रूद्र श्रीसमगर
पोखरा, ३ साउन – नेपालको शिक्षा तथा स्वास्थ्य क्षेत्रमा क्रियाशील सामाजिक संस्था मिलन फाउण्डेशन नेपालको समीक्षा बैठक सम्पन्न भएको छ ।

फाउण्डेशनले हालसम्म गरेका गतिविधि एवं कार्यक्रमहरूको समीक्षा गर्दै पर्वतको कुश्मामा बैठक बसेको हो । बैठकमा विभिन्न सङ्घसंस्था एवं व्यक्तिसँगको सहकार्यमा फाउण्डेशनद्वारा भूकम्पपीडितका लागि भएका राहत वितरण, पाल्पाको फोक्सिङकोटमा रहेको महेन्द्र निम्न माध्यमिक विद्यालयलाई युरोगार्ड हस्तान्तरण, वृक्षारोपणलगायतका कार्यक्रमबारे समीक्षा गर्दै कार्यक्रम अत्यन्त प्रभावकारी र सफल भएको निष्कर्ष निकालिएको कार्यवाहक अध्यक्ष क्या. हितकाजी गुरुङले जानकारी दिए ।
यसैगरी, फाउण्डेशनको बैठकले सहयोग गर्ने सम्पूर्ण दाताहरूलाई धन्यवाद ज्ञापन समेत गरेको छ ।
साथै, बैठकमा पर्वतको बाजुङ गाविसको भौगोलिक तथा सांस्कृतिक वृत्तचित्र निर्माण समितिका अध्यक्ष कृष्णकला केसी, आर्थिक सह–संयोजक दिपिका थापा ‘मिलन’, निर्माण नियन्त्रक गौरी गुरुङ, मिलन फाउण्डेशन नेपालको तर्फबाट वृत्तचित्र संयोजक भूपेन्द्र कुँवर, प्रचार–प्रसार संयोजक रूद्रबहादुर श्रीस, राष्ट्रिय तेक्वान्दो सङ्घ पर्वतको तेस्रो अधिवेशनबाट अध्यक्षमा निर्वाचित भएकोमा फाउण्डेशनका सह–सचिव कमल थापामगर र टप माउण्टेन तेक्वान्दो सङ्घबाट टप माउण्टेन तेक्वान्दो डोजाङ पोखराको स्थापनाका अवसरमा सम्मानित भएकोमा तेक्वान्दो प्रशिक्षक संस्थाका सचिव मदन गुरुङलाई फाउण्डेशनका तर्फबाट कार्यवाहक अध्यक्ष क्या. गुरुङले खादा लगाइ सम्मान समेत गरेका थिए ।
फाउण्डेशनले संस्थाका संस्थापक एवं संरक्षक हङकङनिवासी दुर्गा गुरुङ ‘मिलन’को पहलमा विभिन्न स्रोत जुटाएर शिक्षा तथा स्वास्थ्य क्षेत्रमा आफ्नो सक्रियता देखाउँदै आएको छ ।
शिक्षा तथा स्वास्थ्य क्षेत्रबाहेक अन्य सामाजिक परोपकारी कार्यमा समेत फाउण्डेशनले विभिन्न गतिविधि गर्दै आएको छ ।
