नेपाल मेडिकल कलेजमा गरियो ८० वर्षीय बृद्धको सफलतापूर्वक एन्जियोप्लास्टी

अंसु अधिकारी

काठमाडौं । नेपाल मेडिकल कलेजमा एक ८० वर्षीय बृद्धको मुटुको रक्तनलीको ब्लक सफलतापूर्वक खोलिएको छ । कलेजका मुटु रोग विशेषज्ञ डा. सुर्यराज पाठकको नेतृत्वको टीमले ८० वर्षीय काजी शेर्पाको एन्जियोप्लास्टी सफलतापूर्वक गरेको हो ।

बुधबार उच्च रक्तचाप, अत्याधिक मुटु दुखाईबाट गम्भिर बनेका बृद्धलाई उनका परिवारले नेपाल मेडिकल कलेजको इमरजेन्जीमा उपचारका लागि ल्याएका थिए । त्यस वखत उनको अवस्था गम्भिर थियो । तत्काललै डा. सुर्यराज पाठक नेतृत्वको टीमले एन्जियोप्लास्टी (बाई पास सर्जरी) गरी उनको ज्यान बचाएको हो ।

“उहाँमा विगत १० वर्षदेखि उच्च रक्तचाप रहेछ, त्यसमाथि धुम्रपान समेत गर्नुहुने भएकोले लामो समयदेखि मुटु दुख्ने, रक्तचाप बढ्ने समस्याले ग्रसित हुनुहुँदो रहेछ । यहाँ आउने बेला पनि उहाँको स्वास्थ्यवस्था जटिल भइसकेको थियो । उहाँको मुटुको २ वटा रक्तनली बन्द भएको पायौं । त्यसपछि तत्कालै एन्जियोप्लास्टी गर्यौं ।” मुटु रोग विभागका प्रमुख समेत रहेका डा. पाठकले भने ।

मुटु रोगको उपचारका लागि अत्याधुनिक क्याथ ल्याब स्थापना गरेसँगै कलेजमा मुटु रोगको उपचार गराउन आउने बिरामीहरुको संख्या बढ्दो छ । करिब ३ महिनाको दौरानमा कलेजले ५० जना जतिको एन्जियोप्लास्टी गरिसकेको छ । कलेजमा हर्ट अट्याक भएका तथा मुटु सम्बन्धी अन्य रोग लिएर आएका बिरामीको दक्ष तथा अनुभवी मुटु रोग विशेषज्ञबाट उपचार हुँदै आएको छ । हाल यहाँ काठमाडौं उपत्यकासँगै मोफसलबाट समेत मुटु रोगीहरु उपचारार्थ आउने गरेका छन् ।

क्याथल्याब नहुँदा विगतमा मुटु रोगी बिरामीहरुलाई अन्यत्र रिफर गरिन्थ्यो । कतिपय अवस्थामा समयमै अस्पताल नपुग्दा बिरामीहरुको बाटोमै ज्यान जाने सम्मको अवस्था आउँथ्यो । तर, अहिले हर्ट अट्याक मात्र नभएर मुटु सम्बन्धी कुनैपनि समस्या भएका बिरामीले नेपाल मेडिकल कलेजमा सहज उपचार पाउने गरेका छन् । यसबाट काठमाडौंका उत्तरपूर्वी भेगका जनताले बढी लाभ लिई रहेका छन् ।