समाजवाद देखि किन त्रसित ?

Read Time:12 Minute, 12 Second

बलदीप प्रभाश्वर चामलिङ

संविधानको मस्यौदामा प्रस्तावनामै समाजवाद शब्द घुस्यो भनेर केही जमात त्रसित भएको पाइयो । समाजवाद भन्ने वितिकै कम्युनिष्ट भनेर बुझिदिने हाम्रो दृष्टिमा कतै खोट त नभएको होइन ? समाजवादको अवधारणा र यसको ऐतिहासिक पृष्ठभूमि नकेलाउने हो भने समाजवाद भूत सवार भएर हामीलाई सताइ नै रहनेछन् ।  

एक विद्वान सि.एम. जोडले व्याङग्य गर्दै भनेका थिए, “ सबैले लगाएर आकार विग्रिएको एक टोपीजस्तै भएको छ समाजवाद ।” हो, समाजवाद यति लोकप्रिय शब्द हो कि यसलाई सबैले आ–आफ्नै ढंगले प्रयोग र व्याख्या गर्दा यसले आफ्नो मौलिकता गुमाएको जस्तो अहिले भएको छ । समाजवाद कुनै एक मापदण्डमा अर्थ लाग्न सकेको छैन । समाजवाद कम्युनिष्ट विचारधारा हो भन्ने तहसम्म आम मानिसलाई बुझ्न लगाइएको छ । तर समाजवादको आफ्नै मौलिकता छ जस्लाई बिना कुनै पूर्वाग्रह ग्रहण गरिनुपर्ने हुन्छ ।  

वास्तवमा कम्युनिष्टहरुको गुरु कार्ल माक्र्सले कम्युनिष्ट घोषणा पत्र लेख्नुभन्दा अगाडि नै समाजवाद शब्दको प्रयोग राजनीतिक साहित्यामा पहिलो चोटी पुअर म्यान्ज गार्जन (Poor Man’s Guardian) भन्ने पत्रिकामा सन् १८३३ मा भएको थियो । बेलायती समाजवादको पिता भनेर चिनिने रबर्ट अवेनलाई समाजवाद शब्द प्रयोग गरेको भनेर श्रेय दिने गरिन्छ, राजनीतिक इतिहासमा । यस्तो अवधारणा १९ औ शताब्दीदेखि मात्र आएको होइन । सम्पतिको व्यक्तिगत नभएर सामुहिक स्वामित्व हुनुपर्छ भन्ने सोच प्राचीन युगदेखि नै विकास भएर आएको हो । प्राचीन रोमका एक दास स्पार्टाकसले गरेको विद्रोह समाजवादको अवधारणाको भ्रुण थियो भनेर भन्ने गरिन्छ । यस्तो अवधारणा प्लेटोको पुस्तक रिप्लबिक मा पनि पाउन सकिन्छ । छैटो शताब्दीमा पर्सियामा एक समाज सुधारक मज्दाकले सामुहिक स्वामित्व र सामाजिक लोककल्याणकारी कार्यक्रमहरु चलाएका थिए । यसलाई इतिहासमा मज्दाकिज्म (Mazdakism) भनिन्छ । यसैगरी वेलायतमा सन् १३८१ मा किसान विद्रोह भएको थियो । यो विद्रोह सामान्तवादमा सुधार ल्याउनु थियो । यसमा जोताहाहरुले केही अधिकार पनि पाएका थिए । यो विद्रोह दासप्रथा र पशुपालक बंधुवाप्रथा अन्त्यको लागि पहिलो प्रयास थियो ।

नयाँ समानतामुलुक समाजको बारेमा सर थोमस मोर ले सन्  १५१६ मा युटोपिया पुस्तक लेखे जहाँ उनले एक टापुमा आर्थिक, राजनैतिक र कानूनीरुपले पूर्ण समानताको आधारमा रहेको समाजको कल्पना गरे । यसले पनि केहि विद्वानहरुलाई समाजवादको अवधारण बनाउन सहयोग गर्यो । युरोपको पुनरजागरण र सुधारवादी आन्दोलन ताका पनि सम्पतिमा आधारित असमानताको विरुद्ध विरोध भएका थिए । बेलायतमा सन् १६४९ मा जेरार्ड विन्स्ट्यान्ट्लीले एक क्रान्तिकारी समुह खडा गरेका थिए । जो समुहलाई डिगर्स भनिन्थ्यो । उनिहरुले आफुलाई सच्चा समानकर्ता भन्थे । उनिहरुले प्रयोगमा नआएका जमिनहरुमाथि खनजोत गरेर त्यसलाई सामुहिक स्वामित्वमा राख्ने अभ्यास पनि गरेका थिए । यि यस्ता प्रयासहरु वास्तवमा समाजवाद अवधारणा भित्र नै पर्दछ । 

