ ।

दसै चाड सम्बन्धमा बौद्ध दृष्‍टिकोण ?

दसै हिन्दु धार्मिक नेपाली मौलिक चाड हो । यो कुनै बौद्ध, क्रिश्चियन वा मुस्लिम धर्म सम्प्रदायको चाड होइन । तथापि गैर हिन्दुहरुले यो चाड मान्दैनन् । उनिहरुले दसै टीका लगाउदैनन । म आफूपनि हिन्दू रहदा दसै टीका लगाए पनि पछि बौद्ध धर्म ग्रहण गरेपछी टीका लगाउदिन । कतिपयले मलाई पनि टीका लगाएर दसै चाड मानिदिएन भनेर गुनासो गर्ने गरेको पाइन्छ । दसै मान्यो वा मानेन भनेर अरुको आलोचना गर्ने हिंसा गर्ने गर्नु पनि राम्रो कुरा होइन । उदाहरणका लागि स्व. गोरे बहादुर खपाङ्गी मगरले २०५७ सालमै मगर संघमा निर्णय गरेर घोषणा गरेकी :- मगरहरु बौद्ध हुन । हिन्दु होइनन् । दसै हिन्दु चाड भएको र मगर बौद्ध भएकोले हिन्दु चाड दसै बौद्ध मगरले मान्नु आबस्यक छैन दसै बहिष्कार परित्याग गर भनेका थिए । दसै चाडको अर्थ र यथार्थता नबुझेर वा बुझ पचाएर दसैप्रती तृष्णा जागेका हिन्दुवादिहरुद्वारा जब दसै आउदछ गोरे बहादुर खपाङ्गिको आलोचना बिरोधाभाष कुराहरू अधापि गरिन्छ्न । खपाङ्गिले त्यतिबेला नेपाली बौद्ध धर्म र सामाजिक बिकासका लागि नै बौद्धहरुले यो चाड मान्नु हुँदैन अबबोध गरि समाजलाई सम्झाएका मात्र हुन । कतिपय आफुलाइ बौद्ध हु भन्नेहरुले दसैमा रातो होइन सेतो टीका लगाउनु पर्दछ भन्ने गरेको पाइन्छ । आफू अनुकुल यसको कर्मकाण्डी अर्थ लगाउने ब्याख्या गर्ने गरेको पाइन्छ ।

बौद्ध धर्म सास्त्रमा निधारमा लगाइने रातो वा सेतो टिका दसै टिकाको चर्चा कतै गरेको पनि पाइदैन । बौद्ध देशहरु र त्यहाका बौद्धहरुले दसै चाड मान्दैनन् । दसै चाड र संस्कृतिलाइ कसरी किन मान्ने वा नमान्ने भन्ने कुरा बुद्धको शिक्षा :- पन्चशिल, अस्टशिल, चार आर्यसत्य, अस्टाङ्गिक मार्ग, शिल, समाधी, प्रज्ञा, अनित्य, अनात्मा र अनिश्वरवादको ज्ञान चच्छुले हेर्ने र बुझ्ने गर्नु पर्दछ । बौद्धहरुले अरुको धर्म संस्कार संस्कृतिको नक्कल आलोचना बिरोध गर्ने होइन । बास्तबिकता देख्ने देखाउने जिवनमा अनुभव गर्ने र मिथ्या धर्म संस्कार संस्कृतिमा नलाग्ने हो । उनीहरुको धर्म संस्कृतिको इज्जत मान सम्मान गर्दै आफ्नो धर्म संस्कार संस्कृतिलाइ अगाढ माया प्रेम र बिश्वास गरि त्यसैमा कटिबद्ध हुनु समर्पित भएर लाग्नु नै हामी बौद्धहरुको मध्यमार्गी धर्म हो ।

भवतु सब्बमङ्गलम !!!

Last Updated on Monday, 02 October 2017 14:13

Hits: 109

हार्दिक श्रद्धान्जलि - एक बहादुर राना मगर
हार्दिक श्रध्दाञ्जलि - गोरे बहादुर खपांगी