काठमाडौँ, वैशाख १४ गते ।
शनिबार गोरखाको बारपाकलाई केन्द्रबिवन्दु बनाएर भएको ठूलो भूकम्प र त्यसपछि निरन्तर रूपमा आएको ससाना धक्काले आम जनमानसमा त्रास फैलिएको छ । यद्यपि ठूलो भूकम्पपछि निरन्तर भएका साना भूकम्प र धक्काले पहिलो पटक भएको भूकम्पको शक्ति क्रमशः क्षिण गर्ने हुनाले अब फेरि ठूलो जाला भन्ने त्रास नरहेको विज्ञहरूको भनाइ छ ।
पहिलो भूकम्पले बनाएको दरार (रफ्चर जोन) करिब १२० किलोमिटरसम्म फैलिएको र त्यही दूरीभित्रको क्षेत्रलाई केन्द्रबिन्दु बनाएर पटक पटक ससाना भूकम्प भइरहेकाले ठूलो भूकम्पको डर त्यति नरहेको पनि विज्ञहरूको दावी छ ।
राष्ट्रिय भूकम्पमापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार दक्षिणतर्फबाट क्रमशः उत्तरतर्फ वबार्षिक दुई सेण्टीमिटरका दरले चट्टान धकेलिएर उत्तरतर्फको चट्टानभन्दा मुनि पस्ने क्रम चलिरहेको छ । सोही क्रममा नेपालको हिमालय क्षेत्रभन्दा तल आइपुगेपछि भने चट्टान अगाडि बढ्न नसकी रोकिएको हुन्छ । यसरी रोकिएको चट्टान लामो समयसम्म रहेपछि त्यसले शक्ति सञ्चय गर्छ । लामो समयपछि सोही शक्तिले कमजोर क्षेत्रको चट्टान टुक्राउँदा उत्पन्न हुने कम्पन नै भूकम्पको रूपमा मापन हुने गर्छ । यस्तो कम्पन जति टाढासम्म फैलिन्छ त्यसको प्रभावब त्यति नै कम हुँदै जान्छ ।
यस पटक गोरखामा भएको भूकम्पले पनि १२० किलोमिटर पूर्व ताप्लेजुङसम्म दरार पैदा गरेको छ । त्यसपछि सोही क्षेत्र (दोलखा)लाई आसपास बनाएर ससाना भूकम्प भएको अभिलेख राष्ट्रिय भूकम्पमापन केन्द्रले गरेको छ ।
दरार परेको क्षेत्रभन्दा अन्यत्रलाई केन्द्र बनाएर पछिल्ला भूकम्प भएका भए बढी डराउनुपर्ने विज्ञहरू बताउँछन् । यद्यपि मङ्गलबारसम्म अझै भूकम्पका साना धक्का हुनसक्ने भएकाले सचेत र जागरुक हुनु भने पर्नेछ । ठूलो भूकम्पको प्रभाब ७२ घण्टासम्म देखिन सक्छ ।
विसं १९९० सालमा पनि ८.३ रेक्टर स्केलको भूकम्प गएको र त्यसको छ दिनपछिसम्म पनि ससाना कम्पन भएको ब्रम्ह शम्शेरले लेखेको १९९० सालको महाभूकम्पसम्बन्धी पुस्तकमा उल्लेख छ ।
गोर्खा भूकम्प ७.६ रेक्टर स्केलको भएकाले र पछिल्ला धक्का क्रमशः घटेकोले अव विनाशकारी रूपमा ठूलो भूकम्प नजाने अनुमान विज्ञहरूको रहेको छ । सोमबार दिउँसो साढे १ बजेसम्म करिब ८६ पटक चार रेक्टर स्केलसम्मका भूकम्पको धक्का मापन भएको राष्ट्रिय भूकम्पमापन केन्द्रले दिएको छ ।
यो भूकम्प मानवीय तथा भौतिक क्षतिका दृष्टिले महाभूकम्प नै भए पनि मापनको हिसाबले यो ठूलो भूकम्प हो, महाभूकम्प भने होइन । आठ रेक्टर स्केलभन्दा ठूलोलाई मात्र महाभूकम्प भन्ने अन्तरराष्ट्रिय मान्यता रहेको छ ।
भूकम्प कहिले कुन समयमा कति शक्तिशाली जान्छ भन्ने कुराको कसैले पनि पूर्वानुमान गर्न नसक्ने र यस्ता तथ्यहीन हल्लाका भरमा नपर्न पनि विज्ञहरूले सुझाएका छन् ।
समाजका केही स्वार्थी तत्वले बिभिन्न माध्यम बाट तथ्यहीन भ्रामक सन्देह प्रवाह गरेर जनमानसलाई थप त्रस्त बनाउने र चोरी तथा लुटपाटका गर्न चाहेकाले यस्ता दुस्प्रयासप्रति पनि सचेत रही कुनै जान्ने ज्योतिषी,माता धार्मिक व्यक्तित्वो आदिले भविस्यवानी गर्यो भन्दै त्यस्को पछी नलाग्न नेपाल सरकारका मुख्य सचिब लिलामणि पौड्यालले आग्रह गरेका छन ।रासस
हल्लाको पछाडि नलाग्न आग्रह
Read Time:4 Minute, 48 Second
