अभिसाप चेरापुञ्जी,फोटो समचार सहित

Read Time:8 Minute, 25 Second

मनोज घर्तीमगर

मस्त निन्द्रामा रहेकी कृष्णमाया देवकोटालाई भैंचालोको धक्काले झै बेस्मारी हल्लायो ।

जर्याकजुरुक उठ्दा घरका भित्ताबाट माटो खस्दै थियो । पूरै बस्ती थर्कियो । गडगडाहट आवाजले उनको होसहवास् उड्यो । बेलाबेला भैंचालोले हल्लाउन नछाडेको बेला उनी भैचालो आएको सम्झेर बेस्मारी चिच्याइन् । घडी हेर्दा रातको एक बज्दै थियो ।

एकछिन पछि भागदौड भो । झरी रोकिएको थिएन । निस्पट्ट अँध्यारोमा भाग्ने मेलोमेसो नमिले पनि उनी घरबाट निस्किइन् । फर्केर हेर्दा उनको घरको नामोनिसान थिएन । ‘घर नरहे पनि म बाँच्न सफल भयौं, ज्यान रहे घर बनाउन सकिएला’ कृष्णमाया आशावादी देखिइन्, ‘बिचरा अरुको त प्राणै उड्यो ।’

 

अहिले जति चर्चित छ, त्योभन्दा बढी नाम कमाएकै ठाउँ हो कास्कीको लुम्ले । पोखरा बजारबाट झन्डै ३० किलोमिटर उत्तरपश्चिमको यो गाउँ चर्चित हुनुको अहिलेको कारण विनाशकारी पहिरो हो । पहिलेको कारण भने धेरै पानी पर्नु । धेरै पानी पर्ने ठाउँ भएकाले नेपालको चेरापुञ्जी भनिथ्यो लुम्लेलाई । चेरापुञ्जीवासी भन्दा लुम्लेलीले गर्र्व महसुस गर्थे । त्यस्तै गर्व गर्ने एउटा परिवार थियो वसन्त बिकको । तर, त्यही पानी उनको परिवार र गाउँकै लागि अभिसाप भइदियो ।

कृष्णमाया भाग्दै गर्दै लुम्लेको पुछारमा रहेको वसन्तको परिवार मस्त निन्द्रामा थियो । आठ सदस्यीय वसन्तको परिवारमध्ये ६ जना ब्यूँझन नपाई चिर निन्द्रामै हराए । उनीहरुले भाग्ने भेउ नै पाएनन् । वसन्तकी नातिनी संगीता भने घरबाट जसोतसो निस्किइन् । उनका बुवा रामबहादुर अरब भएकाले बाँच्न सके । संगीतको आँखै अगाडी उनका ६ जना आफन्तलाई पहिरोले माटौमै मिलाइदियो । परिवारमा परेको ब्रजपात सहेर संगीता अहिले सहेर बसेकी छिन् । उनी बोल्न सक्दिनन् । बोल्न खोजे ओठ थरथराउँछन् ।

 

‘उनीसँग बोल्ने शब्दै छैनन्, गाउँभरीमा सबैभन्दा ठूलो पीडा उनीमाथी छ’ संगीताको बोली नफुटेपछि स्थानीय समाजसेवी लक्ष्मण देवकोटाले भने,‘भर्खर एसएलसी पास गरेकी हुन् । के गर्ने कहाँ पढ्ने उनकी आमाले मसँग सल्लाह गरेक थिइन् । परिवारमा यस्तो दुःख लाग्यो । यिनको राम्रो व्यवस्था कसरी गर्ने भन्नेमा हामी चिन्तित छौं ।’

कविराम सुनारको व्यथा पनि उस्तै छ । पत्नीले पहिरोबारे थाह नपाएको भए सपरिवार एउटै चिहान हुन्थ्यो । तर, पत्नीले सुतेका सबैलाई पहिरो आएको भन्दै चिच्याइन् । मस्त निद्रामा रहेका कविराम, छोरी र नातिनीलाई ब्यूँझाइन् । कविराम झटपट भागे पनि अरुलाई भगाउन सकेनन् । छोरी मञ्जु र नातिनी सीमालाई उनका आँखै अगाडी पहिरोले बगायो । ‘बुढीले पहिरो आयो भनेर चिच्याएपछि ब्यूँझेर सबैलाई उठाएँ । म भागे पनि अरुलाई लग्न सकेन’ कविरामले हिक्का छोड्दै भने,‘आँखाका नानीजस्ती नातिनी र छोरीलाई पापी पहिरोले लग्यो ।’

