हङकङबासीद्वारा चन्द्रज्योति उच्च माविलाई २ लाख २५ हजार सहयोग
रूद्र श्रीसमगर
तनहुँ, १ असार-तनहुँको घिरिङ सुन्धारा गाविस १३ औं पूर्ण खोप सुनिश्चित गाविस घोषणा भएको छ ।
मंगलबार चन्द्रज्योति उच्च मावि, घिरिङ सुन्धारा–४ मा आयोजित घोषणा सभामा तनहुँ क्षेत्र नं. ३ का नेकपा (एमाले)का सभासद् टुकराज सिग्देलले पूर्ण खोप सुनिश्चित गाविस घोषणा गरे ।
सो अवसरमा बोल्दै सभासद् सिग्देलले स्वस्थ समाज निर्माणका लागि पूर्ण खोप सुनिश्चित घोषणाले महत्वपूर्ण सहयोग पु¥याउने बताए । शिक्षित र स्वस्थ समाज निर्माणका लागि सबैले एकजुट भएर सहकार्य गर्नुपर्ने बताउँदै सभासद् सिग्देलले सबैले सक्दो सहयोग गर्नुपर्ने बताए ।
कार्यक्रममा नेपाली कांग्रेस तनहुँका कार्यवाहक सभापति तारा राज राना, नेकपा (एमाले) तनहुँका अध्यक्ष केदार सिग्देल, नेकपा (माले)का केन्द्रीय सदस्य शंकर पोखरेल, नेकपा–माओवादी तनहुँका प्रतिनिधि चुन नारायण श्रेष्ठ, जिल्ला जनस्वास्थ्य कार्यालय तनहुँका प्रमुख डा. विवेककुमार लाल, युनाइटेड क्लब पोखराका अध्यक्ष हिमालय बख्रेल, सचिव लालकाजी गुरुङ, कोषाध्यक्ष राजु श्रेष्ठ, चन्द्रज्योति उच्च मावि घिरिङका प्राचार्य रन बहादुर राना, घिरिङ स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष सूर्यकुमार श्रेष्ठ, महिला स्वास्थ्य स्वयंसेविका चन्द्रकला थापालगायतले बोलेका थिए ।
गाविस सचिव एवं पूर्ण खोप सुनिश्चित घोषणा समन्वय समितिका अध्यक्ष जगन्नाथ आचार्यको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन धनञ्जय गैह्रेले गरेका थिए भने घिरिङ स्वास्थ्य चौकी प्रमुख कृष्णप्रसाद रिमालले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
यसैबीच, हाल हङकङमा बसोबास गर्ने पर्वतको भुकताङ्ले गाविस लौसीबोट बासीहरूले संकलन गरी पठाएको सहयोग रकम भूकम्प तथा हावाहुरीका कारण जीर्ण बनेको विद्यालय भवन पुनर्निर्माणका लागि हस्तान्तरण गरिएको छ ।
लोकमान गुरुङको पहलमा हङकङमा संकलित रकम २ लाख २५ हजार रुपैयाँ चन्द्रज्योति उच्च माविका प्राचार्य रन बहादुर राना तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेर बहादुर थापालाई संयुक्त रूपमा युनाइटेड क्लब पोखराका सचिव लालकाजी गुरुङले हस्तान्तरण गरेको हो । सहयोग रकमसँगै गुरुङले खेलकुद सामग्री समेत हस्तान्तरण गरेका थिए ।
त्यस्तै, घिरिङ सुन्धारा–४, हटियास्थित निर्माणाधिन शिव मन्दिरका लागि समेत सहयोग रकम हस्तान्तरण गरिएको छ । युनाइटेड क्लबका सचिव लालकाजी गुरुङले मन्दिर निर्माण उपभोक्ता समितिकी कोषाध्यक्ष एवं भीमसेन आमा समूहकी अध्यक्ष केशकुमारी श्रेष्ठलाई हङकङबासीद्वारा संकलित २५ हजार रुपैयाँ नगद सहयोगस्वरुप हस्तान्तरण गरेको हो ।
