बलदीप प्रभाश्वर चामलिङ

धर्म र शपथ
सार्वजनिक पद धारण गरेको राष्ट्र सेवकले ईश्वरको नाममा शपथ खाने प्रचलन चलिआएको छ ताकि जनतामाथि धोका नहोस् ।
कुनै ईश्वरसमक्ष खाएको सपथले गल्ती गरे त्यसले पिरोल्छ भन्ने एक मनोविज्ञान सृजना गराउन त्यसो गरिएको हो, वास्तवमा । त्यसकारण ठूलठूला पद धारण गरेकाहरुले कुनै भगवानको नाममा वा कुनै धार्मिक ग्रन्थ छोएर शपथ खाने प्रचलन अघिबाटै आएको हो । यो शपथ खाने क्रममा सार्वजनिक पद धारण गरेको व्यक्तिले आफ्नो व्यक्तिगत आस्थाको आधारमा कुनै धर्मको प्रतीक छोएर प्रतिबद्धता जाहेर गर्नसक्छ तर राष्ट्रप्रमुखले शपथको बेला जुन धर्मको प्रतीक प्रयोग गरेको हो त्यो धर्म राज्यसत्ताको हुन्छ भनेर ठान्नु मूर्खता हुन्छ । जस्तो, अमेरिकामा त्यहाँको राष्ट्रपतिले बाइबल छोएर सपथ खायो भन्दैमा त्यो राज्यको धर्म क्रिश्चियन हो भन्ने हुन्न । अमेरिकाको राष्ट्रपतिले शपथ खाँदा बाइबल छुनु उनको व्यक्तिगत अस्था हो ।
तर अमेरिकी राष्ट्रपतिले बाइबल छोएर शपथ खाए पनि अमेरिकाको संविधानमा “अमेरिका क्रिश्चियन राज्य हो” भनेर लेखिएको छैन् । अमेरिकाको राष्ट्रपतिले शपथ ग्रहण गर्दा बाइबल नै छुनुपर्छ भन्ने कुरा अमेरिकाको संविधान अन्तरगत कुनै ऐन र नियममा छैन । उता बेलायतको राजा/रानीले कुनै धर्मको सदस्य होला तर पनि “संयुक्त अधिराज्य क्रिश्चियन राज्य हो्” भनेर त्यहाँको कानूनमा लेखिएको छैन । नेपालमा पनि नेपालको राष्ट्रपतिले गीता, डमरु वा त्रिशुल जे छोएर शपथ खाए पनि त्यो उनको नीजि कुरा हो । अमेरिकाको राष्ट्रपतिले बाइबल छोएर सपथ खायो भन्दैमा नेपाललाई हिन्दुराष्ट्र बनाउने तर्क गर्ने बाहुनहरु आफैमा हासोका पात्रहरु हुन् ।
बाहुन भर्सेज प्रगतिशिल चिन्तन

प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विद्वानहरुको विचार अध्ययन र विश्लेषण गर्ने क्रममा यो पंक्तिकारको हातमा एक ख्यातिप्राप्त पश्चिमा विद्वान राईस डेभिड्जको पुस्तक ‘बुद्धिष्ट ईण्डिया’ हात पर्यो । त्यहाँ यस्तो लेखिएको रहेछ, “सुधार र प्रगतिको पथमा बाधा अड्चन भएको बाहुनहरुले कहिल्यै पनि नविनतम् विचारलाई आत्मसाथ गरेनन् ” यो कुरालाई मैले झट्ट विश्वास गर्नै सकिन । त्यो पनि एक विदेशीले मेरो छिमेकी सधियार र अंशीयार बाहुन दाजुभाइलाई त्यस्तो जातीय चारित्रिक विशेषण किटिदिदा मेरो कन्सिरी नै तातेर आयो । आफूलाई श्रेष्ठ भनेर दाबी गर्ने बाहुन कसरी त्यस्तो होला भनेर मेरो मनमा लामो समयसम्म कुरा खेलिरह्यो ।
अध्यनकै क्रममा मेरो हातमा अर्को पुस्तक पनि अध्यन गर्ने अवसर पाएँ । त्यो अन्य ठाउँको नभएर नेपालकै एक विद्वान केशरबहादुर के.सी. को पुस्तक ‘जुडिसियल कस्टम अफ नेपाल’ हो । त्यसमा “ बाहुन जहिले पनि वैज्ञानिक सिद्धान्तको विरोधी थिए” भनेर लेखेको पाएँ । विदेशीले त भन्योभन्यो तर नेपाली विद्वानले पनि त्यसो भन्दाचाहिँ मेरो मनमा “कागको पछि दौडने कि कान समात्ने” भन्ने द्विविधामा परे । तै पनि म ती विद्वानहरुको पछि लागिनँ । फेरि विश्वका हरेक धर्मका सारतत्व बुझ्ने क्रममा बौद्ध साहित्य अध्यन गर्न पुगे । बौध साहित्यमा भगवान गौतम बुद्धले बाहुनहरुलाई यसरी निन्दा गरेको छ, “तिमीहरु बाहिरी स्वरुप नरम भएपनि भित्र कडा काठजस्तै छौ” ।
आखिर स्वदेशी र विदेशी सामान्य मानिसहरुले मात्र नभएर एक मुक्त भगवान पुरुष गौतम बुद्धले समेत बाहुनलाई किन निन्दनीय शब्दहरु प्रयोग गरे होलान् ? यसमा मैले कुनै आधार देखेको थिइन । समुदाय विशेषको आफ्नै जातीय चरित्र (ethos) हुन्छ भन्ने समाजशास्त्री/मानवशास्त्रीहरुको भनाइलाई पनि मैले नकारेको अवस्था हो । तर माथिका कुराहरु साँच्चिनै सत्य हो कि क्या हो भनेर पुनःविचार गर्नुपर्ने वाध्यात्मक परिवेश अहिलेका कथित तीन दलका कोइराला, ओली र दाहालहरुको व्यवहारले सृजना गरेको छ । पहिचान, संघीयता, समानुपातिक प्रतिनिधित्व र धर्मनिरपेक्षताजस्ता प्रगति र विकासको आधारभूत मुद्दाहरुलाई षडयन्त्रमुलक ढंगले तुहाउन प्रयासरत छन् तीन दलका नेताहरु । तिनीहरुको फेर समाउदै पछि लागिरहेका छन् यो मुलुकको मुलवासी थारुको छोरो विचरा विजयकुमार गच्छदार ।
१६ बुँदाको अढमा चोरबाटोबाट आज संविधान ल्याउन खोज्ने सुशिल कोइराला, केपी ओली र प्रचण्ड दाहाल जस्ता ठूला नेताहरुको लाछीपन देख्दा उनीहरु साँच्ची नै नयाँ विचार र प्रगतिको दुश्मन नै हो कि भन्ने आभाष आइरहेको छ । वास्तवमा यो घडिमा सुशिल कोइराला, केपी ओली र प्रचण्ड दाहालहरु ‘नेता’ बनेनन्, मात्र उनीहरु अन्तिम अवस्थामा आएर ‘बाहुन’ बनेका छन् । के हिजोका गोरेबहादुर खपाङ्गीहरुलाई हामीले गाली गर्नु सही नै हो त ? आखिर खपाङ्गीले त वाहुनवादको प्रवृतिलाई मात्र न निन्दा गरेका थिए । जातीय असमानतालाई मात्र न औल्याइदिएका थिए । तर उनी भन्दा हजारौ वर्ष अगाडिका बुद्ध र स्वदेशी/विद्वानहरुले त जात किटेरै दोषी देखाइदिएका थिए । वास्तवमा तीन दलका नेताहरु जातिवदी साम्प्रदायिक देखिएका छन् ।

हो, यहाँ जाति विशेष कुरा गर्न खोजिएको होइन । सबै बाहुनलाई एउटै टोकरीमा राख्न पनि मिल्दैन । प्रगतिशिल चिन्तन र व्यवहार बोकेका बाहुनहरु पनि यो मुलुकमा नभएको होइन । तर त्यस्ता बाहुनहरुले अवसर पाएका छैनन् । तर दुर्भाग्य नेपालको शत्तामा हाबी हुने बाहुनहरु चाहिँ यथास्थितिवादी नै देखियो । यिनीहरुको कारणले अरु सभ्य र प्रगतिशिल बाहुनहरु बदनाम भएका छन् । पहिचान, संघीयता, समानुपाति प्रतिनिधित्व र धर्मनिरपेक्षको कुरा त परकै कुरा भो, उनीहरुले गाईलाई राष्ट्रिय जनवार बनाएरै छाड्ने भो । यस विषयमा उनीहरु कुनै कुरो ओकल्न चाहन्न् । तर गाईलाई राष्ट्रिय जनवार बनाउदा यसको दुरगामी असर के पर्छ र मुलुकले भोली कस्तो मूल्य चुकाउनुपर्छ भन्ने कुरालाई उनीहरुले नजरअन्दाज गरेका छन् । तर यहाँ बुझ्नुपर्ने कुरा के छ भने गाईलाई राष्ट्रिय जनवार भनेर संवैधानिक मान्यता दिनुभनेको नेपाल अन्ततः हिन्दुराज्य नै हो भन्ने प्रतिकात्मक जातीय अभिव्यक्ति हो किनभने गाई सिर्फ चारखुट्टे जन्तुमात्र नभएर त्यो हिन्दुधर्मसंग जोडिएको एक जातीय प्रतिक (totem) हो । जस्ले राज्यको मूल कानून संविधानमा नै स्थान पाउनुभनेको अन्य जातीय धार्मिक मान्यताहरुलाई होच्याएको ठहर्छ ।
बाहुन र गाई
बाहुनहरुले गाईलाई पुज्छन् । यतिमात्र नभएर गाईलाई माता मान्छन् । गाईलाई माता ठानेपछि गोरु स्वतः बाउ हुने नै भयो । तर नेपालमा कसैले गाई मारे र खाए उनीहरु दण्डित हुन्छन् । यो पनि वस्तविकता हो नेपालको कि कसैले गाई खान्छन् । तर वास्तवमा गाई भगवान होइन, पकवान हो । अमेरिकाका राष्ट्रपति बराक ओवामादेखि विल क्लिन्टन्हरु सम्म, बेलायतका टोनी ब्लेयर देखि डेभिड क्यामरुनहरु सम्म र रसीयाका पुटिन देखि गोर्वाचोभहरुसम्म सबैले गाई खान्छन् । उता विश्वकै प्रथम राज्य हुने दौडमा रहेका माओका उत्तराधिकारीहरुले पनि गाई खान्छन् । तर उनीहरु जेलमा थुनिनु र कोचिनु परेको छैन् । उनीहरुको लागि गाई मिठो मिष्ठान हो । तर नेपालका जनताहरुले गाई खाएको कारण जेलमा रहनु परेका छन् । कुनै जातिहरुले गाई खादा सजायको भागिदार हुनुपर्ने अवस्था कहिलेसम्म छ । के यो हुनु भनेको एक जातीय राज्यसत्ताको परिचायक होइन त ?
जे होस्, बाहुनहरुले गाईलाई श्रद्धा गर्दछन् । यसमा पनि इतिहास छ । हिजो गाईले बाहुनहरुलाई ठूलो गुण लगाएको थियो । उनीहरुले प्रारम्भिक कालमा गाई पालेरै जीवन धानेका थिए । आर्यहरुले आफूबीचमा हाँगो छुट्याउन ‘गोत्र’ भन्ने गर्दछन् । हो, यो गोत्र उही गाई पालन वा गाई गोठालोसंग जोडिएको छ । संस्कृतमा ‘गो’ भनेको गाई हो र ‘पुत्र’ भनेको छोरा वा सन्तान हो । आर्यहरुको कविला युग सुरु हुनुभन्दा पहिले परिवारका सदस्यहरुले आ–आफ्नो गाई लिएर विभिन्न ठाँउमा यत्रत्यत्र छरिएर जीवन धान्थे । त्यसकारण गाई–गोठालोको आधारमा उनीहरुले एक आपसबाट आ–आफ्नो कुल वा वंश छुट्टयाउने क्रममा उनीहरुको गोत्र विभाजन भएको हो । गोत्रको अर्थ गाईको पुत्र भन्ने हुन्छ ।
यति मात्र होइन, बाहुनहरुलाई गाईले ठूलै भालो गरेको थियो । हिजो शत्रुहरुबाट बच्ने क्रममा उनीहरु हिन्दुउपमहाद्वीपमा प्रवेश गर्दा उनीहरुले ठूल्ठूला नदीहरु पार गर्दैआएका थिए । त्यो बेला अहिलेको जस्तो जहाज र डुङ्गा थिएन । भाग्ने क्रममा हतारमा त्यस्ता डुङ्गा बनाइरहने कुरा पनि भएन । त्यो भएको हुनाले उनीहरुले आफूसंग भएको गाई–गोरुको पुच्छर समातेर ती नदीहरु पार गर्दैआएका हुन् । अहिले पनि बाहुन सम्प्रदायमा आपतविपतको रोगव्यधीले समातेर मृत्युको मुखमा पर्ने वेलामा रोगीलाई गाईको पुच्छर समात्न लगाएर वैतरणी गर्ने चलन छ । यो चलन हिजो आपतको बेला गाईको पुच्छर समाती नदी पार गरेर ज्यान जोगाउनुको मनोविज्ञानसंग जोडिएको छ ।
हो, यसरी गाईले हिन्दु–आर्यहरुलाई यस्तो गुण लगाएको हुदा यसलाई उनीहरुले धार्मिक आश्थासंग जोडिदिए । हुन त प्राचीन कालको जंगली युगमा सबै मानव समुदायहरुले जीविकोपार्जन गर्ने क्रममा गाईको मासु खाएकै हुन् । बाहुनहरुले गाईको मासु खाएकै होइन भन्न सकिन्न किनकी रिग वेदमा गाईको मासु खाएको दृष्टान्त छ । हिन्दुहरुको देवता ईन्द्रले गाई र गोरुको मासु खाएर असुरहरुलाई परास्त गरेको कुरा वेदमा छ । थुप्रै ठाँउमा ईन्द्रले सोम (रक्सी) पिएको छ । ईन्द्रले अग्नी देवलाई गाई र गोरु चढाएको छ । (अग्नी देवलाई गाई र गोरु चढाउनु भनेको आगोमा होमिदिनु हो ।) यति मात्र होइन, वेदमा बाहुनहरुको रीषिमुनि वामदेव गौतमले त कुकुरको मासु पकाएको पनि उल्लेख छ । भनेपछि, बाहुनहरुले पनि हिजो गाई खाएकै हुन् । यो कुरा तिनै वेदले प्रष्ट पारेको छ । यदि यस्तो होइन भने बाहुनहरुले त्यो वेद हाम्रो होइन भन्न सक्नुपर्छ । यदि वेद बाहुनहरुकै हो भने गाई बाहुनहरुले पनि खाएको कुरालाई स्वीकार्नुपर्ने हुन्छ ।
बाहुनहरुको गाईप्रतिको श्रद्धालाई कसैले नकार्न सक्दैन । यो हिन्दुआर्यहरुको आस्थाको कुरा हो । यो गर्न उनीहरुले पाउनुपर्दछ । त्यसको विरोध गर्ने कसैको हक छैन । तर आफूले गरेको कुरा अरुले पनि त्यही गर्नुपर्छ भन्ने कुराचाहिँ गलत हो । हिन्दुआर्यहरुको लागि गाई श्रद्धाको विषय बन्नसक्छ । तर छुट्टै जातीय पृष्ठभूमि भएका जातिहरुको लागि त्यो नहुन सक्छ । त्यसकारण बहुजातीय चरित्र भएको मुलुकमा बसेपछि कुनै एक जातिको मात्र अस्था र चरित्र अरु जातिहरु माथि लाद्न हुन्न । गाई हिन्दुहरुको लागि धार्मिकरुपले महत्वपूर्ण होला तर त्यो अरुको लागि नहुन सक्छ ।
राष्ट्रिय जनवार गाई हुन सक्दैन
नेपाल हिन्दुराज्य नरहेर धर्मनिरपेक्ष राज्य हुनु मुलुकको वस्तुस्थिति हो । यद्यपि, गाईलाई राष्ट्रिय जनावर भनेर संविधानमै लेखाउन खोजिएको छ । गाईलाई राष्ट्रिय जनवार भनेर मान्यता दिनुमा विरोधाभाष छ । यसले एक जातीय साम्प्रदायिकता झल्कन्छ । किनकि गाई हिन्दु सम्प्रदायसँग सम्बन्धित कुरा हो । यदि हिन्दु–सम्प्रदायसँग सम्बन्धित नभएको हुन्थ्यो भने त्यो मान्य हुन सक्थ्यो । गाई हिन्दु–सम्प्रदायसँग सम्बन्धित पनि हुनु र त्यसलाई नेपालको राष्ट्रिय जनवार पनि बनाउनु तर्कसंगत कदापि हुँदैन ।
यसले द्वन्द्व निम्त्याउने कामबाहेक अरू केही गर्न सक्दैन । नेपालजस्तो बहुजातीय तथा बहुधार्मिक समूदाय भाएको राज्यमा गाईलाई राष्ट्रिय जनवार बनाउदा त्यो भोलिको लागि द्वन्दको तुष रहिरहन्छ । हिन्दुहरुले यो मुलुकमा आफ्नो साम्प्रदायिक वर्चस्वलाई प्रतिकात्मकरुपमा कायम गराइरहन चाहने कुरालाई यसले टेवा दिन्छ । संविधानमा नै उल्लेख गरेर गाईलाई राष्ट्रिय जनवारको मान्यता दिनु उही हिन्दुराज्यको छद्म संस्करण हो किनकी गाई भनेको हिन्दु–सम्प्रदायसंग जोडिएका विषय हो । यसले सद्भाव होइन र जातीय बितन्ड निम्त्याउँछ । राष्ट्रिय जनावरका लागि अरू विकल्पमा जान सकिन्छ । राष्ट्रिय जनवार नै चाहिन्छ भन्ने होइन, त्यो नभए पनि राज्य चल्छ ।
गोवध र बलि
यदि प्राणी हत्या गर्नु पाप हो भन्ने आधारमा गाई काट्नेलाई सजाय दिने हो भने कसैले पनि कुनै पनि प्राणी हत्या नै नगरौ, सबै शाकाहारी बनौं । यदि काटमारकै कुरा गर्ने हो भने हिन्दु धार्मिक संस्कारमा बाहेक सबैभन्दा ठूलो काटमार र बलि अरू धर्ममा हुँदैन । हामीले नै देखेका छौ कि नेपालको बारा जिल्लामा रहेको गढीमाईमा प्रत्येक १२ वर्षमा लाखौ निर्दोष जनवारहरुलाई काटेर रगत बगाइन्छ । हिन्दु धार्मिक संस्कारले त जनवारमात्र छाडेन, मानिसलाई पनि बलि दिने प्रचलन अजसम्म छ । जस्तो नवलपरासीमा भर्खरै एउटा बालकलाई हिन्दुतान्त्रिकले बलिको नाममा कटेर मारेको छ । नेपलको राजधानी काठमाण्डौमा एउटा ‘नरदेवी’ भन्ने मन्दिर छ । हिजोका राणाहरुको पालासम्म त्यहाँ हिन्दुधर्मका शासकहरुले बलि दिन्थे । संस्कृतमा ‘नर’ भनेको मान्छे हो । त्यो मन्दिरका देवीले मान्छेको बलि खाने हुनाले त्यसलाई नरदेवी भनिएको हो ।
यदि गाई खाँदा असभ्य र दिमागहीन नै होइने हो भने आज किन तिनै गाई–गोरु खाने पश्चिमा सभ्यता अन्तरीक्षमा पुगिसकेको छ तर हामी खसी–बोका खानेहरु उही नरकीय जीवन भोगिरहेका छौ त ?
यदि नेपालमा गाई–गोरु खानेहरुलाई असभ्य ठान्ने हो भने ‘काट्टो’ खुवाउने र खाने समुदायलाई के भन्ने ? काट्टो भनेको त खसीको सुकुटी त होइन । त्यो त मेरको मान्छे लासको मासु हो । काट्टो खुवाउने/खाने भनेको त जात विशेषसंग नै जोडिएको हो अर्थात यो हिन्दुसंस्कारमा नै पर्दछ । नत्र त्यो किराँतीलाई पनि खुवाइन्थ्यो ।
(यिनै अहिलेका प्रधानमन्त्री सुशिलको सान्दाई गिरिजाप्रसाद र वीपीको बाबु कृष्णप्रसाद कोइरालाले राणा प्रधानमन्त्री देवशमशेरको काट्टो खाएर भारत बसेको इतिहास ताजै छ ।) आज काट्टो(मान्छेको मासु) खाने समूदायचाहिँ सर्वश्रेष्ठ र पवित्र मानिदिनुपर्ने तर जनवारको मासु(गाई) खानेहरुचाहिँ अपमानित र दण्डित हुनुपर्ने ? कहाँ छन् उनीहरुको अस्तित्व ?
पहिचान ?

गैरहिन्दुले गाई–गोरु काट्दा उनीहरुलाई सजाय दिने परम्परा अवको दिनमा तोडिनु पर्दछ । र, हिन्दुहरुले गाईप्रति प्रकट गर्ने श्रद्धालाई पनि गैरहिन्दुले कदर गरिदिनुपर्दछ । मान्छे मार्दा सत्तामा जाने तर जनावर मार्दा जेलमा जाने भन्ने कुराको आभाष जनतामा पर्न दिनुहुन्न ।
विविध कारणले गर्दा गाई सबैको आस्थाको विषय हुनैसक्दैन । त्यसकारण गाईलाई राष्ट्रिय जनवार बनाउनु तर्कसंगत कुरा नै होइन । राष्ट्रिय जनवार भैसकेपछि त्यो सबैको पूज्य जनवार हुनुपर्नेहुन्छ । गाईलाई राष्ट्रिय जनवार बनाउने कुरामा पुनःविचार गर्नुपर्छ । नत्र भोली यो देशका पुराना ‘अग्र्यानिक’ मान्छेहरु व्युँझेको दिन यो मुलुकले ठूलो मूल्य चुकाउनुपर्ने हुन्छ । वस्तुगत तथ्यलाई पनि भुल्नु हुन्न कि गाई कसैलाई भगवान् हो तर कसैलाई पकवान ।
