पोखरा, २९ वैशाख
पुष्पलाल स्मृति प्रतिष्ठान कास्की शाखाद्वारा भूकम्पको अति प्रभावित गोरखाको च्याङ्ली गाविस वडा नं. ६ उत्पीडितबस्तीमा एक कार्यक्रम गरी भूकम्पपीडित ५२ घरपरिवारलाई राहत वितरण गरिएको छ ।
मंगलबार आयोजित एक कार्यक्रमका बीच प्रतिष्ठानले प्रतिपरिवार एक÷एक बोरा चामल, एक÷एक थान कम्बल र म्याट, एक÷एक किलो दाल, एक लिटर तेल, एक÷एक थान साबुन, टुथ ब्रस, टुथ पेष्टलगायतका राहत सामग्री वितरण गरिएको हो ।
प्रतिष्ठानको अगुवाइमा एमाले नेता एवं पूर्व कास्की जिविस उपसभापति श्रीनाथ बराल, एमाले पूर्व राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य हरि काफ्ले, प्रतिष्ठानका अध्यक्ष विजयबाबु वनबासी, सचिव यमलाल देवकोटा, उपसचिव तिलक पुन, कोषाध्यक्ष वसन्त शर्मा, सदस्य माया अधिकारी, रामजीप्रसाद सुवेदी, अनेरास्ववियु गण्डकी अञ्चल सचिव भरतमान गुरुङ, स्ववियु पिएन क्याम्पस सहसचिव ठाकुर शर्मा, भृकुटी आमा समूह पोखरा–१२ की अध्यक्ष धना गुरुङ, सहयोगी आमा समूह पोखरा–१७ का मञ्जु गुरुङ, विना गुरुङ, जमुना गुरुङ, बेथानी टोल विकास संस्था पोखरा–१० का जगत थापा, देवी गिरी, कल्पना घताने, कोपिला कार्की, गंगा विक, अखिल किसान महासंघ कास्की जिल्ला सदस्य बुद्धिसागर पोखरेललगायतको टोलीले उक्त राहत वितरण गरेको हो ।
राहत वितरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि एमाले नेता एवं कास्की जिविसका पूर्व उपसभापति श्रीनाथ बरालले वैशाख १२ गतेको महाविनाशकारी भूकम्पले राष्ट्रलाई नै ठूलो क्षति पुगेको र आजसम्म समेत सबै पीडित क्षेत्रमा राज्य पुग्न नसकिरहेको बताउँदै प्रतिष्ठानको तर्फबाट यस बस्तीमा आएर थोरै भएपनि राहत वितरण गरी जनताको पीडामा मलम लगाउने प्रयास गरिएको बताउनुभयो । साथै, आगामी दिनमा समेत निरन्तर सहयोगमा जुटिरहने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा एमाले गोरखाका नेता एवं पूर्व राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य हरि काफ्ले, भृकुटी आमा समूहका अध्यक्ष धना गुरुङलगायतले बोलेका थिए ।
प्रतिष्ठानका अध्यक्ष विजयबाबु वनबासीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव यमलाल देवकोटाले गरेका थिए।
