मनोज घर्तीमगर
सहरको कोलाहल जीवनदेखी वाक्क हुँदैछ मानिस । उसलाई एकैछिन भए पनि प्राकृतिक सुन्दर वातावरणमा रमाउन मन छ ।
तैपनि यान्त्रिक जीवनमा बदलिँदो छ समाज । कामकाजीलाई दुईचार दिन घुम्ने समय निकाल्नै मुस्किल छ । जागिरेलाई हप्तामा एक दिन छुट्टि हुन्छ । त्यही छुट्टिलाई हाङकिङमा सदुपयोग गर्ने पोखरी युवा कति हो । फुर्सद हुने बित्तिकै उनीहरुको पहिलो रोजाई हाइकिङ हो ।
एक दिनमा पुरा गरिने पदयात्रालाई नै हाइकिङ भनिन्छ । लामो समय घुम्न नसक्नेहरु अहिले हाइकिङतिर आकर्षित भइरहेका छन् । पोखराका कामाकाजी युवा माझ हाइकिङ लोकप्रिय बन्न थालेको छ । मेलोडी गजलका संचालक एवं गायक बिनोद बाँनिया फुर्सद भयो कि हाइकिङ का लागि साथीभाइलाई उक्साइहाल्छन् । ‘दिनभरी जागिर, साँझ मेलोडीमा व्यस्त भइन्छ । घुम्ने भनेपछि हुरुक्कै हुने मान्छे म तर समय निकाल्नै मुस्किल’ व्यस्तताकबिच घुम्ने आइडिया बाँडे बिनोदले,‘दुई चार दिन पाइँदैन त्यही भएर कहिले हप्तामा कहिले महिनामा एक दिन भए पनि गाउँतिर घुम्न निस्कन्छु । म गाउँमा बाढी रमाउँछु ।’
प्राकृतिक वातावरणमा रमाउँदै हिड्नु स्वास्थ्यका लागि पनि उत्तिकै राम्रो हो । तर, स्वास्थ्यप्रति नेपाली समाज अझै त्यतिविधी संवेदनशिल भइसकेको छैन । बिरामी भएपछि मात्रै अस्पताल धाउने बानी छ धेरैको । स्वरुपा गुरुङ भने रोग लाग्नुभन्दा रोगको बाटो छेक्ने ध्याउन्नमा छिन् । त्यसैले त उनी सहरको कोलाहल र प्रदुषित वातावरणबाट गाउँठाउँमा रमाउन जान्छन् हाइकिङ बहानामा । ‘सके महिनामा दुई पटक नभ्याए एक पटक त मैले हाइकिङ गरेकै हुन्छु । हाम्रो ग्रुप नै छ घुम्नका लागि’ स्वरुपाले हाइकिङको फाइदा सुनाईन्,‘बेलाबेला हिड्दा स्वास्थ्य मेन्टेन र रिफ्रेस पनि हुन्छ । ग्रामिण पर्यटनलाई पनि सघाउ पुग्छ ।’
हिमाल, ताल र रमणीय स्थलहरु चहार्दै हिड्ने सजिलो उपाय भएकाले नै धेरैको हाइकिङप्रति रुची देखिएको हो । पोखरामा हाइकिङ मोह यति बढेको छ कि विभिन्न कलेजहरुले पनि विद्यार्थीलाई हाइकिङ लैजान थालेका छन् । रेष्टुरेन्टले पनि बेलाबेला हाइकिङ आयोजना गर्छन् । बैंक, विभिन्न संस्था, सहकारी लगायतका थुप्रै सँस्थाले आक्लझुक्कल गराउने हाइकिङले देखाउँछ यसको लोकप्रियता दिनप्रतिदिन बढ्दो छ । ‘हरेक उमेर समूहका मान्छे अहिले हाइकिङप्रति आकर्षित छन्, हामिले गर्ने कार्यक्रममा देखिने जमातले त्यस्तै देखाउँछ’ पोखरामा हाइकिङ बढावा दिन वर्षेनी सामान्यदेखी उच्च ओहोदाका व्यक्ति समावेश गराएर हाइकिङ गराउने पर्यटन व्यवसायी गणेस भट्टराईको अनुभवले भन्छ,‘बढी व्यस्त र धेरै हिड्न गाह्रो मान्नेलाई घुमफिर गर्ने सबभैदा राम्रो उपाय भनेकै हाइकिङ हो ।’
कुनै पर्व होस् या बिदा । अफिसबाट निस्केको छोटो फुर्सद पोखरा नजिकैका पर्यटकीय स्थलमा हिँडेर जानेको ताँति देखिन्छ । हाइकिङ भनेकै त्यही हो । मनसुनको मौका छोपेर हाइकिङ गर्ने हूलका हूल भेटिन्छन् । हाइकिङका लागि सराङकोट, विश्व शान्ति स्तूप, ठूलाकोट, नाउँ डाँडा, कालिकास्थान, काहुँ डाँडा, हेम्जाकोट, याङ्जाकोट, धम्पुस, घान्द्रुक, अर्मला, कास्कीकोट, सुन्दरी डाँडा, लान्द्रुक, निर्मलपोखरी चलेका स्पट हुन् । ‘बढ्दो हाइकिङ लहरले ग्रामिण पर्यटनलाई पनि बढावा दिएको छ’ पोखरा पर्यटन परिषद्का अध्यक्ष सोम थापाको दाबी छ,‘स्थानीयस्तरमै दुईचार पैसा आम्दानी गर्ने बाटो दिएको छ हाइकिङले ।’
न गर्मी न जाडो । यो मौसम हाइकिङका लागि उपयुक्त हो । छ्याङ् खुलेको आकाश, स्निग्ध हिमाल, प्राकृतिक वातावरण र स्वच्छ हावाले धेरैलाई हाइकिङतिर तानेको छ । हाइकिङ जानेहरु स्पटमा पुगेर तस्वीर खिच्ने, नाचगान गर्दै रंगरमाईलो गर्ने, सानातिना विषयमा बहस चलाउने पनि गर्छन् । दिनमा ४/५ घन्टा हिँड्दा जिउ नै हलु्ङगो हुन्छ ।
हाइकिङकै बहसमा नयाँनयाँ कामका योजना पनि बन्छन् । ‘पोखरामा लामो समयपछि नाटक मञ्चन गर्ने र नाटकघर बनाउने योजना पनि हाइकिङकै उपज हो’ युथ क्रियशन थिएटरका सचिव सौगात पोखरेलले कन्तुरबाट एउटा सम्झना झिके,‘त्यही भएर म प्राय हाइकिङमा गइरहन्छु, जहाँ कुनै न कुनै नयाँ कामको योजना बन्छ र त्यो सफल पनि हुँदै आएको छ ।’
हाइकिङले विशेष गरि युवा पुस्तालाई पर्यटकीय ठाउँको जानकारी लिन हौस्याएको छ । यस्तो संस्कृतिले नयाँ पर्यटकीय सम्भावना बोकेका ठाउँहरुको पनि खोजी हुन थालेको छ ।