मुलुक पश्चगामी दिशातर्फ जाँदैछः गुरुङ
रूद्र श्रीसमगर
पोखरा, ५ चैत-नेकपा–माओवादीका सचिव देवप्रसाद गुरुङले मुलुक पश्चगामी दिशातर्फ जान लागेको बताएका छन ।
नेकपा–माओवादी कास्कीले बिहीबार पोखरामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै सचिव गुरुङले संसद्वादी दलहरूले देशलाई पश्चगामी दिशातर्फ लैजान लागेको आरोप लगाए ।
पार्टीद्वारा घोषित दुई महिने मेची–महाकाली राष्ट्रिय अभियान अन्तर्गत मध्यपश्चिम ब्यूरोको अभियानस्वरुप आयोजित ‘कथित संविधानसभा–२ को विघटन र अधिकार सम्पन्न सर्वपक्षीय राष्ट्रिय राजनीतिक सभाको गठन किन ?’ विषयक अन्तरक्रियामा गुरुङले दोस्रो संविधानसभाको निर्वाचनमार्फत् देशमा एक खालको प्रतिगमन भइसकेको तर्क गरे ।
‘मुलुक पश्चगामी दिशातर्फ जाँदैछ’, सचिव गुरुङले भने, ‘दोस्रो संविधानसभाको निर्वाचन मार्फत् देशमा एक खाले प्रतिगमन त भइसक्यो ।’ पश्चगमनका विरुद्ध आम क्रान्तिकारी मालेमावादी शक्तिले कदम चाल्न जरुरी रहेको भन्दै सचिव गुरुङले राष्ट्रलाई सही दिशामा लैजान माओवादीहरू रुपान्तरण सहितको एकताका लागि तयार हुनुपर्ने बताए ।
‘राष्ट्रिय स्वाधीनताको प्रश्नलाई आधार बनाएर अघि बढ्नुपर्छ’, गुरुङले भनाइ थियो, ‘मुलुकको नवउपनिवेशवाद अन्त्य गर्न राष्ट्रवादी शक्ति एकजुट हुनुपर्छ ।’ सबैले समान अधिकार पाएमात्र राष्ट्रिय एकता बलियो हुने बताउँदै आन्तरिक राष्ट्रियताको सुदृढीकरणमा विशेष जोड दिनुपर्ने बताए ।
राष्ट्रिय स्वाधीनताको विषयमा प्रष्ट भएर आए एमाओवादीसँग एकता प्रक्रिया अघि बढ्न सक्ने बताउँदै गुरुङले मूलतः विचारमा एकरुपता ल्याउनुपर्ने आवश्यकता औंल्याएका थिए । ‘माओवादी आन्दोलनमा दुई विचार छन्’, गुरुङले भने, ‘क्रान्तिकारी विचारको नेतृत्व किरणजीले गर्नुहुन्छ, अर्को विचारको नेतृत्व बाबुरामजीले गर्नुहुन्छ ।’
संसद्वादी दल र एमाओवादी लगायतका दलहरू संविधान निर्माणका प्राविधिक विषयमा मात्रै अल्झिएको भन्दै गुरुङले मूल विषय जनताले अधिकार पाउने कि नपाउने भनि उल्लेख गरे ।
नेकपा–माओवादीका स्थायी समिति सदस्य एवं मध्यपश्चिम ब्यूरो इञ्चार्ज इन्द्रमोहन सिग्देल ‘वसन्त’ले अन्तरक्रियाबाट प्राप्त सुझाव तथा सल्लाहरूले पार्टीले आगामी दिनमा आत्मसातीकरण गरेर अघि बढ्ने प्रतिबद्धता जनाए । कार्यक्रम उद्देश्य प्राप्तिमा सफल भएको नेता वसन्तको ठम्याइ थियो ।
मध्यपश्चिम ब्यूरोका तर्फबाट कार्यपत्र प्रस्तुत गर्दै नेकपा–माओवादीका केन्द्रीय सदस्य लोकबहादुर थापा ‘धर्म’ले प्रगतिशील तथा क्रान्तिकारी शक्तिहरू एकजुट हुनुपर्ने बताए । देशमा विद्यमान समस्याको शान्तिपूर्ण निकासका लागि तत्काल अधिकारसम्पन्न सर्वपक्षीय राष्ट्रिय राजनीतिक सभाको आयोजना गर्नुपर्ने बताउँदै नेता थापाले जबरजस्ति गरिए जनयुद्धको जगमा जनविद्रोहको दिशामा अघि बढ्ने चेतावनी समेत दिए ।
कार्यक्रममा नेकपा (एकीकृत) कास्कीका सेक्रेटरी भीमबहादुर श्रीस, नेकपा (माले) कास्कीका सेक्रेटरी होमनाथ गिरी, राप्रपा नेपाल कास्कीका उपाध्यक्ष बरुणविक्रम राणा, राष्ट्रिय जनमुक्ति पार्टी कास्कीका अध्यक्ष ओमबहादुर श्रीस, नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् कास्कीका अध्यक्ष पान बहादुर घर्ती, वरिष्ठ मानव अधिकारवादी नेता टेकनाथ बराल, प्राध्यापकहरू यादवराज उपाध्याय, उमाकान्त शर्मा, तारा बराल, उदयबहादुर अमात्य, वाम बुद्धिजीविहरू रामप्रसाद पौडेल, धुर्व अधिकारीलगायतले क्रान्तिकारी कम्युनिष्ट पार्टीहरू एकताबद्ध भएर जनताको अधिकार प्राप्तिका लागि संघर्षमा उत्रनुपर्नेमा जोड दिएका थिए ।
नेकपा–माओवादी कास्कीका सेक्रेटरी अर्जुन छन्त्यालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन सह–सेक्रेटरी सूर्यबहादुर खड्का ‘आलोक’ले गरेका थिए ।
सो अवसरमा नेकपा–माओवादीका पोलिटब्यूरो सदस्य एवं तमुवान राज्य इञ्चार्ज श्रीनाथ अधिकारी ‘श्याम’, केन्द्रीय सदस्य एवं तमुवान राज्य सेक्रेटरी हरिबहादुर चुमान ‘अजित’, केन्द्रीय सदस्य एवं तमु राष्ट्रिय मुक्ति मोर्चा (क्रान्तिकारी) नेपालका केन्द्रीय संयोजक बुद्धिराम गुरुङ, नेकपा (एकीकृत)का केन्द्रीय सदस्य निल बहादुर पुन, रामजी थापालगायतको समेत उपस्थिति रहेको थियो ।
