सोनु थापा मगर
बुटवल , भाद्र १- आफैले घोषणा गरेको कार्यक्रम अर्कैलाई जिम्मा लगाएर आदिवासी जनजाति महासंघ,रुपन्देहीका अध्यक्ष शन्तराम चौधरी हिडेपछि घोषित कार्यक्रम स्थगित भएको छ ।
नेपाल आदिवासी जनजाति महासंघ संघीय परिषद् सचिवालयले भदौं ६ र ७ गते नेपाल बन्द गर्ने सहितको भदौ १० सम्मको आन्दोलन कार्यक्रम घोषणा गरिएको थियो । घोषित कार्यक्रम अन्तरगत मंगलबार प्रस्तावित संविधानको मस्यौदा जलाउंने कार्यक्रम थियो । तर त्यो कार्यक्रम थारु कल्याणकारीणी सभालाई जिम्मा दिएको भन्दैं अध्यक्ष चौधरी हिडेपछि कार्यक्रम स्थगित भएको हो ।
केन्द्रबाट कार्यक्रमका लागि प्रमुख अतिथि बुटवल आइसक्नु भएका बेला कार्यक्रम एकाएक रोकिएको हो । कार्यक्रमलाई सम्वोधन गर्न आदिवासी जनजाति राष्ट्रिय आन्दोलनका सचिवालय सदस्य तथा युवा फोर्सका केन्द्रय संयोजक जी।एस। गुरुङ बुटवल आइसक्नु भएको बेला कार्यक्रम स्थगित भएको हो । कार्यक्रम रोकिएको भन्दैं आक्रोशित युवाहरुले बुटवलमा रहेको जनजाति महासंघको कायालयमा तालाबन्दी गर्ने चेतावनी दिएका छन् ।
यस विषयमा सम्पर्क गर्न खोज्दा महासंघका अध्यक्ष शन्तराम चौधरीले फोन उठाउंनु भएन । आदिवासी जनजाति युवा संघका केन्द्रीय सदस्य दिपक गुरुङले एकाएक घोषणा भएको कार्यक्रम रोकिदा महासंघप्रति शंका लागेको बताउंनु भयो । केन्द्रबाट आन्दोलनको कार्यक्रम आएपछि व्यवस्थित रुपमा आन्दोलन सम्पन्न गर्न बैठक बसेको र उक्त बैठकमा अध्यक्ष चौधरी आन्दोलन विरोधी भएको भन्दैं एकल जातीय संघसंस्थाका अधिकांश अध्यक्षहरु अनुपश्थित रहेका थिए । बैठकमा आन्दोलन विरोधीको रुपमा विल्ला भिरिएका केही नेताहरुको चुरीफुरी देखिन्थ्यो ।
नेपाली कांग्रेसका तर्फबाट सभासद् बनेका जनजाति महासंघका अध्यक्ष नगेन्द्र कुमाल र एमालेबाट सभासद् बनेका महासचिव पेम्बा भोटे स्वयमले हस्ताक्षर गरेर घोषणा गरेको आन्दोलन एकाएक रोकिएपछि पार्टीको दबाबमा यस्तो हुनसक्ने आन्दोलनमा अनवरत होमिएका आदिवासी जनजाति अगुवाहरुले अड्कल काटेका छन् । यसले गर्दा आफैं घोषणा गरेको भदौं ६ र ७ गतेको नेपाल बन्द कार्यक्रम पनि धरापमा परेको छ ।
महासंघले अगाडि सारेको आन्दोलनलाई (आन्दोलन गर्ने बेलामा लुक्ने र पदका लागि बार्गेनिङ गर्ने) आन्दोलनमा निरन्तर लागिरहेका आदिवासी जनजाति अगुवाहरुले मर्ने बेलामा हरियो काक्रोको संज्ञा दिएका छन्
