भैरब आङ्ला
सुनसरी, श्रावण ४ -प्रस्ताबित संबिधानको मस्यौदाका बिषयमा सुझाब संकलन गर्ने क्रममा सुनसरीको धरानमा झडप भएको छ ।
सुझाब संकलनका लागि पुगेका सभाषद सहितको टोलीलाई अबरोध गरेपछि धरान स्थित लाङ्घालि सामूदायिक बन उपभोत्ता समितिको सभाहलमा झडप भएको हो । संघिय समाजवादी फोरम नेपाल , संघिय लिम्वूवान पार्टी नेपाल र राप्रपपा नेपालका कार्यकर्ताहरुले मस्यौदाको बिरोध गर्दै सुझाब संकलनमा अबरोध गरेका हुन् ।
अवरोध भएपछि प्रहरीले नारावाजी गरी सुझाव संकलनमा अवरोध गर्नेलाई वाहिर निकालेको हो लाठीचार्ज भने नगरेको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरिक्षक मिलन भट्टराइले जानकारी दिनु भयो । सुझाब संकलनका लागि सुनसरी क्षेत्र नम्बर १ का सभाषद कृष्णकुमार राई , क्षेत्र नम्बर २ का सभाषद रेबतीरमण भण्डारी लगायतका सभाषादहरु धरान आएका छन् ।
संघिय समाजवादी फोरम नेपाल पार्टीका जिल्ला अध्यक्ष पारशा काङ्माङ् राईले आफूहरुले शान्तिपूर्ण तरिकाले आफ्नो कुरा राख्न खोज्दा प्रहरीले हस्तक्षेप गरेकोमा प्रहरीको यो कार्यप्रति पार्टीको घोर आपत्ती रहेको बताए ।
पहिचानवादी शक्तिको मागलाई सम्वोधन नगरी र मस्यौदामा नेपालको अन्तरिम संविधान धारा १३८ को उपधारा १ र १ (क) को वुदा हटाईएकोले आदिवासी , जनजाति, मधेसी, मुस्लिम र दलितको अधिकारलाई उल्लेख नगरेको भन्दै आफूहरुले सुझाव दिएको र यो धारा तुरुन्त राख्न माग गरेको संघिय समाजबादी फोरम नेपालका सुनसरी अध्यक्ष पारस काम्माङ राईले बताए ।
अहिले पनि कडा सुरक्षाका विच सुझाव संकलन कार्य भईरहेको छ ।
तस्बीर : कमल तिगेला
