जातीय राज्य होइन राज्यमा उपस्थिति चाहियोः राना
रूद्र श्रीसमगर
पोखरा, १२ चैत-सभासद वृन्दा देवी राना मगरले आदिवासी जनजातिलाई जातीय राज्य नभइ राज्यमा उपस्थिति चाहिएको बताएकी छिन । पुन मगर समाज, नेपाल केन्द्रीय समितिद्वारा बिहीबार आयोजित सम्मान कार्यक्रममा बोल्दै सभासद रानाले एकल जातीय पहिचान मात्रले समाधान नदिने जिकिर गरीन ।
‘हामीलाई जातीय राज्य होइन, राज्यमा उपस्थिति चाहिएको छ’, सभासद रानाको भनाइ थियो, ‘मगरात, तमुवान बनाएर आदिवासी जनजातिको मुक्ति हुँदैन, आदिवासी जनजातिका लागि विशेष संवैधानिक व्यवस्था आवश्यक छ ।’ राज्यका सबै अगमा पहुँच र प्रतिनिधित्व हुन सके मात्र आदिवासी जनजातिको मुक्ति हुने भन्दै रानाले सबैभन्दा पहिले सशक्तिकरणको आवश्यकता रहेको बताइन ।
संविधानसभा तत्काल सञ्चालन गरी देशलाई संविधान दिएर राजनीतिक निकास दिनुपर्नेमा जोड दिँदै रानाले जनताले दिएको मतको कदर गरिनुपर्ने बताइन । ‘अन्य सबै कुरामा सहमति भइसकेको छ’, रानाले भनिन, ‘राज्य पुनर्संरचनाका विषयमा नामाङकन र सीमाङकनमा कुरा नमिलेको हो, अब प्रक्रियाबाटै भएपनि नयाँ संविधान जारी गर्नुको विकल्प छैन ।’
मगर जातिलाई राजनीतिमा क्रियाशील हुन सल्लाह दिँदै सभासद् रानाले नेता नबनेसम्म राज्यमा पहुँच हुन नसक्ने बताइन । जुनसुकै दल वा विचारको भएपनि मगरहरूलाई राजनीतिमा लाग्न रानाले आग्रह गरीन । पुन मगर समाज युकेका अध्यक्ष बिल पुर्जा पुन मगरले राजनीतिक दलमा नलागेसम्म मगर जातिको प्रगति हुन नसक्ने बताउँदै सबै मगर एकजुट भएर अधिकारका लागि लड्नुपर्ने बताए । मगर जातिको एक थर पुनलाई जात बनाउने कुरा कुनै हालतमा स्वीकार्य नहुने भन्दै अध्यक्ष पुर्जाले आफूहरूलाई मगर भन्दा नै गर्व लाग्ने उल्लेख गरे ।
नेपाल मगर सङ्घ कास्कीका पूर्व उपाध्यक्ष इन्द्र बहादुर गर्बुजा मगरले पुन, थापा, राना, आले जे भनेपनि सबै मगर भएको भन्दै सम्पूर्ण मगरहरू एक भएर आफ्नो अधिकार प्राप्तिको लडाइँमा अघि बढ्नुपर्नेमा जोड दिए । पुन मगर समाज युकेका सल्लाहकार मनवीर पाइजा पुनमगरले पुन मगर समाज नेपाल विभाजित भएकोमा आफूलाई दुःख लागेको बताउँदै सबै पुनमगरहरू एक भएर आफ्नो भाषा, धर्म र संस्कृति संरक्षणमा लाग्नुपर्नेमा जोड दिए ।
सो अवसरमा पुन मगर समाज युकेको तर्फबाट अध्यक्ष बिल पुर्जा पुन मगरले पुन मगर समाज नेपाल केन्द्रीय समितिका सह–कोषाध्यक्ष जितु पुर्जा पुन मगरलाई दुई लाख रुपैयाँ नगद सहयोग हस्तान्तरण गरेका थिए । कार्यक्रममा मिस मगर नेपाल–२०१५ की बिजेता उषा पाइजा मगर, पोखरा विश्वविद्यालयबाट आईटी इञ्जिनियरिङमा स्नातक उत्तीर्ण गर्ने कृष्ण पुनमगर, मिस +२ गण्डकी–२०१५ की बिजेता सुनिता पुन मगर, मिस मगर पोखरा–२०११ की सेकेण्ड रनर अप शान्ति तिलिजा मगरलाई सम्मानपत्र द्वारा सम्मान गरिएको थियो ।
अध्यक्ष भीम पुन मगरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन महासचिव खेम बहादुर गर्बुजा पुन मगरले गरेका थिए भने वरिष्ठ उपाध्यक्ष हर्कबहादुर पहरे पुन मगरले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।



