मनोज घर्तीमगर/बारपाक (गोरखा)
अहिले जति चर्चित छ, त्योभन्दा कमै भए पनि नाम कमाएकै ठाउँ हो बारपाक । २० वर्षको कलिलो उमेरमै विश्वको सर्वोच्च सैनिक पदक भिक्टोरिया क्रस पाएर गजे घलेले बारपाकको सुवास अझ फैलाए ।
अर्का कर्मवीर वीरमान घलेले गाउँमै हाइड्रोवापर बनाएर बारपाकको ख्याती बढाए । सदरमुकाम गोरखा बजारबाट २२ कोष उत्तरपश्चिमको यो गाउँ चर्चित हुनुको अहिलेको कारण विनाशकारी भैंचालो हो । पहिलेको कारण भने सिर्जनशील गाउँले हुन् । समुन्द्र तहदेखि २ हजार २२ सय मीटरको उचाईमा रहेको बारपाकको आफ्नै सानसौकत थियो, १२ वैशाख २०७२ अघिसम्म । गाउँ भए पनि सहरी सुविधा । पर्यटकीय गाउँ भएकाले नेपालको अरु गाउँका दाँजोमा धेरै सुखी र खुसी थिए बारपाकी । चमक आउने ढुंगाको छानो । ढुंगाकै आ“गन । एक घरबाट अर्को घरमा जाने ढुंगाकै सिँढी । बाटोमा पनि ढुङ्गै छापिनी । गुचुमुच्च घरको बस्ती हेर्न थुप्रै पर्यटक पुग्थे र होमस्टेमा बस्थे ।
२०७२ वैशाख १२ को भैंचालोले यही गाउँलाई केन्द्रबिन्दु बनायो । र, ८ हजार बढी नेपालीको ज्यान लियो । गोरखा जिल्लामा ४ सय बढीको ज्यान लिएको भैंचालाले बारपाकमा मात्रै ७० जना प्राण उडायो । ५ जना अझै बेपत्ता छन् । यहाँ १४ सय ७२ घर थिए । बारपाक घले र गुरुङको बस्ती हो । ३५ घर दलितका । तीमध्ये अहिले ५० मात्रै सद्दे होलान्, अरु सबै धुलिसात भए । बारपाक अहिले छत बिछत छ । दुःख अनेकन छन्, पीडा लेखी साध्य छैन । भैंचालोपछि कष्टकर छ, जीवन । तैपनि बिलौना मात्रै गर्न छोडिसकेको छ बारपाकले । ‘सुरुमा पाल र दुईछाकको जोहो गर्नपट्टि लागियो । अब भत्केको घर सम्हाल्न सुरु भएको छ’ शिक्षक समेत रहेका स्थानीय खेमबहादुर घले आशावादी देखिए, ‘कति दिन रुने ? एक जनालाई होइन सबैलाई दुःख परेको छ । त्यसैले कष्टहरु पचाएर हामी बारपाक पुनःनिर्माणमा जुटेका छौं ।’
पर्यटकीय गाउ“ भैंचालोको केन्द्रविन्दु भएकाले अन्य क्षेत्रको तुलनामा यहा“ उद्धारको काम छिटै भयो । बौद्ध हिमालको काखमा रहेको बारपाकको सुन्दरताले देशीविदेशी खुब लोभिन्थे । पूरै देश लोडसेडिङको समस्याले आक्रान्त बनेको बेला विसं २०४८ देखि १ सय ५० किलोवाट क्षमताको लघुजलविद्युत आयोजना आफैले बनाएका थिए बारपाकीले । हाइड्रो पावर भत्कियो । स्कुल ढले । ढले गुम्बा पनि । नभत्केको केही छैन । तै पनि बारपाकीको मन भत्किएको छैन । सबै मिलेर बारपाक बनाउने संकल्पमा फेरी जुटेका छन् । ‘जसले जे भने पनि आफूले नगरि केही हुन्न । कोको आउँछन् केके आश्वासन बाँड्छन् कनिका छर्छन् गर्ने कसैले होइन’ आत्मविश्वासले भरिएका पूर्व प्रधानपञ्च एवं भूपू भारतीय सेना भवानीशमशेर घले आफ्नै शैलीमा बोले, ‘दिएको चिजले कहिल्यै पुग्दैन । बारपाकलाई फेरी नमूना गाउ“ बनाउने हाम्ले हो ।’
विश्वका विभिन्न ठाउँमा ठूला दैविप्रकोपपछि ती ठाउँ सकभर रित्तिदैनन् । विकासका नयाँ संरचना थपिन्छन् । यस्तै सुन्दै आएका बारपाकीले पनि भैंचालोको बिनासलाई चुनौती र अवसरका रुपमा लिएका छन् । बारपाकी पूर्खाको थातथलो छोड्ने अनि गाउँ रित्याउने मनस्थितिमा छैनन् । पहिलेको बारपाक एउटै ब्यक्तिको मेहनत र लगानीले बनेको पनि होइन । नमूना बारपाक गाउ“ बनाउन सरकारी, गैरसरकारी निकाय बिभिन्न राष्ट्र्रिय, अन्तराष्ट्र्रिय संस्था, व्यक्ति, स्थानीय सहयोग र मेहनतले बनेको थियो । ‘सरकारी निकायदेखी गैरसरकारी संस्था, ब्यक्तिलाई सहयोग गर्न अनुरोध गर्नेछौैं’ राहत संकलन÷वितरण समितिका संयोजक जीत घलेले बारपाक ब्युँताउने योजना सुनाए,‘बिभिन्न देशहरुमा रोजगार गर्न गएका बारपाकीलाई पनि सहयोग अभियानमा ल्याउनेछौं । उनीहरुको सिप ज्ञान, दिन सक्ने आर्थि स्रोत सबै सदुपयोग गरे बारपाक बन्न धेरै समय लाग्दैन ।’
