भैरव थापा मगर
रूपन्देही , असार २९ – राष्ट्रिय जनमुक्ति पार्टी जिल्ला कार्य समिति रुपन्देहीको आकस्मिक बैठक मिति २०७२/०३/२७ गतेका दिन पार्टी कार्यालय भैरहवामा सम्पन्न भएको छ ।
“पार्टीले जातीय जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्व, बहुजातीय लोकतान्त्रिक संघात्मक सरकार ,
आदिवासी, जनजाती, दलित, पछौटे, अल्पसंख्यक र महिलालाई विशेष आरक्षणको अधिकार पार्टीको मूल मन्त्र”लाई सधै आत्मसात गर्दै आई रहेको छ ।
पार्टी जिल्ला अध्यक्ष झम बहादुर गुरुङ्गको अध्यक्षता तथा जिल्ला सचिव भैरव थापा मगरको सञ्चालनमा सम्पन्न भएको उक्त बैठकले मुलुकको पछिल्लो समयमा बिकसित हुंदै आएको राजनैतिक घटनाक्रमको बारेमा व्यापक रुपमा छलफल तथा समिक्षा गरेको थियो ।
पार्टीको मातहतमा रहेका क्षेत्रीय अध्यक्ष, नगर अध्यक्ष तथा भातृ संगठनको जिल्ला अध्यक्ष समेतले प्रतिनिधित्व गरेको उक्त बैठकमा सहभागी भएका सबैले आ–आफ्नो बिचार राख्दै प्रमुख चार दलले जनताको हितविपरित संविधानको प्रारम्भिक मस्यौदा ल्याएको र यसै मस्यौदाको आधारमा संविधान निर्माण भएमा देशमा ठूलो दूर्घटना हुन सक्ने भन्दै मस्यौदाको आलोचना गरेका थिए ।
यस मस्यौदाले शदीयौं देखि सामाजिक, राजनीतिक तथा आर्थिक रुपमा उत्पीडन र बहिष्करणमा परेका आदिवासी, जनजाती, दलित, मधेशी, मुस्लिम, अल्पसंख्यक तथा सीमान्तकृत जाती, वर्ग, समुदाय, लिङ्ग, क्षेत्र तथा महिलालाई अधिकारबाट पूर्णरुपमा वंचित गराउने र देशलाई मुठ्ठि भरका शासकले आपफ्नो मनोपोली ढंगले चलाउने बद्नीयतपूर्ण रुपमा आएको छ ।
यो मस्यौदाले नेपालको अन्तरिम संविधान २०६३ को धारा– ८२, धारा– १३८ लाई लत्याएको छ भने दश बर्षे जनयुद्ध तथा ०६२/०६३ को आन्दोलनमा शहादत प्राप्त गरेका शहिद्हरु प्रति पूर्णरुपमा अपमान गरेको छ । विगत्को समयमा आफ्नो समान हकअधिकारको लागि आदिवासी, दलित, मधेशी, मुस्लिम तथा महिलाले गरेको आन्दोलनमा सरकार पक्ष र आन्दोलनकारी बीच भएका सम्झौतालाई समेत लत्याईएको हुंदा यो मस्यौदा पूर्णरुपमा पश्चगामी तथा जनहित विपरित भएको बैठकले ठहर गरेको छ ।
