पोखरा, १४ साउन – नेकपा (एकीकृत)निकट अखिल नेपाल आदिवासी जनजाति महासङ्घ (एकीकृत) केन्द्रीय समिति तथा आदिवासी जनजाति सांस्कृतिक परिवारको आयोजनामा यही साउन ३० गते आदिवासी जनजाति सांस्कृतिक कार्यक्रमको आयोजना हुने भएको छ ।
आदिवासी जनजातिहरूलाई अधिकारमुखी आन्दोलनमा सहभागी गराउन सञ्चालित सांस्कृतिक अभियान अन्तर्गत पोखरामा सांस्कृतिक कार्यक्रम गरिन लागेको महासङ्घका केन्द्रीय उपाध्यक्ष भीमबहादुर श्रीसमगरले जानकारी दिए ।
महासङ्घको केन्द्रीय कार्यक्रम अनुसार आदिवासी जनजाति सांस्कृतिक कार्यक्रम यही साउन २८ गते बुटवल, ३० गते पोखरा, ३२ गते बागलुङ र आगामी भदौ ४ गते काठमाडौंमा हुने श्रीसमगरले जानकारी दिए ।
उक्त सांस्कृतिक कार्यक्रममा प्रगतिशील तथा जनवादी गीतसंगीत र नृत्य प्रस्तुत हुनेछ । पोखरा सभागृहमा हुने कार्यक्रमका लागि एक सय, दुई सय, पाँच सय, एक हजार, दुई हजार र पाँच हजार रुपैयाँका टिकट राखिएका छन् । सांस्कृतिक कार्यक्रम सकिएलगत्तै प्रमुख चार राजनीतिक दलबीच भएको १६ बुँदे सहमतिको विरोधमा विरोधसभाको आयोजना गरिएको समेत श्रीसमगरले जानकारी दिनुभएको छ ।
