जनजाति, मधेसी र दलितः बन्यजन्तु कि मान्छे ?

Read Time:11 Minute, 17 Second

बलदीप प्रभाश्वर चामलिङ

संकीर्णवादी राज्यसत्ताले यो देशका जनतालाई पशुभन्दा पनि तल राखेका छन् । यो देशका आदिवासी जनजाति, मधेसी र दलितहरू अब मान्छे रहेनन् । उनीहरूको अस्तित्व र पहिचान उनीहरूकै लागि अभिशाप भएका छन् । यही माटोमा जन्मेर पनि आप्रवासी भएका छन् । कारण यो देशका सत्ताधारीहरूमा एक जातीय हैकमवाद  छ । आज दलित, जनजाति, मधेसी र श्रमिकहरूको हैसियत वन्यजन्तुको भन्दा पनि तल पारिएको छ ।

हतियार खरिद

सरकारले सालैपिच्छे हतियार खरिद गर्दछ । के त्यो बन्दुक जंगलका बाघ–भालु मार्न हो ? कदापि होइन । त्यो त जनबध गर्न हो ।  पहिचानको लागि आन्दोलनरत आदिवासी थारुहरूको विद्रोहलाई दबाउने निहुँमा  सुशील कोइराला नेतृत्वका सरकारले २ अर्ब रुपैया मूल्यको  गोलीगट्ठासहित हातहतियार किन्ने भएको छ । थारुलगायत मधेसी जनताहरूको आन्दोलनलाई दबाउन सरकारले सेना परिचालन गर्ने भएको छ । अझ सेना परिचालन गर्न हुदैन भन्ने रिटलाई खारेज गरिदिएर सर्वोच्च अदालतले यो सरकारलाई दमनको लागि बाटो खोलिदिएको छ  । के यो सरकारले भित्र्याउने हतियार जंगलमा सिकार खेल्नको लागि हो ? होइन । त्यो हतियार अधिकार माग्ने दलित र मधेसीविरुद्ध प्रयोग गर्नको लागि हो ।

पहिचान माग्ने यो देशका आदिम मान्छेहरूविरुद्ध प्रयोग हुने हो । गाँस, वास र कपासको लागि आन्दोलन गर्ने गरिब किसान, मजदुरहरू र श्रमिकहरूको आवाज दबाउन हो । त्यसकारण यो देशका आदिवासी जनजाति, दलित, मधेशी र विपन्न श्रमिकहरूको हैसियत राज्यले जनवारको भन्दा पनि तल राखिदिएको छ किनभने बरु त्यो हतियार सेना–पुलिसको हातमा थमाइदिएर वन्यजन्तु संरक्षण गर्ने ऐन बनाउछन् तर अधिकार र पहिचान खोज्ने जनताहरूविरुद्ध ती हतियार प्रयोग गर्ने नीति बनाउछन्, यो देशका सत्ताधारीहरू । 

मुलुकमा विभिन्न प्रकारको कथित राजनीतिक परिवर्तनहरू भए । तर ती परिवर्तनहरूले वास्तविक नेपाली जनताहरूलाई लोकतन्त्रको वास्तविक अनुभूति दिलाउन सकेन । राणा शासनमा जन्मी हुर्केका एक पुस्ता अझै अहिलेसम्म बाँचिरहेका छन् । तर उनीहरूको नयाँ समृद्धशाली नेपाल देख्ने उत्कट आकांक्षा सपनामा मात्रै सिमित हुनेभो । उनीहरूले मात्र होइन, अहिले जन्म लिने पुस्ताले पनि त्यो नेपाल देख्न र भोग्न समय कुर्नैपर्ने भएको छ । आज छिमेकी मुलुक विश्वमा उदयीमान शक्तिमा दर्ज भैसकेका छन् । तर सधै स्वतन्त्र यो मुलुकको अवस्था घरायसी राजनीतिक व्यवस्थापन राम्रो हुन नसक्दा यो अवस्थामा छ ।

मुलुको समस्या

यो देशको समस्या भनेको कुनै विचार तथा सिद्धान्त होइन, समास्या भनेको हिन्दुजातीय संकीर्णवादको वंशीय प्रवृति (hereditary attitude of Hindu ethnic parochialism) हो । यो प्रवृति पुस्तान्तरण हुदै अहिलेका पिँढीसम्म छ । यो प्रवृति एउटा संस्कृति पनि हो जस्ले एक मानवीय आचरणलाई निर्धारण गरेको छ । यो हिन्दुजातीय संकीर्णता त्यस्तो प्रवृति हो जो परिवर्तन र प्रगतिको विरुद्धमा हुन्छ । यसको सोच विश्वव्यापी नभएर स्थानीय तथा क्षेत्रीय हुन्छ । यसले विज्ञान र प्रविधिलाई अंकमाल गर्न सक्दैन । यसमा सिर्जनशीलता हुदैन । यसको बौद्धिक मापदण्ड भनेको षडयन्त्र र खिचातानी हो । उदारता र महानता यसको विपरीतार्थ गुण हो । हो, यही प्रवृति बोकेका व्यक्तिहरू नेपालको राज्यसंयन्त्रमा हाबी हुनु नै नेपाली जनताको लागि दुर्भाग्यको कुरा हो ।

यो प्रवृतिबाट विकृत व्यक्तिहरूले राजनीतिक नेतृत्व लिनु नेपाली जनताको लागि अर्को ठूलो घात हो । यही प्रवृतिको पृष्ठपोषक यो वर्तमान राज्यव्यवस्थाले नेपालको छवी राष्ट्रिय/अन्तर्राष्ट्रि जगतमा धमिल्याएको छ ; विश्वको गरिब मुलुकको सूचिमा नेपाललाई राखिदिएको छ ; नेपाली जनताको टाउकामा विदेशी ऋण थोपरिदिएको छ ; नेपाली मानवशक्तिलाई पराइको गुलाम बनाइदिएको छ र अझै पनि जनताको प्रकृतिप्रदत्त अधिकारलाई बन्धक बनाएर सधै सडकमा आइरहनुपर्ने अवस्था सृजना गरिदिएर नेपाली जनतारूलाई कष्ट र पीडा दिइरहेको छ ।

आज पहिचान खोज्ने नेपालका आदिवासीहरू साम्प्रदायिक होइन । साम्प्रदायिक त त्यो हो जस्ले विविधतालाई स्वीकार्न सक्दैन । साम्प्रदायिक त त्यो हो जस्ले अरूको पनि अस्तित्व र पहिचानलाई कदर गर्न सक्दैन र आफ्नो एकल जातीय प्रभूत्वलाई कायम गराइरहन चाहन्छ ।

परिवर्तन विरोधीहरूको विभिन्न संस्करण

आज यथास्थितिवादीवादीहरू विभिन्न रूपमा एकत्र भएका छन् । परिवर्तनविरुद्ध उनीहरूको अघोषित साँठगाँठ छ । चाहे त्यो राजनीतिक क्षेत्रमा होस्, बौद्धिक क्षेत्रमा होस् र मिडिया क्षेत्रमा होस् । जनताको आवजहरू बुलन्द हुन नदिने विभिन्न अवरोधहरू छन् । नेपालका सञ्चारमाध्यमहरू पनि एक पक्षीय भएका छन् । जनजातिका छोरीचेली नाचेका र उफ्रेका तस्वीरहरू मूख्यपृष्ठमा छापिन्छ । जनजातिका युवाहरूले ढोलझ्याम्टा बजाउदैगरेका फोटोहरू चासोको रूपमा प्रशारण हुन्छ । तर उनीहरूले आफ्नो हकअधिकारको लागि बोलेको र लेखेको कुराहरू छापिन्न ।

जंङ्गीसेवा र वंश हत्या

यहाँ पुलिस मेरेको कुरालाई मात्र प्रचार गरिन्छ । तर जनता मरेको कुरालाई वास्ता गरिन्न । पुलिसभन्दा ठूलो जनता हो । सेनाभन्दा ठूलो जनता हो । उनीहरू भनेका जनताको साधन हुन् ।  जंगीसेवक हुनु भनेकै मान्छे नभएर मेशिन(साधन) बन्नु हो । यो राज्यको शास्त्रीय सिद्धान्त हो ।  सत्ताको निर्देशनमा सेना–पुलिसको कर्तव्य भनेकै मर्ने वा मार्ने हो । सरकारको आदेशमा मर्ने र मार्ने कुराप्रति चाख नभए जंङ्गीसेवामा जागिर नखाए भो । पेटै पाल्न त अरू विकल्प पनि हुन सक्छ ।

आज जुन समुदायहरूले अधिकार र पहिचानको लागि लडिरहेका छन् तिनै समुदायका मान्छेहरू सेना–पुलिसमा जागिर खाएका पनि छन् । त्यो बेला बिडम्बना हुन्छ जुन बेला लिम्बुवानका जनताको लागि लड्नेहरूविरुद्ध  कुनै लिम्बु जवान र अधिकृतलाई पठाइन्छ ; जुन बेला मधेसीविरुद्ध मधेसी जवानलाई खटाइन्छ; जुन बेला  दलित जवानलाई दलितहरूविरुद्ध खटाइन्छ ; जुन बेला नेवार जवानलाई नेवारविरुद्ध परिचालन गरिन्छ । जागिर खानेले सरकारले जे आदेश दिन्छ, त्यो आदेशको शिरोपर गर्नैपर्ने हुन्छ । यो अनुशासनको कुरा हो । यसलाई भंग गर्ने कुरो पनि हुन्न ।

तर यहाँ कुनै मगर, गुरुङ, लिम्ब र तामाङको छोरा जंगी सेवाको प्रमुख नभएका होइनन् र ? भर्खरै एक मगरको छोरा कुबेरसिंह राना पुलिस प्रमुखबाट अवकास भएका छन् । तामाङको छोरा डीबी लामा र लिम्बुको छोरा जीबी याक्थुम्बाहरू जस्ता पनि पुलिस प्रमुख नभएका होइनन् । सेनामा पनि भर्खरै छत्रमान गुरुङ सेना प्रमुखबाट रिटायर्ड भएका हुन् । तर तिनै कुबेरसिंह रानाको समाज पहिचान र अधिकारविहीन छन् । तिनै डीबी लामा र जीवी याक्थुम्बाहरूको पहिचान कहाँ छ ? हिजोका सैन्य प्रमुख छत्रमान गुरुङहरूका अस्तित्व कहाँ छ ? 

आफ्नो राजनीतिक हैसियत र पहिचान कायम नभएका जनताको छोराहरूले वर्तमान राज्यव्यवस्था अन्तरगत सरकारी जागिर खाएर देशको सेवा गर्छु भन्नु एक उडन्ते भावनात्मक कुरा बाहेक केही होइन । उनीहरूले देश र जनताको लागि नभएर एकल हिन्दुसत्ताको पृष्ठपोषकको भूमिका निभाइदिन बाहेक अरू केही गर्न सक्दैन । आज पहिचान र अधिकारको पक्षमा आन्दोलनरत समुदायहरूविरुद्ध उनीहरू पुलिस र सेनाको रूपमा परिचालित हुने अवस्था भनेको वंश हत्या सिवाय अरू हुन सक्दैन ।

आज यो देशका यथास्थितिवादीहरूले ‘झ्याल–ढोकाबिनाको घर’ बनाउने मूर्खता गरिरहेका छन् । यो मुलुकको झ्याल–ढोका भनेको पहिचान सहितको संघीयता, धर्मनिरपेक्षता र समानुपातिक प्रतिनिधित्व हुन् । यी कुराको सम्बोधन नभै मुलुकमा स्थायीशान्ति खोज्नु भनेको हलो अड्काएर गोरु चुट्नुमात्र हो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %