रूद्र श्रीसमगर
पोखरा, १४ वैशाख – शनिबार आएको प्रलयकारी महाभूकम्पबाट घर र आफन्त गुमाएकाहरूका लागि नेपाल मगर सङ्घ चाउथे कदममार्ग एकाइ समिति, पोखराले राहत सामग्री हस्तान्तरण गरेको छ ।
सोमबार एक कार्यक्रमका बीच उद्दार तथा राहत वितरणमा सक्रिय नेपाल रेडक्रस सोसाइटी, कास्कीलाई सङ्घले राहत सामग्री हस्तान्तरण गरेको हो ।
सो कार्यक्रममा एकाइ अध्यक्ष सुनमाया आलेमगरले रेडक्रसका जिल्ला सभापति वामदेव ढुंगानालाई १३ हजार रुपैयाँ बराबरको २० थान कोरियन ब्लाड्ढेट हस्तान्तरण गरेको हो ।
कार्यक्रममा राहत सामग्री ग्रहण गर्दै सभापति ढुंगानाले राहत सामग्री सकेसम्म छिटो सम्बन्धित स्थानमा पुर्याउने प्रतिबद्धता व्यक्त गरेका थिए ।
साथै, ढुंगानाले रेडक्रस सोसाइटी कास्की शाखाबाट हालसम्म २० लाख रुपैयाँ बराबरको राहत सामग्री गोरखा र कास्कीका विभिन्न स्थानमा पीडित जनतासमक्ष पुयाईसकेको जानकारी दिए । पीडितहरूले चाँडो भन्दा चाँडो सहयोगको लागि याचना गरिरहेको तर, आवश्यक अनुसार दाता नपाइएकाले आफैंले दाता खोज्दै सहयोग पुर्याउनुपर्ने अवस्था रहेको सभापति ढुंगानाले बताए ।
एकाइ अध्यक्ष सुनमाया आलेमगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन समितिका वरिष्ठ सल्लाहकार एवं उद्योग मन्त्रालयका उपसचिव थमनसिंह थापामगरले सञ्चालन गरेका थिए ।
