रूद्र श्रीसमगर
पोखरा, २६ असार-नेकपा–माओवादी नेतृत्वको ३३ दलीय राष्ट्रिय मोर्चाले नयाँ संविधानको प्रस्तावित मस्यौदा जलाएको छ । मोर्चाको आयोजनामा शनिबार सबै जिल्लामा संविधानको प्रस्तावित मस्यौदा जलाइएको माओवादी पोलिटब्यूरो सदस्य दिनेश शर्माले बताए ।
काठमाडौं उपत्यकाको तीन वटै जिल्लामा छुट्टा–छुट्टै कार्यक्रम आयोजना गरी मोर्चाले मस्यौदा जलाएको हो । काठमाडौंको भृकुटीमण्डप, ललितपुरको लगनखेल र भक्तपुरको सूर्य विनायकमा कार्यक्रम गरी मस्यौदा च्यात्ने तथा जलाउने काम गरेको छ ।
भोटाहिटी चोकमा आयोजित कोणसभामा माओवादी उपत्यका इञ्चार्ज दिनेश शर्माले जर्बजस्ती लाद्न खोजिएको जनविरोधी संविधान स्वीकार्य नहुने बताए । नेता शर्माले संक्षिप्त मन्तव्यपछि मस्यौदा च्यातेका थिए भने कार्यकर्ताहरूले मस्यौदा जलाएका थिए ।
यसैबीच, ३३ दलीय राष्ट्रिय मोर्चा कास्कीले पनि शनिबार पोखरामा नयाँ संविधानको प्रस्तावित मस्यौदा च्यातेको छ । जबर्जस्ती प्रतिगामी र पश्चगामी संविधान जारी गर्न लागिएको भन्दै मोर्चाले देशव्यापी कार्यक्रम अन्तर्गत पोखरामा मोर्चासम्बद्ध नेताहरूले मस्यौदा च्यातेका हुन् । पोखराको लखनचोकमा आयोजित कार्यक्रममा नेकपा–माओवादीका पोलिटब्यूरो सदस्य एवं तमुवान राज्य इञ्चार्ज श्रीनाथ अधिकारी ‘श्याम’, केन्द्रीय सदस्य लोक बहादुर थापामगर, नेकपा (एकीकृत)का केन्द्रीय सदस्य रामजी थापा र तमुवान प्रदेश सचिव भीम बहादुर श्रीसमगरले संयुक्त रूपमा मस्यौदा च्यातको होे ।
विरोधसभालाई सम्बोधन गर्दै नेकपा–माओवादीका केन्द्रीय सदस्य एवं तमुवान राज्य सेक्रेटरी हरि बहादुर चुमान ‘अजित’ले जबर्जस्ती संविधान जारी गर्न खोजिए जनताले विद्रोह गर्ने चेतावनी दिए । त्यस्तै, नेकपा (एकीकृत)का केन्द्रीय सदस्य रामजी थापाले प्रतिगामी र पश्चगामी संविधान जारी गर्नुको कुनै तुक नभएको भन्दै जनविरोधी संविधान जारी गरिए त्यसको कडा प्रतिकार गरिने चेतावनी दिए । सो अवसरमा नेकपा–माओवादी कास्कीका सह–सेक्रेटरी सूर्य बहादुर खड्का ‘आलोक’ले पनि बोलेका थिए ।
