रूद्र श्रीसमगर
पोखरा, ३ असार-गत वैशाख १२ गते गएको विनाशकारी महाभूकम्पको केन्द्रविन्दु रहेको गोरखाको बारपाक–३, मान्द्रे नजिकैको गाउँ सौरपानी–८, रञ्चोकका भूकम्पपीडितहरूलाई राहत सामग्री वितरण गरिएको छ ।
मिलन फाउण्डेशन नेपाल, नेपाली जनप्रगतिशील मञ्च हङकङ, एकीकृत नेकपा (माओवादी) हङकङ शाखाका अध्यक्ष रविन लिङ्देन, एचके हेयर सैलुनद्वारा संकलित राहत सामग्री रञ्चोकका भूकम्पपीडितहरूलाई वितरण गरिएको हो ।
राहत वितरण कार्यक्रममा बोल्दै वडा नागरिक मञ्च रञ्चोकका अध्यक्ष बुधराम गुरुङ, दुर्गा माविका अध्यक्ष भीम बहादुर गुरुङ, प्रधानाध्यापक सन्त बहादुर गुरुङले आफूहरूको पीडामा मलम लगाउन सहयोग गरेकोमा मिलन फाउण्डेशन नेपाललाई धन्यवाद दिएका थिए । सो अवसरमा मिलन फाउण्डेशन नेपालकी बोर्ड सदस्य गौरी गुरुङ, स्याङ्जा परिवार दक्षिण कोरियाका संस्थापक अध्यक्ष छ्याम बहादुर थापामगर, युवा समाजसेवी लालबहादुर गुरुङ, पत्रकारद्वय कृष्ण गुरुङ र गीता रानामगर, नेपाल तमु विद्यार्थी छोंज धिंका केन्द्रीय भाषा विभाग प्रमुख विवेक गुरुङ, सूर्य चन्द, खेम गुरुङलगायतले बोलेका थिए ।
राहत वितरण टोलीले करिब तीन घण्टाको पैदल दूरी हिँडेरै भूकम्पपीडितहरूलाई प्रत्यक्ष भेटी राहत वितरण गरेको थियो । अधिकांश आदिवासी जनजाति र दलितको बसोबास रहेको सो गाउँमा ८ सय ७६ जनालाई लत्ताकपडा, ब्लाङ्केट लगायतका राहत सामग्री वितरण गरिएको थियो । गत वैशाख १२ गतेको भूकम्पको पहिलो धक्कामै सो गाउँका १४ जनाले ज्यान गुमाएका थिए । सो ठाउँमा हालसम्म सरकारी राहत नपुगेको भूकम्पपीडितहरूको गुनासो छ ।
भूकम्पले क्षति पु¥याएकोमध्ये रञ्चोकमा सञ्चालित दुर्गा प्रस्तावित माविमा ४ सय ३१ जना विद्यार्थी अध्ययनरत छन् । सो विद्यालयमा निमावि र प्राविको दरबन्दी र राहत कोटा गरी पाँच जना, निजी स्रोतका ८ जना गरी कुल १३ शिक्षक शिक्षिका अध्यापनरत छन् । भूकम्पभन्दा पहिले सो गाउँका प्रत्येक घरले मासिक तीन सय रुपैयाँ उठाएर शिक्षक शिक्षिका पालिएको भएपनि भूकम्प गएपछि पैसा उठाउन नसकेकाले विद्यालय चलाउन निकै गाह्रो भएको प्रधानाध्यापक सन्त बहादुर गुरुङको भनाइ छ । शिक्षक शिक्षिकालाई तलब खुवाउन नसक्दा विद्यालय सञ्चालन गर्ने कि नगर्ने भन्ने अवस्था आएको भन्दै प्रधानाध्यापक गुरुङले विद्यालयलाई अहिलेसम्म कसैले सहयोग नगरेको गुनासो गरे । यसैबीच, सो विद्यालयलाई स्याङ्जा परिवार दक्षिण कोरियाले राहत वितरणका क्रममा २६ बण्डल जस्तापाता दिएको छ ।
मिलन फाउण्डेशन नेपालका संरक्षक हाल हङकङमा रहनुभएका समाजसेवी दुर्गा घोताने गुरुङ ‘मिलन’को विशेष सक्रियतामा संकलित राहत सामग्रीहरू फाउण्डेशनले यसअघि पनि भूकम्प प्रभावित पर्वतको बाजुङ, लमजुङको इलमपोखरी लगायतका गाउँमा राहत सामग्री वितरण गरिसकेको छ भने शिक्षा तथा स्वास्थ्य क्षेत्रमा आफ्नो सक्रियता कायम राखेको छ ।
