नेकपा–माओवादीको कार्यकर्ता प्रशिक्षण

Read Time:3 Minute, 57 Second

विचारमा एकरुपता भएमात्र पार्टी एकताः गुरुङ

रूद्र श्रीसमगर

पोखरा, ३ चैत

नेकपा–माओवादीका सचिव देव गुरुङले विचारमा एकरुपता भएमात्र एमाओवादीसँग एकता हुने बताएका छन । मगलबार पोखरामा आफ्ना कार्यकर्तालाई आन्तरिक प्रशिक्षण दिँदै सचिव गुरुङले आफूहरूले एमाओवादी लगायतका अन्य क्रान्तिकारी पार्टीहरूसँग एकताका लागि वैचारिक बहसको मञ्च बनाउन खोजेको बताए ।
‘निश्चित रूपले अहिले माओवादीहरू बीच एकताको खाँचो छ’, गुरुङले भने, ‘सिद्धान्तनिष्ठ र विचारनिष्ठ पार्टी एकताका लागि हामीले नेतृत्वदायी भूमिका खेल्नुपर्छ ।’ नेकपा (एकीकृत)सँग तत्कालै पार्टी एकताका लागि केही दिनभित्रै प्रक्रिया अगाडि बढ्न लागेको जानकारी दिँदै सचिव गुरुङले नयाँ जनवादलाई मानेर आए एमाओवादी सँगको एकता प्रक्रिया अघि बढ्न सक्ने बताए ।
‘परी जी, मणि जी र मातृका जीहरूसँग पनि हामीले पार्टी एकताका लागि कुरा गरिरहेका छौं’, गुरुङले भने, ‘परी जी र मणि जीसँग त करिब धेरै विषय टुंगिसकेको पनि छ, तर, मातृका जीसँगको कुरा बाँकी रहेकाले केही ढिला भएको हो, अब एकता प्रक्रिया तत्काल अघि बढ्छ ।’ सहमतिको संविधान नबन्ने पक्का भएको भन्दै सचिव गुरुङले नेपाललाई भारतीय नव उपनिवेशबाट मुक्त गर्नका लागि विद्रोहको आवश्यकता भएकोमा जोड दिए । यथास्थितिकै प्रक्रियाबाट जनवादी संविधान नबन्ने बताउँदै गुरुङले विद्रोहको तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन पनि दिए ।
पार्टीद्वारा घोषित दुई महिने मेची महाकाली राष्ट्रिय अभियान अन्तर्गत आयोजित प्रशिक्षण कार्यक्रममा स्थायी समिति सदस्य एवं पश्चिमाञ्चल ब्यूरो इञ्चार्ज इन्द्रमोहन सिग्देल ‘वसन्त’ले नयाँ जनवादी क्रान्तिको प्रचार नै अभियानको मूल लक्ष्य भएको बताए । अभियानकै क्रममा प्रतिरोधात्मक संघर्ष र मनोवैज्ञानिक संघर्षलाई जोड दिएको बताउँदै नेता वसन्तले सगठन विस्तार तथा सुदृढीकरणमा समेत अभियानले प्रमुख भूमिका खेल्ने बताए ।
सो प्रशिक्षण तथा अन्तरक्रियामा पोलिटब्यूरो सदस्य एवं तमुवान राज्य इञ्चार्ज श्रीनाथ अधिकारी ‘श्याम’, केन्द्रीय सदस्य एवं तमुवान राज्य सेक्रेटरी हरिबहादुर चुमान ‘अजित’, केन्द्रीय सदस्य लोकबहादुर थापा मगर ‘धर्म’ले पनि पार्टीका गतिविधि तथा रणनीतिका विषयमा दिशा निर्देश गरेका थिए । नेकपा–माओवादी कास्कीका जिल्ला सेक्रेटरी अशोक छन्त्याल ‘अर्जुन’को अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको सञ्चालन सह–सेक्रेटरी सूर्यबहादुर खड्का ‘आलोक’ले गरेका थिए भने जिल्ला कार्यालय सदस्य शिव खनाल ‘महादेव’ले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %