देब पचभैया
पाल्पा, बैशाख २७ – पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले पहिलोपटक पाल्पामा साहसिक खेल प्याराग्लाईडिङ्को व्यवसायिक उडान शुरु भएको छ ।
पर्यटनको नारालाई साकार पार्न स्थानीय व्यवसायीहरूले प्याराग्लाइडिङ्को राम्रो सम्भावना रहेको भन्दै आईतबार देखि तानसेनको बतासेडाँडाबाट प्याराग्लाईडिङ्को उडान शुरु गरेका हुन् ।
पाल्पा एडभेन्चर प्रालिले प्राविधिक अध्ययन् गरी तानसेनको बतासेडाँडाबाट प्याराग्लाईडिङ् उडानको स्वीकृति पाएपछि व्यावसायिक उडान गर्न थालिएको जानकारी दिएको छ । नागरिक उड्डयन् प्राधिकरणको स्वीकृति र अन्य सबै तयारी पछि उडान शुरु गरिएको एडभेन्चर प्रालिका अध्यक्ष बरुणप्रसाद रेग्मीले जानकारी दिए । गत फागुन देखि नै उडान गर्ने भनिए पनि प्रक्रिया पूरा गर्दा ढिला भएकाले उडानको काम समेत ढिलाई भएको रेग्मीले जानकारी दिए ।
पाँच/सात स्थानबाट प्राविधिक अध्ययन् गर्दा तानसेनको बतासेडाँडा नजिकै वनदेवीतर्फको डाँडाबाट मात्र उडान सहज हुने देखिएको संस्थाले जनाएको छ । तानसेनको बतासेडाँडाबाट उडान सुरु भएर तानसेनको दक्षिणतर्फ रहेको प्रभास, टुँडिखेल र श्रीनगरमा पनि उत्रिन सक्ने प्राविधिकले बताएका छन् । यहाँबाट उडान गर्दा उत्तरतर्फ रहेको अन्नपूर्ण, माापुर्छे, मनास्लुलगायतका हिमश्रृङ्खलाको मनोरम दृश्य अवलोकन गर्न सकिनेछ । यस्तै दक्षिणतर्फ रहेको तानसेन बजार, प्रभास क्षेत्र, कसेनीको माडी क्षेत्र, मदनपोखरा, बतासेडाँडा, टुडिखेलको सहज अवलोकन गर्न सकिने बताइएको छ ।
प्रालिले मौसम हेरेर राम्रो अवस्थामा दैनिक चार वटासम्म उडान गर्न सकिने गरी तयारी गरेको छ । अहिले तीनवटा मात्र प्याराग्लाईडि रहेको र दैनिक चार पटकसम्म उडान गर्ने योजना छ प्रालिका सचिव विनोद पन्थीले जानकारी दिए ।
वार्षिक पाँच सय उडान तानसेनबाट हुनसक्ने सम्भावना रहेको र अब पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बने पछि त्यहाँ आउने पर्यटक समेत पाल्पामा आउने सम्भावना रहेको छ ।
प्रालिका कोषाध्यक्ष यादवसिं कार्कीका अनुसार अहिले पोखरामा प्याराग्लाइडिङ्मा रमाउने पर्यटक समेत विमान स्थलको कारणले पाल्पामा आउने सम्भावना छ । प्याराग्लाइडिङ्ले तानसेन आउने पर्यटकको बसाँइ लम्बिने र यहाँको पर्यटन व्यवसाय फस्टाउन सहयोग पुग्ने कार्कीले दावी गर्नुभएको छ । प्याराग्लाइडिङ् सञ्चालनमा आएपछि जिल्लाको पर्यटन विकासमा योगदान पुग्ने र यसबाट यहाँका सबैले फाइदा लिन सक्ने कोषाध्यक्ष बिनोद कार्कीले बताए ।
अहिले एक करोड ५० लाखको लागतमा प्याराग्लाईडिङ्को मात्र व्यावसायिक उडान सुरुआत गरेको प्रालिले जनाएको छ । आगामी दिनमा पाँच करोडसम्म लगानी बढाएर घोडचढी, साईकिलिङ्, रक क्लाईम्बिङ् लगायत साहसिक खेलहरू समेत सञ्चालन गर्ने योजना संस्थाको रहेको छ ।
