नेपाललाइ धर्म निरपेक्ष राष्ट्र कायम गर्न खबरदारी

Read Time:5 Minute, 9 Second

सनु थापामगर

बुटवल, सावन २० – नेपाललाई हिन्दु राष्ट्र होइन,धर्म निरपेक्ष राष्ट्र बनाउंनुपर्ने सोमबार बुटवलमा आयोजित कार्यक्रममा बोल्ने सरोकारवालाहरुले जोड दिएका छन् ।

अन्तरिम संविधानले समेत धर्म निरपेक्ष राष्ट्र स्वीकारी सकेको अवस्थामा प्रमुख चार दलले षड्यन्त्रपुर्वक तरिकाले नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्न लागेको भन्दैं वक्ताहरुले आपत्ति जनाएका थिए । नेपाल मगर बौद्ध सेवा समिति,रुपन्देहीले बुटवल–१० स्थित शान्तिज्योती बौद्ध समाज गुम्बामा आयोजना गरेको विभिन्न धर्मालम्बीहरुको बृहत भेलामा बोल्ने बक्ताहरुले उक्त कुरामा जोड दिएका हुन् ।

उनीहरुले नेपाललाई जवरजस्त हिन्दु राष्ट्र घोषणा गरिए आफुहरु कडा खालको सडक संघर्ष गर्न पछि नपर्ने समेत चेतावनी दिएका थिए ।  बक्ताहरुले मुश्लिम,शिख,इस्लाम,ख्रिष्टियन,बौद्ध सबै एक हुनुपर्नेमा पनि जोड दिएका थिए ।  कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका पुर्व उपमेयर विमलबहादुर शाक्यले प्रमुख दलहरुले अन्तरिम संविधानको मर्म र आम जनताको भावना विपरित षड्यन्त्रपुर्वक तरिकाले हिन्दु राष्ट्र घोषणा गर्न लागेको भन्दैं शान्तिपुर्ण तरिकाले खबरदारी गर्नुपर्ने आवश्यकता औल्याए ।

तमु छोंज धीं गरुङ राष्ट्रिय परिषद्,रुपन्देहीका अध्यक्ष सुर्जेलाल गुरुङले नेपाललाई हिन्दु राष्ट्र घोषणा गरिए धार्मिक युद्ध हुनसक्ने चेतावनी दिए । ख्रिष्ट्रियन समाज,बुटवलका अध्यक्ष सुरेश थापाले राज्यको कुनैपनि धर्म नहुने तर्क गदैं हिन्दु राष्ट्र घोषणा भए आफुहरुलाई मान्य नहुने बताए ।

कार्यक्रममा नेपाल मगर बौद्ध सेवा समितिका केन्द्रीय सल्लाहकार अमरबहादुर थापामगर,आदिवासी जनजाति पत्रकार मञ्च,नेपाल,रुपन्देहीका अध्यक्ष टेकबहादुर मास्कीराना,संघीय एक्सप्रेस अर्ध साप्ताहिकका सम्पादक सनु थापामगर,नेपाल तामाङ घेदुङ,रुपन्देहीका अध्यक्ष बिरबहादुर तामाङ,मगर संघ,रुपन्देहीका अध्यक्ष दलबहादुर बिरकट्टा,क्रिष्चियन समाजका पाष्टरहरु चित्र गरुङ,प्रेमबहादुर विश्वकर्मा,तुफानी भर,कृष्ण रोका,अर्जुन चौधरी,नेपाल मगर बौद्ध सेवा समिति,कपिलवस्तुका अध्यक्ष कुलबहादुर राना,  नेपाल मगर संघ रुपन्देहीका कोषाध्यक्ष अनबहादुर सोती , सदस्य कमल थापामगर, नेपाल मगर संघ वडा नं १० का अध्यक्ष थर्कबहादुर बाह्रघरेमगर , रुमबहादुर थापामगर लगायतले बोलेका थिए ।

समितिका अध्यक्ष पार्वती घर्तिमगरको अध्यक्षता,सचिव कदम थापामगरको संचालनमा भेला सम्पन्न भएको थियो ।  भेलाले अन्तरिम संविधानले प्रत्याभुत गरेको (स्वीकारेको) धर्म निरपेक्ष राष्ट्रलाई संस्थागत गर्न धर्म निरपेक्ष संरक्षण समिति,रुपन्देही गठन गरिएको छ ।  समितिले श्रावण २२ गते बुटवलमा धर्म निरपेक्ष संरक्षणका लागि खवरदारी सभा गर्ने निर्णय गरेको छ । 

भेलाले बुटवलको राजमार्ग चौराहस्थित लखनचोकबाट खबरदारी र्याली निकाल्ने र उक्त र्यालीले बुटवल बजार परिक्रमा गरि ट्राफिकचोकस्थित मिडिया चोकमा पुगेर सभामा परिणत हुने जनाएको छ  । सभामा विभिन्न एकल जातीय संघसस्था एवं विभिन्न धार्मिक नेता तथा अगुवाहरुले सम्वोधन गर्ने समितिले जनाएको छ  । समितिका संयोजक थापाले यसका लागि आवश्यक तयारी उपसमितिहरु बनाएर अगाडी बढाईएको बताए ।

कार्यक्रमलाई  सफल पार्नका लागि देशप्रेमी सबै नेपाली दाजुुभाई तथा दिदीबहिनीहरुलाई आग्रह पनि गरेका छन ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %