देब पचभैया
हेटौडा , जेठ २३
मकवानपुरमा विभिन्न सञ्चार माध्यममा सक्रीय रहेका आदीवासी जनजाति पत्रकारहरुलाई शनिबार एकदिने पुनर्ताजगी एवम् अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । नेपाल आदीवासी जनजाति पत्रकार महासंघ (फोनिज) मकवानपुरको व्यवस्थापन एवम् नेपाल आदीवासी जनजाति महासंघ (नेफिन) जिल्ला समन्वय समिति मकवानपुरको आयोजनामा कार्यक्रम भएको हो ।
कार्यक्रममा आदीवासी जनजाति पत्रकारहरुका लागि समाचार लेखनमा आदीवासी जनजातिका मुद्दा, सञ्चारमाध्यम र आदीवासी पत्रकारको सम्बन्ध, जनजाति पत्रकारका लागि अवसर एवम् चुनौतीका विषयमा पुनर्ताजगी एवम् अभिमुखीकरण गरिएको थियो । कार्यक्रममा नेपाल आदीवासी जनजाति पत्रकार महासंघ (फोनिज) केन्द्रीय पार्षद् एवम् पत्रकारीता विषयका प्राध्यापक शुरेस श्रेष्ठले मकवानपुरमा पत्रकारिता र आदीवासी जनजाति पत्रकार, जनजाति पत्रकारको अवस्था, मकवानपुरे पत्रकारीताको ईतिहास र आदीवासी जनजाति पत्रकार लगायतका विषयमा अवधारणापत्र प्रस्तुत गरेका थिए । प्राध्यापक श्रेष्ठका अनुसार मकवानपुर जिल्ला आदीवासी जनजाति सममुदाय संख्यात्मक रुपमा बाहुल्य भएपनि पत्रकारिता क्षेत्रमा भने संख्यात्मक रुपमा न्यून उपस्थिति रहेको उल्लेख गरे ।
मकवानपुरे पत्रकारीता ईतिहासदेखि हालसम्म जनजाति पत्रकारहरुको सहभागिता रहेपनि अझै संख्यात्मक एवम् गुणात्मक रुपमा उल्लेख्य नभएको उल्लेख छ । जनजातिहरुको लगानीमा विभिन्न सञ्चार माध्यमहरु स्थापना भएपनि दिगो नभएको समेत अवधारणा पत्रमा प्रस्तुत गरिएको छ । यसैगरी सञ्चालनमा रहेका विभिन्न सञ्चार माध्यममा समाचार प्रमुख एवम् सम्पादकीय जिम्मेवारीमा आदीवासी जनजाति पत्रकारहरुको न्युन उपस्थिति भएको उल्लेख छ । कार्यक्रममा प्रमुख अतिथि एवम् फोनिज केन्द्रीय अध्यक्ष डण्ड गुरुङले पत्रकारीता गर्दाको सुरुवाती समय सम्झंदै पहिले र अहिलेको पत्रकारीतामा ठूलो फरक भएको बताए । प्रविधिले गर्दा अहिलेको पत्रकारीतामा धेरै सहज भएको उल्लेख गरे ।
समय अनुसार आफ्नो क्षमता र सीप विकास गर्दै गएमा जनजाति पत्रकारका लागि अवसरहरु प्रशस्त रहेको प्रष्ट पारे । पत्रकारीतामा मेहेनत र संघर्ष गरेरमात्र उचाईमा पुग्ने उल्लेख गर्नुहुदै महत्वकांक्षी र हतार नहुन समेत आग्रह गरेका थिए । सञ्चार माध्यमहरु पूर्ण समावेशीका लागि लविङ भईरहेको उल्लेख गरेका थिए । कार्यक्रममा सहभागीहरुबाट सञ्चार माध्यमा काम गर्दाको अनुभव समेत आदान–प्रदान गरिएको थियो । आदीवासी जनजाति महासंघ मकवानपुरका अध्यक्ष तिर्थ बहदुर थापामगरको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा फोनिज मकवानपुरका अध्यक्ष पुर्णिमा गोलेले कार्यक्रमको विषयबस्तु माथि प्रकाश पारेका थिए ।
कार्यक्रममा जनजाति पत्रकारको व्यसायिक विकासका लागि जनजाति सम्बद्ध संघ संस्थाहरुले आवश्यक सहयोग गर्नुपर्ने बताइएको थियो । कार्यक्रममा तमु बौद्ध सेवा समितिका महासचिव टेक बहादुर गुरुङ, नेपाल आदीवासी जनजाति जिल्ला समन्वय समितिका उपाध्यक्ष भवसागर श्रेष्ठ, अधिवक्ता अमृत लामा, नेपाल जनजाति महासंघ मकवानपुरका सहसचिव जंग बहादुर गुरुङ, निवर्तमान सचिव अशोक सारुमगर, फोनिज मध्यमाञ्चल संयोजक कुमार नेगी लगायतले आदीवासी जनजाति पत्रकारका अवस्था र सञ्चार अभ्यासका विषयमा मन्तव्य व्यक्त गरेका थिए ।
