रूद्र श्रीसमगर
पोखरा, ८ जेठ – क्होंला तमु समाज पोखराले तमुहरूको ऐतिहासिक, पैतृक तथा पुरातात्विक महत्वको क्षेत्र क्होंला सोंथरमा धर्मशाला निर्माण गरेको छ । क्होंला तमुहरू, क्होंला तमु समाज पोखरा र क्होंला तमु युकेको आर्थिक सहयोगमा ५ लाख ३७ हजार १ सय ५१ रुपैयाँ लागतमा निर्मित धर्मशालाको उद्घाटन पूर्व सभासद् कृष्ण बहादुर क्होंला तमुले गरेका छन ।
सो धर्मशाला निर्माणका लागि काठमाडौं निवासी मे.भूपाल क्होंला तमुले ५० हजार रुपैयाँ सहयोग गरेका छन । सो स्थानमा क्होंला तमु समाजले १ लाख २१ हजार १ सय ११ रुपैयाँ लागतमा भान्छा घर समेत निर्माण गरेको छ । भान्छा घर निर्माणका लागि रूपा तमु समाज, रानीपौवा, पोखराले ५० हजार रुपैयाँ र चिसापानी सामुदायिक कल्याणकोषले ५० हजार र अन्य क्होंला तमुहरूले आर्थिक सहयोग गरेका थिए ।
धर्मशालाको उद्घाटन गर्दै पूर्व सभासद् कृष्ण बहादुर क्होंला तमुले तमुहरूको अति महत्वपूर्ण सो ठाउँलाई पर्यटकीय क्षेत्र बनाउन पहल गर्नुपर्ने बताए । साथै, सो स्थानलाई राष्ट्रिय सांस्कृतिक सम्पदा क्षेत्र घोषणा गरी उक्त ठाउँका लागि संरक्षित गर्नुपर्ने बताए ।
क्होंला सोंथरमा पुरातत्व विभाग र क्याम्ब्रिज विश्वविद्यालयको पुरातत्व एकाइका पुरातत्वविद्हरूले अनुसन्धान गर्दा तमुहरू बाह्रौं-तेह्रौं शताब्दीतिर आएर बसेको हुन सक्ने अनुमान गरेका छन् । सो ठाउँमा तमुहरू कहिलेदेखि बसोबास गरेका थिए र कहिले विस्थापित भए भन्ने कुराको अहिले पनि अनुसन्धान गर्न बाँकी छ । क्होंला सोंथरमा अहिले पनि १५० घरहरूको भग्नावशेष रहेको छ । धर्मशाला उद्घाटन कार्यक्रममा गण्डकी अञ्चलका सबै जिल्लाबाट आएका ९३ जनाको सहभागिता रहेको थियो ।
यसैबीच, नेकपा–माओवादीका सचिव देव तमुले क्होंला सोंथर एवं तमुहरूको इतिहासका विषयमा क्होंला तमु समाज पोखराले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै तमुहरू तथा आदिवासी जनजातिहरूलाई राज्यले उत्पीडनमा पारेको बताए । तमुहरूले उर्वर भूमिबाट विस्थापित भइ शरणार्थीका रूपमा बस्नुपरेको बताउँदै सचिव तमुले तमुहरू शिकारी अवस्थादेखि फिरन्ते अवस्थामा विभिन्न स्थानमा बसोबास गर्दै आएको बताए । क्होंला सोंथरमा आएपछि पशुपालन र कृषि सुरुवात गरेर स्थायी बसोबास गर्न सुरु गरेको बताउँदै उहाँले हिमाल पारिबाट हिमाल वारि तमुहरू क्होंला सोंथर (अन्नपूर्ण हिमालको दक्षिणी काखमा) सबैभन्दा पहिले आएर बसोबास गरेको बताए ।
क्होंला सोंथरपछि पूर्व र पश्चिमतर्फ लागेको तमु इतिहासविद्हरूको विश्वास छ । सो ठाउँमा पुग्नका लागि सिक्लेसबाट १ दिन र याङ्जाकोट २ दिन लाग्छ । क्होंला तमु समाज पोखराका अध्यक्ष पूर्ण बहादुर क्होंला तमुको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा मे.मल्लाल तमु र क्या.गोपाल तमुले समेत बोलेका थिए ।