बारपाकमा सानातिना भैंचालो अहिले पनि गइरहन्छन् । तैपनि उनीहरु डर पचाइसकेका छन् । त्यहाँका घरका आँगन, बारी र डहरहरु लथालिंग, घरका पर्खाल, छानाहरु जोखिमपूर्ण छन् । छुस्स छोइँदा र सानो हावाहुरीले पनि खसाल्ला जस्ता छाना र घरका अरु भागहरुकै बीचबाट मानिसहरु ओहोरदोहोर गर्छन् । बारपाकमा केही ढलान घरहरु पनि छन् । ती चर्किएका थिए । तर, गल्र्याम्मै ढलेका थिएनन् । ढुंगा र माटोको गारो भएका र ढुंगाको छाना भएको अरु १४ सय घरलाई भने भूकम्पले सोत्तर पारेको दृश्य ३ सातासम्म पनि उस्तै । सरकारी राहत लिएर नेपाली सेनाको टोली भूकम्प गएको भोलिपल्ट बारपाक पुगेको थियो । छेलोखेलो नभए पनि राहत पुगेकै छ ।
बारपाकको पनि मान्द्रे भन्ने गाउँमा भूकम्पले धेरै क्षति पुर्याएको छ । पाँचधारा भन्ने टोलमा पनि अकल्पनीय विनास देखिन्थ्यो । तैपनी आशाका किरण देखिन्थे बारपाकी मनमा । पालमै ओत लागेर दुई छाक टार्न सुरु गरेपछि भत्केको घरका ढुंगाहरु समेल्दै मिलाएर राख्न व्यस्त छन् । बारीको जौ र गहुँ टिप्न अनि गाईबस्तु हेर्न पनि थालिसके । युवा आफै काम गर्छन् । त्योभन्दा बढी महिला खटिएका छन् । बुढाबुढी हुने घरमा नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी र स्वंयसेवक युवाले सघाउँछन् । ‘सक्नेले आफै काम गरिराछन् । नसक्नेलाई हामी गाउ“लेको आवश्यकता अनुसारका काममा सघाउ“छौं,’ नेपाली सेनाका कर्णेल सुनिलसिंह राठौरको बारपाक बसाइको अभुवले भन्छ, ‘बारपाकीहरु गाउँलाई सबै मिलि बस्न योग्य बनाउने ध्याउन्नमा छन् । उनीहरुमा बिस्तारै त्रास पनि कम हुँदैछ ।’
बारपाक ७ र ८ को जमिन चिरा परेको छ । जहाँ सबैभन्दा बाक्ला घर थिए । ढलेका घर कसका हुन् चिन्नै मुस्किल छ । बारपाकी भैंचालोले ढलाएको घरको ढुंगा पन्छाउने, पुरिएका चिज निकाल्ने काममा व्यस्त छन् । भैंचालोले जे गरे पनि अब बारपाक ब्यूँताउने आत्मविश्वास भने देखिन्छ उनीहरुमा । घरमा एक दुई जना भए पनि भग्नाबशेष हटाउन कस्सिएका उनीहरुको हिम्मतले त्यही देखाउँछ । ‘आफ्नो ठाउँ सबैलाई प्राणजत्तिकै प्यारो लाग्छ, हामी अन्य ठाउँमा जाने मनस्थितीमा छैनौं’ गीतामाया गुरुङले मनलाई बेस्मारी कसिन्, ‘तर, यति ठूलो बस्ती बनाउन मेहनत भने धेरै लाग्छ । सरकारले अलिकति सहयोग गरिदिए हाम्रो मनोबल बढ्थ्यो ।’
बारपाक इपिसेन्टर भएर गएको भैंचालोले ८ हजार बढीको ज्यान गयो । कयौं घाइते छन् । लाखौं घरबार विहीन भए । खर्बौ क्षेति भएको छ । र पनि बाँचेकाले थप बाँच्नका लागि संघर्ष गनैपर्छ भन्ने बाटो बारपाकीले देखाएका छन् । उनीहरु परिवारका सदस्य मात्रै मिलेर त्यही ठाउँमा फेरि घर बनाउन शुरु गर्दैछन् । ‘सबै आ–आफनो घर बनाउन व्यस्त छन्, आफै नबनाए कसले गरिदिन्छ’ घरको भग्नाबशेष हटाउँदै गरेकी रेशमी घले मसिनो स्वरमा बोलिन् ,‘घरमा लोग्नेमान्छे कोही छैन । त्यही भएर समानपात हटाउन आफै कस्सिएको हुँ ।’ सकुशसल रहेका कसैलाई पनि फुर्सद छैन, यतिबेला । सबैले आफ्नै ढंगले बासस्थानको जोहो गर्ने प्रयत्न गर्दैछन् । पाल भित्रको बसाई धेरै दिनसम्म सुरक्षित गिररहेको छैन, उनीहरुलाई ।
दुःखको पहाडले थिचेको छ बारपाकीलाई । तर, पनि पुरानै लयमा फर्कने कोसिस गर्दै छ बारपाक । ‘सबै त्रास भुलेर बारपाकीहरु पुरानै अवस्थामा फर्किन प्रयास गरिरहेका छन्, हामीले पनि सरकारीस्तरबाट सघाएका छौंँ गाविस सचिव चेतप्रसाद अमगाईले आश्वस्त पारे,‘राहत पनि घरघरमा पुगिसकेको छ । अस्थायी बास बन्ने क्रम जारी छ । विभिन्न राष्ट्रिय अन्तराष्ट्र्रिय सहयोग आएकै छन् ।’
तस्वीर:मनोज घर्तीमगर