यता युरोपमा औद्योगिक क्रान्ति (सन् १७५०–१८५०) संगै उदायको पुँजीवादको विकृतिको विरुद्धमा १९ औ शताब्दीमा आधुनिक समाजवादको अवधारणा आएको हो । औद्योगिक क्रान्तिको असरबाट आएको आर्थिक असमानताको विरुद्धमा समाजवादको उदय भएको हो । औद्योगिक क्रान्तिसंगै विकसित भएको पुँजीवादको विकृतिको परिणाम हो, समाजवाद ।

वास्तवमा कम्युनिष्टहरुले भन्दा पनि गैरकम्युनिष्ट चिन्तकहरुबाट आएको अवधारण हो, समाजवाद । पछि माक्र्सवादीहरुले आफूले व्याख्या गरेको समाजवादलाई वैज्ञानिक समाजवाद भने र आफूइतरकालाई काल्पनिक समाजवाद भनिदिए । हो, यहीबाट समाजवादको व्याख्यामा आ–आफ्नो पन आउन थाल्यो । 

जनतालाई शासन–सत्ताको मालिक बनाउने भन्ने सोचबाट नभै जनतालाई कसरी श्रोत–साधनको मालिक बनाउन सकिन्छ भन्ने अभिप्रायका साथ समाजवादको अवधारणा आएको हो । जनताको राजनीतिक अधिकार लोकतन्त्रले स्थापित गर्छ भने जनताको आर्थिक अधिकार समाजवादले । राजनीतिक अभ्यास क्रमले अन्तः समाजवादको सारलाई नै धमिल्याइ दियो ।

आ–आफ्नै ढंगले बुझिएको समाजवाद:

कम्युनिष्ट(माक्र्सवादी) हरुले समाजवाद कायम गर्न राष्ट्रियकरणलाई वकालत गर्दछ । भएका सम्पूर्ण श्रोतसाधन राष्ट्रियकरण गरेर राज्यको नियन्त्रणमा त्यसको उत्पादन र वितरण गर्दामात्र समाजवाद कायम हुन्छ भन्ने मान्यता राख्दछ । उनीहरु यो समाजवादको चरणबाट अझै अर्को साम्यवादको चरण औल्याउछ जहाँ निरपेक्ष समानताको कल्पना गरिएको छ ।  

समाजवाद राज्य नियन्त्रित व्यवस्था हो भन्ने कुरा नै  भ्रम हो । यसो हुनमा पनि केही ऐतिहासिक कारण छ । सोभियत संघमा कम्युनिष्ट सरकार आएपछि समाजवादलाई आफ्नै ढंगमा प्रयोग गर्न खोजे । त्यहि नक्कल अन्य कम्युनिष्ट मुलुकहरुमा पनि गरियो । उनीहरुले समाजवादलाई लागु गर्नको लागि राज्यको हस्तक्षेपलाई प्रमुखता दिए । राज्यमा भएको सम्पूर्ण श्रोतसाधन र पुँजीलाई राज्य नियन्त्रणमा राखेर र राज्यबाटै गरिने वितरणले मात्र समाजवाद कायम गर्न सकिन्छ भन्ने विचार लादे । भएका सारा धनसम्पति र श्रोतसाधनलाई राज्यले राष्ट्रियकरण गरे । स्टालिनको कार्यकालसम्म पुग्दा नोकरशाही नियन्त्रणमा समाजवादी कार्यक्रमहरु गए ।

समाजवादको नाममा त्यस्तो राजनीतिक अभ्यास कम्युनिष्टहरुले गरेको हुदा अन्य गैरकम्युनिष्ट सरकार भएको राज्यहरुमा समाजवाद भन्ने वितिकै राज्यनियन्त्रित व्यवस्था हो भन्ने छाप पर्न गयो । समाजवाद कम्युनिष्टहरुको पेवा हो जस्तो भ्रम पर्न गयो । पुँजीवादी मुलुकहरुले नियोजित रुपमा समाजवादमा कम्युनिष्टको लेप लगाई दियो किनकि उनीहरुले पुँजीवादलाई प्रश्रय दिन चहन्छन् । राजनीतिक कारणले पश्चिमा मुलुकहरुले कम्युनिष्ट शासित मुलुकलाई समाजवादी मुलुक भनिदियो भने कम्युनिष्ट मुलुकहरुले पनि पश्चिमा मुलुकहरुलाई पुँजीवादी मुलुक भनिदिए ।

 यो पूँजीवादी र साम्यवादी शब्द एकले अर्कोलाई बदनीयत राजनीतिक रंग भरेर प्रयोग गरियो । माक्र्सवादी कम्युनिष्टहरुले शुरुदेखि नै समाजवादलाई जोड दिएर राज्य नियन्त्रित व्यवस्थाको वकालत गरेको हुदा समाजवाद भनेको एक दलीय तानाशाही शासन व्यवस्था हो भन्ने राजनीतिक आरोप लागाए, एक थरीले । त्यसैगरी कम्युनिष्ट खेमाले पनि आफुईतरकालाई व्यक्ति नाफा र शोषणको पक्षपाती देखाएर पूँजीवादी भनिएको मुलुकको हुर्मत लिन चाहे ।

समाजवाद कुनै राजनीतिक पूर्वाग्रहको आधारमा कसैको पेवा होईन । राज्यको श्रोत–साधनमा सबैको समान पहुँच नै समाजवाद हो । सबैलाई श्रोतसाधनको मालिक बनाउने आर्थिक नीति नै समाजवाद हो । समाजवाद आर्थिक सम्पन्नतासंग जोडिएको कुरा हो । समाजवाद भनेको श्रोत–साधनको सरकारीकरण होइन्, सामाजिकीकरण हो । माक्र्सवादी कम्युनिष्ट अभ्यासले श्रोत–साधनलाई सरकारीकराण गर्न खोजे । त्यो असफल भयो । सरकारीकरण नै समाजवाद हो भन्नु अर्को भूल हो । अबको युगमा समाजवादमा पुग्ने विकल्प भनेको राज्यको श्रोत–साधनको सामाजिकीकरण हो । अर्थतन्त्रको सहकारी व्यवस्थापन नै समाजवाद हो ।

फ्रान्सको संविधानले फ्रान्सलाई समाजवादी मुलुक भनेको छ । तर हामीले बुझ्दै आएको युरोपियन मुलुकहरु पुँजीवादी मुलुक होइन र ? फ्रान्सले आफूलाई सामाजवादी मुलुक भन्दैमा के त्यहाँ सरकार नियन्त्रित माक्र्सवादी अवधारणाको राज्यव्यवस्था छ र ? पुँजीवादी मुलुक भनिएको देश बेलायत र अमेरिकामा कुकुरले पनि सरकारबाट भत्ता पाउछ तर समाजवादी भनिएको कम्युनिष्ट मुलुकमा मान्छेले रोटी नपाएको दृष्तान्त बाहिर आएको छ ।

त्यसकारण नेपालको संविधानमा समाजवाद शब्द लेखिन लाग्यो भनेर डेमोक्रेटहरु तर्सनुपर्ने अवस्था छैन र समाजवाद उन्मूख राज्य भनेर संविधानमा लेखिदा कम्युनिष्टहरु हर्ष मान्नुपर्ने ठाँउ पनि छैन किनभने अबको समाजवाद भनेको माक्र्सवादी राज्य–व्यवस्था हुदै होइन । अतिवादी धारहरुबाट निरपेक्ष छ समाजवाद । व्यक्तिको मात्र होइन, सिंगो समाजको आर्थिक सम्पन्नता र समानता हो, समाजवाद । जीविका निर्माणमा आपसी हातेमालो हो, समाजवाद । एकल स्वार्थ स्वयमको लागि घतक हुनसक्छ । अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले भनेका थिए, “यदि  कुनै समाजले अधिकांश गरिवहरुलाई सहयोग गर्न सक्दैन भने त्यो समाजले थोरै धनीहरुलाई पनि सुरक्षा प्रदान गर्न सक्दैन ।”

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %