मनकारी लाहुरे

Read Time:7 Minute, 31 Second

मनोज घर्तीमगर
  परिवारसँग भलाकुसारी गर्दै थिए । उनलाई थरथरी कमायो । निमेषमै रिङ्टा लाग्यो । हल्लायो जमिन । एकछिनमै अर्चलबोटमा कोलाहल मच्चियो, भुइँचालो आयो…, भुइँचालो आयो… । भागदौड मच्चियो । घरघरबाट मान्छेहरु सडकमा निस्किए । जमिन हल्लाउन छोडेन । गोर्खालाई केन्द्र बिन्दु बनाएर बैशाख १२ गते शनिबार गएको ७.दशमलब ६ रिक्टरको भुइँचालो जाँदा बेलायती सेनामा कार्यरत पोखरा अर्चलबोटका गौरव गुरुङ कर्मथलो फर्कने तयारीमा थिए ।

तीन हप्ते घर विदा सकिएपछि सबै सरजाम प्याक गरेर परिवारसँग बिदाई हुने तरखर हुँदै थियो । एक्कासी आएको भुइँचालोले देशभर बिपत्ति ल्यायो । भत्कायो हजारौं संरचना । झन्डै आठ हजारको ज्यान लियो । हजारौंलाई बेपत्ता बनायो । एकछि अघि घरमै बसेका धेरैलाई बनवास लगायो । लाखौंको सर्वश्व खोसिदियो । साँच्चै त्यो विनासकारी भुइँचालोले सबै तहसनहस नै बनायो । सातसमुन्द्र पारिबाट बिदा आएका गौरवले एकैछिनमा ठूलो बिपत्ति देखे । उनलाई कर्मथलो फर्कन मन भए पनि परिस्थिति थिएन । उनले पल्टनमा जानकारी गराए । उताबाट खबर आयो–केही दिन नेपालमै बस्नू ।

बिदा थपिए लगत्तै उनको मनमा आयो–मैले भूइँचालो पीडितलाई थोरै भए पनि सहयोग किन नगर्ने ? उनले परिवारको तर्फबाट ५० हजार सहयोग गर्ने तयारी गर्दै थिए । २००६ को गोर्खा इन्जिनियर्स को ६० औं पार्टीलाई यो खबर सुनाए । ‘नम्बरीको मन पनि पग्लिएछ हामी पनि सकेको सहयोग गर्छौ तिमी पहल गर’ हर्षित मुद्रामा गौरब गौरवान्वि देखिए,‘एकैछिनमा आठ लाख संकलन भयो, मलाई माफ गर्नु अहिले सबै नम्बरीको नाम सम्झिन सकिन, आशा छ नम्बरीको गुनासो हुनेछैन ।’

भुइँचालो गएको नवौं दिन गौरव पोखरा एअरपोर्टमा हतास मुद्रामा भेटिए । अहिलेसम्म राहतको छिटो नपुगेको इलमपोखरी– ५ लमजुङमा राहत पठाउन एअरपोर्ट पुगेका थिए । बाटो भत्किएर सवारी साधन नजाने इलमपोखरीमा भारतीय सेनाको हेलिकोप्टरमार्फत उनी राहत पठाउन खोज्दै थिए । उनी र नम्बरीले जुटाएको
१५० बोरा चामल, २०० थान कम्बरल, ५१ थान त्रिपाल, २०० कार्टुन चाउचाउ, ५० केजी नुन, ४० लिटर तेल, दुई रोल म्याट्रेस, केही औषधी पानी लगाएतका सामाग्रीको थुप्रो अगाडी उनी घरि यता गर्थे घरी उता । ‘बिहानदेखी करिब ६ घन्टा कुँरे, एकछिन एकछिन भन्दाभन्दै आज फलाइट हुन सक्दैन भन्ने जानकारी पाएँ’ भएर घर फर्कन लागेका उनी निरास भएर बोले,‘यस्तो अवस्थामा सबै जना खटेको छ, म कम्पलेन गर्ने अवस्थामा छैन । तर, यो तरिकाले राहत वितरण प्रभावकारी हुन सक्दैन ।’

उनी घर फर्कन तयारी गर्दा ४ बज्न लागेको थियो । तर, भारतीय सेनाले आफ्ना सबै हेलिकोप्टर प्याक गरिसकेका थिए । पोखरा एअरपोर्टमा पाँच वटा एम आइ १७ र दुई वटा ठूला हेलिकोप्टर मार्फत उद्धार सामाग्री गोर्खा पु¥याउँदै आएका उनीहरु मनखुसी उडान भरिरहेका छन् । एक ठाउँ भनेको सामाग्री अर्को ठाउँमा लैजान्छन् । स्थानीय प्रशासन नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीसँग कुनै समन्वय छैन । गौरवले पनि भारतीय सेनाले जहाँ मन लाग्यो त्यही राहत सामग्री लगेको अनुमान लगाए । चाहिएको ठाउँमा र एक पटक पनि राहत नपुगेको ठाउँमा राहत लैजान प्रयास गर्दा उनी सफल नभएपछि यस्तै आशंका गरे । तर, पनि उनले उद्धारमा जुट्ने सबैको कामको कदर गर्ने पक्षमा छन् । ‘ब्रिटिस सेनाको टुप भएको भए यस्तो भद्रगोल हुने थिएन’ उनले आफू कार्यरत संस्थाको बयान गरे,‘कम्तिमा काम चुस्त रुपमा हुने थियो ।’

भारतीय सेनाले मनखुसी गरिरहेकोबारे संचार माध्यममा समाचार आइरहेका छन् । सेना र प्रहरी अधिकारीले पनि यसबारे अनौपचारिक गुनासो गर्छन् । ‘उनीहरु मनपरि गरिराछन्, हाम्लाई केही थाह छैन, हेलिकोप्टरले बोक्न सक्ने सामाग्री पनि लगेका छैनन्’ एक प्रहरी अधिकृतले पोल खोले,‘आज त ४०० केजीमै उड्यो हेलिकोप्टर । किन ढिलासुस्ती गरिराछन् बुझ्न सकिएन ।’

गौरब एअरपोर्ट बाटै इलमपोखरी सामान लैजाने ट्रक, ट्याक्टर लगायतका सवारी साधन खोजीरहेका थिए । उनले त्यस अघि नै एउटा ट्रकमा सामान राखेर पठाइसकेका थिए । तर , त्यो पनि बिचबाटोसम्म पुग्ने अवस्था थियो । राहत संकलन गर्न उनलाई परिवारले ठूलो सहयोग दियो । ह्याप्पी क्लोजियटकी संचालक स्मृति गुरुङ, होटल ड्रिमका संचालक विश्वामान गुरुङले हातमा हात मिलाए । त्रिपाल खोजे जतिको पाएका छैनन् उनले ।
गौरबका नम्बरी बेलायतबाट भुइँचालो पीडितलाई उद्धार गर्न नेपाल आइसकेको छ । उनी पनि यतैबाट उद्धारमा जुट्न हर प्रयास गरिरहेका छन् । तैपनि पल्टनबाट नियमतः नमिल्ने बताइएको छ । तैपनि उनको प्रयास जारी छ । ‘नम्बरीहरु उद्धार गर्न आउन पाउँदा खुुसीले उफ्रददै आएका छन्’ गौरवले यतैबाट उद्धारमा जुट्ने मनसाय सुनाए,‘बेलायतको लागि सेवा गर्दैछु, अर्को देशको सेनामा भएर पनि आफ्नै देशमा सेवा गर्ने अवसर पाए म आफूलाई भाग्यमानी ठान्थे ।’ सकेसम्म उनी यतैबाट आफ्नै देशको उद्धारमा जुट्ने ध्याउन्नमा छन् । यसका लागि पोखरा र काठमाडौंको ब्रिटिस क्याम्पमा सम्पर्क गरिरहेका छन् ।

हामी पनि कामना गरौं,‘ब्रिटिस सेनामा भए पनि उनलाई एक पटक आफ्नै देशको सेवा गर्ने अवसर छिट्टै मिलोस् । ब्रिटिस आर्मी भए पनि नेपालको संकटमा मलहम लगाउन आउने थोरै भाग्यमानीमध्ये उनको नाम पनि लेखियोस् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %