मनोज घर्तीमगर
प्राकृतिक विपत्तिलाई मान्छेले पन्छाउन सक्दैन । बैशाख १२ गतेको महाभैंचालोलाई पनि मान्छेले पन्छाउन सकेन ।
त्यही विनाशकारी भैचालोले देश आक्रान्त छ । गाउँ सहर शोकाकुल छन् । ठाउँठाउँ चिरा परेका छन् । आर्थिक रुपमा प्रत्यक्ष योगदान दिने पर्यटन व्यवसाय अहिले महासंकटमा छ । भैचालोले जमिन चिराचिरा पारेझै पर्यटन व्यवसाय पनि धुजाधुजा भएको छ । पोखराको पर्यटन ब्यवसाय त झन् शून्यमा झरेको छ ।
सुख्खा चैतपछि आएको बैशाखसँगै यहाँका पर्यटन व्यवसायीमा उमङ्ग आएको थियो । चैत २८ देखी बैशाख २ गतेसम्म लेकसाइडको बसुन्धरा पार्कको फेवा महोत्सवले रुख बिरुवामा पलाउने पालुवा झै उनीहरुको मनमा पनि व्यवसाय फस्टाउने पालुवा पलाइसकेको थियो । आन्तरिक र बाह्य पर्यटकको चाप ह्वात्तै बढ्यो । त्यतिबेला लेकसाइडका होटल ब्यवसायीले ८ सय पर्ने एउटा कोठा २५ सयमा बेचे । धेरैले लेकसाइडमा कोठा पाएनन् । महङ्गोका कोठमा बेचेका उनीहरुले त्यतिबेला लुट मच्चाएका थिए । आम्दानी बढेपछि उनीहरुमा उत्साह बढ्यो ।
लेकसाइडका व्यवसायीको त्यो उत्साह १० दिन टिकेन । बैशाख १२ गते भैचालो आएपछि लेकसाइडमा पर्यटक देख्नै मुस्किल छ । सँधै गुल्जार रहने लेकसाइड सुनसान छ । दोस्रो राम्रो सिजन मानिने यतिबेला पोखरामा पर्यटक नै छैनन् । पर्यटक बिउ झै आक्कलझुक्कल देखिन्छन् । तैपनि आत्तिन नहुने धेरैको तर्क छ । ‘दुःख नपरेको देशै छैन । हामी दुःखमा छौं, तर निराश हुने होइन । संयमित हुनुपर्छ । जापान, थाइल्यान्ड लगायत देशमा सुनामिपछि भएको पर्यटनलाई हेर्न सक्छौं’ लेकसाइडका अगुवा पर्यटन व्यवसायी गणेश भट्टराई भन्छन्,‘पर्यटकका बिउ बाँकी नै छन् । बिस्तारै बढ्छ । भैचालोले केही क्षेत्रबाहेक अरु सबै ठाउँ घुम्न योग्य छ, पर्यटक सुरक्षित हुन्छन भन्ने खबर फैलाउनु र २०–५० प्रतिशतसम्म छुटका प्याकेज ल्याउन जरुरी छ ।’
भैंचालोपछि पोखरा र यस आसपासका होटल, रेष्टुरेण्ट, टुर्स ट्राभल्र्स, ट्रेकिङ, र्याफ्टिङ, क्लाइम्बिङ लगायत पर्यटनसँग सबन्धित सबै व्यवसायको कारोबार ठप्प छ । भैचालोअघि लेकसाइडमा जता गए पनि पर्यटक ठोकिन्थे । हरेक व्यवसायमा मान्छेको चाप हुन्थ्यो । फेवा थकाली भान्सा घरमा पनि त्यस्तै हुन्थ्यो । थकाली खान खानलाई लाइन पर्खनुपथ्र्यो । भान्साघरमा घुर्चामारी चल्थ्यो । वेटरको दौड धुप बेसी हुन्थ्यो । कुकले हात बिसाउन पाउँथेनन् । राती ११/१२ बजेपछि जानेलाई संचालक हात जोडेर माफ माग्दै सेवा दिन नसक्ने बताउँथे । अहिले समय बदलिएको छ । ‘ग्राहक पातलिएका छन् । ब्यापार केही कमी आएको पक्का हो । तर हाम्रो कारोबारमा खासै असर छैन’ फेवा थकाली भान्सा घरका संचालक विरेन्द्र शेरचन भन्छन्,‘न्यूरोडमा पनि भान्छाघर भएकाले त्यताबाट कभर भइरहेको छ । त्यहाँ अरुबेला जत्तिकै ग्राहकको चाप छ ।’
भैचालाले पोखरामा क्षति नपुर्याए पनि त्रासले पर्यटक आउन सकेका छैनन् । दश बर्ष जनयुद्धले धरासय बनाएको पर्यटन व्यवसाय तंग्रीदै गइरहेको बेला भैचालोले उठ्न मुस्किल हुने गरि थिचारेको छ । लेकसाइडको बुमर्याङ रेष्टुरेन्ट अछुतो रहेन कुरै भएन । तीन हप्ता अघि रेष्टुरेन्टका क्याप्टेन सरोज लामाको धपेडी पनि कम्ता हुन्थेन । मध्यान्ह १२–२ र साझँ ७–९ बजेसम्म त उनले पानी पिउने फुर्सद निकाल्न मुस्किल हुन्थ्यो । अहिले ग्राहक आउने बाटो हेर्दैै आँखा पँहेलिन्छन् । ‘७५ प्रतिशतभन्दा बढी ब्यापार घटेको छ’ क्याप्टेन सरोज लामा भन्छन्,‘मानसिक त्रासले भैचालोले पोखरामा कुनै असर नगरे पनि स्वदेशी विदेशीको चहलपहल छैन ।’
सन् २०१५ को सुरुवातसँगै पर्यटक आउने क्रम सुरु भइसकेको थियो । यतिबेलै भैचालोले नेपाल भएका पर्यटकको सातो लियो । ६६ जनाको त ज्यानै गयो । अमेरिका, बेलायत, अष्ट्रेलिया लगायत देशले नागरिकहरुलाई नेपाल घुम्न सर्तकता जारी गरिसकेको छ । यि देशले नेपाल घुम्नसुरक्षित छ भनेर अर्को सूचना जारी नगरे नेपालमा पर्यटकको संख्या बढ्ने संभावना छैन । यसले झन्झन् कमजोर बनाउने निश्चित छ । ‘दिनदिनै भैचालोका झ्टका आउन थालेपछि असुरक्षित ठानेका विदेशी जति सक्दो छिटो बाहिरिए । नेपाल आउन ठिक्क परेकाले धमाधम बुकिङ रद्ध गरे’ पोखरा पर्यटन परिषद्का अध्यक्ष सोमबहादुर थापा भन्छन्,‘यसले पर्यटनसँग सम्बन्धित सबै क्षेत्रमा असर पुगेको छ । सबै व्यवसायमा शुन्यता छाएको छ ।’
भैचालोले पर्यटनमा असर पार्नु भनेको देशको अर्थतन्त्रलाई मार पर्नु हो । आर्थिक रुपमा प्रत्यक्ष योगदान दिने पर्यटन व्यवसाय भैचालोले जमिन चिराचिरा पारेझै पारेको छ । लाखौलाई प्रत्यक्ष अप्रत्यक्ष रोजगारी दिइरहेको पर्यटन उद्योगले वैदेशिक मुद्रा आम्दानी मात्र हैन देशको राजश्वमा पनि ठूलो योगदान दिएको थियो । तर, त्यही क्षेत्रलाई भैचालोले धर्मराइदिएको छ । ‘भूकम्पले सबैभन्दा बढी असर एडभेन्चर टुरिजममा परेको छ, हिम पहिरोका कारण र्याफ्टिङ त झन् ठप्प छ’ पेडल नेपालका संचालक मिन मगर भन्छन्,‘अपर र लोअर सेती, त्रिसुलीमा अलिअलि ट्रिप भए पनि कर्णाली, भोटेकोसी, तमोरमा पठाउन सकिएको छैन ।’
व्यसायमा कारोबार नभएपछि व्यवसायीले कर्मचारी कटौती गरेका छन् । कर्मचारी कटौती गर्नेमा होटल व्यवसायी अगाडी छन् । कसैले कर्मचारीलाई अनिश्चितकालीन बिदा दिएका छन् भने कसैले अवकाश दिइसकेका छन् । ‘आधा कर्मचारीलाई अनिश्चितकालिन बिदा गरेका छौँ, यहि अवस्था रहे सँधैका लागि बिदा दिन पनि सकिन्छ’ एक होटल सञ्चालक भन्छन्,‘बिदामा बसेका कर्मचारीलाई आफैले काम खोजेर अन्य ठाउँ गए पनि हाम्रो छेकबार हुँदैन ।’
के गर्न सकिन्छ ?
नेपालले पनि यस्तै केही विधी अपनाउनुपर्छ । विदेशी राजदुतावास मार्फत नेपालका केही क्षेत्रबाहेक अरु क्षेत्र घुम्न योग्य छन् भनेर सुचना दिनुपर्छ । नेपालका व्यवसायीले पर्यटन बोर्डसँग मिलेर अन्तराष्ट्रिय पर्यटन संघलाई गुहार्नेदेखी विदेशी टुर एन्ड ट्राभल एजेन्सिसँग साझेदारी गर्नुपर्छ । नेपालबारे सकरात्मक सन्देश दिन कस्सिनुपर्छ । भिसा प्रोसेस अझ खुकुलो पार्नुपर्छ । व्यवसायीले पनि यतिबेला सकेसम्मको छुटको प्याकेज ल्याए धर्मराउँदो पर्यटन उद्योग विस्तारै मुर्झाउन सक्छ ।
सुनसान लेकसाइड ।