नेपाल देखि इजरायलसम्म कृषि काममा भोगिएको सत्यतथ्य

Read Time:16 Minute, 17 Second

दिपक राना

घरायसी परिस्थिति अनि व्यक्तिगत परिस्थितिका कारण स्वदेशमै केही गर्नु पर्छ र कुनै पनि काममा सबल र सफल भएर देखाउनु पर्छ भन्ने भावना दिन प्रति दिन कमजोर बन्दै गैरहेको थियो । सानो व्यवसाय सानो लगानी अनि न्यून प्रतिफलले देश र समाजको बदलिदो परिबेशमा जीवन अनि घर परिवार धान्न गाह्रो हुने जस्तो भान हुन थाले पछि हरेक आम नेपालीले रोज्ने अन्तिम बिकल्प बैदेशिक रोजगारलाई मैले पनि अन्तंत आत्मसात गर्न बाध्य भए । देशमा बसेर सधै यो हिसाबले चल्नु भन्दा बरु २/४ बर्ष बिदेशमा गइ दुख गर्छु र २/४ पैसा कमाउछु भन्ने सोचाई क्रमश मनमा हाबी हुदै गयो । एक दिन संगै पढेका सहपाठी मित्रले इजरायल खुलेको छ जाने हो भन्ने प्रस्ताब राखे तर त्यसका लागि १ महिना जति काठमान्डौमा बसेर तालिम लिनु पर्ने बताए ।
उनको कुराले चिन्तित मनलाई अलिकति भए पनि ढाडस मिल्यो त्यस पछि मन एकाएक हौसियो र उनलाई कहिले जाने भनेर सोधे उनले भोलि नै जाउ भने । भोली पल्ट बुटवलबाट दुवै जना काठमान्डौ तिर लाग्यौ । बाटोमा कुरा गर्दै जादा मैले कहाँ कुन मेनपावर भनि सोद्धा उनले स्वयम्भु नजिक सानो भर्याङ्ग स्थित हिमाल मेनपावर भनेर प्रतियुत्तर दिए मैले आशाबादी हुदै ठिकै छ जहाँ बाट भए पनि जाने पाए भैगो भने । ६/७ घन्टाको यात्रा पछि काठमान्डौ ओर्लेर कलंकीबाट सिधै सानो भर्याङ्ग तर्फ लाग्यौ मेनपावर पुगे पछि दुवै जनाले नाम दर्ता गरायौ मेनपावरको रिसेप्सन बहिनीले भोली देखि तालिममा सहभागी हुनु भनेर जानकारी गराइन । भोली पल्ट देखि हामीले तालिम लिन शुरु गरयौ तालिममा धेरै महिलाहरु थिए पुरुषहरु मुश्किलले ५/६ जना जति थियौ होला । भाषा सम्बन्धि तालिम इजरायलमा तिन बर्ष कृषि क्षेत्रमा काम गरेर फर्किनु भएकी सावित्रा म्याडमले दिएकी थिइन । १ दिन २ दिन गर्दा- गर्दा तालिम पनि सकिन लागेको थियो त्यही महिनाको अन्तिममा इजरायल बाट अन्तर्वार्ता लिन एक जना महिला आएकी थिइन ।
मैले अन्तर्वार्ता दिए पास पनि भए मेनपावरकी नाचुम म्याडमले तिम्रो भिषा छिट्टै आउछ पैसा रेडी गरेर राख्नु भनिन त्यसपछि मैले तुरुन्तै घरमा बाबालाई फोन गरेर पैसाको बन्दोबस्त गर्नु भनेर खबर गरे । तर दुर्भाग्यबश संगै तालिम लिएका साथीहरुको भिषा आउदै धमाधम इजरायल प्रस्थान गर्न लागे तर आफ्नो पालो भने आएन हुदा- हुदा इजरायल बन्द भयो । यो घटनाले एकाएक मेरा सपना र आशाहरुमा तुषारापात भए ।
त्यस पछि निराश हुदै घर फर्के आखिर जसले पनि जस्तो परिस्थिति र समस्या आए पनि त्यसको सामना र त्यस संग सम्झौता गरेर जीवन चलाउनु र चल्नु पर्छ फर्के पछि फेरी त्यही आफ्नो पुरानो व्यवसायमा निरन्तर लागे । झन्डै १५ महिना जति भाको थियो होला एक दिन मेनपावरकी माया गुरुङ बहिनीले फोन गरेर -दाई इजरायलबाट कृषि कामदारको माग आएको छ तपाई जाने हो भनेर सोधे मैले ठिकै छ म बुझ्न काठमान्डौ आउछु भनेर जवाफ दिए फेरी एक्लै काठमान्डौ लागे । मेनपावरका तत्कालिन प्रबन्ध -निर्देशक र बर्तमान क्ष्रम राज्यमन्त्री टेक बहादुर गुरुङले १ महिना भित्र काम हुन्छ पैसा जम्मा गर्नु भने । फेरी १ हफ्ता जति झन्डै १५ जनाले भक्तपुरको दुवाकोटमा मौखिक र व्यवहारिक कृषि तालिम लियौ । तालिम सके पछि बुटवल फर्के । २०१० जुलाई १० तारिक म लगायत ६ जनाको इजरायल जाने समय निधो भयो बाटोमा के होला के पर्ला भनेर २ दिन अघि नै काठमान्डौ जाने मनिस्थिति बनाए । जुलाई ८ तारिक बिहानै शाइत निकाली जाने भनेर घरबाट सल्लाह दिनु भयो ।
यो नै मेरो पहिलो विदेश यात्रा थियो घर-परिवार जीवन-साथी अनि सानो छोरी छाडेर जानु पर्दा मन भारी भैरहेको थियो बिहान ७ बजे बाबाले शाइतको टिका लगाउन र सगुन खान आफ्नो कोठामा बोलाउनु भयो बाबाको हातको टिका मेरो निधारमा के परेको थियो म अनायाश हक्कनिदै रोए तर छिनमै सभालिए र गह भरि आशु राख्दै झोला बोकी घर बाट बिदावारी भए ।
बालक छदा धेरै रोए हुला तर आज ति सब घटनाहरु मेरो मानसपटलमा यतिखेर जीवित छैनन् तर आज भन्दा ५ बर्ष अघिको घटनाको दृश्य सम्झिदा नरमाइलो लगेर आउछ । आखिर रोदन आशु अनि हासो भन्ने कुरा परिस्थिति अनुसार प्रस्फुटन हुने चिज न रहेछ ।
काठमान्डौ पुगे पछि सिधै मेनपावर गए त्यहा संगै जाने ५ जना साथीहरु पहिले नै आइसकेका रहेछन । मन मलिन अनुहार अध्यारो थियो घर परिवार अनि आफ्नो देश छोड्नुको पीडाले झन् त्यस माथि मेनपावरका प्रबन्ध- निर्देशक टेक बहादुर गुरुङले -तिमी काम गर्न सक्दैनौ भने तिम्रो पैसा अहिले भर्खर फिर्ता दिन्छु भनेर हप्काई-दप्काई गर्दा झन् चोट माथि चोटको महसुस भएको थियो प्रत्युत्तरमा घर-परिवार छाड्दा नरमाइलो मात्र लागेको हो काम गर्न त सक्छु भने पछि उनि चुप लागे । टिकटमा नेपाल -इन्डिया हुदै जोर्डन त्यस पछि इजरायल अवतरण गर्ने तालिका थियो जुलाई १० तारिख बिहान ११ बजे ६ जना साथीहरुले हात हल्लाउदै जन्मभूमिलाई बिदाई गरयौ ।दिल्लीमा १२ घन्टाको ट्रान्जिट थियो तर त्यस बखत विश्वकप फुटबलको फाइनल परेको हुदा विमानस्थल भित्र पानी र कफीको भरमा फुटबल हेरेर रात बितायौ अर्को दिन बिहानै ५ बजे जोर्डनको लागि उडान थियो ।
संयोगबश नेपाल छुट्टि सकेर इजरायल फर्किदै गर्नु भएको झापाको गिता दिदीसंग परिचय भएको थियो उहाले धेर-थोर यस्तो-उस्तो हुन्छ काम इजरायलमा भनेर सबैलाई जानकारी गराउनु भयो । दिल्लीबाट उडे पछि ६ घन्टामै अम्मन एयरपोर्ट ओर्लियौ जहाजबाट ओर्लिदा बरफमा खेल्दा-खेल्दै आगोमा खसे झैँ अनुभव भाको थियो हामीलाई । इजरायल उड्ने समय साझ ७ बजे मात्र भएको हुदा हामीलाई एयरपोर्टबाट सिधै होटल तर्फ लगियो होटलको बार्दलीबाट गिता दिदीले फुस्रा उदेक लाग्दो मरुभूमि तिर औला तेर्साउदै भाइहरुले उ तेस्तै ठाउमा काम गर्नु पर्छ भन्दा हामी सबैले एक छिन् त वाल्ल परेर गिता दिदीको अनुहार तिर हेरेको थियौ ।
होटलमा खानपिन आराम गर्दा- गर्दै साझ ७ बज्न आधा घण्टा थियो सबै तयार भएर विमानस्थल तर्फ लाग्यौ । करिब डेढ घन्टामा जहाज इजरायल विमानस्थल अवतरण गरेको संकेत गरयो जहाजबाट ओर्लिदा झिलिमिली बत्ति र अध्यारो बाहेक केही देखिन्न थियो हामी मध्ये ४ जना साथीहरु समान चेक-जाच गरि बाहिरी सकेका थिए तर नुवाकोटका एक जना साथी र मलाई अध्यागमन कर्मचारीले विमानस्थलबाट बाहिरिनबाट रोक्यो हामी छक्क पर्दै अवाक भयौ एक छिन् त बिरानो मुलुकमा । एक छिन पछि अध्यागमन कर्मचारीले सानो बंकर जस्तो गाडीमा हामी दुवै जनालाई राखेर लग्यो कता र किन लाग्दै छ हामी बेखबर थियौ बाहिर भएका साथिहरुलाई फोन सम्पर्क गरौ भने पनि त्यो सुबिधा पनि मिलेन ।

अबैध यात्रुहरु राख्ने घरहरु थियो सायद १ जग पानी र २ वटा स्याण्डविच दिएर हामीलाई एउटा कोठामा थुनियो कोठामा २ वटा वेड थियो दुवै जना भुन-भुनाउदै बेडमा पल्टियौ तर निद्रा लागेन । बल्ल- बल्ल विदेश आएको तैपनि यस्तो दुर्दशा लौ अब फसियो भनेर दुइजना गन्थन गरयौ । घरबाट हिडेको ४ दिन काठमान्डौबाट उडेको २ दिन भैसकेको थियो बिहान बन्द कोठाको झ्यालबाट इजरायल चिहाउदै थिए बिहान ९ बजे ढोका ठक-ठक गर्दै अध्यागमनको कर्मचारीले बाहिर बाट ढोका खोल्दै “डु यू वान्ट तु वर्क इन इजरायल” भनेर सोध्यो हामीले यस अफकोर्स भनेर जवाफ दियौ । उनीहरुले हाम्रो पासपोर्ट हातमा थमाउदै तिमीहरुको भिषामा किसानको नाम नम्बर थिएन त्यही भएर तिमीहरुलाई समस्या भएको भनेर खुलस्त पार्दै हामीलाई फेरी त्यही हिजोको गाडीमा बसालेर विमानस्थलको गेटसम्म पुराई दिए बाहिर गेटमा एजेन्सी र साथीका आफन्तहरु कुरेर बसेका रहेछन गर्मि उधुम थियो बाटो नै बल्ला जस्तो गरि ।
एजेन्सीले हामीलाई सिधै काममा लैजानको लागि पहिले नै ट्याक्सी ठिक पारेर राखेको रहेछन । भेटघाट र थोरै बातचित भए पछि एजेन्सीले ट्याक्सी चढ्न भन्यो एक छिनमा ट्याक्सी रफ्तारले कुद्यो केही समय पछि साथीहरुलाई बीच-बिचमा ओराल्दै लग्यो अन्तमा ट्याक्सीमा म मात्र बाकी भए -लौ अब यसले एक्लै कता पो लैजान्छ भनेर मन भित्र भित्र भात-भति पोल्न थाल्यो ट्याक्सी एकतमासले कुदिरहेको थियो एक छिनमा हरियाली घरै घर भाको ठाउँहरु छिचोल्दै मरुभूमि तिर सोझियो २ दिन अघि अम्मन एयरपोर्टमा भनेको झल्यास्स सम्झे मन झन् आक्रान्त भयो । अघि हरियाली ठाउँ देखि रहेको आखाले फुस्रा नांगा माटाका अग्ला थुप्राहरु देखिन थाले बाटोको छेउ-छेउमा ऊट र भेडा चरिरहेको देख्दा पहिले गाउका एक जना साथीको घटना याद आयो उनि साउदी अरबमा पेट्रोल पम्पमा काम गर्न जादा ऊट चराउने काममा परेका थिए सोच्दा-सोच्दा दिमाग फुट्ला जस्तो भैसकेको थियो ।
यदी मलाई पनि त्यस्तो पर्यो भने त बरु घर फर्किन्छु भनेर डराईरहेको मनलाई दह्रो बनाए । विमानस्थल बाट हिडेको ४ घन्टामा ट्याक्सी अर्भा भन्ने ठाउमा गएर रोकियो एक छिन पछि एउटा अजंगको भुसतिघ्रे मान्छे श्लोम वेलकम तु इजरायल भन्दै आयो ट्याक्सीको सब समान उसको भ्यानमा हाले उसले एउटा सानो खण्डहर जस्तो सानो घरमा लगेर छाडिदियो भोली बिहान ५ बजे कामको लागि तयार बस्नु भनेर उ त्यहा बाट गयो । कामको पहिलो दिनमै टन्टलापुर घाममा दिनभरी खर्बुजाको बिरुवा रोपे । घरको यादले शुरु-शुरुमा गार्हो भयो १/२ साता खान पटक्कै रुचेन झन्डै ४/५ दिन त घरबाट लागेको वाईवाई चाउचाउको भरमा लखतरान हुने गरि काम गरे ।
दिन बिताउन सकस भैरहेको थियो फेरी त्यो ठाउँ वरिपरि कोहि नेपाली नहुदा काम गर्न र बस्न पनि न्यास्रो लाग्दै जान थाल्यो I एजेन्सीलाई फोन गरेर मलाई यो ठाउमा गार्हो भयो मलाई नेपाली भाको ठाउमा लगिदे भने पछि १ महिना पछि संगै आएको काठमान्डौका बिनोद भाईकोमा आइपुगे त्यहा अलि बिशेक लाग्यो ३ महिना पछि नुवाकोटका फुर्बा भन्ने साथी पनि आइपुगे धेरै साथी भाई हुदा आफ्नै गाउ-ठाउमा भएको अनुभूति हुदै जान थाल्यो तर परिस्थितिबस ११ महिना पछि ति साथीहरुबाट अलग हुनु परयो । झन्डै १ बर्ष यहाको भाषा र काम नजान्दा निकै गाली र अपमान सहनु परेको थियो । तर हुदा-हुदा आज ५ बर्षको अन्तरालमा ६ ठाउमा भौतारिदै इजरायल बसाइको ५ बर्षे समय-सीमाको संघारमा आइपुगेको छु । ५ बर्ष अघि जन्मभूमि छाड्दा २/४ पैसा कमाउने मनको उद्धेश्य केही पुरा गरे हुला यो ५ बर्ष मेरो लागि पर्याप्त त हैन मेरो लागि तर जीवन भर जति नै कमाई गरे पनि मानिसको मनको भकारी कहिले पनि नभरिदो रहेछ भन्ने यतिखेर आभाष हुन् थालेको छ इजरायल आइसके पछि केही पाए हुला केही गुमाए पनि हुला तर पनि ५ बर्षको अबधिमा इजरायलले मलाई दुख बुझ्ने र चिन्ने अवसर दियो त्यसको लागि दुखका बाबजुद पनि इजरायललाई हार्दिक सलाम छ मेरो तर्फबाट धेरै सुखको अभिलाषामा मान्छेले दुखै-दुखको भारी आफ्नो नियतिमा बोकेर आएको हुन्छ सायद तर मेरो सवालमा मेरो बाकी जीवन र समय धेरै सुख र थोरै दुख गर्ने बाटो तर्फ उन्मुख हुने प्रयत्नमा लाग्नेछु !

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %