पोखरा, २२ साउन – बैशाख १२ र २९ गतेको महाभुकम्प र त्यसपछिको पराकम्पनहरुबाट प्रभावित भई तमु धिं नेपालले स्थापना गरेको भुकम्प प्रभावित पूर्नस्थापना केन्द्रमा रहेका भूकम्प प्रभावितहरुलाई ३० हजार रुपैया राहत रकम वितरण गरिएको छ ।
कास्की जिल्ला रिभान २ पुरानो गाउ भई हाल बेलायतको फ्रामबोरोमा अध्ययनरत मेघना गुरुङ र उहाँका साथीहरु सोफिया बुढाथोकी, प्रिजल पुन, आरती गुरुङ लगायतले खाजा खर्च, खुत्रुके र अनलाइन सहयोगबाट जम्मा गरेको ३० हजार रुपैया भूकम्प प्रभावित परिवारलाई मेघना गुरुङले वितरण गरेका हुन ।
मेघनाले तमु धिं नेपालमा रहेका चार परिवारलाई जनही छ, छ हजार, हरियो खर्क अस्पतालमा उपचाररत दमाई गुरुङलाई चार हजार, थर्की घले र कुमारी गुरुङलाई यातयात खर्च बापत एक एक हजार रुपैया राहत वितरणगरेका हुन । राहत रकम वितरण गर्दै मेघनाले नेपालमा भूकम्पले पीडा दिएको बेला आफूहरु विदेश रहे पनि थोरै भए पनि सहयोग गरौं भनि खाजा खर्च कटाएर, खुत्रुकेमा संकलित रकम वितरण गर्न पाउदा आत्मा सन्तुष्ति मिलेको बताए ।
राहत वितरणका लागि छोरी मेघनालाई तमु धिं नेपालले पुर्याउनु भएका तमु प्ये ल्हु संघका केन्द्रीय सचिव समेत रहेका बुवा ओमबहादुर गुरुङले तमु धिंले भूकम्प प्रभावितहरुका लागि उदाहरणीय कार्य गरेकाले नै छोरीलाई राहत वितरणका लागि तमु धिंमा ल्याएको बताए । तमु प्ये ल्हु संघले पनि गाँउ गाँउमा पुगी राहत वितरण गरेको बताउदै उनले तमु धिंको सेवामुलक कार्यलाई धन्यवाद व्यक्त गरे ।
राहतका लागि तमु धिं नेपालस्थित पुर्नस्थापना केन्द्रमा पुगेका मेघना र बुबा ओमबहादुर गुरुङलाई तमु धिं नेपालका अध्यक्ष कर्म तमुले खादा लगाइदिनुहुदै स्वागत गरेका थिए । उक्त अवसरमा अध्यक्ष तमुले युकेमा अध्ययनरत मेघनालाई अध्ययन पश्चात नेपालमै सेवा गर्न आग्रह गरेका थिए ।
