रूद्र श्रीसमगर
स्याङ्जा, ३० फागुन – दश बर्से जनयुद्धमा स्याङ्जा जिल्लाको बिरुवा अर्चले गाविसबाट शहादत प्राप्त गर्ने शहीदहरूको सम्झना र सम्मानमा प्रकाशित लेख तथा रचनाहरूको संग्रह ‘सम्झनाका पानाहरू’को शनिबार स्याङ्जा बजारमा विमोचन गरियो ।
सो कृतिको जिल्ला विकास समिति, स्याङ्जाको सभाहलमा आयोजित कार्यक्रममा नेकपा–माओवादीका स्थायी समिति सदस्य इन्द्रमोहन सिग्देल ‘वसन्त’ले विमोचन गरे ।
पुस्तकको विमोचन गर्दै नेता वसन्तले जनयुद्धमा स्याङ्जा जिल्लाका योद्धाहरूले महत्वपूर्ण योगदान पुर्याएको र त्यसमा पनि बिरुवा अर्चलेका शहीदहरूको बलिदानीले जनयुद्ध सफल बनाउन विशेष भूमिका खेलेको उल्लेख गरे ।
कार्यक्रममा डा.कृष्णराज अधिकारी, प्रगतिशील लेखक संघ नेपालका केन्द्रीय सदस्य परशुराम कोइराला र केन्द्रीय पार्षद् नारायण मरासिनीले सो पुस्तकका बारेमा टिप्पणी गरेका थिए ।
सो अवसरमा नेकपा–माओवादीका पोलिटब्यूरो सदस्य एवं तमुवान राज्य इञ्चार्ज श्रीनाथ अधिकारी ‘श्याम’, स्याङ्जा जिल्ला सेक्रेटरी पारस शर्मा, एकीकृत नेकपा (माओवादी) स्याङ्जाका अध्यक्ष शोभाखर ढकाल, नेकपा (एमाले) स्याङ्जाका जिल्ला सचिवालय सदस्य कृष्ण लामिछानेमगर, नेपाल पत्रकार महासंघका केन्द्रीय पार्षद् ओमप्रकाश शर्मा, गण्डकी साहित्य संगमका अध्यक्ष नारायण परिश्रमीलगायतले बोलेका थिए ।
कार्यक्रमका बीचमा कवि घनश्याम रेग्मीले कविता, गजलकार राजेन्द्र समासले गजल तथा साहित्यकार चिन्तु गिरीले कविता सुनाउनुभएको थियो । कार्यक्रममा करिब ८० जनाको उपस्थिति रहेको थियो ।
प्रगतिवादी साहित्यकार लोकबहादुर थापामगरले सम्पादन गरेको सो पुस्तकमा बिरुवा अर्चलेका जनयुद्धका शहीदद्वय यामकुमारी गुरुङ ‘सरला’ र लक्ष्मी गुरुङ ‘सपना’ तथा जनयुद्धमा महत्वपूर्ण भूमिका खेलेका स्व. कवि इमान गुरुङका बारेमा चर्चा गरिएको लेख तथा रचना समावेश छन् । अर्जुन मास्की रानाको सम्पादन सहयोगी भूमिका रहेको सो पुस्तक युवा अध्ययन समिति, झाँगडी, बिरुवा अर्चले, स्याङ्जाले प्रकाशन गरेको हो ।
१३४ पृष्ठको सो पुस्तकमा नेकपा–माओवादीका सचिव देव गुरुङ, केन्द्रीय सदस्य एवं प्रगतिवादी साहित्यकार लोकबहादुर थापामगर, धनबहादुर गुरुङ, अर्जुन मास्की राना, यामबहादुर बरहीमगर, पारस शर्मा, तिलबहादुर गुरुङ, डिलबहादुर गुरुङ, मञ्जु थापा, रमेश सापकोटा, आरबी गुरुङ, देवीसरा थापा, कुश्मा थापा ‘माहिली’, रामचन्द्र शर्मा, गणेशबहादुर गुरुङ, खडकबहादुर गुरुङ, हुमबहादुर गुरुङ, रुकमाया गुरुङ, अमृता थापा र नोमराज गुरुङका लेख, रचना समावेश गरिएका छन् ।
युवा अध्ययन समिति, झाँगडी, बिरुवा अर्चले, स्याङ्जाका अध्यक्ष झकबहादुर रानाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन यामबहादुर थापा बरहीमगरले गरेका थिए भने जीत सिंजाली प्रावि, आर्केकोटका प्रधानाध्यापक देवीसरा थापाले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