लुम्लेको आफ्नै सानसौकत थियो, १३ साउन २०७२ अघिसम्म । दिवंगत कवि तथा गीतकार विनोद गौचनको अगुवाइइमा १५ चैत २०६५ मा लुम्लेलाई ‘‘कविता गाउँ” घोषणा गरेपछि गाउँको प्रचारमा बढोत्तरी भएको थियो । गाउँ भए पनि सहरी सुविधा । पर्यटकीय गाउँ भएकाले नेपालको अरु गाउँका दाँजोमा धेरै सुखी र खुसी थिए लुम्लेली । चमक आउने ढुंगाको छानो । ढुंगाकै आँगन । गुचुमुच्च घरको बस्ती हेर्न थुप्रै पर्यटक पुग्थे र होमस्टेमा बस्थे ।

मिलेको बस्ती मा सबै खुसी थिए । बुधबार झन्डै एक बजेतिर आएको पहिरोलो त्यो खुसी लुटेको छ । घरवास गुमाएकाहरु आफन्तको शरणमा छन् । पाल वितरण भए पनि मकैबारी भएकाले पाल राख्ने ठाउँ छैन । पाल राखे पनि वर्षामा काम छैन । ‘गाउँको हुलिाया नै बदलिएको छ । हामी शोकमा डुबेका छौं’ शिक्षक समेत रहेका स्थानीय चुडामणी देवकोटाले भने, ‘सबैका ओठमा माम्री लागेका छन् । काजक्रियामा व्यस्त छन् । गाउँलेका आअखा ओभाउन सकेका छैनन् ।’

लगातार परेको पानीका कारण पहिरोले लुम्लेलाई केन्द्रबिन्दु बनायो । वडा ४ र ६ मा का १४ घर एकैचोटी बगाउँदा २८ जनाको ज्यान लियो । कसैले छिमेकी, कसैले छोराछोरी त कतिले दौँतारी गुमाए । लुम्लेले आफ्नै छातीमा खेले हुर्केका सन्तान गुमायो । एक बालिका अझै बेपत्ता छिन् । देवकोटा, गुरुङ, दलित, राई, शेर्पा लगायतको छ्यासमिस बस्ती । लुम्ले अहिले क्षय बिक्षय छ । दुःख अनेकन छन्, पीडा लेखी साध्य छैन । पहिरोपछि कष्टकर छ, जीवन ।

बुधबार साँझ सँगसँगै घर पसेका छिमेकी बिहान उठ्दा सग्ला थिएनन् । गाउँ नै बगेको खबर सुनेपछि गाउँ बाहिर रहेका आफन्त फर्किएका छन् । विदेशिएकाहरु आउनेक्रम जारी छ । घरधनी आइबहादुर गुरुङ पोखरा झरेपछि घर रेखदेख गर्दै पूर्वबाट आएका छिरिङ शेर्पाको परिवार पनि लुम्लेको माटोमै बिलाएको छ । पाँचजनाको शेर्पा परिवारका कोही जिवित रहेनन् । ‘आइबहादुरको घर उ त्यही ठूलो ढुंगा छ नि हो त्यही ठाउँमा थियो, अहिले त सबै माटो भएन’ स्थानीय बृद्ध बुद्धिमान गुरुङ भन्छन्,‘अस्तिसम्म यहाँ सबैका घर सग्ला थिए । अहिले कसको घर कहाँ थियो भन्न सकिँदैन ।’

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी हरिबहादुर पालले साउन १३ मा गएको पहिरोबाट कास्कीमा ३५ जनाको मृत्यु भएको जानकारी दिए । उनका अनुसार लुम्लेमा मृत्यु हुनेको संख्या अब २८ पुगेको छ । भदौरे तामागीमा ५ जना र ढिकुरपोखरीमा २ जनाको ज्यान गएको थियो । भदौरे तामागीमा १ र लुम्लेमा १ गरी २ जना वेपत्ता छन् ।

उनीहरुको खोजी कार्य जारी छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना स्थानीयलाई पुरानै लयमा फर्कन सघाइरहेका छन् । स्थानीय लक्ष्मण देवकोटाका अनुसार विभिन्न संघसंस्थाले राहत दिने क्रम भइरहेको छ । ‘राहतसँगै गाउँलाई छेकबार गर्न तारजालीको आवश्यकता छ’ उनले भने,‘त्योबाहेक कुन ठाउँ बस्न उपयुक्त र कुन अनुपयुक्त जाँचेर बस्ती बसाउनुपर्छ ।’

तस्वीर : इन्द्र पौडेल र एजेन्सी ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %