मनोज घर्ती मगर
पोखराका महिलाहरु ‘फेशन कन्सस’ हुँदै गएपछि यहाँ बुटिकहरु खुल्ने क्रमले तिव्रता पाएको छ । पछिल्लो समय बुटिक व्यवसायबाट राम्रो आम्दानी समेत हुने गरेको व्यवसायीहरु बताउँछन् । पोखरामा हाल ५० भन्दा बढि बुटिकहरु संचालनमा रहेका छन् । बुटिकहरुकै भीडमा ‘आई एम द डिजाईन’ नामको बुटिक विहिबारदेखि न्यूरोडमा संचालनमा आएको छ । अभिनेत्री निता ढुंगाना, कलाकार निर्मल शर्मा ‘गैँडा’, निर्देशक दिनेश डिसी, रतन सुवेदी र पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवालीले बुटिकको सयुक्त उद्घाटन गरे । उद्घाटनसँगै उनीहरुले बुटिकको सफलतको शुभकामना दिए ।
मिसेस नेपाल २०११ का फस्ट रनरअप डिजाईनर अर्चना शर्माले बुटिक संचालनमा ल्याएकी हुन् । ‘पोखराका महिलाहरु पछिल्लो समय फेशनको बारेमा धेरै जानकार भैसकेका छन्’ संचालक शर्माले भनिन्–‘राम्रो र स्तरिय डिजाईनका कपडामा खर्च गर्न पनि यहाँका महिलाहरु खासै हिच्किचाउँदैनन् ।’ बुटिकको बजार देखेरै लगानी गरेको उनले सुनाईन् । त्यस्तै विदेशबाट पनि ‘अनलाईन डिमान्ड’ आउने गरेको उनले बताईन् । बुटिकमा ७२ लाख रुपैयाँ लगानी छ । बुटिकमा कुर्था, टप्स, लेहेङ्गा, गाउन, गहना ब्लाउज लगाएतका पहिरनहरु उपलब्ध छन् ।
