देब पचभैया
दमक, २८ फागुन – संघीय संविधान निर्माणका लागि भोट मागेका प्रमुख पार्टी कांग्रेस एमालेले अहिले आएर जनतालाई धोका दिएको संघीय समाजवादी पार्टीका अध्यक्ष अशोक राईले बताएका छन् ।

दमकमा विहिबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष राईले काङग्रेस एमालेले पहिचान र संघीयता सहितको संविधान दिने भन्दै जनतालाई भोट मागेको र अहिले आएर संघीयताको मुद्दालाई वेवास्ता गरेको आरोप लगाए । उनले ३० दलीय मोर्चा हदैसम्मको लचक हुँदा पनि कांग्रेस एमाले ९ बुँदें सहमतिमा अडिग रहेको उल्लेख गरे ।
नेपाल आदिवासी जनजाति राष्ट्रिय आन्दोलन नेपालले ‘पहिचान यात्रा’ नाम लिएर शुरु गरेको मेची–महाकाली पहिचान यात्राबारे दमकमा गरेको पत्रकार सम्मेलनमा आन्दोलन परिचालन समितिका संयोजक तथा नेवाः देय दबूका केन्द्रीय अध्यक्ष नरेश ताम्राकारले सिमान्तकृत, अतिसिमान्तकृत तथा लोन्मुख आदिवासी जनजातिहरुको एक जाति एक प्रतिनिधित्व सुनिश्चितताका लागि एक हुन सन्देश दिंदै यात्रा अगाडि बढाएको बताए । संघीय लिम्बुवान राष्ट्रिय पार्टीका केन्द्रीय उपाध्यक्ष खगेन्द्र माखिमले पहिचान पक्ष र विपक्षको द्वन्द्वबाट संविधान आउन नसकेको बताउँदै पहिचानबादीहरु संघीयता सहितको संविधानमा निर्माणमा जुट्न सबैलाई आग्रह गरे ।
सम्मेलनमा लिम्बुवान प्रान्तीय संघर्ष समितिको कन्द्रीय सचिव प्रेमदिप थाम्सुहाङ्ग, लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष कान्छा लावती, अखिल आदिवासी एकिकृत अध्यक्ष नगेन्द्र राई, शेर्पा संघका केन्द्रीय महासचिव सोनाम शेर्पा, मगर संघ नेपालका उपाध्यक्ष सुदर्शन बराल लगायत जिल्ला तथा क्षेत्रका पहिचानवादी पार्टीका कार्यकर्ताको उपस्थिति रहेको थियो ।
