माया घले मगर / इजरायल
चर्चित लोक गायिका देवी घर्ती मगरको उपस्थितिमा इजरायलमा भूकम्प पिडित सहयोग सांगितिक साँझ हुँने भएको छ ।
आमविनाशकारी भुकम्पबाट पिडित भएकाहरुको सहयोग र भूकम्प गएलगत्तै उद्दारकोलागि नेपाल गएका इजरायली सैनिकहरुको टोलीको सम्मानकोलागि इजरायलमा भूकम्प पिडित सहयोग सांगितिक साँझ २०१५ तथा आइडिएफ सम्मान कार्यक्रमको आयोजना गरिने भएको छ ।
इजरायलमा रहेका नेपालीहरुद्वारा स्थापना गरिएको सहयोगी मनहरुको समाज (Society Of Helping Hearts) इजरायलको आयोजना तथा इजरायलमा रहेका विभिन्न सामाजिक संघ संस्थाहरुको सह आयोजनामा आगामी १७ जुलाई शुक्रवार र १८ जुलाई शनिवार गरी दुई दिनको समय निर्धारण गरिएको उक्त कार्यक्रममा नेपालका ख्यातिप्राप्त कलाकारहरुको प्रस्तूती रहने छ ।
चर्चित लोक गायिका देवी घर्ती मगर, लोक गायक रामजी खाड र नेपाल टेलिभिजनबाट प्रसारण हुने नेपाली ताराको सिजन ३ का विजेता प्रताप लामाको बेजोड प्रस्तुतिको साथमा स्थानिय नेपाली कलाकारहरुको पनि प्रस्तुती रहने उक्त कार्यक्रम तेलअभिवको हाहगना मार्गस्थित वेतवारवर हलमा आयोजना गर्न लागिएको हो ।
११ सस्था रहेको सोसाइटी अफ हल्पिङ हर्ट्स इजरायलको आयोजना तथा नमस्ते नेपाल हातेमालो सामाजिक संस्था इजरायल, अन्तराष्ट्रिय कलाकार मञ्च, इजरायल, मुक्तक प्रतिष्ठान इजरायल, अन्तराष्ट्रिय नेपाली कलाकार समाज, इजरायल, हिन्दु जागरण अभियान इजरायल, चितवन समाज इजरायल, नारीकालागि नारी रु १ करोड १ रुपैया अक्षयकोष र प्रवासी नेपाली नागरिक समाज इजरायल गरी ८ वटा संघ संस्थाहरुको सहआयोजना रहने उत्त कार्यक्रमको पहिलो दिन १७ जुलाई शुक्रवारको कार्यक्रम नितान्त मनोरञ्जनात्म हुने बताइएको छ । त्यस्तै १८ जुलाई शनिवार आम विनाशकारी भूकम्पको प्रकोपमा परेका नेपालीहरुको उद्दारको लागि खटिएको इजरायली सैनिकको उद्दारटोलीलाई सम्मान गरिने बताइएको छ ।
शुक्रवारको दिन सव्वात शुरु हुने र विदाको समयमा इजरायली सेनाको उद्दारटोली कार्यक्रममा सहभागिता जनाउन असक्षम भएका कारण शनिवारको दिनको कार्यक्रम आयोजना गर्नुपरेको आयोजकले जनाएको छ । आयोजकले मुलुकलाई परेको विपदको घडीमा नेपालीलाई निकै ठुलो मन बनाएर सहयोगको हात आगाडि बढाउने र आफ्नोपन देखाउने इजरायली सैनिकको उद्दार टोलीलाई धन्यवाद ज्ञापन तथा सम्मान गर्नु हामी सम्पूर्ण राष्ट्रप्रेमी नेपालीहरुको अहम् कर्तब्य भएकाले यस कार्यक्रमलाई इजरायलमा कार्यरत सम्पूर्ण नेपालीहरुको संयुक्त कार्यक्रम बनाई सफल्ता प्रदान गर्ने अभिप्रायले आयोजकले सम्पूर्ण संघसंस्था, समाजसेवी, मिडियाकर्मीहरु, व्यवसायीहरु लगायत सम्पूर्ण नेपालीहरुलाई सहकार्यका लागि हातेमालो गर्न हार्दिक अपिल गरेको छ ।
भूकम्प गएलगत्तै नेपालीहरुको उद्दरकोलागि फिल्ड हस्पिटलको साथमा नेपाल पुगेको इजरायली सैनिकहरुको उद्दारटोलिले गरेको प्रशंसनिय मानविय सहयोग अनलाइन समाचार र सामाजिक सञ्जालहरुमा देख्दा उनीहरुप्रति हृदयदेखि प्रस्फुटन भएका भावनाहरु अभिव्यक्त गर्दै धन्यवाद ज्ञापन गर्न चाहाने इजरायलवासी नेपालीहरुलाई प्रत्यक्ष रुपमा उनीहरुलाई भेटी राष्ट्र र राष्ट्रियता प्रकट गर्दै सम्मान गर्ने उपयुक्त अवसरको रुपमा यो कार्यक्रम रहेको बताइएको छ ।
त्यस्तै आयोजकले राष्ट्रिय स्वार्थका खातिर आयोजना गरिएको उक्त कार्यक्रमलाई वाधा पुग्ने गरी उक्त दिन अन्य कार्यक्रमहरुको आयोजना नगरी सहयोग पु-याइदिनु हुन पनि सम्पूर्ण संघ संस्था तथा सरोकारवालाहरुलाई हार्दिक अनुरोध गरेको छ ।