मनोज घर्ती मगर
पोखरा, ९ मे २०१५ – गोर्खालाई केन्द्र बिन्दु बनाएर बैशाख १२ गते शनिबार गएको ७ दशमलब ९ रिक्टरको भुइँचालोले ठूलो बिपत्ति ल्याइदियो । भत्कायो हजारौं संरचना । झन्डै साढे सात हजारको ज्यान लियो । हजारौंलाई बेपत्ता बनायो । एकछिन अघि घरमै बसेका धेरैलाई बनवास लगायो । लाखौंको सर्वश्व खोसिदियो । साँच्चै त्यो विनासकारी भुइँचालोले सबै तहसनहस नै बनायो । महाभुइँचालो गएको दुई साता पुग्नै लाग्दा प्रभावित क्षेत्रको जनजीवन झनै अस्तव्यस्त छ । पटक–पटक आउने भुइँचालोको झट्काले सबै आतंकित छन् । मृतक र घाइतेको संख्या थपि“दो छ । बेपत्ताको सूची कति हो कति । गाउ खण्डहर बनिसके । पहिरोमा पूरै बस्ती बिलाइसके । लाग्छ, कुनै गाविस र बस्ती सग्ला छैनन् । गाउँ शोकमा डुबेका छन् । खाने गा“स छैन, बस्ने बास छैन । कयौंको बास त्रिपाल मुनि खुम्चिएको छ ।
देशका विभिन्न भागमा भुइँचालोले यति विधि वितन्डा मच्चाउँदा पोखरा भाग्यमानी ठहरियो । प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतका अनुसार रुपाकोटकी ३८ वर्षिया जुना खड्का र माझठानाका ९३ वर्षिय होमनाथ भुर्तेललाई गुमाउनु र १ हजार ५ सय घर नष्ट हुनु, ५ हजार ३ सय घर आँशिक भत्कनुबाहेक ठूलो धनजनको क्षति बेहोर्नु परेन पोखराले ।
विभिन्न अध्ययनले पोखरालाई काठमाडौंपछि भुइँचालोको उच्च जोखिम क्षेत्र किटान गरेको छ । त्यसैले यस पटक ठूलो क्षति नब्योहोरे पनि ढुक्क भइहाल्ने अवस्था छैन । ‘अहिलेको भुइँचालोबाट बचे पनि पोखरा खतरामुक्त छैन, यहाँको भूबनोट नै त्यस्तै छ’ प्रजिअ राउतको सुझाव छ,‘भवन बनाउँदा भूकम्पप्रतिरोधी र गहिरो अध्ययन गरि बनाए प्राकृतिक प्रकोपबाट बच्न सकिन्छ ।’
पोखरा उपत्यका ८/१० हजार वर्ष पहिले सेती नदीले बगाएर ल्याएको ढुंगा, माटोबाट बनेको हो । पोखराको जमीन चुनयुक्त पुरुवा ग्राभेलले बनेको छ । पोखरा उपत्यकाका विभिन्न भागमा जुनसुकै बेला जमीन भासिन सक्ने खतरा छ । जमिन चुन गेग्रानयुक्त ग्राभेल, जमीनको माथिल्लो भाग राम्रोसँग जमि नसक्दा पानी सोसेर भित्री भागमा घुल्ने चुनिया माटो भएकाले पोखरामा बेलाबेला जमिन भासिने वा भ्वाङ परिरहन्छ । घर भासिने र भ्वाङ पर्ने क्रम रोखिएको छैन । ‘अहिलेको भुइँचालोले धक्का दिए पनि क्षति पुगेन भनेर पोखरा जोखिमुक्त छ, हामी सुरक्षित छौं भन्न मिल्दैन’ भूगर्भविद् डा. बसन्त अधिकारी सचेत गराउँछन्,‘यहाँको माटो कमजोर भएकाले अन्य ठाउँभन्दा बढी सतर्क भइरहनुपर्छ ।’
सौन्दर्यको हिसाबले हीराको टुक्रा हो पोखरा । तर हीरा जस्तो साह्रो छैन पोखरा । यसको धरातल कोमल र अति संवेदनशील छ । खानी तथा भूगर्भ विभाग र जर्मन भूगर्भशास्त्रीहरुको टोलीले सन् १९९८ मा गरेको ‘इन्जिनियरिङ एण्ड इनभाइरोन्मेन्टल जिओलोजिकल म्याप अफ पोखरा’ अध्ययन प्रतिवदनले पोखरालाई भुइँचालोको उच्च जोखिम क्षेत्र किटान गरेको थियो । फिर्के खोला छेउछाउ, गुप्तेश्वर गुफा माथीको वस्तीलाई भुइँचालोको उच्च जोखिम, नदीपुर, महेन्द्रपुल, तेर्सापट्टी, चिप्लेढुङगा, न्यूरोड, पुरानो बसपार्क, हरियो खर्क, पार्दी, विरौटा, मालेपाटन, बैदाम, लेकसाइड, सेती नदीको किनार वरपरलाई जोखिमयुक्त क्षेत्र भनिएको छ । यहाँ मापदण्डभन्दा धेरै ठूला भवनहरु बनेका छन् । बन्ने क्रम जारी छ । तर, अहिलेसम्म पनि यसतर्फ कसैको ध्यान गएको छैन । पोखराबाट पश्चिमतिरको भागमा अझै अर्को भुइँचालो जान सक्छ भनेर वैज्ञानिकहरुले आँकलन गरेका छन् तर, त्यो कहिले जान्छ भनिएको छैन । त्यसैले पनि अझ बढि होसियारी अपनाउनुपर्ने बेला आएको छ । ‘धमाधम ७/८ तले घर बन्ने क्रम रोकिएको छैन । यो भनेको आफैले खतरा निम्त्याउनु हो’ भूगर्भविद् अधिकारी अनुमान लगाउँछन्,‘बढ्दो अतिक्रमणले पोखराले कुनै पनि बेला ठूलो क्षति सहनुपर्ने हुनसक्छ । त्यसैले अहिलेबाटै होसियार हुनुपर्छ ।’
कुनै अध्ययन वा सुरक्षित प्रविधिविना घर तथा लेकसाइडमा अग्लाअग्ला होटल बनिरहेका हुन् । घरको स्वीकृति दिने नगरपालिकाले जोखिम न्युन गर्न कुनै नीति नै बनाएको छैन । सरकारी तहबाट नै दिएको जोखिम कम गर्ने सुझावलाई नगर विकास, उपमहानगर, सहरी विकास कार्यालयजस्ता निकायले जमानादेखी बेवास्ता गर्दै आएका छन् । सहरीकरण र जनसंख्या बृद्धिका दृष्टिले काठमाडौंपछिको दोस्रो बृद्धि अनुपात भएको ठाउँ हो, पोखरा । ‘अस्तव्यस्त तरिकाले मापदण्ड विपरित घर बन्नु भुइँचालोका दृष्टिकोणले सबैभन्दा धेरै खतरा हो’ भुगर्भविद् डा. कृष्ण केसी भन्छन्,‘सडक, भवन, खोलानाला र नदिको मापदण्ड मिचेर घर बन्नै हुँदैन । यसले कुनै पनि बेला खतरा ल्याउन सक्छ ।’
खुम्चिदै मापदण्ड
विसं २०३३ सालमै पोखरा उपत्यका नगर विकास समितिले ३५ फिटभन्दा अग्लो घर बनाउन नपाइने मापदण्ड बनाएको थियो । यो नियम कायमै छ । कमजोर धरातल र पोखराबाट देखिने माछापुच्छ«े हिमाल हेर्न यो निर्णय गरिएको थियो । कमजोर भूबनोट भएको क्षेत्रमा विस्तृत अध्ययन नगरी ठूला संरचना निर्माण नगर्न त्यतिबेलै नियम बनाइए पनि पालना भएकै छैन । बरु, भएको मापदण्ड झनझन् खुम्च्याइँदैछ ।
सेती नदीको दायाँ–बायाँ १०० मीटर र फिर्के खोलाको दुवैतर्फ ४० मीटरसम्म भौतिक संरचना निर्माण गर्न नहुने विज्ञहरुको सुझव छ, तर भवन निर्माण गर्दा यो सुझावलाई कतै लागु गरिएको छैन । सेती किनारमा दायाँ–बायाँ १०० मीटर छाड्नुपर्ने नियमलाई पोखरा उपत्यका नगर विकास समितिले घटाएर पा“च मीटरमा खुम्च्याइदिएको छ । पोखरा उपत्यका नगर विकास समितिले सेती किनारमा २०५८ साल फागुन ६ गते ५० मिटर मापदण्ड तोक्यो । तत्कालीन अध्यक्ष अशोक पालिखेको पालामा सुरक्षित आवास विरुद्धको यो निर्णयलाई विष्णु बाँस्तोला अध्यक्ष हुँदा २०६१ मंसिर ३० गते झन् घटाएर ५, १० र २५ मिटरमा मापदण्ड खुम्च्याइयो । सरकारी निकायले नै अतिक्रमणलाई वैधानिकता दिएर मृत्युको मुखमा जानी–जानी बसोबास गराएको छ । तर, यसबारे अहिलेसम्म कतैबाट पनि आवाज उठेको छैन । ‘मापदण्ड झन् बढाउनुपर्नेमा घट्दै गइरहेको छ, त्यही ठूलाठूला घर बनेका छन्’ फूलबारी निवासी प्रेमबहादुर गुरुङ भन्छन्,नगरपालिकाले यसको नियन्त्रण गर्नुपर्ने हो । तर, उ आफै मुकदर्शक छ । अलिहेको भुइँचालोले ठूला घर भत्कायो साना केही भएको छैन ।’
त्यसो त सरकारले नै खतरा औंल्याएपछि राज्यकै तह वा उपमहानगरले पनि पोखराको हकमा प्राविधिक अध्ययन गरिदिनुपर्ने हो । घर बहाल कर लगायत नागरिकस“ग विभिन्न कर असुल्ने उपमहानगरले सुरक्षित आवासतर्फ भने कुनै ध्यान दिएको छैन । ‘काजमा एउटा हुन्छ, फिल्डमा अर्को । पैसाकै भरमा नक्सा पास हुन्छ’ रामबजारका बिश्वमान गुरुङ दाबी गर्छन्,‘मापदण्ड विपरितका घर बन्नुमा नगरपालिका दोषी छ । नक्सा पास गर्नेलाई कारबाही गरे यस्ता घर बन्न रोकिन्छ ।’
खानी तथा भूगर्भ विभागले सेती किनारबाट एक सय मिटर पूर्व–पश्चिम बढी खतरा रहेको भन्दै ७५ मिटर क्षेत्रमा घर नबनाउन सिफारिस गरेको थियो । तर त्यसलाई बेवास्ता गर्दै सहरी क्षेत्रमा नदी किनारसँगै जोडेर अतिक्रमण गरी सयौं घरहरु बनेका छन् । ‘घर बनाउन नहुने अध्ययनको निष्कर्षलाई कडाइका साथ पालना नगरे पोखराले ठूलै क्षति ब्यहोर्दै जानुपर्नेछ’ भूगोलविद डा. बसन्त अधिकारी ठोकुवा गर्छन् ।
२०७० कात्तिक २६ देखि पोखराको अर्मलामा जमिन भ्वाङ पर्दा पोखरा केहि तातियो । अहिले पनि महाभुइँचालोले सबैको मुटु हल्लाइदिएको छ । त्यसैले यतिबेला पोखरा उपत्यका नगर विकास समिति र पोखरा उपमहानगरपालिकाले निर्माण कार्यक्रमा नथ्थी लगाउने बेला भएको छ । तर, यसबारे कुनै पनि तयारी छैन । नगरपालिकाको मापदण्ड बिपरित धमाधम साच/आठ तले घर बनिरहेका छन् । पोखरामा जनगणना २०६८ अनुसार ६८ हजार २ सय ३६ घरधुरी छन् । उपमहानगरपालिकाको तथ्याङकअनुसार ०६६ सालपछि बर्षेनि दुई हजार पाँच सय बढी घर बनेर सम्पन्न प्रमाणपत्र लिने गरेका छन् ।
कतिपय क्षेत्रमा उपमहानगरले स्वीकृत नै नदिए पनि घर बनेका छन् । २०६९ माघ २ गतेखेदी पोखरामा भवन निर्माण आचारसंहित लागु भए पनि पोखरा उपमहानगरपालिकाले पूर्ण रुपमा कार्यान्वयन गर्न सकेको छैन । निर्माणमा आंशिक रुपमा लागु भए पनि अग्ला घर बनाउनेलाई उपमहानगरले रोक्न सकेको छैन । ‘अग्ला घर बनाउनेलाई अहिले प्रकृतिले पनि पाठ सिकाएको छ, अरुमा भवन आचारसंहिता लागु भए पनि अग्ला घर बाउनेलाई हामीले रोक्न सकेका छैनौ’ पोखरा उपहामहानगरपालिकाका इन्जिनियर शारदामोहन काफ्ले लाचारी सुनाउँछन्, ‘मेरो जग्गामा मैले घर बनाउँदा तपाइरुलाई किन टाउको दुख्ने भनेर थर्काउँछन् । कसरी रोक्ने । भुइचालोले ठूला घर भत्काएको यहि बेला त्यस्ता घर बनाउनेलाई सबै मिलेर निरुत्साहित गर्ने अभियान चलाउनुपर्छ ।’
