गोविन्द घर्ती
देवदह असार २५ । आगामी २०७३ चैत्र मसान्त भित्र देवदह नगरपालिकालाई वालमैत्री नगरपालिका घोषणा गर्ने निर्णय गर्दै २ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । देवदह नगरपालिकाले रुपन्देहीको देवदहमा संचालित वालमैत्री स्थानीय शासन सम्वन्धी २ दिने अभिमुखीकरण कार्यक्रममा उक्त निर्णय गरेको हो । कार्यक्रममा बोल्दै देवदह नगरपालिकाका कार्यकारी अधिकृत गणेश घिमिरेले २०७३ चैत्र मसान्त सम्म देवदहलाई वालमैत्री नगरपालिका घोषणा गर्न सवै लाग्नु पर्ने बताउदै सहमतिमा हस्ताक्षर गर्नु भएको छ ।
२१ महिनाको अवधीमा १३ वटा वालवालिका कार्ययोजना सम्पन्न गरी वालमैत्री नगरपालिका घोषणा गर्ने देवदह नगरपालिकाले जनाएको छ । सो अवसरमा सहभागिहरुले नगरपालिकाले विनियोजन गर्ने वालवालिकाको रकम वालअधिकारका क्षेत्रमा खर्च गर्नुपर्नेमा जोड दिएका थिए । सो अवसरमा देवदह नगरपालिकाका कार्यकारी अधिकृत गणेश घिमिरेलेको अध्यक्षतामा ११ सदस्यीय वालमैत्री नगर समिति गठन गरेको छ । सो समितिमा जिल्ला शिक्षा कार्यालयका प्रतिनिधि, वालवालिका, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वा प्रतिनिधि, स्वयमसेवीका प्रतिनिधि रहने व्यवस्था रहेको देवदह नगरपालिकाका शाखा अधिकृत गंगा प्रसाद पन्थीले जानकारी दिए । तर विद्यालयको हकमा सहभागि विद्यालयका व्यवस्थापन समितिका अध्यक्षलाई नराखी राजनैतिककरण गर्न खोजेको सहभागिहरुले गुनासो गरेका छन् ।
