जबरजस्त गरे, युद्धमा होमिने चेतावनी
हुम तमु
पोखरा, ४ साउन – पोखरा सभागृहमा नेपालको संविधान २०७२ को प्रारम्भिक मस्यौदाका बारेमा सुझाव संकलनका लागि कार्यक्रम भईरहदा पोखरा सभागृहको गेटमा सभासद डिलबहादुर नेपालीले प्रारम्भिक मस्यौदा जलाएका छन ।
संघीय समाजवादी पार्टी नेपालका तर्फबाट सभासद बन्नुभएका नेपालीले बहुमतको नाउँमा चार दलले १६ बुँदे सहमतिको आधारमा जबरजस्त प्रस्तुत गरेको मस्यौदा विगतदेखि विभेदमा पारिएका उत्पिडित जनताको विभिन्न आन्दोलनबाट प्राप्त अधिकार कटौती गरेकाले च्यात्न र जलाउन योग्य भएको भन्दै प्रारम्भिक मस्यौदा जलाएको हो ।
जनताको आन्दोलनले मुलुक संघीय गणतन्त्रात्मक नेपाल घोषणा भईसक्दा पनि एकात्मक राज्यलाई नितरन्तरता दिन एक जाति, भाषा, धर्म, सँस्कृति, वर्गको पक्षमा आफुको विरोध हुदा हुदै बल मिच्याई गर्दै मस्यौदा प्रस्तुत भएकाले विगतदेखि विभेदमा पारिएका आम नेपालीले मस्यौदाको बहिष्कार गर्नुपर्ने बताए ।
देशभर प्रतिगामी नाटक मञ्चन भईरहेको छ, आक्रोशका साथ सभासद नेपालीले भने विगतदेखिको एकल जातिय राज्य स्थापित गर्दै उत्पिडितहरुले प्राप्त गरेको अधिकार पनि कटौती गरी संविधान बने मस्यौदा मात्रै होइन मुलुक नै जल्न सक्ने चेतावनी दिए । जनताको हकाधिकार कटौती गर्ने अधिकार कस्ले दियो, चारदलिय ठेकेदारहरुलाई भनी प्रश्न गर्दै सभासद नेपालीले सत्ता स्वार्थका लागि प्रतिगामीहरुसँग १६ बुँदे सहमति गर्ने क्रान्तिकारी पार्टी एमाओवादीका नेता प्रचण्डले सहिदको रगतको अवहेलना गरेको आरोप लगाउदै भोलि एक दिन प्रचण्डले पछुताउने बताए ।
संघीय समाजवादी फोरम कास्कीका अध्यक्ष दीपक वाइबा तामाङले विगतका परिवर्तनहरु विरुद्ध मस्यौदा आएकाले संघीय लोकतान्त्रिक मोर्चा आन्दोलित भएको बताए । आफुहरुको आन्दोलनलाई कमजोर ठाने मुलुकमा अर्को द्धन्द्धको विजारोपण हुने चेतावनी दिए । उनले भने श्रीपेच धारी एउटा राजालाई फालेर टोपीधारी चारवटा राजाहरु बनाउन जनताले बलिदान गरेको होइन । अन्तरिम संविधान भन्दा पछि फर्केको हेलिकोप्टर चढेर आएको प्रतिगामी मस्यौदा जलाएर खरानी टिका लगाई अधिकारका लागि आफुहरु युद्धमा होमिन तयार रहेको अध्यक्ष तामाङको भनाई थियो ।
हिजो जनतासँग भोट र नोट माग्न घर घर डुलेका नेता सभासदहरु आज शान्ति सुरक्षाको घेराभित्र मस्यौदा सुझाव संकलनको नाटक गर्नुमा कुनै कुनै षडयन्त्र भई रहेको अध्यक्ष तामाङको भनाई थियो । आज द्धन्द्ध सिर्जना गर्ने मस्यौदा जलाएका छौं, भोलि चारदलिय सामन्तहरु आफै ढल्ने बताए।
संघीय युवा संघका केन्द्रीय सदस्य उदिम गुरुङले प्रतिगामी संविधान जबरजस्ती ल्याउन खोजे युवाहरुले बन्दुक र कलम समाउने कस्केली अग्रगामी विद्यार्थीहरुले तरबार समाउने चेतावनी दिए ।
अग्रगामी विद्यार्थी युनियनका केन्द्रीय सचिवालय सदस्य सुजन तामाङले प्रतिगामी मस्यौदाको कर्मकाण्डी नाटक बन्द गर्न आग्रह गर्दै नेपाली जनताको बलिदानी आन्दोलनहरुको अपमान गर्नेहरुलाई आफुहरुले कारवाही गर्ने चेतावनी दिए ।
करिब २ घण्टा धर्ना र नाराबाजी गरेका आन्दोलनरत संघीय समाजवादी फोरम कास्कीका कार्यकर्ताहरुले सिमांकन र नामाकंन विनाको संविधान मान्दैनौ, पहिचान सहितको तमुवान प्रदेश घोषणा गर, प्रतिगामी मस्यौदा जलाउँछौ जनताको संविधान बनाउछौं, १६ बुँदे सहमति धोका हो, संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल जिन्दावाद लगायतका नारा लगाएका थिए । सभागृहचोक अगाडिको विरोध सभा पश्चात नारा लगाउदै सभागृहचोकहुदै लखनचोकसम्म विरोध जुलुस प्रर्दशन गरेको थियो ।
यसैगरी लमजुङको बेशीशहरमा मस्यौदा सुझाव संकलन कार्यक्रमको विरोधमा प्रर्दशन गरेका संघीय समाजवादी फोरम लमजुङका अध्यक्ष पृथ्वीमान घले लगायत छ जनालाई प्रहरीले कुटपिट र पक्राउ गरेको छ भने तनहुँमा प्रतिगामी मस्यौदाको कुनै औचित्य नभएको भन्दै जनमुक्ति लगायत संघीय समाजवादी फोरमले विरोध प्रर्दशन गरेको छ । विरोध सभामा संघीय समाजवादी फोरमका युवा नेता सिद्धान्त थापाले सम्बोधन गरेका थिए।
यसरी नै संघीय समाजवादी फोरम गोर्खाले गोर्खामा संविधानको मस्यौदा विरुद्ध नाराबाजी र विरोध सभा गरेको छ । विरोभसभामा संघीय समाजवादी फोरम गोर्खाका अध्यक्ष सुकदेव तामाङले बोल्नु भएको पार्टीका तमुवान इञ्चार्ज गणेशमान गुरुङले जानकारी दिए ।
