उद्धारमा ढिलाई, जनजीवन अझै त्रसित
राज्यसत्ता,
गोरखा, वैशाख १३ – महाभूकम्पका कारण जिल्लामा मृत्यु हुनेको संख्या २१० पुगेको छ । उनीहरुको पहिचान हुन सकेको छैन । दिउँसो गोरखा सदरमुकामबाट एउटा हेलिकप्टरबाट भूकम्पको केन्द्रविन्दु बारपाकबाट १ सय भन्दा बढीको उद्दार गरेको छ । उद्दार गरेर घाइतेलाई पोखरा लगिएको छ ।
भूकम्पमा परि घाइते हुने १५० भन्दा बढीले जिल्ला अस्पतालमा उपचार गराइरहेका छन् । गम्भीर प्रकृतिका ३० भन्दा बढी विरामीलाई थप उपचारका लागि पोखरा र भरतपुर रिफर गरिएको छ । बारपाक केन्द्र विन्दु भएर गएको भुकम्पले जिल्लाका ग्रामीण बस्तीका ७० प्रतिशत घरहरुमा क्षति पुगेको अनुमान गरिएको छ । प्रहरी चौकी, स्वास्थ्य चौकी, विद्यालय भवन लगायत सार्वजनिक भवनमा पनि भुकम्पले क्षति पुर्याएको छ । भौगोलिक विकटता र संचार सम्पर्क विच्छेद भएका कारण सही तथ्याङ प्राप्त नभएको प्रमुख जिल्ला अधिकारी उद्धव तिमेल्सेनाले जानकारी दिए ।
भूइँचालो केन्द्र बिन्दु भनिएको बारपाकको अवस्था अहिले सम्म थाहा हुन सकेको छैन । पैदल मार्ग भएर गएका नेपाली सेना र शसस्त्र प्रहरीका उद्धारकर्मी पुग्न सकेका छैनन् । कच्ची सडक पहिरोले क्षति भएकाले उद्धार टोली पुग्न नसकेको हो । बारपाक, सिम्जुङ, लाप्राक, गुम्दा, मान्वु, काशीगाउँ र केरौंजा गाविसमा बढी क्षति भएको अनुमान गरिएको छ । मौसम बिग्रिएकाले हेलिकप्टरबाट पनि उद्धार सम्भव नभएको हो । जिल्लामा कालो कुहिरोले ढाकेको छ । पैदल मार्ग हुँदै उद्धार टोली भने त्यस तर्फ गएको शसस्त्र प्रहरी निरीक्षक शुसिल पन्तले जानकारी दिए ।
सदरमुकाम आसपास पटक पटक भुकम्पको झट्का महशुस भइरहेको छ । पटकपटकको कम्पनले सर्वसाधरण त्रसित भएका छन् । उनीहरु घर बन्द गरेर चौर, खाली जग्गा, खेतबारीमा त्रिपाल टागेर बसेका छन् । जिल्ला दैविक प्रकोप उद्धार समितिले उद्धार, प्राथमिक उपचार र राहत समिति गठन गरेर काम सुरु गरेको छ । यातायात, विद्युत, टेलिफोन, इन्टरनेट, स्थानीय सञ्चारमाध्यम बन्द छन् । राहत सामग्री संकलनलाई प्राथमिकता दिइएको प्रजिअले जानकारी दिएको कान्तिपिुरले समचार छापेकोछ ।
