मगरात बन्दप्रति तमुवानको ऐक्यबद्धता , पोखराको लखनचोकमा विशाल ऐक्यबद्धता सभा ,मगरात विरोधीलाई सामाजिक बहिष्कार गर्ने चेतावनी ।
रूद्र श्रीसमगर
पोखरा, १४ भदौ – नयाँ संविधानमा पहिचानसहितको मगरात स्वायत्त प्रदेश, पूर्ण समानुपातिक समावेशी, धर्मनिरपेक्षताको माग गर्दै मगर समुदायले आज आह्वान गरेको मगरात क्षेत्र बन्दले १८ जिल्लाको जनजीवन प्रभावित बन्यो ।
संयुक्त मगर मञ्च, नेपाल, नेपाल मगर संघ र मगरात संघर्ष समितिले आह्वान गरेको बन्दमा ऐक्यबद्धता जनाउँदै पोखरामा भने मगरात बन्द ऐक्यबद्धता सभाको आयोजना गरियो ।
ऐक्यबद्धता सभामा बोल्ने मगरात एवं तमुवानका नेताहरूले पहिचानसहितको मगरात र तमुवान प्रदेश नभए बन्दुक समेत उठाउने चेतावनी दिए । सभामा नेपाल मगर संघका केन्द्रीय अध्यक्ष महेन्द्र थापामगरले एक दिने मगरात बन्द आफूहरूको दोस्रो चरणको अन्तिम आन्दोलनको कार्यक्रम भएको भन्दै आफ्ना माग सुनुवाइ नभए तेस्रो चरणको सशक्त आन्दोलन गर्ने चेतावनी दिए । थापामगरले माग सुनुवाइ नभए एक घर एक मगर सडकमा उतारेर देशै ठप्प बनाउने चेतावनी समेत दिए ।
संयुक्त मगर मञ्च, नेपालका संयोजक लोकबहादुर थापामगरले संघीयताविरोधी र मगरातविरोधीलाई सामाजिक बहिष्कार गर्ने चेतावनी दिए । मगर समुदाय जागिसकेको भन्दै थापामगरले अधिकार नपाए बलिदानी दिन तयार रहेको बताए ।
मगरात बन्दप्रति ऐक्यबद्धता जनाउँदै तमुवानका नेता गणेशमान गुरुङले मगरात र तमुवानका जनता एक भएर स्वायत्त प्रदेश ल्याएरै छाड्ने दाबी गरे । गुरुङले थरुहट, लिम्बुवानलगायतका सबै आदिवासी जनजाति आन्दोलनमा तमुवानको ऐक्यबद्धता रहने उल्लेख गरे ।
सभामा आदिवासी जनजाति राष्ट्रिय आन्दोलन नेपाल तमुवान प्रादेशिक समितिका प्रवक्ता दीपक तामाङ, नेपाल मगर संघका महासचिव नवीन रोकामगर, गुरुङ प्राज्ञिक तथा व्यवसायिक मञ्चका अध्यक्ष सुन्दर गुरुङ, अधिकारकर्मी अधिवक्ता सुरेन्द्र थापामगर, मगर राष्ट्रिय मुक्ति मोर्चा नेपालका महासचिव बालकृष्ण काउछामगर, तमु राष्ट्रिय मुक्ति मोर्चा (क्रान्तिकारी)का केन्द्रीय सचिव लालबहादुर गुरुङ, तमु राष्ट्रिय मुक्ति मोर्चा नेपालका केन्द्रीय सचिवालय सदस्य एवं कास्की जिल्ला अध्यक्ष धर्म गुरुङ, थकाली सेवा समितिका अध्यक्ष अम्बर तुलाचन लगायतका आदिवासी जनजाति नेताहरूले पहिचानसहितको संघीयताका लागि सशक्त आन्दोलन गर्नुपर्ने भन्दै अबको आन्दोलन निर्णायक हुने दाबी समेत गरेका थिए ।
पोखराको लखनचोकमा भएको मगरात बन्दप्रति तमुवानको ऐक्यबद्धता सभा सञ्चालन भइरहँदा करिब तीन घण्टा पोखराको यातायात व्यवस्था अस्तव्यस्त बनेको थियो । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् कास्कीका अध्यक्ष पानबहादुर घर्तीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन तमुवान संयुक्त संघर्ष समिति भेला आयोजक समितिका सचिव हुमबहादुर गुरुङले गरेका थिए।
