स्व. दिलबहादुर घरब्जा छन्त्याल स्मृति कप सम्पन्न

Read Time:3 Minute, 52 Second

तारा खेलको उपाधि मगर सङ्घ कास्कीलाई

रूद्र श्रीसमगर

पोखरा, ७ वैशाख – नयाँ वर्ष २०७२ को अवसर पारी नेपाल छन्त्याल सङ्घका संस्थापक केन्द्रीय अध्यक्ष तथा सर्वमान्य स्व. दिलबहादुर घरब्जा छन्त्यालको स्मृतिमा पोखरामा आयोजित ‘संस्थापक सर्वमान्य स्व. दिलबहादुर घरब्जा छन्त्याल स्मृति कप तारा खेल प्रतियोगिता–२०७२’ को उपाधि नेपाल मगर सङ्घ कास्कीले जितेको छ ।

नेपाल छन्त्याल सङ्घ जिल्ला समिति, कास्कीको आयोजनामा आइतबारदेखि सुरु भएको सो प्रतियोगिताको उपाधिसँगै मगर सङ्घ कास्कीले ५० हजार रुपैयाँ नगद र प्रमाणपत्र जित्न सफल भयो ।

त्यस्तै, अमरदीप क्लबले द्वितीय स्थानसँगै ३० हजार रुपैयाँ नगद र प्रमाणपत्र जित्यो भने आयोजक नेपाल छन्त्याल सङ्घ कास्की ‘ए’ले तृतीय स्थानसँगै २० हजार रुपैयाँ नगद र प्रमाणपत्र जित्न सफल भयो ।

प्रतियोगितामा गिरबहादुर गुरुङ सर्वोत्कृष्ट धनुर्धर घोषित हुनुभयो भने देव पुन उत्कृष्ट खेलाडी घोषित भए । गुरुङ र पुनले ३/३ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका थिए ।

प्रतियोगिताका बिजेताहरूलाई नेपाल आर्चरी सङ्घका केन्द्रीय उपाध्यक्ष एवं कास्की जिल्ला अध्यक्ष वसन्त थकाली, नेपाल छन्त्याल सङ्घ कास्कीका अध्यक्ष भक्तबहादुर घरब्जा छन्त्याल, संस्थापक अध्यक्ष सोमबहादुर तथप्जा छन्त्याल, संस्थापक उपाध्यक्ष संगबहादुर तथप्जा छन्त्याल, उपाध्यक्ष गोविन्द बुढाथोकी, नेपाल छन्त्याल महिला सङ्घ कास्कीका अध्यक्ष माया तथप्जा छन्त्याल, धनमाया तथप्जा, क्या. नन्दबहादुर घरब्जा छन्त्याल, सु. धनबहादुर भलञ्जा छन्त्याल, नेपाल छन्त्याल युवा सङ्घ कास्कीका अध्यक्ष लालबहादुर भलञ्जा छन्त्याललगायतले पुरस्कार वितरण गरेका थिए ।

सो अवसरमा गायक समेत रहेका वसन्त थकालीले गीत गाएर मनोरञ्जन गराएका थिए भने खेलाडीका तर्फबाट योगेन्द्र शेरचनले समीक्षासहितको मन्तव्य राखेका थिए।

सोही अवसरमा नेपाल छन्त्याल सङ्घ कास्कीका संस्थापक अध्यक्ष सोमबहादुर तथप्जा छन्त्यालले प्रतियोगितामा तृतीय हुन सफल आयोजक नेपाल छन्त्याल सङ्घ कास्कीका छ जना खेलाडीहरूलाई हौसलास्वरुप जनही १/१ हजार रुपैयाँ प्रदान गरेका थिए ।

प्रतियोगितामा नौ टिम सहभागी थिए । यसअघि, सो प्रतियोगिताको उद्घाटन नेपाल आर्चरी सङ्घका केन्द्रीय अध्यक्ष हरिध्वज तुलाचनले गरेका थिए ।

अध्यक्ष भक्तबहादुर घरब्जा छन्त्यालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन सचिव बमबहादुर घरब्जा छन्त्यालले गरेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %